WELCOME TO AGROMART NEPAL !

मूला खेती गर्ने तरिका

Q 1. नेपालमा कुन कुन रंगको मूलाहरु पाइन्छन् ? कुन–कुन तत्वहरु सेतो मूलामा भन्दा रातो मूलामा प्राप्त हुन्छन् ?

नेपालमा सेता र राता दुवै प्रकारका मूलाहरु पाईन्छन् । कार्वोहाईड्रेट तथा खनिज तत्व सेतो मूलामा भन्दा रातो मूलामा वढी पाइन्छ ।
Q 2. मूला उखेल्दा विशेष कुन–कुन कुराहरुमा ध्यान दिनु पर्दछ ?

मूला वाली तयार भएपछि (डुकु आउनु अघि) नभाचिने र घाउ नलाग्ने गरी उखेल्नु/खनेर निकाल्नु पर्दछ । मूलालाई राम्ररी पखाली कलिलो पातमात्र राखी वोरामा प्याक गरेर वजार लैजाँदा राम्रो मूल्य पाउन सकिन्छ ।
Q 3. मूलालाई साधारणत कति दिन सम्म भण्डारण गर्न सकिन्छ ?

मूलालाई हिउदको मौसममा घाम नछिर्ने साधारण कोठामा ७–१० दिन भण्डारण गर्न सकिन्छ भने शक्ति भण्डारणमा ०–२ डि.से. तापक्रम र ९०–९५% सापेक्षिक आर्द्रतामा ३–४ हप्ता भण्डारण गर्न सकिन्छ ।
Q 4. मूलाको सिन्की कसरी तयार गरिन्छ ? लामो अवधिसम्म राख्न के उपाय छ ?

मूलाको सिन्की वनाउन मूला काठ पस्नु अगावै टिप्नु पर्दछ र अलि अलि आइलाउने गरी सुकाई ढिकी वा काठको लौरोले हल्का कुट्नु पर्दछ । यसरी तयार भएको मूलालाई जमीनमा खाल्डो खनी वरीपरी पराल वा वोरा खाडलको वरीपरी विच्छ्याई वा ड्रम टिनमा हात/खुट्टा वा कुनै गरुङ्गो वस्तुले थिच्नु पर्दछ र माथिवाट हावा नछिर्ने गरी वन्द गर्नु पर्दछ । यसरी राखेको २–३ हप्तामा अमिलो तथा वासना सहितको सिन्की तयार हुन्छ । यसलाई राम्ररी सुकाएर लामो अवधिसम्म प्रयोग गर्न सकिन्छ ।
Q 5. मूला उखेलीसकेपछि कुन–कुन प्रकृया पूरा गरी प्याकिङ्गको सामाग्री प्रयोग गर्न सकिन्छ ?

मूला उखेलेपछि त्यसमा भएका पुराना पात र जराहरु हटाउनु पर्दछ । मूलालाई वजारमा आकर्षक देखाउन पानीमा राम्ररी धोएर छहारीमा राखी ओवानो भएपछि साइज र रंगको आधारमा ग्रेडिङ्ग गरी वोरा, क्रेटमा प्याकिङ्ग गर्नु पर्दछ ।
Q 6. डुकु निस्किसकेपछि उखेल्दा मूला खानयोग्न हुँदैन किन ?

मूलामा डुकु निस्कि सकेपछि उखेल्दा मूलाको खाने भागमा काठ पसिसकेको हुन्छ र खाँदा फोस्रो र स्वाद नभएको हुन्छ ।
Q 7. मूला उखेल्ने उपयुक्त अवस्था कुन हो ?

मूलाको जरामा काठजस्तु अथवा फोस्रो हुन अगावै साग सहित उखेल्नु पर्दछ ।

Q 8. मूलामा लाग्ने प्रमुख शत्रु कीराहरुको ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

मूलामा लाग्ने प्रमुख कीराहरुमा लाही तथा तोरीका झिँगाहरु हुन । यी कीरावाट वच्न जैविक विषादीको प्रयोग गर्न राम्रो हुन्छ तर कुनै अवस्थामा रासायनिक विषादी छर्नुपर्ने भएमा मेटासिष्टक्स १ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
Q 9. मूलाको कालो जरा (Black Root of Radish) कस्तो माटोमा लाग्दछ ? यसको लक्षण तथा रोकथामको उपाय के होला ?

यो रोग वोरोन तत्वको कमी भएको माटोमा वढी लाग्दछ । यस रोगले जराको वृद्धि हुदैन र स–साना मसिना जरा नजिकवाट रोगले आक्रमण गर्दछ र पूरा मूलामा कालो दाग देखिन्छ । रोगका जीवाणु धेरै १ वर्ष सम्म रही रहने हुनाले प्याज, लसुन र खुर्सानी जस्ता वालीले घुम्ती वाली लगाउनु पर्दछ ।
 
Q 10. मूलामा लाग्ने सेतो सिन्दुरे रोग (White Rust) कसरी रोकथाम गर्न सकिन्छ ?
यो रोग जरा वाहेक वाटेको अन्य भागहरुमा लाग्दछ । पातको तल्लो सतहमा रोग लागेका भाग वटुलेर जलाउने, लामो समयसम्म घुम्ती वाली लगाउनु पर्दछ ।
Q 11. ह्वाईटनेक जातको विशेषता के छ ?

