WELCOME TO AGROMART NEPAL !

तीते करेला खेती गर्ने तरिका

Q 1. तीते करेला कुन तरकारी बाली समूह अन्तर्गत पर्दछ?

तीते करेला लहरे बाली समूह वा फर्सी बाली समूहको तरकारी हो।
Q 2. यो बाली कस्तो किसिमको हावापानीमा राम्रो फस्टाउँछ ?

तीते करेला गर्मी तथा न्यानो मौसमको बाली भएकाले तुषारो खप्न सक्दैन। तराईदेखि १५०० मिटर उचाई र २० देखि ३५ डिग्री सेन्टिग्रेड तापक्रम भएको क्षेत्र बढी उपयुक्त हुन्छ। सरदर २५डिग्री सेन्टिग्रेड देखि ३५ डिग्री सेन्टिग्रेडको तापक्रम बोटको वृद्धि तथा फल लाग्नको लागि उपयुक्त हुन्छ।१२डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भएमा बीउ उम्रदैन र बोटको वृद्धि पनि राम्रो हुँदैन।३८ डिग्री सेन्टिग्रेड भन्दा माथिको तापक्रममा फल लाग्दैन।
Q 3. करेलालाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?

प्राङ्गारिक पदार्थ प्रशस्त (५ प्रतिशत भन्दाबढी) र पि.एच. मान ६.५-७.०,पानीको निकास राम्रो भएको बलौटे, दोमट माटोमा करेला खेती राम्रो हुन्छ।
Q 4. नेपालमा खेती गरिने करेलाका प्रचलित जातहरु कुन कुन हुन् ?

नेपालमा खेती गरिने जातहरु मध्ये कोयम्बटोर लङ्ग, हरियो करेला सबैभन्दा प्रचलित जात हुन्। पञ्जिकृत गरिएका बर्णशङ्कर जातहरुमा पाली, एन. एस. ४३३,चन्द्र, लक्ष्मी ५५५, पीपल, शिव, गंगा, हीरा, सेती ४४४, कोमल, समृद्घि, एन.एस. ४३४, चमन प्रचलित छन्।
Q 5. नेपालमा खेती गरिने हरियो करेला जातकोविशेषता के हो ?

यो बेर्ना सारेको ४०-४५ दिनमा उत्पादन लिन सकिने अगौटे जात हो। यसको फल २०-२५ से.मि. लामो, पहिले हरियो र पाकेपछि पहेंलो हुन्छ। यो २०५१ सालमा उन्मोचित तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको जात हो। यसको पुरानो नाम पुसा दोमौसमी हो।
Q 6. करेला बाली लगाउने र बाली लिने समय के हुन सक्छ ?

जात, स्थानीय हावापानी र प्रविधि अनुसार लगाउने र बाली लिने समय फरक हुन सक्छ । नेपालको भिन्न हावापानीका क्षेत्रहरूमा ल्पाष्टिक घर वा बाहिर भदौ देखि जेठसम्म बीउ रोप्ने वा सार्ने गरेर मौसमी र बेमौसमी बाली लिन सकिन्छ।
Q 7. करेला बालीको लागि प्रति रोपनी कति बीउ/बेर्ना आवश्यकहुन्छ ?

एक रोपनीको लागि करेलाको ५०७५ ग्राम बीउ वा प्लाष्टिक थैलामा उमारेका ३०० बेर्ना (खाली ठाउँ भर्न समेत) को आवश्यकता पर्दछ।
Q 8. करेला रोप्ने जमीन कसरी तयार गरिन्छ ?

जमिनलाई २-३ पटक राम्ररी खनजोत गरी माटो खुकुलो तथा बुरबुराउँदो बनाई २.५ मिटर चौडा ड्याङ्ग र दुई ड्याङ्गको बीचमा सिंचाई गर्न, बढी भएको पानी निकासी गर्न र हिलडुल गर्न ५० से.मि. चौडा र १५ से.मि. गहिरो कुलेसो बनाउनु पर्दछ।
Q 9. प्लाष्टिक ब्यागमा पनि करेलाको बीउ उमारिन्छ, किन होला ?

तीते करेलाको छिटो उत्पादन लिनका लागि प्लाष्टिक थैलामा स्वस्थ बेर्ना उत्पादन गरी खेत बारीमा सारिन्छ।


Q 10. व्यावसायिक करेला खेती गर्दा मलखादको ब्यवस्थापन कसरी गरिन्छ ?

एक रोपनी क्षेत्रफलको लागि ७५०–१००० के.जी. गोबरमल, ५ के.जी. यूरिया, ४ के.जी. डि.ए.पी. र २ के.जी. म्यूरेट अफ पोटासको आवश्यकता पर्दछ। बेर्ना सारेको २५ देखि ३० दिनपछि र फूल फुल्न शुरु भएपछि बोटको वरिपरि औँठी आकारमा प्रति बोट ५ ग्राम(करिब २-२.५ चिया चम्चा) यूरिया मल २ पटक टपड्रेस गर्नु पर्दछ।
Q 11. करेलाको बेर्ना कति दुरीमा रोपिन्छ ?

