WELCOME TO AGROMART NEPAL !

अलैंची खेती गर्ने तरिका

Q 1. अलैंची खेतीका लागि कस्तो हावापानी आवश्यक पर्दछ ?

अलैंची छायाँप्रिय तथा चिसो वातावरण मन पराउने बाली हो। यसको खेतीको लागि सबैभन्दा उपयुक्त तापक्रम ८ देखि २० डिग्री सेल्सियस सम्म हो। ४ डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा बिरुवाको बढ्ने गति कम हुन्छ।
Q 2. अलैंची खेती समुद्र सतह देखि कति उचाईसम्म गर्न सकिन्छ?

यसको खेती समुद्र सतहबाट ७०० देखि २१०० मिटरसम्म सफलताका साथ गर्न सकिएतापनि ६०० देखि २३०० मिटरसम्म पनि यसको खेती गरेको पाइन्छ।
Q 3. अलैंची खेतीका लागि कस्तो किसिमको आर्द्रता चाहिन्छ?

अलैंचीले बढी आर्द्रता भएको स्थान मन पराउँछ। ९० प्रतिशत वा सो भन्दा बढी आर्द्रता भएमा यसको खेतीको लागि राम्रो मानिन्छ।
Q 4. अलैंची खेतीका लागि वार्षिक वर्षा कस्तो हुनु पर्दछ?

अलैंची उत्पादन वर्षाको परिमाण र वितरण प्रणालीमा भर पर्दछ। वर्षा जति धेरै भयो त्यति राम्रो मानिन्छ। सिंचाई भन्दा वर्षाको पानी बिरुवाको लागि बढी फाईदाजनक हुन्छ।
Q 5. अलैंची खेतीका लागि कस्तो स्थान छनौट गर्नु पर्दछ?

अलैंची खेतीको लागि केहि भिरालो परेको, सूर्यको प्रकाश कम पर्ने, छहारी सहितको खोल्सो तथा फेदबाट सँधै पानी बगिरहने स्थान सबैभन्दा उपयुक्त हुन्छ।
Q 6. अलैंची खेतीका लागि मोहडा कस्तो हुनु पर्दछ?

अलैंची खेतीको लागि उत्तर-पूर्व फर्किएको जमिन राम्रो हुन्छ तर पनि अन्य कुराहरु अनुकूल भएमा जुनसुकै मोहडा भएको जमिनमा अलैंची खेती गर्न सकिन्छ।
Q 7. अलैंची खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

अलैंचीकोखेती ४.५ देखि ६.५सम्म पि.एच. मान भएको जुनसुकै माटोमा पनि गर्न सकिन्छ तर  त्यस्तो ठाउँपानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको,दोमट माटो भएमा अझ राम्रो हुन्छ। चिम्टयाइलो रातो माटोमा पानी जम्ने र पानी कम भएमा माटो कक्रिने हुँदा यस्तो माटोमा अलैंची खेतो राम्रो हुँदैन।
Q 8. अलैंचीलाई छहारीकोव्यवस्थापन कसरी मिलाउनु पर्दछ?

अलैंचीमा छहारी व्यवस्थापनको लागि चाँडो बढ्ने टुप्पो तिर झुप्पो र तल तिर खुल्ला रहने, पात बाह्रै महिना खसिरहने र चाँडो हुर्कने, चिस्यान र सेपिलो ठाउँमा चाँडो हुर्कन र बढ्न सक्ने भरसक नाईट्रोजन स्थिरीकरण गर्न सक्ने बोट बिरुवाहरु अलैंची रोप्नु अगावै लगाउनु पर्दछ।
Q 9. अलैंचीलाई छहारीकोलागि कस्ता जंगली वनस्पतिहरु लगाउन उपयुक्त हुन्छ?

अलैंचीमा छहारीको लागि विशेषतः उत्तिसका बिरुवा लगाउने चलन छ। उत्तिस बाहेक शिरिष, मलातु, क्यामुना, दुधेलो, चुलेत्रो आदि पनि लगाउन सकिन्छ। डाले घाँस काट्दा अलैंची बगानमा नोक्सानी पुर्‍याउने हुँदा यस्ता बिरुवाहरु छहारीको लागि उपयुक्त हुँदैनन्।
Q 10. छायाँदार बिरुवाहरु कति दुरीमा लगाउन उपयुक्त हुन्छ?

