WELCOME TO AGROMART NEPAL !

भेडा पाल्ने तरिका

Q 1. कुन प्रयोजनको लागि भेडा पालन गरिन्छ ?

विशेष गरि उन र मासु उत्पादनको लागि भेडापालन गरिन्छ ।

Q 2. के भेडाहरु भारी बोक्ने काममा पनि प्रयोग गर्न सकिन्छ ?

हो सकिन्छ । भेडाले आफ्नो शारीरिक तौलको करिब ३० प्रतिशत बराबर तौलको भारी बोक्न सक्दछ । यसकारण नेपालको कर्णाली क्षेत्रमा भेडालाई “कर्णाली ट्रक” पनि भन्ने चलन छ ।
Q 3. भेडापालन कसरी गर्न सकिन्छ ?

भेडालाई खोरमा राखेर वा घुम्ती चरनमा लगेर पालन गर्न सकिन्छ ।
Q 4. नेपालमा पालिने स्थानिय जातका भेडाहरु के के हुन् ?

नेपालको स्थानिय भेडाहरुमा भ्याङलुङ्ग, कागे, बरुवाल र लामपुछ्रे प्रमुख हुन् ।
Q 5. कस्तो हावापनीमा राम्ररी भेडा पालन गर्न सकिन्छ ?

करिब २ देखि २५ डिग्री सेल्सियस तापक्रम भएको हावापानी भेडा पालनको लागि उपयुक्त हुन्छ ।
Q 6. नेपालमा सबै भन्दा बढी कुन जातको स्थानिय भेडा पालिन्छ ?

नेपालमा सबै भन्दा बढी बरुवाल जातको स्थानिय भेडा पालन गरिन्छ र यो जातको भेडा स्थानिय भेडाहरुमा सबै भन्दा ठुलो पनि हो ।
Q 7. स्थानिय भेडाहरुको जिउंदो शारीरिक तौल कतिसम्म हुन्छ ?

स्थानिय जातको थुमाको सरदर ३० देखि ४० के.जी. र भेडीको ३० देखि ३५ के.जी.सम्म हुन्छ ।
Q 8. स्थानिय जातको भेडाबाट कति उन उत्पादन गर्न सकिन्छ ?

स्थानिय जातको एक भेडाबाट बाषिर्क सरदर ५०० देखि ७५० ग्रामसम्म उन उत्पादन उत्पादन गर्न सकिन्छ ।
Q 9. स्थानिय जातको भेडाको उनबाट कस्तो कस्तो सामग्रीहरु बनाउन सकिन्छ ?

स्थानिय भेडाको उन बढी खस्रो हुने भएकोले बढी राडीपाखी बनाउनमा प्रयोग गरिन्छ । तर भ्याङलुङ्ग जातिको भेडाको उन मसिनो हुने भएकोले यसको उन गलैंचा उत्पादनमा पनि प्रयोग गर्ने गरिन्छ ।
Q 10. नेपाल सरकारले सिफारीस गरेको उन्नत जातका भेडाहरु के के हुन् ?

नेपाल सरकारबाट सिफारीस गरिएका भेडाका उन्नत जातहरुमा मेरिनो, रामबुलेट, बोर्डरलेसेस्टर, पोलवर्थ, रोम्नीमार्स, कुपवर्थ प्रमुख हुन् ।
Q 11. नेपालमा किन उन्नत जातका भेडाहरु सिफारीस गरी विदेशबाट ल्याउन आवश्यक पर्यो ?

किनकि नेपालका स्थानिय भेडाहरुको उन खस्रो हुने भएकोले गलैंचा उत्पादनको लागि उपयुक्त नहुने हुंदा स्थानिय भेडालाई उन्नत जातका भेडासित क्रस गर्राई स्थानिय भेडाको उन उत्पादन र गुणस्तरमा बृद्धि गर्न उन्नत भेडा विदेशबाट ल्याउन आवश्यक भएको हो ।
Q 12. उन्नत जातको भेडा कहांबाट उपलव्ध हुन्छ ?

नेपाल सरकारको मातहतको पशु विकास फार्म, लामापाटन, पोखरा, भेडा विकास फार्म, पानसयखोला, नुवाकोट र भेडाबाख्रा अनुसन्धान कार्यक्रम, जुम्लाबाट उन्नत जातको भेडाको थुमा र पाठापाठीहरु उपलव्ध हुन्छ ।
Q 13. भेडाको पाठापाठी कति उमेर भए पछि प्रजनन योग्य हुन्छ ?

