WELCOME TO AGROMART NEPAL !

स्वस्थ जीवनकाे लागि दूध

दूध एकमात्र त्यस्तो खाद्य पदार्थ हो जसलाई सम्पूर्ण खाद्य पदार्थ पनि भनिन्छ । यसमा हाम्रो शरिरलाई आवश्यक पर्ने चिल्लो पदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता पौष्टिक तत्वहरु रहेका हुन्छन् । जव बच्चा जन्मन्छ उसको पहिलो आहार नै दूध हो । बच्चा, विरामी, बृद्ध सवैको आहार दूध हुनुले यसको पौष्टिक महत्वको पुष्टि गर्दछ । त्यसैले हजारौं बर्षदेखि हालसम्म दूध र दुग्धजन्य परिकार मानवीय संस्कार, चाडपर्व र जीवनपद्धतिको अभिन्न अंगको रुपमा जोडिएका छन् । दूधमा हुने चिल्लो पदार्थबाट शक्ति, ल्याक्टोजबाट स्फूर्ति, प्रोटिन र खनिज पदार्थबाट सन्तुलित विकासका साथै यसमा हुने भिटामीन A, C, D, E, K / B complex  बाट महत्वपूर्ण पोषण तत्वहरु प्राप्त हुन्छन् । .त्यसैले शरिरको सन्तुलित पोषणको आवश्यता पूर्ति गर्न तथा समग्र बृद्धि विकास गर्न दूधले महत्व राख्दछ ।
दूध उत्पादनको बर्तमान अवस्था
नेपालमा हाल ७२ लाख गाई गोरु र ५२ लाख भैसी रांगा भएको पशु सेवा विभागको तथ्याङ्कले देखाउँछ । तर उत्पादनको हिसावले प्रतिवर्ष जम्मा १७ लाख ३४ हजार मेट्रिक टन दुध उत्पादन हुन्छ । जम्मा संख्या मध्ये आधा गाइ र आधा भैसी भएको हिसावले पशु उत्पादन निर्देशनालयको तथ्य अनुसार हाल नेपालमा १२ लाख ५० हजार दुधालु गाई र १० लाख दुधालु भैसी छन् । उत्पादनको हिसाव गर्ने हो भने हाम्रा स्थानीय रैथाने गाईले औसतमा प्रतिदिन २ लिटर दुध दिन्छन् भने उन्नत जातका गाईले प्रतिदिन सरदर १० लिटर दुध दिन्छन् । त्यसैगरी स्थानीय भैसीले प्रतिदिन ३ लिटर र उन्नतले प्रतिदिन ५ लिटर दैनिक दुध उत्पादन गर्ने गरेको पाइन्छ । यसको हिसाव गर्ने हो भने प्रति गाई वा भैसी हाम्रो उत्पादकत्व निकै कम छ । जम्मा २३ लाख जति दुधालु गाई भैसीबाट प्रतिदिन जम्मा २ लिटरको आसपासमा मात्र दुध उत्पादन हुन्छ । यसरी जम्मा दैनिक दुध उत्पादन लगभग ४७,५०,००० लिटर हुने गरेको तथ्याङ्क छ । अझ औपचारिक च्यानलमा आउने र प्रशोधन हुने दुध त जम्मा ७ लाख ५० हजार लिटर मात्र रहेको छ ।

डेरी उद्योगको अवस्था
हाल जम्मा दुध उत्पादनमध्ये करीव १५ प्रतिशत मात्र राष्ट्रिय दुध संजालमा आएको छ र वाँकी ८५ प्रतिशत ग्रामीण क्षेत्रमा उपभोग भएको मानिन्छ । ८५ प्रतिशत दूधको प्रशोधन र बजारीकरण भएको छैन । करीव १५ प्रतिशत दूधको प्रशोधनका लागि साना ठुला गरी करीव ६०० दुग्ध प्रशोधन उद्योग संचालनमा छन् । यसमध्ये निजी, सरकारी र सहकारी गरी तिनै स्तरबाट उद्योग संचालनमा छन् । देशमा दुग्ध विकास संथान