शुरुका वर्षमा छहारी दिने बोटहरु बाक्लो रोपी छैंठो सातौं वर्षपछि आवश्यक संख्यामा राखी अन्यलाई हटाउन सकिन्छ। साधारणतया छहारीको लागि १५ देखि २० फिटको दुरी कायम गरी बिरुवा लगाउनउपयुक्तहुन्छ।
Q 11. नेपालमा अलैंचीका कुन–कुन जातहरु पाइन्छन् ?

नेपालमा खेती गरिँदै आएका अलैंचीका प्रमुख जातहरुमा रामसाई, गोलसाई, डम्बरसाई, चिबेसाई, साउने, सलकपुरे, काँटीदार आदि हुन्।

Q 12. अलैंचीका जातहरुलाई भौगोलिक धरातल अनुसार विभाजन गर्न सकिन्छ ?

हाल खेती भै रहेका जातहरु मध्ये रामसाई १५०० मिटर भन्दा माथिको उचाईमा, गोलसाई र साउने १२०० देखि १५०० मिटरको उचाईमा, डम्बरसाई७०० देखि १२०० मिटरको उचाईमा, चिबेसाई र काँटीदार ७०० देखि १००० मिटरको उचाईमा लगाउन सकिन्छ।


Q 13. अलैंचीको रामसाई जातको विशेषता बताई दिनु हुन्थ्यो कि?

यो जातका लाक्राहरु रातो रङ्गका र लामा हुन्छन्, पातहरु डाँठको टुप्पोमा बढी हुन्छन्, पातहरु नुहेका देखिन्छन्। फूल (थुङ्गा) छोटो हुने हुनाले काट्न अप्ठ्यारो हुन्छ।यसमा प्रति झ्याङ्ग बढी थुङ्गा लाग्छन्। सप्रेको लाक्रामा ४ वटा सम्म थुङ्गा लागेको पाईन्छ।फलहरु मझौला र लाम्चा हुन्छन्।पाक्ने समय असोजको अन्तिम हप्ता देखि कार्त्तिकको प्रथम हप्तासम्महुन्छ।
Q 14. अलैंचीको गोलसाई जातको पनि विशेषता बताई दिनु हुन्थ्यो कि?

यस जातकोडाँठको फेदै देखि पातहरु आउँछन्, पातहरु ठाडा हुन्छन्, फलहरु पहेंलो रङ्गको र बाटुला तथा ठूला र पोटिला हुन्छन्। यसको फल असोजको शुरु देखि अन्तिमसम्म टिप्न सकिन्छ।
Q 15. अलैंचीकाबिरुवा कसरी उत्पादन गरिन्छ?

अलैंचीका बिरुवा दुई तरिकाले पहिलो वानस्पतिक प्रजनन वा मूल बिरुवाबाट पाना छुट्टयाएर र दोश्रो लैङ्गिक प्रजनन वा बीउबाट बिरुवा उमारेर उत्पादन गर्न सकिन्छ।
Q 16. वानस्पतिक प्रजननकf फाईदा तथा बेफाईदा के छन् ?

वानस्पतिक तरिकाले मूल बिरुवाबाट छुट्टयाईएका बिरुवाहरु रोपेको दोश्रो-तेश्रो वर्षबाटै फल्न शुरु गर्दछन्। माउ बोटको जातिय गुण जस्तो छ त्यस्तै गुणहरु कायम रहन्छ तर यस्ता बिरुवामा छिर्के फुर्के जस्ता भाईरसजन्य रोगहरु सर्दछन्।
Q 17. लैङ्गिक प्रजननकf फाईदा तथा बेफाईदा के छन् ?

