WELCOME TO AGROMART NEPAL !

अष्ट्रिच पाल्ने तरिका

Q 1. अष्ट्रिच के हो ?

संसारकै सबै भन्दा ठुलो नउड्ने तर छिटो दौडने पंक्षी हो ।
Q 2. अष्ट्रिच कति चांडो दौडन सक्छ त ?

अष्ट्रिच करिब ७० कि.मी. प्रति घण्टाको दरले दौडन्छ ।
Q 3. कस्तो ठाउं र हावापानीमा अष्ट्रिच पालन गर्न सकिन्छ ?

 घांस तथा झाडी बुट्यान भएको खुला क्षेत्र र गर्मी हावापानी अष्ट्रिच पालनको लागि उपयुक्त हुन्छ ।

Q 4. अष्ट्रिच कुन प्रयोजनको लागि पालिन्छ ?

बिशेष गरिकन अष्ट्रिच मासुको लागि पालिन्छ ।
Q 5. नेपालमा कहिले देखि अष्ट्रिच पालन शुरु भएको हो ?

२०६५ सालमा रुपन्देहीको गंगोलियामा स्थापित अष्ट्रिच नेपाल प्रा. लि. नै नेपालको पहिलो अष्ट्रिच फार्म हो ।
Q 6. रुपन्देहीको गंगोलिया बाहेक अन्य ठाउंमा पनि अष्ट्रिच पालन शुरु भएको छ ?

रुपन्देहीको सुर्यपुरा, दाङ्गको विजौरिया र झापा जिल्लामा अष्ट्रिच फार्महरु शुरु भै सकेको छ ।
Q 7. नेपालको अष्ट्रिच फार्महरुबाट चल्लाहरु उपलव्ध हुन सक्छ ?

अष्ट्रिच नेपाल प्रा.लि., गंगोलिया, रुपन्देहीले हुर्काएको चल्ला विक्री वितरण गर्दछ ।
Q 8. अष्ट्रिच नेपाल प्रा.लि. ले हुर्काएको चल्ला कति मुल्यमा बिक्री वितरण गर्दछ ?

करिब ३ महिना उमेरको चल्लालाई प्रति चल्ला रु. ७०,००००० मा बिक्री गर्दछ ।
Q 9. अष्ट्रिचको मासु मानव स्वास्थ्यको लागि फाईदाजनक छ भन्छन नि हो ?

हो, अष्ट्रिचको मासुमा बोसो ३ प्रतिशत मात्र हुने र कोलेस्ट्रोल नहुने भएकोले मुटुको समस्या हुनेहरुको लागि ज्यादै उपयुक्त मानिन्छ ।
Q 10. नेपालमा अष्ट्रिचको मासुको मुल्य के छ नि ?

हाड सहितको मासु प्रति के.जी. रु.१२०००० देखि रु.१५०००० र हाड बिनाको मासु रु.२००००० देखि रु.२५०००० सम्ममा विक्री वितरण हुने गरेको पाईन्छ ।
Q 11. कति उमेर भए पछि अष्ट्रिचलाई मासुको लागि प्रयोग गर्न सकिन्छ ?

सरदर १८ महिनाको उमेर भए पछि अष्ट्रिचलाई मासुको लागि प्रयोग गर्न सकिन्छ ।
Q 12. अष्ट्रिचलाई किन बहुउपयोगी पंक्षी भनिन्छ ?

किनकि अष्ट्रिचको मासु बाहेक फुल, छाला, प्वांख, बोसो तथा हड्डी पनि विभिन्न कार्यको लागि प्रयोगमा आउंछ ।
Q 13. अष्ट्रिचको छाला के कामकोे लागि प्रयोग गरिन्छ ?

