WELCOME TO AGROMART NEPAL !

पालुङ्गो खेती गर्ने तरिका

Q 1. पालुङ्गोका लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?

पालुङ्गो हिउँद, जाडो मौसममा पाइने तरकारी वाली हो। तराई र मध्य पहाडी इलाकामा यसको खेती हिउँदमा गरिन्छ। उच्च पहाडमा भने हिउँ र तुषारो नपर्ने समय बाहेक अरु समयमा यसको खेती गर्न सकिन्छ।

Q 2. यसको खेती कस्तो माटोमा गर्न उपयुक्त हुन्छ ?

यसको खेती प्रायः सवै किसिमको माटोमा गर्न सकिएता पनि मलिलो दोमट माटो उपयुक्त हुन्छ।प्राङ्गारिक पदार्थ प्रशस्त भएको जमीनमा यसका पातहरु राम्ररी फैलने नरम र खाँदा स्वादिलो हुन्छ।यसलाई माटोमा चिस्यान भएको राम्रो हुन्छ तर वढी चिस्यान भएमा वोट पहेँलिन्छ अतः निकासको राम्रो व्यवस्था हुन जरुरी हुन्छ।

Q 3. पालुङ्गोको खेती गर्दा जमीनको तयारीमा कत्तिको ध्यान पूर्याोउनु पर्दछ ?

पालुङ्गो छिटो तयार हुने वाली भएकोले लगाउनु भन्दा अगाडी जमीनको तयारी राम्ररी गर्नु पर्दछ। यसको लागि २५–३० से.मि. गहिराई सम्म राम्ररी खनजोत गरी प्रांङ्गारिक मल प्रशस्त हाल्नु पर्दछ। माटोलाई बुर्बुराउदो तुल्याउनु पर्दछ।

Q 4. प्रति रोपनी जमीनमा मलखादको मात्रा कति चाहिन्छ ?

एक रोपनी जमीनको लागि ८०० के.जी. गोवरमल, २ के.जी. नाईट्रोजन, २ के.जी. फोस्फोरस तथा २ के.जी. पोटासको आवश्यकता पर्दछ। नाईट्रोजनको आधा भाग र अन्य मल रोप्नु भन्दा अगावै र आधा भाग नाईट्रोजन, ३० दिन पछि टपड्रेस गर्नु पर्दछ।

Q 5. नेपालमा यसको खेती कुन कुन क्षेत्रमा गरिन्छ ?

यसको खेती नेपालको तराई देखि उच्च पहाड सम्म नै गर्न सकिन्छ तर तराई र मध्य पहाडमा यो हिउँदे वाली हो भने उच्च पहाड जहाँ तुसारो र हिउँ पर्दछ त्यस्तो इलाकामा ग्रीष्म याममा खेती गर्नु पर्दछ। यसको खेती छोटो दिन ठण्डी तापक्रम र ओसिलो वायुको वहाव भएको समयमा राम्रो हुन्छ।

Q 6. नेपालमा पालुङ्गो खेतीका लागि कस्ता जातहरु सिफारीस गरिएका छन् ?

नेपालमा स्थानीय तथा सुधारिएका जातहरु भौगोलिक क्षेत्र अनुसार विकसित भएका छन्। ति जातहरुमा पाटने पालुङ्गो, जापानी पालुङ्गो, बैतडी स्थानिय, अलग्रीन आदि छन्।

Q 7. प्रति रोपनी जमीनको लागि पालुङ्गोको कति वीउ आवश्यक पर्दछ?

प्रति रोपनी ५०० ग्राम वीउ भए पुग्दछ।

Q 8. कति दूरीमा बीउ लगाउनु पर्दछ ?

हार देखि हारको दूरी१० से.मि. र वोट देखि वोटको दूरी ५-१० से.मि. मा वाली लगाउँदा उत्पादन राम्रो हुन्छ।

Q 9. अन्य तरकारीवालीको तुलनामा पालुङ्गोलाई कम गोडमेल गर्दा हुन्छ किन ?

पालुङ्गोको सागले जमीनलाई ढाक्ने भएकोले झारपात कम आउने र माटो हल्का रहने हुँदा जमीन खुल्ला रहने वालीमा भन्दा कम गोडमेलको आवश्यक हुन्छ तर वाली अवधिभरमा २–३ पटक गोडमेल भने गर्नु पर्दछ।

Q 10. पालुङ्गोमा कस्ता किसिमका रोगहरु लाग्दछ?

पालुङ्गोमा खास रोग लाग्दैन तर कहिले काँही कालो थोप्ले रोग देखा पर्दछ। यसका लागि ब्लाईटक्स-५० विषादि ३ ग्राम प्रति लिटर पानीमा मिसाई १-२ पटक छर्नु पर्दछ।

Q 11. पालुङ्गोमा कस्ता खालका कीराहरु लाग्द्छन् ?

पालुङ्गोमा कीराले त्यत्ति नोक्सान गरेको पाईंदैन। कहिले काँही लार्भे र लाही कीराले नोक्सानी पुर्‍याउँदछन्। यस्तो अवस्थामा गाईको गहुँत वा घरायसी झोलमोलमा १० भाग पानी मिसाएर छर्ने तथा मार्गोसम नीमको झोल ३ मि.लि. प्रति लिटर पानीमा छर्नु पर्दछ।

Q 12. पालुङ्गोको बीउछरेपछि कति दिन सम्ममा साग टिप्न तयार हुन्छ ?

पालुङ्गोको बीउ छरेको १.५ महिनामा पहिलो बाली लिन सकिन्छ। त्यसपछि टपड्रेस र सिंचाई गरी २० दिन पछि अर्को बाली लिन सकिन्छ।

Q 13. पालुङ्गो साग प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ ?

यसको उत्पादन १००० देखि १५००के.जी. सम्म प्रति रोपनी उत्पादन गर्न सकिन्छ।

Share:

Related Post