लैङ्गिक प्रजनन वा बीउबाट बिरुवा उमार्न केहि गाह्रो, बिरुवा तयार हुन केहि समय लाग्ने भएतापनि नयाँ ठाउँमा छिर्के फुर्के जस्ता भाईरसजन्य रोगहरुबाट बचाउन सकिन्छ र बगानलाई लामो अवधिसम्म उत्पादनमूलक राख्न सकिन्छ।
Q 18. अलैंचीको बिरुवा उत्पादन गर्दा जातिय छनौट गर्न आवश्यक छ ?

विभिन्न जातहरुका आ-आफ्नै जातिय गुणहरु हुन्छन् जस अनुसार बढी फल्ने, रोग सहन गर्न सक्ने, धेरै वर्षसम्म फल दिने, भौगोलिकउचाई अनुसार स्थापित हुन सक्ने गुणहरु भएकोले जातको पहिचान गर्न जरुरी छ।
Q 19. अलैंचीको नर्सरी कसरी स्थापना गर्न सकिन्छ ?

अलैंचीको बीउ सानो हुने भएकोले यसलाई राम्रोसँग उम्रन तथा उम्रीसकेपछि दोश्रो नर्सरीमा बिरुवा सार्ने अवस्थासम्म बिरुवालाई आवश्यक पर्ने सम्पूर्ण खाद्यतत्वहरु पूरा हुने गरी प्राङ्गारिक मल प्रयोग गर्नु पर्दछ। अलैंची बिरुवा सार्नयोग्य बनाउन प्रथम र दोश्रो गरी दुई पटक नर्सरीमा बिरुवाहरु हुर्काईन्छ
Q 20. अलैंचीको बिरुवा हुर्काउन कति समय लाग्छ ?

अलैंची बिरुवालाई प्रथम नर्सरीमा १८ देखि २२ महिनासम्म राख्नु पर्ने हुन्छ भने दोश्रो नर्सरी १२ देखि १४ महिनासम्म रहन्छन्।यसरी ३२ देखि ३४ महिनामा मात्र बिरुवाहरु बिक्रीयोग्य हुन्छन्।अतः बिरुवाको उचित स्याहार सम्भार गर्न आवश्यक हुन्छ।
Q 21. अलैंचीको बगान कसरी स्थापना गर्न सकिन्छ ?

अलैंचीको बगानस्थापना गर्नु अगाडी रेखाङ्गन गर्ने, खाड्लको तयारी गर्ने, मलखाद प्रयोग गर्ने आदि कामहरु गर्नु पर्दछ।जग्गाको तयारी गर्दा छहारी भएको स्थान हो वा नयाँ छहारी बोट लगाउनु पर्ने भन्ने कुरामा पनि ध्यान दिनु पर्दछ।
Q 22. अलैंचीको बिरुवा लगाउँदा कति गहिराईको खाड्ल खन्नु पर्दछ ?

साधारणतः ३० X३० X३० घन से.मि. को खाड्ल खन्नु पर्छ। यदि जमिन निकै कडा छ भने गहिराई ४५ से.मि. सम्म बनाउनु पर्दछ।
Q 23. खाड्ल तयार भएपछि अलैंचीको बिरुवा कसरी सार्नु पर्दछ ?

करिब महिना दिन अगाडी पुरेर राखेको खाड्लमा प्रति खाड्ल ३ वटा बिरुवा त्रिकोण आकारमा रोप्नु पर्दछ। यो तरिका अपनाउँदा बिरुवा मरेर खाड्ल रित्तो हुँदैन। बिरुवा ८ देखि १० से.मि. सम्म गहिराईमा रोप्नु पर्दछ।
Q 24. अलैंचीको बिरुवा कहिले सार्दा उपयुक्त हुन्छ ?

मनसुनी वर्षा शुरु हुने समय नै अलैंची लगाउने उत्तम समय हो। हरेक वर्ष मनसुन शुरु हुने समय फरक हुन सक्दछ तर पनि सामान्य रुपमा जेष्ठको अन्तिम हप्ता देखि श्रावण महिनाको मध्यसम्म अलैंची बिरुवा रोप्नु उत्तम हुन्छ। यस भन्दा ढिला गरी रोपेको बिरुवाको मृत्यु दर बढ्दै जान्छ।
Q 25. अलैंची बगानमा गोडमेल किन गर्नु पर्दछ ?