अष्ट्रिचको छाला धेरै राम्रो र बलियो मानिन्छ र यसबाट झोला, सुट्केस, जुत्ता, जस्ता सामग्री बनाउनमा प्रयोग गरिन्छ ।
Q 14. वयस्क अष्ट्रिचको छाला कति मुल्यमा बिक्री हुन्छ

नेपालका अष्ट्रिच पालकहरुले एक वयस्क अष्ट्रिचको छाला रु.३०,००००० सम्ममा बिक्री गरेको पाईन्छ ।
Q 15. अष्ट्रिचको प्वांखबाट के के सामग्रीहरु बनाईन्छ ?

अष्ट्रिचको प्वांखबाट बनेको सामग्रीहरुलाईर् इलेक्ट्रोनिक सामानहरुको मसिनो धुलो टिप्ने कार्यमा   प्रयोग गरिन्छ भने महिलाहरुको टोपी र लुगाहरु बनाउनमा पनि प्रयोग हुन्छ ।
Q 16. बजारमा एउटा वयस्क अष्ट्रिचको प्वांख कति मुल्यमा बिक्री हुन्छ ?

नेपालका अष्ट्रिच पालकहरुले रु.८,०००।०० देखि १०,०००।०० सम्ममा बिक्री गरेको पाईन्छ ।
Q 17. अष्ट्रिचको बोसो कुन कामको लागि प्रयोग हुन्छ ?

अष्ट्रिचको बोसो छालाको हेरचाह गर्ने औषधि निर्माणमा प्रयोग गरिन्छ भने यसलाई पनि प्रति के.जी. रु.१०,०००।०० सम्ममा बिक्री गरेको पाईन्छ ।
Q 18. अष्ट्रिचको हड्डीबाट चाहिं कस्तो सामग्रीहरु बनाईन्छ नि ?

अष्ट्रिचको हड्डीबाट घर सजावटको विभिन्न सामग्रीहरु बनाईन्छ ।


Q 19. अष्ट्रिचको जिवित शारिरीक तौल कतिसम्म हुन्छ ?

वयस्क अष्ट्रिचको जिवित शारिरीक तौल सरदर ६० देखि १३० के.जी.सम्म हुन्छ ।
Q 20. के अष्ट्रिचको शारीरिक तौल चांडै बृद्धि हुन्छ ?

करिब ३ देखि ४ महिनाको उमेरमा नै अष्ट्रिच लगभग ३५ देखि ४० के.जी. तौलसम्म हुन्छ ।
Q 21. अष्ट्रिच कति उमेर पुगे पछि प्रजनन योग्य हुन्छ ?

करिब २ देखि ४ बर्षो उमेरको भए पछि प्रजनन योग्य मानिन्छ तर पोथी अष्ट्रिच ६ महिना अगाडी नै पनि प्रजनन योग्य हुन सक्छ ।
Q 22. कति उमेर पुगे पछि अष्ट्रिचले उत्पादन दिन शुरु गर्छ ?

करिब ३ बर्षको उमेर भए पछि अष्ट्रिचले उत्पादन दिन शुरु गर्दछ ।
Q 23. प्रजननको लागि कतिवटा पोथीमा एक भालेको व्यवस्था गर्नु पर्दछ ?

सरदर २ देखि ३ पोथीको लागि एक भालेको व्यवस्था गर्नु पर्दछ ।
Q 24. अष्ट्रिचले एक वर्षमा कतिवटा सम्म फुल उत्पादन गर्दछ ?

एउटा अष्ट्रिचले एक वर्षमा सरदर ४० देखि ८० गोटासम्म फुल पार्दछ ।
Q 25. के अष्ट्रिचले दैनिक फुल पार्छ ?

अष्ट्रिचले एक वा दुर्इ विराएर फुल पार्दछ ।
Q 26. उसो भए अष्ट्रिचले १२ महिना नै फुल पार्छ त ?

अष्ट्रिचले एक बर्षमा करिब ८ महिना फुल पार्दछ भने प्रायः श्रावण, भाद्र, आश्विन र कार्तिक महिनाहरुमा फुल पार्दैन ।
Q 27. अष्ट्रिचको फुल कस्तो रंगको र कति ठुलो (कति तौल) हुन्छ ?

अष्ट्रिचको फुलको रंग सेतो र एउटाको तौल १ देखि ३ के. जी. सम्मको हुन्छ र यो भनेको सामान्य कुखुराको फुल भन्दा २४ गुणा ठुलो हो ।
Q 28. अष्ट्रिचको अण्डाको खोल (बोक्रा) पनि सजावटको लागि बिक्री हुन्छ अरे नि ?

हो, सजावटको लागि मानिसले रु.५०००० मा एउटा अण्डाको बोक्रा किन्ने गरेको पाईन्छ ।
Q 29. अष्ट्रिचले एक पटकमा कति गोटा फुल ओथार्न सक्छ ?

सामान्यतया १० देखि १२ गोटासम्म फुल ओथार्छ ।
Q 30. अष्ट्रिचको ओथारो अवधि कति दिनको हुन्छ ?

ओथारो अवधि सरदर ४२ दिनको हुन्छ ।
Q 31. ओथारोमा पोथी मात्र बस्छ कि भाले पनि बस्छ ?

पोथी दिनमा ओथारो बस्छ भने भाले राती ओथारो बस्छ ।
Q 32. वयस्क अष्ट्रिच कतिसम्म अग्लो हुन्छ ?

भाले ६ देखि ९ फिट र पोथी ५ देखि ६ फिट सम्म अग्लो हुन्छ ।
Q 33. कुन उमेरसम्म अष्ट्रिच बढ्दछ ?

अष्ट्रिचले १६ देखि १८ महिनासम्ममा आफ्नो उंचाई प्राप्त गर्दछ ।
Q 34. अष्ट्रिचको शरिरको रङ्गलाई हेरेर भाले पोथी छुट्याउन सकिन्छ ?

सजिलै सकिन्छ, किनकि भाले अष्ट्रिचको शरिरको प्वांख कालो र पखेटाको टुप्पामा सेतो रंग हुन्छ भने पोथी हल्का खैरो रंगको हुन्छ ।
Q 35. अष्ट्रिच कति बर्षम्म बांच्न सक्छ ?

सरदर ५० देखि ७५ बर्षम्म बांच्न सक्छ -जंगली अवस्थामा रहेको अष्ट्रिच कम बाँच्दछ) ।


Q 36. अष्ट्रिचले कुन उमेरसम्म उत्पादन दिन्छ ?

अष्ट्रिचबाट लगभग ३० देखि ४० बर्षम्म उत्पादन लिन सकिन्छ ।
Q 37. अष्ट्रिचलाई के के खुवाउन सकिन्छ ?

अष्ट्रिचलाई अन्न दाना, हरियो घांस र सुख्खा घांस पनि खुवाउन सकिन्छ । दानासाथ सिपीको टुक्रा र साना ढुङ्गाको टुक्रा खुवाउने व्यवस्था गर्नु पर्दछ ।
Q 38. भर्खरका चल्लाहरुलाई कस्तो दाना खुवाउनु पर्दछ ?

३ देखि ८ हप्ता उमेरका चल्लाहरुलाई स्टार्टर दानाको साथै हरियो बर्सिम घांस र साना ढुङ्गाको टुक्रा खुवाउने व्यवस्था गर्नु पर्दछ ।
Q 39. बढ्ने उमेरका चल्लाहरुलाई चाहिं कस्तो दाना दिने नि ?

९ देखि ४२ हप्ता उमेरका चल्लाहरुलाई ग्रोवर दानाको साथै हरियो बर्सिम घांस र साना ढुङ्गाको टुक्रा खुवाउने व्यवस्था गर्नु पर्दछ ।
Q 40. अनि ४२ हप्ता उमेर पछि कस्तो दाना खुवाउनु पर्दछ ?

अष्ट्रिचलाई ४२ हप्ता पछि फिनिसर दानाको साथै हरियो बर्सिम घांस र सिपीको टुक्रा र साना ढुङ्गाको टुक्रा खुवाउने व्यवस्था गर्नु पर्दछ ।
Q 41. अष्ट्रिचलाई दाना दिंदा कति दिने त ?