सुख्खायाममा एक हारबाट अर्को हारको दुरी २०० से.मी.र बोटबाट बोटको दुरी १०० से.मी. र वर्षायाममा एक हारबाट अर्को हारको दुरी २०० से.मी.र बोटबाट बोटको दुरी २०० से.मी.हुने गरी तयार गरिएको खाड्लमा जरा नखलबलिने गरी प्लाष्टिक हटाई माटोको ढिक्का सहितको बेर्ना खाड्लमा रोप्नु पर्दछ। बर्षातमा गरिने खेतीमा सोझै बीउ रोपिन्छ।
Q 12. करेला बालीलाई सूक्ष्मतत्वको कति आवश्यकता पर्दछ?

तीते करेलामा बिभिन्न सूक्ष्मतत्व खास गरेर क्याल्सियमको कमि देखा पर्दछ। मल्टिप्लेक्स वा एग्रोमिन ३ मि.लि. प्रतिलिटर पानीका दरले मिसाई छर्दा राम्रो उत्पादन भएको पाईएको छ। फूल फुल्ने र चिचिला लाग्ने बेलामा मिराकुलान वा हिटकुलान १ मि.लि.प्रतिलिटर पानीका दरले १५/१५ दिनको फरकमा बाली नसकुन्जेल छर्कनु परेदछ।
Q 13. करेला बालीमा रोपाई पछिको हेरचाह कसरी गर्ने?

करेलाको बेर्ना सार्ने बितिकै हजारीले हलका सिचाई दिनु पर्दछ। बेर्ना सरेपछि सिचाई गर्दा कुलेसोमा मात्र पानी दिनु पर्दछ। लहरा छुट्न थालेपछि बोटको वरिपरिअलिकति हलका माटो चढाई दिनु पर्छ। करेलालाई थाक्रा दिनु पर्छ। थाक्रा दिंदा जमिनबाट ५-७ फिट माथि मचान जस्तो बनाई लहरा दायाँ बायाँ फैलिन दिनाले फल धेरै लाग्छ र फल टिप्न सजिलो हुन्छ। बिना थाक्रा पराल वा घाँसको छापो प्रयोग गरेर पनि बढी उत्पादन दिएको पाइएको छ।
Q 14. मौसम अनुसार सिचाई तथा निकासको व्यवस्था कस्तो हुन जरुरी छ ?

सुख्खा याममा सिचाई र वर्षायाममा बढी भएको पानीको निकास दुई ड्याङ्गको वीचमा बनाएको कुलेसोबाट गरिन्छ। गर्मी मौसममा ३–५ दिनको अन्तर र जाडो मौसममा १०–१५ दिनको अन्तरमा सिचाई गर्नु पर्दछ।
Q 15. करेलामा लाग्ने धुलो ढुसी रोग कसरी पहिचान गर्ने र यसको रोकथाम कसरी गर्न सकिन्छ ?

पातको माथिल्लो सतहमा सेतो खैरो ढुसीको विकास भई रोगी विरुवाका पातहरु पहेँलिन्छन् र सुक्न थाल्दछन्। आक्रमण बढी भएमा पात डाँठ साथै लहरामा पाउडर छरे जस्तो देखिन्छ।यसको रोकथाम गर्न घरेलु उपचार विधि जस्तै गाई भैंसीको गहूँत १ भाग र १० भाग पानी मिसाई ४–५ दिनको फरकमा छर्ने, बढी नै आक्रमण भएको खण्डमा क्याराथेन ०.५ प्रतिशत अथवा सर्भो तेल १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।
Q 16. कुन कीराको आक्रमणले गर्दा करेला फलकुहिने गर्दछ ?

फल कुहाउने औंसा/झिंगाको आक्रमणले गर्दा फलको आकार कुरुप हुने तथा फल कुहिने हुन्छ।यसको आक्रमणबाट ५० प्रतिशत भन्दा बढी फलहरु नष्ट हुन्छन्।
Q 17. क्यूलिएर नामक फेरोमन ट्रयापले कुन कुन कीराहरुलाई व्यवस्थापन गर्न सकिन्छ ? यसको लागि कुन कुन रसायनहरु प्रयोग गर्नुपर्दछ ?

क्यूलिएर नामक फेरोमन ट्रयापमा फल कुहाउने झिंगाको भाले कीरालाई ट्रयापमा पारी नष्ट गरिन्छ।यसमा भाले आकर्षित हुने क्यूलिएर ४ थोपा र मालाथायन वा नुभान ५–७ थोपा राखी बनाएको फेरोमन पासो ५–६ फिट उचाईमा झुण्डाएर राखिन्छ।
Q 18. फेरोमन ट्रयापमा भाले झिगांहरु पर्दछन ? यसको कारण के हो ?