झारपातबाट हुने खाद्यतत्वको प्रतिस्पर्धा रोक्ने, जरा, पानातथा बोटहरुमा हावाको संचार गराउने। बिरुवालाई खनिजपदार्थ र सूर्यको प्रकाश उपलब्ध गराउने, रोगकीराको प्रकोप कम गर्ने, जरा र पानाको वृद्द्धिका लागि माटो खुकुलो बनाई बाहिर निस्किएका जरा तथा पानालाई छोप्ने कार्य गरी बढी उत्पादन हासिल गर्नु नै गोडमेलको मुख्य उद्देश्य हो।


Q 26. अलैंची टिप्ने अवस्था कसरी थाहा पाउन सकिन्छ ?

अलैंचीको जात र जमिनको उचाईको आधारमा अलैंची टिप्ने। अलैचीको फल रातो र बीयाँ खैरोबाट कालोमा परिणत भएपछि टिप्न सकिन्छ। नपाक्दै टिपेको फलमा गेडा नरम, सेतो खैरो हुन्छ भने बढी पाकेको फल झर्ने, सुकाउँदा फुट्ने हुन्छ।
Q 27. अलैंची टिपी सकेपछि थुङ्गा गुम्साउन किन जरुरी छ ?

थुङ्गाका फेदका फलहरु राम्री पाकिसकेपछि टुप्पा तिरका फलहरु केहि काँचै रहन सक्ने भएकोले टिपेको ३-४ दिनसम्म गुम्स्याएर राखेमा सबै फलहरुले पाक्ने अवसर पाउँछन्।
Q 28. गुम्साएको थुङ्गाहरुबाट फल कसरी छुट्टयाउनु पर्दछ ?

गुम्साएको थुङ्गाहरुबाट एक एक गरी फलहरु छुट्टयाउनु पर्दछ।उक्त फलहरु सफा पानीमा धोएर माटो फोहोर आदि हटाई चित्रा, मान्द्रो आदिमा तर्‍याउनु पर्दछ।
Q 29. अलैंचीलाई सुकाउन किन जरुरी हुन्छ ?

ताजा फलमा रहने ८० देखि ८५ प्रतिशत पानीलाई उडाई १० देखि १२ प्रतिशतको सुरक्षित बिन्दुमा झारी फलको संरक्षण गर्न अलैंची फललाई सुकाउनु पर्दछ। अलैंचीलाई विभिन्न तरिकाबाट सुकाउन सकिन्छ तर यसको गुणस्तर, बजार भाउ यसैमा जाँचिने भएकोले यस पक्षलाई गम्भिरतापूर्वक लिनु पर्छ।
Q 30. अलैंचीलाई कस्तो किसिमको भट्टीमा सुकाउन उपयुक्त हुन्छ ?

अलैंची सुकाउने विभिन्न प्रकारका भट्टीहरु पाईन्छन्। कुनै भट्टीमा धुवाँको माध्यमबाट अलैंची सुकाइन्छ भने कुनैमा राप र तापको माध्यमबाट सुकाईन्छ। हाल प्रयोगमा आएका भट्टीहरुमा स्थानिय भट्टी, सुधारिएको स्थानिय भट्टी, बिजुली भट्टी आदि छन्।
Q 31. अलैंची सुकाउन उपयुक्त मानिएको भट्टी कुन होला ?

हालसालै विकसित भएको सुधारिएको स्थानिय भट्टी, सरल, सबै ठाउँमा प्रयोग हुन सक्ने,धुवाँरहित तापबाट सुकाइने भएकोले फलको रङ्गमा परिवर्तन नभै आकर्षक रहने, आन्तरिक गुणहरुमा ह्रास नहुने र गुणस्तरयुक्त अलैंची प्रशोधन भै मूल्य पनि बढी पाउने भएकोलेसबैभन्दा उपयुक्त मानिएकोछ।
Q 32. सुकाएको अलैंची फलबाट पुच्छर हटाउन किन जरुरी हुन्छ ?