एकमात्र सरकारी स्तरको उद्योग हो भने अन्य उद्योगहरु सहकारी र नीजि क्षेत्रले संचालन गरेका छन् । यस्ता उद्योगबाट दैनिक ७ लाख ५० हजार लिटर प्रशोधित दूध प्रतिदिन बजारमा खपत हुने गर्दछ । यसमध्ये दुग्ध विकास संथान सवैभन्दा ठूलो प्रशोधन उद्योग हो जसले प्रतिदिन २ लाख ५० हजार लिटर दूध बजारमा पठाँउछ । यस हिसावले दुग्ध विकास संस्थानले लगभक ३३ % र वाँकी दूध नीजि उद्योगले प्रशोधन र बजारीकरण गरेको देखिन्छ । यहाँ विचारणीय कुरा के छ भने हजारौंको संख्यामा बजारमा सहकारी र नीजि लगानीमा संचालन गरिएका दर्तावाल वा दर्ता समेत नगरिएका डेरी पसलहरु संचालन गरिएका छन् जसले पनि प्रशोधित वा अप्रशोधित दूध बेचविखन गर्दछन् । प्रशोधित दूध उद्योगबाट प्रशोधन गरी प्याकेटको रुपमा बेचिन्छ भने वा अप्रशोधित दुध खुल्ला रुपमा सिधै प्लाष्टिक वा भाँडामा बेचिन्छ । खूल्ला रुपमा दूध बेच्ने डेरीलाई डेक्ची डेरी पनि भनिन्छ ।
खुल्ला दुध र डेरी पसलका विकृति
हाम्रो देशमा अझै पनि प्याकिङ्ग नगरेको खुल्ला दुधको सेवन ब्यापक छ । उपभोक्ता पनि वाक्लो, ताजा र शुद्ध हुने भ्रममा परी खुल्ला दूध तर्फ आकर्षित भएको पाइन्छ । गाउँको कुरा त अलग भयो तर शहरमै पनि खुल्ला दूधको विगविगि छ । फर्म र डेरीवालाहरु पनि बढी मुल्य पाइने हुनाले घर घर खुल्ला दूध पु¥याउन रुचाउँछन् । तर खुल्ला दूधमा अनेक विकृति छन् । कतिपय डेरी दर्ता समेत नगरेका छन् जसले कर मात्र छलेका छैनन् गुणस्तर र मूल्यको पनि मापडण्ड अनुसार दूध बेच्दैनन् । खुल्ला दूध बेच्ने डेरीको दूधमा जति विश्वास छ त्यस अनुसार शुद्धता र स्वच्छता छैन । डेरी अनुगमनको क्रममा थुप्रै साना डेरीले प्याकेटको प्रशोधित दूध खन्याएर समेत खुल्ला भनी बेचेको, चिल्लो पदार्थ निकाल्ले गरेको तथा फोहोर पानी मिसाउने गरको पाइएको छ । काठमाण्डौंमा घर घर पु¥याइने ९० प्रतिशत बढी खुल्ला दूध विभिन्न बाहिरी जिल्लाबाट ल्याइएको पाइएको छ । खुल्ला दूध भन्दा प्याकेटको दूध पास्चोराइज र हार्माेजिनाइज गरको हुँदा यो शुद्ध र स्वस्थ हुनुका साथै कोलिफर्म लगायतबाट मुक्त हुन्छ । त्यसैले दुधको शुद्धता कायम गर्नु एउता महत्वपूर्ण कार्य हो । अमृत समान दूधको गुणस्तरमा हेलचक्राई गर्नेलाई कार्वाही गर्नु पर्दछ । कतिपय दुग्ध उद्योगले पनि कम चिल्लो पदार्थ र ठोस पदार्थ भएको दूध बजारमा पठाउने गर्दछन् जसलाई सम्वन्धित निकायले नियमन गर्नुपर्दछ । यसरी एकातिर यसको शुद्धता कायम गर्ने चुनौति छ भने अर्कोतिर दूधको सेवन बढाउन पनि उत्तिकै महत्वपूर्ण छ ।
दूधको खपतको अवस्था