करिब १ बर्षको अष्ट्रिचलाई मकै, गहुं, चोकर आदि मिलाएर बनाएको दाना दैनिक ३ देखि ४ के.जी.सम्म खुवाउनु पर्दछ ।
Q 42. अष्ट्रिचलाई हरियो घांसपात कति दिने नि ?

हरियो घांसपात जस्तै बर्र्सिम, जोईण्ट भेच आदि १ देखि २ के.जी. खुवाउन सकिन्छ भने हरियो घांससंगै सुख्खा हे पनि मिसाएर खुवाउने गरेको पाईन्छ ।
Q 43. अनि अष्ट्रिचलाई पानी चाहिं कति खुवाउने नि ?

बयस्क अष्ट्रिचलाई दैनिक करिब ३ देखि ४ लिटरका दरले पानी दिनु पर्दछ ।
Q 44. अष्ट्रिचलाई पनि रोग लाग्दछ ?

अष्ट्रिचलाई परजिवी, ढुसी, जिवाणु र विषाणुबाट विभिन्न रोग लाग्ने भएता पनि अष्ट्रिच आफैमा रोग सहन शक्ति बढी हुने भएकोले खासै रोगको समस्या देखिन्दैन ।
Q 45. जैविक सुरक्षाको दृष्टिकोणबाट कस्तो ठाउमा अष्ट्रिच फार्म स्थापना गर्नु उपयुक्त हुन्छ ?

अष्ट्रिच फार्म स्थापनाको लागि मानिस बसेको बस्तीबाट कम्तिमा १०० मिटर र मुल सडकबाट कम्तिमा पनि २०० मिटर टाढा खुल्ला स्थान छनौट गर्नु पर्दछ ।
Q 46. फार्ममा रोग भित्रिन नदिन अन्य के के कुरामा ध्यान दिनु पर्छ होला ?

फार्ममा काम गर्ने कामदारहरुको सरसफाईमा ध्यान दिने, जो सुकैलाई फार्ममा पस्न नदिने र फार्मको प्रवेशद्वारमा फुटवाथ राख्ने वा फार्म प्रवेश गर्दा निःसंक्रमणको व्यवस्था मिलाउनु पर्दछ ।
Q 47. अष्ट्रिचको पनि बीमा हुन्छ ?

नेपाल सरकारले निर्जीवन बीमा कम्पनीहरु मार्फ अष्ट्रिचको पनि बीमा गर्न पाउने सुविधा शुरु गरेको छ ।
Q 48. कुन कुन निर्जीवन बीमा कम्पनीहरुबाट बीमा गर्न गर्न सकिन्छ ?

एन.एल.जी॰ इन्सुरेन्स कम्पनी, शिखर इन्सुरेन्स कम्पनी, लुम्बिनी इन्सुरेन्स कम्पनी, सगरमाथा इन्सुरेन्स कम्पनी लगायत लगभग १७ निर्जीवन बीमा कम्पनीहरुबाट यो सुविधा प्राप्त गर्न सकिन्छ ।
Q 49. सरकारले किसानलाई पशुपंक्षी बीमामा कस्तो सुविधा दिएको छ त ?

बीमा गर्दा बीमा कम्पनीलाई तिर्नु पर्ने प्रिमियम रकमको ७५ प्रतिशत रकम सरकारले किसानलाई अनुदान दिन्छ ।
Q 50. अष्ट्रिच पालनको सम्बन्धि प्राविधिक सेवा सुविधाहरुको जानकारी कहांबाट प्राप्त गर्न सकिन्छ ?

आवश्यक प्राविधिक सेवा सुविधाहरु र जानकारी प्राप्तीको लागि सम्बन्धित जिल्ला पशु सेवा कार्यालय वा केन्द्रिय बंगुर कुखुरा प्रर्बर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरमा सर्म्पर्क गरी सकिन्छ ।

Share:

Related Post