उपभोक्ताहरुले फलको टुप्पोमा हुने पुच्छरलाई मन नपराउने हुँदा मूल्यमा गिरावट आउन सक्दछ।थोरै परिमाणमा भएमा कैंचीले काटेर हटाउन सकिन्छ तर धेरै भएमा फलामे चाल्नोमा दलेर हटाउनु पर्दछ।यो काम भट्टीबाट सुकाएर निकाल्ने बित्तिकै गरेमा पुच्छर चाँडो हट्दछ र फल पनि केहि मात्रामा भएको ध्वाँसो हटी सफा हुन्छ।
Q 33. अलैंची फललाई ग्रेडिङ्ग गर्न किन जरुरी हुन्छ ?

उत्पादित अलैंची फललाई त्यसको रङ्ग, आकार आदिको आधारमा ग्रेडिङ्ग गरिन्छ।ग्रेडिङ्ग गर्दा रोग लागेका, पुच्छर भएका, राम्ररी सफा नगरिएका, जंगली अलैंची (चुरुम्फा) आदि हटाई एकनासको फलहरु एक ठाउँमा छुट्ट्याउनु पर्दछ।
Q 34. अलैंची फल बिक्री गर्नु अगाडी कसरी प्याकिङ्ग गर्नु पर्दछ ?

अलैंची फल बिक्री गर्नु अगाडी ग्रेडिङ्ग गरिएका अलैंची फललाई प्लाष्टिक सहितको जुटको बोरामा प्याकिङ्ग गर्नु उपयुक्त हुन्छ। यसरी प्याकिङ्ग गर्दा अलैंचीमा कायम गरिएको चिस्यान प्रतिशत कायम गर्न सकिन्छ।बाह्य प्रभावबाट चिस्यान घट्ने बढ्ने सम्भावना रहँदैन र लामो अवधिसम्म भण्डारण गर्न सकिन्छ।
Q 35. अलैंचीलाई कसरी भण्डारण गर्न सकिन्छ ?

अलैंचीलाई सुख्खातथा हावा संचार हुने किसिमको भण्डार घर चाहिन्छ। भण्डार घरको भूईंमा काठको फ्ल्याक ओछ्याई चिसो नपस्ने गरी एक बोरा माथि अर्को बोरा खप्ट्याई सुरक्षित तरिकाले भण्डारण गर्न सकिन्छ।
Q 36. अलैंची बालीमा देखा पर्ने मुख्य–मुख्य कीराहरु कुन कुन हुन् ?

अलैंची बालीमा लाग्ने कीराहरुमा झुसिल कीरा, लाही, गवारो, थ्रिप्स आदि हुन्। यिनीहरु मध्ये झुसिल कीरा र लाही धेरै हानिकारक हुन्छन्।
Q 37. झुसिल कीराले अलैंची बालीलाई कसरी क्षति पुर्या।उँदछ ?

झुसिल कीराहरु केहि वर्षको अन्तरालमा झुण्डका झुण्ड देखा पर्दछन्। अलैंची बालीमा यसले गर्मी तथा हिउँदको मौसममा समेत आक्रमण गर्दछ। लाभ्रेहरु पातको तल्लो भागमा जम्मा भएर बस्दछन्।यिनीहरु खन्चुवा भएका कारण बालीलाई धेरै नै नोक्सान पुर्‍याउँदछन्।


Q 38. झुसिलकीराको नियन्त्रण कसरी गर्न सकिन्छ?

शुरुको अवस्थामा झुण्डमा बस्ने भएकोले पात टिपेर मार्न सकिन्छ। जैविक विषादीहरुवाट रोकथाम हुन नसकेमा मालाथायन अथवा साइपरमेथ्रिन जस्ता विषादीहरु २ मि.लि. प्रति लिटर पानीका दरले अलैंची बालीमा छर्दा कीराको नियन्त्रण गर्न सकिन्छ।
Q 39. लाही कीराले अलैंची बालीलाई कसरी क्षति पुर्यांउँदछ ?