खाद्य तथा कृषि संगठनको सिफारिश अनुसार १ जना वयस्क व्यक्तिले १ दिनमा २५० मिलिलिटर दुध सेवन गर्नुपर्नेमा नेपालको तथ्याङ्कलाई हेर्दा यो करिब १६५ मिलिलिटर मात्र भएको पाइन्छ । नेपाल सरकारले यसलाई ३ वर्षभित्रमा २५० मिलिलिटरमा पु¥याउने लक्ष्य लिएको छ । । तथापि यो एक चुनौतीपूर्ण कार्य हो । अझ स्पष्ट रुपमा भन्दा हाल हाम्रो देशमा उत्पादित दूधको खपत प्रति व्यक्ति जम्मा ६४ लिटर रहेको तथ्यले देखाएको छ. । विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वस्थ व्यक्तिले प्रतिबर्ष ९१ लिटर दुध पिउनु पर्दछ । त्यसै कारण नेपालमा दुधको उत्पादनका साथै खपत समेत बढाउन आवश्यक छ । दुधको खपत बढाउन यसको महत्वबारे प्रकाश पार्नुका साथै हाम्रो बानीमा समेत परिवर्तन गर्नुपर्ने देखिन्छ ।
दुध उत्पादनको चक्रिय प्रकृया र दूध बिदा
धेरैलाई जानकारी के नहुन सक्छ भने दुधको उत्पादन बर्षभर एकनाश हुँदैन । यसको उच्च उत्पादन हुने मौसम बर्षा हो भने चैत्र वैशाखमा अत्यन्त कम उत्पादन हुन्छ । यस अवधिमा दूधको उत्पादनमा ३७५००० सम्मको वा आधा फरक पर्ने अनुमान छ । यो समस्या नेपालमा मात्र नभई विश्वकै समस्या हो । र हामीले ख्याल गर्नुपर्ने कुरा के भने हिउद चैत्र देखि असारसम्म)मा डेरी उद्योगहरुले पाउडर र ताजा दुध मिसायर मात्र बजारको माग पुरा गर्न सक्छन् । त्यसैले यो मौसममा पाउडर घोली बजार पठाउनु सामान्य प्रकृया हो । यहि दुधको उच्च र निम्न उत्पादनको चक्रिय प्रकृयाका कारण उच्च उत्पादनको मौसम (Flush Season) मा दूध बढी हुने र त्यसलाई व्यवस्थापन गर्न समस्या हुने तथा कम हुने मौसम (Lean Season) मा दुधको अपुग हुने गर्दछ । यदि दूध बढी भयो र बजारमा विकेन भने किसान बाटोमा दूध पोख्न बाध्य हुन्छन् । यस्तो अवस्थालाई दूध बिदा (Milk Holiday) भनिन्छ ।
दूध विदाका कारण र समाधानको उपाय
उत्पादनको उतावचढावका साथै दुध बिदाका अन्य कारणहरुमा पूजि र प्रविधिको अभाव, उच्च उत्पादन लागत, न्यून नाफा, उत्पादन विविधीकरणको अभाव, बजार व्यवस्थापनको अभाव, अवैध रुपमा न्यून मूल्यमा विदेशबाट कच्चा दूध, पाउडर तथा दुग्ध पदार्थहरुको आयात तथा अन्र्तराष्टिय बजारमा धुलो दूधको मूल्यमा हुने उतारचढाव, उत्पादन सम्वन्धि तथ्यको अभाव, बजारीकरणको क्षमता कमी, आदि कारण छन् । हाम्रो देशमा धुलो दूध कारखानाको क्षमता सिमित छ । बढी भएको दूधलाई धुलो बनाउने तथा यसको विविधीकरण गरी विभिन्न परिकार, चक्लेट, मिठाई आदि बनाउन सके दूधको खपत बढाउन सकिन्छ । नेपालमा हाल विराटनगरस्थित डिडिसि, चितवन मिल्क र पोखराको सुजल डेरीले मात्र धुलो दुध उत्पादन गर्ने गर्दछ । त्यसमध्ये चितवन मिल्क हाल बन्द छ भने डिडिसिको र सुजलको क्षमता पनि कम भएका कारण प्रत्येक वर्ष धुलो दुध आयात गर्नुपर्दछ र दुध बढी हुने मौसममा समेत हामी बजारको सवै दुध खरिद गर्न सक्दैनौं । दुध प्रशोधन तथा विविधीकरण गर्ने नेपालका हालका डेरीहरु पनि बाह्रै महिना पूर्ण क्षमतामा संचालनमा छैनन् । यसका साथै देशभर ६५ जिल्लामा करीव १८५० दुग्ध सहकारी संस्थाहरु रहेका छन् । सहकारी क्षेत्र दुग्ध उत्पादन र संकलनमा महत्वपूर्ण क्षेत्र रहेको छ ।
दूधको गुणस्तरको सवाल
दूध बजारमा बेच्ने भन्दा वित्तिकै कतिपयले जथाभावी फोहोर पानी मिसाउने तथा शुद्धतामा ख्याल नगर्ने गरेको उपभोक्ताको गुनासो छ । दूध अमृत हो त्यसैले यो अशुद्ध र फोहोर भयो भने हाम्रा वालवालिका, विरामी, बृद्धबृद्धा सवैभन्दा पहिले यसका शिकार हुन्छन् । यसका साथै पशुपन्छीबाट मात्रै मानिसमा लाग्ने जम्मा रोगमध्ये ७०% जति रोग सर्ने हुनाले दूध लगायत पशुपन्छीका उत्पादन स्वस्थ र स्वच्छ हुन आवश्यक छ । गोठ सुधार गर्ने, पोषणयुक्त आहार खुवाउने र फोहोर अस्वस्थ सडेको खाना नखुवाउने, नियमीत रुपमा पशु स्वास्थ्यको जाँच गर्ने तथा पशुपन्छीलाई पनि ख्याल राख्ने गर्नु आवश्यक छ । विहान बेलुकीको दूध नमिसाउने, दूधलाई संकलन गर्ने ठाउँहरुमा चिस्यान केन्द्र स्थापना गर्ने, ढुवानी गर्दा अल्मोनियम क्यानमा वा ट्याङ्कीमा गर्ने, पानी नमिसाउने वा प्रयोग गर्नै पर्ने अवस्थामा सफा पानी प्रयोग गर्ने, कास्टीक सोडा नमिसाउने जस्ता कुरामा पनि अत्यन्त ध्यान दिनु आवश्यक छ । यसरी संकलन हुने दूधको गुणस्तर कायम राख्न दुध उपभोक्ता समक्ष नपुगुन्जेल दूधको गुणस्तर ब्यवस्थापन गर्न ध्यान दिनुपर्दछ ।
दूधको मुल्य
प्रशोधित दूधमा ३ प्रतिशत चिल्लो पदार्थ एवम् ८ प्रतिशत चिल्लो रहित अन्य ठोस पदार्थ हुनुपर्दछ । दूधको मुल्य चिल्लो पदार्थ र चिल्लो रहित अन्य ठोस पदार्थका आधारमा निर्धारण हुन्छ । यसप्रकार खरिद गर्ने दूधमा हुने यदि ४.० प्रतिशत चिल्लो, ८ प्रतिशत चिल्लो रहित अन्य ठोस पदार्थ छ भने त्यो दूधको मुल्य काठमाण्डौमा करीव ४७ रुपैया पर्दछ । दुधमा रहेको फ्याट र एस् एन् एफ (चिल्लो र ठोस पदार्थ) मापन गर्न तथा दूधको शुद्धता जाँच गर्न दुध संकलन केन्द्रहरुमा स्वचालित दुध बिश्लेषण यन्त्र (Milk Analyzer) राख्न सकिन्छ । मिल्क एनालाइजरको स्थापना गर्न सकेमा यसले दूधको गुणस्तर नियन्त्रणमा सहयोग गर्नाको साथै कृषकले पनि बिक्री गर्न ल्याएको दूधको सही मुल्य प्राप्त गर्न सहज हुने गर्दछ । प्रशोधित दुधमा हुने ३.० प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ । हाम्रो देशमा उन्नत नश्ल, पोषिलो आहार, पशु हेरचाह र स्वास्थ्य तथा बजारीकरणको उचीत व्यवस्था नमिल्दा उत्पादन मुल्य बढी भएको छ । त्यसैले घाँसमा आधारित व्यवसायिक पशुपालन गर्ने, हिउदका लागि हे र साइजेज बनाउने र उल्लेखित कुरामा ध्यान दिने हो भने लागत घटी बढी मुनाफा बढ्ने छ ।