पाठापाठी करिब १५ देखि १८ महिना भए पछि प्रजनन योग्य हुन्छ ।
Q 14. भेडाको गर्भावधि कति दिनको हुन्छ ?

भेडाको गर्भावधि १४७ दिनको हुन्छ ।
Q 15. माउ भेडा व्याएको कति दिन पछि फेरी थुमा लगाउनु पर्छ ?

माउ व्याएको २ महिना पछि मात्र थुमा लगाउनु राम्रो हुन्छ ।


Q 16. माउलाई थुमासित मिसाउनु अगाडी माउको स्वास्थ्यलाई ध्यान दिनु आवश्यक हुन्छ ?

माउलाई थुमासित मिसाउनु करिब २ हप्ता अगाडीबाट राम्ररी दानापानी खुवाउने, नाम्ले जुकाको औषधि खुवाउने र खोपसमेत लगाउने व्यवस्था मिलाउनु पर्दछ ।
Q 17. एक थुमाले कति माउ भेडालाई प्रजनन सेवा दिन सक्दछ ?

करिब ३० देखि ४० माउ भेडाको लागि एक थुमाको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
Q 18. थुमालाई कहिलेसम्म प्रजननको लागि प्रयोग गर्न सकिन्छ ?

थुमालाई ५ देखि ७ बर्षम्म प्रजनन कार्यको लागि उपयोग गर्न सकिन्छ ।
Q 19. प्रजननको लागि कस्तो पाठालाई छनौट गर्ने ?

जुम्ल्याहा पाठापाठी जन्माउनेको सन्तान, जातिय गुण प्रष्ट देखिने, स्वस्थ, हलक्क बढेको र दुबै अण्डकोष राम्रोसंग विकास भएको पाठालाई प्रजनन कार्यको लागि छनौट गर्नु पर्दछ ।

Q 20. प्रजननको लागि कस्तो पाठीलाई छनौट गर्ने ?

स्वस्थ, उमेर अनुसार शारीरिक विकास भएको, जातिय गुण प्रष्ट देखिने, जुम्ल्याहा पाठापाठी जन्माउने र राम्ररी हुर्काउने भेडाको सन्तानबाट उत्पादित पाठीलार्इ प्रजनन कार्यको लागि छनौट गर्नु पर्दछ ।
Q 21. भेडालाई हाडनातामा प्रजनन गराउनु हुन्छ कि हुंदैन ?

ध्यान दिनु होस् भेडालाई कहिले पनि हाडनातामा प्रजनन गराउनु हुंदैन ।
Q 22. भेडालाई हाडनातामा प्रजनन गरायो भने के हुन्छ नि ?

भेडालाई हाडनातामा प्रजनन गरायो भने-

o   पाठापाठीको मृत्युदर बढी हुन्छ ।

o   उत्पादन क्षमतामा कमी आउंछ ।

o   रोगसंग लड्ने क्षमता घट्दै जान्छ ।

o   कमजोर तथा ख्याउटे पाठापाठी जन्मन्छ ।
Q 23. प्रजननको लागि उपयुक्त नभएका पाठाहरुलाई कहिले खसी पार्ने ?

करिब ३ महिनाको उमेर भए पछि पाठालाई खसी पार्नु स्वास्थ्यको दृष्टिकोणबाट राम्रो हुन्छ ।
Q 24. खसी पारेको पाठालाई कति उमेर भए पछि मासुको लागि प्रयोग गर्नु पर्दछ ?

खसी पारेको पाठालाई करिब १२ देखि १८ महिनाको उमेर भए पछि मासुको लागि प्रयोग गर्नु उपयुक्त हुन्छ ।

Q 25. पाठापाठीलाई किन विगौती दूध खुवाउनु जरुरी हुन्छ ?

किनकि विगौती दूधमा रोगसंग लड्ने क्षमता भएको प्रोटिन हुन्छ जसले पाठापाठीहरुमा रोग प्रतिरोधात्मक क्षमताको विकासको गराउंछ ।
Q 26. त्यसो भए कति दिनसम्म विगौती दूध खुवाउने त ?

व्याएको दिन देखि दैनिक ३ देखि ४ पटकसम्म गरि ३ दिनसम्म विगौती दूध खुवाउनु पर्दछ ।
Q 27. पाठापाठीलाई कति उमेर भए पछि माउको दूध छुटाउनु राम्रो हुन्छ ?

पाठापाठी करिब ३ महिनाको उमेर भए पछि माउको दूध छुटाउनु पर्दछ ।
Q 28. भेडाको लागि कस्तो खोर बनाउन पर्छ होला ?