फेरोमन ट्रयापमा क्यू लुर नामक पदार्थ राखिएको हुन्छ जसको गन्ध वा वासना पोथिको जस्तो आंउदछ र भालेहरु आकर्षित भै त्यस ट्रयापमा पर्दछन् र त्यसमा राखेको मालाथायन वा नुभान जस्ता विषादीको असरले तिनीहरु मर्दछन्।
Q 19. खपटेले करेला वालीमा कसरी नोक्सानी पुर्या उँदछ् र यसको ब्यवस्थापन कसरी गरिन्छ ?

खपटे कीरालेकलिला पातको सतहको हरियो भाग कोत्रेर खान्छ र पातमा जाली जस्तो नसा देखिन्छ। यसको व्यवस्थापन गर्न मेटासिष्टक्स वा रोगर वा डेसिस २ मि.लि. प्रति लिटर पानीमा मिसाई फूल फुल्नु भन्दा पहिले र फूल फुलेर फल लाग्ने बेलामा नुभान ०.५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।
Q 20. करेलाबालीमा थाँक्रा अथवा छाप्रो बनाउन किन आवश्यक हुन्छ र कसरी बनाईन्छ ?

करेला लहरे वाली भएको कारणले यसको वृद्धि विकास साथै फलेको फल माटोमा परी नसडोस्/नबिग्रियोस भन्ने उद्देश्यका साथ थाँक्रा अथवा छाप्रा दिईन्छ। वोटहरु थोरै संख्यामा भए रुखको हाँगा वा वाँसको लिँगो वोटको नजिकै गाडेर थाँक्रा दिईन्छ। ब्यावसायिक स्तरमा खेती गर्दा १.५ मीटर देखि २ मीटर अग्लो खम्वा गाडेर बाँसको भाटा वा डोरी बाँधेर टाँड बनाईन्छ।


Q 21. बाली कलिलो अवस्थामा नै किन टिप्नु पर्दछ?

करेलाको बीयाँ नछिप्पिदै कलिलो अवस्थामा फल टिप्नु पर्दछ। फल छिप्पिइन्जेल बोटमा राख्दा अरु नयाँ चिचिला (फल)लाग्न र लागेका चिचिलाको वृद्धि क्रम कम हुन्छ।
Q 22. फल कुन कुन समयमा टिप्नु पर्दछ ?

करेलाकोफल सकेसम्म घाम नलागेको बेला बेलुका वा बिहान पानी नपरेको समयमा टिप्न उपयुक्त हुन्छ। ४–५ दिनको फरकमा फल टिप्दै जानु पर्दछ।
Q 23. करेला फलको उत्पादन कति हुन्छ?

जात, मौसम र खेती व्यवस्थापनका आधारमा एक रोपनी जमिनबाट ५००-१००० के.जी. कलिला फल उत्पादन गर्न सकिन्छ।
Q 24. राम्रो भाउ पाउन छनौट/ग्रेडिङ्ग गर्दा कुन कुन कुराहरुमा ध्यान पुर्यातउनु पर्दछ ?

फल टिप्ने वेलामा नै घाउ, चोटपटक र दाग लागेका वाङ्गाटिङ्गा वा पंहेलिएका फलहरु छुट्टै राख्नुपर्दछ।जात अनुसारको रङ्ग, आकार र आकर्षक देखिने फलहरु अलग अलग ग्रेडिङ्ग गर्नुपर्दछ।
Q 25. फल ढुवानी गर्दा कुन कुन कुरामा ध्यान दिनु पर्दछ?

ग्रेडिङ्ग/छनौट गरिएका फलहरुलाई हावा छिर्ने बाँसको टोकरी, डोको, प्लाष्टिक क्रेट, प्लाष्टिक ब्यागमा प्याकिङ्ग गर्नु पर्दछ। सुरक्षित ढुवानी गर्नका लागिप्लाष्टिक क्रेट, काठको बाकसर कार्टुन प्रयोग गर्नु पर्दछ। टाढाको बजारमा ढुवानी गरी पठाउँदा विशेष सावधानी अपनाउने जस्तो किकपडा भिजाई छोप्ने, बेला बेलामा पानी स्प्रे गर्ने वा केराको पातले छोप्ने जस्ता कार्यले तीते करेला ताजा राख्न सकिन्छ।
Q 26. फल भण्डारण गर्नुपर्दा कति तापक्रम र आर्द्रतामा राख्दा लामो अवधि टिकाउन सकिन्छ ?

करेला फल भण्डारण गर्दा १०–१२ डिग्री सेन्टिग्रेड तापक्रम र ८५-९० प्रतिशत सापेक्षिक आर्द्रतामा १५-२५ दिनसम्म ताजै राख्न सकिन्छ।

Share:

Related Post