अन्त्यमा
हामी अस्पतालमा विरामी भेट्न जाँदा फ्रुटि वा बजारीया अशुद्ध जुस लिएर जानुको साटो दूध लिएर जाने हो भने विहान र बेलुका एक गिलास दूध पिउने हो भने तथा विद्यायलका विद्यार्थीले तमलेटमा दूध लिएर जाने हो भने दूधको खपत बढ्ने मात्र होइन हाम्रो परिवारका सदस्यको स्वास्थ्यमा ठूलो सुधार हुने थियो । स्वस्थ समाजमा मात्र विकास र समृद्धि संभव छ । मानव स्वास्थ्य धेरै हदसम्म सन्तुलित आहारले निर्धारण गर्दछ । दूधका परिकारहरु पनिर, मिठाई, चिज, बटर, दहि आदी स्वास्थ्यका लागि उत्तम कुराहरुको सेवन शाकाहारी र मांसहारीका लागि आवश्यक छ । त्यसैले दूधको सेवन बढाउने कार्य स्वस्थता, पोषण र तन्दरुस्तिको सुत्र हो । यसले धेरैहदसम्म किसानलाई धनी बनाउन तथा देशलाई आत्मनिर्भर हुदै समृद्धितर्फ अघि बढ्न पनि सहयोग गर्दछ । दूधको उत्पादन बढाउन उन्नत नश्ल र पशु आहारमा बढी ध्यान किसानले दिनुपर्दछ भने शुद्धता र गुणस्तर कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण छ । दूधको खपत बढाउनाले दूध विदा अन्त्य गर्न सकिन्छ र यसले पशुपालनको क्षेत्रमा ठूलो राहत दिन्छ । दूधको महत्वबारे प्रचार प्रसार गर्ने, उपभोगमा वृद्धि ल्याउने तथा यसको शुद्धताबारे व्यापक जनचेतना जगाउनुका साथै गोठ देखि ओठसम्म स्वच्छ र शुद्ध दूध भन्ने नारालाई सार्थक तुल्याउन राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग लगायत दुग्धसंग सम्वन्धित संस्था दुग्ध उत्पादन क्षेत्रमा क्रियाशील समग्र पशुपालक, नवगठित पशुपन्छी विकास मन्त्रालय लगायत सम्पूर्ण सरोकारवालाहरुले कम्मर कसेर लाग्नुपर्ने देखिन्छ । यी यावत् विषयलाई सम्वोधन गर्दै अगाडि बढेमा ३ बर्षमा दूधमा आत्मनिर्भर बन्ने लक्ष्य पुरा हुने छ । आशा गरौं हामीले कहिले दूध विदा भोग्नु नपरोस् ।. उपभोक्ताले प्रशोधित दूधको मात्र सेवन् गरुन् । चाडै नै गोठदेखि ओठसम्मको सम्पूर्ण दूध, उत्पादन, संकलन, ढुवानी, प्रशोधन र बजारीकरणको प्रकृयामा दूधको गुणस्तरीयता कायम गर्नेमा सवैको ध्यान जाने छ । जय पशुधन ।                                                                        – प्रमेश पोखरेल (सचिव, युवा किसान संघ)

साभार ः क्रिषी अनलाइन

Share:

Related Post