जमीनबाट करिब १ मिटर उंचाईमा टांड बनाउनु पर्दछ र टांडबाट मलमुत्र सजिलै जमीनमा खस्न सकोस र खुट्टा पनि नछिरोस् भनि आधार् इन्चको फरकमा काठ वा बांस ठोक्नु पर्दछ ।

Q 29. खोरमा जम्मा भएको मलमुत्रलाई कहिले कहिले हटाउनु पर्छ ?

टांडबाट खसेको मलमुत्रलाई हप्तामा २ पटक हटाइ खोरलाई नियमित सफा गर्नु पर्दछ ।
Q 30. भेडाहरुलाई खोरमा राख्दा कति ठाउंको आवश्यकता पर्दछ ?

विभिन्न उमेर र अवस्था अनुसार भेडालाई बेग्ला बेग्लै क्षेत्रफलको आवश्यकता पर्दछ ।

१० देखि १२ महिना उमेरको पठापाठी – १.०० देखि १.५० बर्ग मिटर प्रति भेडा

थारा वयस्क भेडा                       – १.५० देखि १.७५ बर्ग मिटर प्रति भेडा

व्याउने भेडा                     – २.०० देखि २.५० बर्ग मिटर प्रति भेडा

प्रजनन थुमा                     – ३.०० देखि ४.०० बर्गमिटर प्रति भेडा
Q 31. पाठापाठी जन्मनै बितिकै के गर्नु पर्छ ?

पाठापाठी जन्मनासाथ सफा रुमाल वा कपडाले राम्ररी नाक, मुख पुछी सफा गरी दिने र न्यानो सफा ठाउंमा राख्नु पर्दछ ।
Q 32. पाठापाठीसित रहेको नाभीलाई चाहिं के गर्ने नि ?

नाभीलाई शरीरबाट १ इन्च जति छोडी निःसंक्रमण गरेको धारिलो चक्कु वा कैंचीले काटी टिन्चर आयोडिन लगाई दिने ।
Q 33. पाठापाठीलाई शुरुमा कसरी माउको दूध खुवाउने ?

शुरुमा माउको थुनबाट २/३ सिर्का दूध दुहेर फ्यांकी सके पछि माउको कल्चौंडोलाई राम्ररी मन तातो पानीले सफा गर्ने अनि मात्र दूध खवाउने गर्नु पर्छ ।
Q 34. गर्भिणी माउलाई कस्तो आहाराको व्यवस्था गर्नु पर्दछ ?

गर्भिणी भएको ३ महिना पछि पाठेघरको बच्चा चांडो बढ्ने भएकोले व्याउन २ महिना अगाडी देखि माउलाई दैनिक हरियो पोषिलो घांस र दाना आधा के.जी. खुवाउनु पर्दछ ।

Q 35. व्याउने बेला भएको माउलाई अरु भेडासित राख्नु हुन्छ कि हुंदैन ?

व्याउने माउलाई व्याउनु भन्दा करिब १ हप्ता अगाडी नै माउलाई बथानबाट छुट्याई बेग्लै सफा, न्यानो खोरमा राख्नु पर्दछ होईन भने जन्मेका पाठापाठीलाई अरु भेडाले कुल्चेर मार्ने डर हुन्छ ।
Q 36. माउ भेडाबाट कति उमेरसम्म उत्पादन लिन सकिन्छ ?

माउ भेडाबाट ४ देखि ६ बेतसम्म उत्पादन लिन फाईदाजनक हुन्छ ।
Q 37. प्रजननको थुमालाई कसरी हेरचाह गर्ने ?

थुमालाई प्रजननको समयमा थप दाना र पोषिलो घांसको व्यवस्था गर्नु पर्दछ साथै थुमालाई मोटो र दुव्लो पनि हुन नदिई संधै स्वस्थ र फुर्तिलो बनाई राख्नु पर्दछ ।
Q 38. भेडाले खान मन गरेन वा अरुची भएमा के गर्ने ?

पशु स्वास्थ्य प्राविधिकको सहयोगमा रुमेन्टोन वा बोभाईरम वा एनोरेक्सोन चक्कीहरु खान दिनु पर्दछ ।
Q 39. भेडाको पेट फुलिएमा वा ढाडिएमा के औषधि खुवाउने ?

सामान्य अवस्थामा घांस, दानापानीको कारणले पनि पेट फुल्ने भएको हुंदा पशु स्वास्थ्य प्राविधिकको सहयोगमा टिम्पोल वा ब्लोटोसिल जस्ता औषधि खुवाई उपचार गर्न सकिन्छ ।
Q 40. भेडामा आन्तरीक परजिवी जुका भएको कसरी थाहा पाउन सकिन्छ ?