यो जात जापानवाट आएको उन्नत मूला मध्ये पूरानो हो।यसको रंग सेतो हुन्छ तथा यसले वढी तापक्रम सहन सक्तछ।यो जात ३०–५ से.मि. लामो ६–८ से.मि. मोटाई भएको माथिवाट तल साँगुरिदै गएको हुन्छ।यसको स्वाद केही पिरो हुन्छ ।
Q 12. टोकिनासी जात कहाँवाट भित्राइएको हो ?

टोकिनासी जातको मूला जापानवाट भित्राइएको हो । यो वढी तापक्रम सहन सक्ने पछौटे जात हो । यो जात पनि मध्य पहाडी क्षेत्रको लागि सिफारीस गरिएको छ ।
Q 13. मूलाका जात मध्ये एउटा जातलाई चालिस दिने (४० दिने) नामाकरण किन गरिएको हो ?

यस जातको मूला वीउ रोपेपछि ४० दिन भित्र खानलायक हुने भएकोले चालिस दिने भनिएको हो।
Q 14. रातो रंग हुने मूलाको जात कुन हो ? यसको उत्पादन कुन भौगोलिक क्षेत्रमा राम्रो हुन्छ ?

रातो रंगको मूलाको जात प्यूठाने रातो हो । यो पछौटे जात र ढीलो तयार हुन्छ । यसको पात हरियो, सीधा र रातो तथा नसा पनि रातो खालको हुन्छ । यसको खेती पहाडी क्षेत्रमा राम्रो हुन्छ ।
Q 15. मिनो अर्ली जातको विशेषता के हो ?

यसको जरा सेतो र तलतिर टुप्पिदैँ गहको हुन्छ । यसको जरा सरदर ४० से.मि. लामो ८–१० से.मि. मोटाई र मध्यम कसिलो हुन्छ । यो केही पिरो र गुलियो मिश्रीत स्वादको हुन्छ। हत्तपत्त काठ नपस्ने हुँदा यस जातलाई सवैले रुचाउँछन् ।
Q 16. नेपालमा प्रचलित मूलाका जातहरु के के छन् ?

नेपालमा लगाइएका प्रचलित जातहरुमा, मिनो अर्ली, ह्वाईटनेक, पुसा चेतकी, टोकिनासी, ४० दिने, प्यूठाने रातो आदि छन् । वर्णशंकर जातहरुमा अल सिजन ह्वाईट, एनी सिजन, ट्रपिकल क्रस, पुसा हिमानी आदि हुन् ।
Q 17. मूलामा अन्यवाली भन्दा छिटो गोडमेल र टपड्रेस गर्न आवश्यक पर्दछ किन ?

मूला माटो मुनी वढ्ने वाली भएकोले माटो खुकुलो र गहिरो हुन जरुरी छ।मूला रोपेको २ हप्ता पछि धेरै वेर्ना भएको ठाउँवाट २ वटा मात्र बाँकी राखी अन्य हटाउनु पर्दछ ।


Q 18. मूला खेती गर्दा जमीनको तयरी कसरी गरिन्छ ?

मूला एक जेरवाली भएका कारणले गर्दा माटो तयारीमा विशेष ध्यान पुर्यापउनु पर्दछ।२०–२५ से.मी. को गहिराईमा २–३ पटक जोती डल्ला फुटाई वुरवुरउँदो वनाउनु पर्दछ।जमीन तयारीकै वेला कम्पोष्ट या गोवरमल, नाइट्रोजनको आधा भाग, फस्फोरस र पोटास हाल्नु पर्दछ।
Q 19. प्रति रोपनी जमीनमा कति मलखाद प्रयोग गरेमा राम्रो उत्पादन लिन सकिन्छ ?

मूलाको उत्पादन राम्रो लिनको लागि करीव १००० के.जी. गोवरमल, ५ के.जी. यूरिया, ४ के.जी. डि.ए.पी. र २ के.जी. म्यूरेट अफ पोटास आवश्यक पर्दछ । वोरन तत्व कम भएको माटोमा मूला कुहिने सम्भावना भएकोले वोरेक्स आधा के.जी. प्रति रोपनी हाल्नु पर्दछ ।
Q 20. मूला खेती कस्तो किसिमको माटोमा राम्रो हुन्छ ?

प्राङ्गारिक/जैविक पदार्थ प्रशस्त भएको हल्का दोमट माटो मूला खेतीको लागि उपयुक्त हुन्छ । जरे वाली भएकोले चिम्टयाइलो माटो भने राम्रो हुँदैन ।
Q 21. यो कस्तो मौसममा फस्टाउने वाली हो ?

मूला चिसो मौसममा फस्टाउने वाली हो जव कि यसले केही मात्रामा गर्मी पनि सहन सक्तछ । वातावरण अनुकुल नभए छिट्टै डुकु निष्कने, सानो आकारको हुने,जरा फाट्ने समस्या हुन्छ ।
Q 22. यसमा पाइने उपयोगी मुख्य खनिज तत्वहरु कुन कुन हुन् ?
मूलामा खनिज पदार्थ, प्रोटिन तथा भिटामीन तत्वहरु प्रशस्त मात्रामा पाईन्छ । अतः सन्तुलित भोजनमा मूलाको महत्वपूर्ण स्थान रहन्छ ।
Q 23. मूला वालीलाई कस्तो हावापानी उपयुक्त हुन्छ ?

मूला हिउँदे तरकारी वाली हो।अतः यसले ठण्डा मौसम रुचाउँदछ।तराई देखि उच्च पहाड सम्म यसको खेती हुन्छ।तापक्रमको हिसावले ५ डि.से. देखि २५ डि.से. सम्मको तापमान गुणस्तरीय उत्पानको लागि राम्रो हुन्छ।

Share:

Related Post