WELCOME TO AGROMART NEPAL !

लमजुङबाट पाँच करोडको अलैंची बिक्री

लमजुङ। लमजुङका अलैँची कृषकले यस वर्ष अलैँची दाना बिक्रीबाट साढे ५ करोड रुपैयाँ आम्दानी गरेका छन् । जिल्लामा ७ सय १२ क्विन्टल अलैँची उत्पादन भएको र सो बिक्री भइसकेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ ।

यस वर्ष किसानले अलैँची प्रतिकिलो ६ सयदेखि ८ सय रुपैयाँमा बिक्री गरेका छन् । गत वर्ष भने प्रतिकिलो ११ सयदेखि १४ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । गत वर्ष ८ सय १२ क्विन्टल अलैँची उत्पादन भएकोमा सोको बिक्रीबाट १४ करोड रुपैयाँ आम्दानी भएको थियो ।

यस वर्ष अलैँची उत्पादनमा कमी आउनुका साथै मूल्य पनि घटेका कारण अलैँची कृषकले सोचेजस्तो आम्दानी भने गर्न सकेनन् । अलैँचीका बोटहरू पुराना भएका र असिनाका कारण उत्पादनमा ह्रास आएको नेपाल अलैँची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

तामाङका अनुसार जिल्लामा ९ सय ५० हेक्टर क्षेक्रफल जमिनमा अलैँची खेती गरिएको छ भने ६ सय ५० हेक्टर क्षेक्रफलमा अलैँची उत्पादन हुँदै आएको छ । जिल्लाको साबिक ४० गाविसमा अलैँची खेती गरिँदै आएको छ ।

यस वर्ष दोर्दी गाउँपालिका–८ खिन्चोकका मनबहादुर तामाङले सबैभन्दा बढी ८ क्विन्टल अलैँची उत्पादन गरेका छन् भने दोर्दी–८ कै तीर्थ तामाङले साढे ६ क्विन्टल तथा मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका लालबहादुर तामाङले साढे ५ क्विन्टल अलैँची उत्पादन गरेका छन् ।

मर्स्याङ्दी गाउँपालिका–७ को छिनखोला, लुदी र ताराचोक, दोर्दी गाउँपालिका–८ खिनचोक, बेँसीसहर नगरपालिका–१० कुपलिङ र साधु, क्होलासोंथर गाउँपालिका–८ को घाम्राङ र वडा नम्बर ५ सिङ्दीमा बढी अलैँची उत्पादन भएको अध्यक्ष तामाङले बताए ।

source : krishi patrika

Share:

Related Post