भेडाको पेट फुलेमा, राम्ररी नखाएमा, पातलो दिसा गरेमा, विस्तारै दुव्लाउंदै गएमा, दिसा बढी गन्हाउने जस्ता लक्षणहरु देखा परेमा जुका परेको हुन सक्छ ।
Q 41. भेडामा जुका परेमा कसरी उपचार गर्ने त ?

जुका परेमा मेवेण्डाजोल १५ मिलीग्राम वा अलवेण्डाजोल ५ मिलीग्राम वा फेवेण्डाजोल २५ मिलीग्राम प्रतिकिलो शारीरिक तौल अनुसार पशु स्वास्थ्य प्राविधिकको सहयोगमा खुवाउनु पर्दछ ।
Q 42. भेडामा आन्तरीक परजिवी नाम्ले भएको कसरी थाहा पाउने ?

नाम्ले परेको भेडाले मन लाएर नखाने वा सुख्खा बस्तु छानेर खाने, कहिले पातलो दिसा गर्ने र कहिले कव्जियत हुने, बिस्तारै दुव्लाउंदै जाने, छाला फुस्रो हुने, च्यापु सुन्निने जस्ता लक्षणहरु देखाउंछ ।
Q 43. भेडामा नाम्लेको उपचार कसरी गर्ने ?

नाम्ले परेमा अलवेण्डाजोल १० मिलीग्राम वा अक्सीक्लोजानाईड १० मिलीग्राम प्रतिकिलो शारीरिक तौल अनुसार पशु स्वास्थ्य प्राविधिकको सहयोगमा खुवाउनु पर्दछ ।
Q 44. आन्तरीक परजिवी नियन्त्रणको लागि के गर्नु पर्ला ?

प्रत्येक ४/४ महिनामा सबै भेडाहरुको दिसा जँचाएर पशु स्वास्थ्य प्राविधिकको सल्लाह अनुसार औषधि खुवाउने गर्नु पर्दछ ।
Q 45. भेडामा लाग्ने ६ मासे (Enterotoxaemia) कस्तो रोग हो ?

भेडाको पेटमा हुने जीवाणु (Bacteria) को विष (Toxin) बाट खास गरी १ बर्षमुनिका पाठापाठीमा लाग्ने रोग हो । ३ हप्ता मुनिका पाठापाठीले लक्षण नै नदेखाई मर्दछ । ६/६ महिनामा खोप लगाएर यो रोगबाट पाठापाठीलाई बचाउन सकिन्छ ।
Q 46. भेडाको प्रमुख संक्रामक तथा सरुवा रोगहरु के के हुन् ?

प्रमुख रोगहरुमा ब्रुसेल्लोसिस, खोरेत, पि.पि.आर., मोहोला पर्दछन् ।
Q 47. भेडाको ब्रुसेल्लोसिस (Brucellosis) कस्तो रोग हो ?

भेडा लगायत विभिन्न पशुहरुमा जिवाणुद्वारा हुने यो रोग मानिसमा समेत लाग्दछ ।
Q 48. ब्रुसेल्लोसिस रोग लागेको कसरी थाहा पाउन सकिन्छ ?

भेडाले पछिल्लो अवस्थाको गर्भ तुहाउंछ वा व्याउने समय नै नपुगी कमजोर पाठापाठी व्याउंछ, साल झर्दैन र योनीबाट निस्केको श्राव दर्ुगन्धयुक्त हुन्छ ।

Q 49. मानिसमा यो रोग कसरी र्सछ त ?

मानिसको शरिरमा भएको काटेको घाउमा रोगी भेडाको योनी श्राव वा साल सम्पर्कमा आएमा वा आंखामा परेमा वा रोगीको दूध राम्ररी नउमाली खाएमा यो रोग मानिसमा र्सदछ ।
Q 50. मानिसमा चाहिं यो रोग लागे पछि कस्तो लक्षणहरु देखा पर्दछ ?

सामान्यतया मानिसमा अनियमित ज्वरो आउने, टाउको दुख्ने, कमजोरी महशुस हुने, पसिना आउने, शारिरीक तौल घट्ने र जीउ तथा जोर्नी दुख्ने लक्षणहरु देखिन्छ ।
Q 51. भेडामा यो रोगको रोकथाम कसरी गर्न सकिन्छ ?