लाही कीराहरु पनि झुण्डमा बसेर अलैंचीको पात, डाँठ तथा फलको रस चुसदछन् र विभिन्न विषाणु रोगहरु पनि सार्दछन्। यसको अलावा रस चुस्ने क्रममा लाहीले बिरुवामा गुलियो पदार्थ छाड्दछन् र कालो ढुसीले आक्रमण गरी प्रकाश संश्लेषण क्रियामा समेत बाधा पुग्दछ। अलैंची बालीमा छिर्के फुर्के रोग सार्ने प्रमुख माध्यम नै लाही कीरा हो।
Q 40. लाहीकीराको नियन्त्रण कसरी गर्न सकिन्छ?

जैविक विषादीहरुवाट रोकथाम हुन नसकेको खण्डमा रोगर वा मेटासिष्टक्स जस्ता विषादीहरु २ मि.लि. प्रति लिटर पानीका दरले अलैंची बालीमा छर्दा लाही कीराको नियन्त्रण गर्न सकिन्छ।
Q 41. अलैंची बालीमा देखा पर्ने मुख्य मुख्य रोगहरु कुन कुन हुन् ?

अलैंची बालीमा लाग्ने रोगहरुमा जरा तथा पाना कुहिने, पातमा दागी आउने, अलैंची डढुवा, छिर्के तथा फुर्केरोगहरु देखा पर्दछन्। यिनीहरु मध्ये जरा तथा पाना कुहिने रछिर्के तथा फुर्केरोगहरु धेरै हानिकारक हुन्छन्।
Q 42. अलैंचीको जरा तथा पाना कुहिने रोगको पहिचान कसरी गर्न सकिन्छ ?

यो रोगको आक्रमण शुरु भएपछि पातहरुको टुप्पा पहेंलिन्छन् र पहेंलिने क्रिया पातको फेदतिरबढ्दै जान्छ। डाँठको फेद, पाना र जराहरु कुहिन्छन्। खोतलेर हेर्दा पाना र जरामा काला खैरा दागहरु प्रशस्तै देखिन्छन्।
Q 43. अलैंचीको जरा तथा पाना कुहिने रोगको रोकथाम कसरी गर्न सकिन्छ ?

अलैंची बगानमा पानी जम्न नदिन निकासको राम्रो व्यवस्था मिलाउने। रोगी बिरुवालाई उखेलेर जलाउने।यसको रोकथाम गर्न बोर्डोमिक्स्चरले उपचार गर्ने वा कपर अक्सिक्लोराइड २-३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने।
Q 44. अलैंचीको फुर्के रोगको पहिचान कसरी गर्न सकिन्छ ?

यो रोगलागेपछि लाक्राहरु सानो हुने, पातहरुसाँगुरिने, बोट गुजुमुज्जु परेको देखिने। रोगको प्रकोप बढ्दै गएपछि पानाहरु कुहिँदैगएर बोट मर्दछ।
Q 45. अलैंचीको फुर्के रोगको रोकथाम कसरी गर्न सकिन्छ ?

बीउबाट तयार भएका बिरुवाहरु प्रयोग गर्ने। रोग सहन सक्ने जातहरु लगाउने। रोग लागेका बगानबाट बिरुवाहरुको प्रसारण नगर्ने। लाही कीरा नियन्त्रण गर्न रोगरवा मेटासिष्टक्स २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने।
Q 46. अलैंचीको छिर्के रोगको पहिचान र रोकथाम कसरी गर्न सकिन्छ ?

यो रोगशुरु हुनासाथ पातमा मसिना नसाहरुको बीच बीचमा लामा र साना छिर्काहरु नसाको समानान्तर देखा पर्दछन् र रोग बढ्दै गएपछि यी छिर्काहरु एक आपसमा जोडिन्छन्।यसको नियन्त्रण विधि फुर्के रोगमा जस्तै हुन्छ।
Q 47. अलैंची फल प्रति रोपनी कतिसम्म उत्पादन हुने गर्दछ ?

उत्पादन परिमाण वर्षैपिच्छे फरक पर्न सक्छ। सामान्यतया तेश्रो वर्षदेखि उत्पादन लिन सकिने भएतापनि छैंठो वर्षदेखि २० वर्षसम्म लगातार राम्ररी उत्पादन लिन सकिन्छ। यसको औसत सुख्खा उत्पादन १८ देखि २५ के.जी. प्रति रोपनी रहेको छ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Share:

Related Post