WELCOME TO AGROMART NEPAL !

मरिच खेती गरे बिदेश जानु पर्दैन ,बार्षिक एक अर्ब ४९ करोडको मरिच नेपालमा आयात

माझठाना गाविस– ६ स्याङ्खुदीका सूर्यमोहन बास्तोलाले व्यावसायिक रुपमा मरिचखेती (Black Pepper) सुरु गरेका छन्।

घर छेउमै लगाइएका एक सय बिरुवामध्ये ५० वटाले फल दिन सुरु गरेका छन्। उनले यस बर्ष ६० किलो मरिच बिक्री गरेर ६० हजार आम्दानी गरेका छन्। च्याखुरी जातको सो मरिचबाट वार्षिक पाँच लाख आम्दानी गर्ने बास्तोलाको लक्ष्य छ।
कृषि उद्यमका लागि जिल्लामा विभिन्न नयाँ/नयाँ प्रयोग भित्र्याउने दिवङ्गत समाजसेवी सोमनाथ आत्रेयले २०४० सालमा दार्जिलिङबाट पहिलोपटक मरिचको बिरुवा ल्याएका थिए। फलेदाको बोटमा लगाइएको उक्त मरिचले वार्षिक करिब १५० किलो उत्पादन दिने गरेको उनका छोरा छत्रधरले बताए।
लहरेबाली मरिचका लागि बोक्रा खस्रो हुने आँप, कल्कि, चिलाउने, फलेदो, साल, कटुसलगायतका बोटको आवश्यकता पर्छ । फेदमा लगाएको मरिचले फल दिने र रुख हुर्केपछि काठ बिक्री हुने हुँदा दोहोरो फाइदा लिन सकिन्छ। बिरुवा लगाएको पाँच बर्षको अवधिमा फल्न सुरु गर्ने मरिचले लगातार ३० वर्षसम्म उत्पादन दिने कृषक बास्तोला बताउँछन्।
बास्तोलाले सञ्चालन गरेको अमृतकुन्ज अर्गानिक फार्ममा मरिचलगायत एभोकाडो, मेकाडेनिया नट, किबि, जापानीज हलुवाबेद, सुगन्ध कोकिला, एकपाते सुनाखरी, सिताफल, चेरी, स्थेभिया, आँप, हर्रोबर्रो, रुद्राक्ष, श्रीखण्ड, चिउरी, चौटाजोर, अम्लिय फलसहित करिब ५०० प्रजातिका फलफूल एवम् जडीबुटीका बोट तथा बिरुवा रहेका छन्।
बेगनास तालको उत्तरपट्टिको भेगमा लगभग ३५ रोपनी जग्गामा रहेको सो फार्मबाट वार्षिक रु तीन लाख आम्दानी हुने बास्तोलाको भनाइ छ। “धान फल्ने जग्गामा अन्य बिरुवा लगाउँदा दुःख लागेको थियो तर अहिले उत्पादन दिन थालेपछि चित्त बुझेको छ,” उनले भने।
बर्सेनि असारदेखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन । व्यापार प्रवद्र्धन केन्द्र ललितपुरका उपनिर्देशक रवीन्द्र दवाडीका अनुसार गत आवमा एक अर्ब ४९ करोडको मरिच नेपालमा आयात गरिएको थियो। रासस 

 

Share:

Related Post