यो रोगको सन्तोषजनक उपचार हुंदैन । पशु स्वास्थ्य प्राविधिकको सल्लाह र सहयोगमा खोप लगाउने व्यवस्था मिलाउनु पर्दछ ।
Q 52. खोरेत (FMD) रोग कस्तो रोग हो ?

खोरेत विषाणु (Virus) बाट हुने अति नै सरुवा रोग हो । यो रोग लागेमा उच्च ज्वरो आउने, खान मन नगर्ने, र्‍याल काढ्ने, खुरको विच भागमा घाउ हुन, खोच्याउने र मुख भित्र घाउ हुने जस्ता लक्षणहरु भेडामा देखा पर्दछ ।
Q 53. खोरेत रोगको उपचार तथा रोकथाम हुन्छ कि हुंदैन ?

यो रोग लागे पछि खासै उपचार हुंदैन तर्सथ रोकथामको लागि प्रत्येक बर्ष खोप लगाउने व्यवस्था मिलाउनु पर्छ ।
Q 54. भेडाको पि. पि. आर. (PPR) रोग लागेको कसरी थाहा पाउने ?

पि.पि.आर. विषाणु (Virus) बाट हुने अति नै खतरनाक सरुवा रोग हो । यो रोग लागेमा बढी ज्वरो आउने, आंसु बग्ने, सिंगान बग्ने, मुखमा घाउ हुने, बेस्सरी छेर्ने र धेरै भेडा मर्ने जस्ता लक्षणहरु देखा पर्दछ ।
Q 55. पि. पि. आर. रोगको उपचार तथा रोकथाम कसरी गर्ने ?

यो रोग लागे पछि खासै उपचार हुंदैन तर्सथ रोकथामको लागि प्रत्येक ३ बर्षमा ३ महिना भन्दा माथिका सबै पाठापाठीलाई खोप लगाउनु पर्दछ । पि.पि.आर.को खोप लागि सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।
Q 56. भेडामा लाग्ने मोहोला (Orf) कस्तो रोग हो ?

विषाणुबाट हुने यो रोगमा शुरुमा ओंठ तथा मुखमा साना दाना देखा पर्ने र दाना घाउमा परिणत हुने पछि कान, अण्डकोष, सुत, थुनमा समेत घाउ हुने गर्दछ जसले गर्दा रोगी भेडाले दानापानी खान नसकि दुव्लाउने गर्दछ ।

Q 57. मोहोला रोगको कसरी उपचार गर्न सकिन्छ ?

पशु स्वास्थ्य प्राविधिकको सहयोगले रोगी भेडाको घाउमा एन्टीवायोटिक मलहम लगाई उपचार गर्ने र भेडाहरुलाई समयमा नै खोप लगाउने व्यवस्था मिलाउनु पर्दछ ।
Q 58. भेडा, थुमाको पनि बीमा गर्ने व्यवस्था छ ?

नेपाल सरकारले निर्जीवन बीमा कम्पनीहरु जस्तै एन.एल.जी॰ इन्सुरेन्स कम्पनी, शिखर इन्सुरेन्स कम्पनी, लुम्बिनी इन्सुरेन्स कम्पनी, सगरमाथा इन्सुरेन्स कम्पनी आदि मार्फ भेडा, थुमाको बीमा गर्न पाउने सुविधा शुरु गरेको छ ।
Q 59. कुन कुन निर्जीवन बीमा कम्पनीहरुबाट बीमा गर्न गर्न सकिन्छ ?

एन.एल.जी॰ इन्सुरेन्स कम्पनी, शिखर इन्सुरेन्स कम्पनी, लुम्बिनी इन्सुरेन्स कम्पनी, सगरमाथा इन्सुरेन्स कम्पनी लगायत लगभग १७ निर्जीवन बीमा कम्पनीहरुबाट यो सुविधा प्राप्त गर्न सकिन्छ ।
Q 60. कृषकले पशु बीमामा गरेमा सरकारबाट कस्तो सुविधा उपलव्ध हुन्छ त ?

पशु बीमा गर्दा बीमा कम्पनीलाई तिर्नु पर्ने प्रिमियम रकमको ७५ प्रतिशत रकम सरकारले कृषकलाई अनुदान वापत उपलव्ध गराउंछ ।
Q 61. भेडा पालनमा सरकारबाट उपलव्ध हुने प्राविधिक सेवा तथा सुविधाहरु बारे जानकारी लिन कहां सम्पर्क गर्नु पर्छ ?

सम्बन्धित पशु सेवा केन्द्र वा जिल्ला पशु सेवा कार्यालय वा केन्द्रिय बंगुर कुखुरा प्रर्बर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरमा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

 

Share:

Related Post