WELCOME TO AGROMART NEPAL !

प्लास्टिक घरमा तरकारी खेती, किन र कसरी ?

बिरूवाहरु सबै एकैनास हुदैनन्। कुनै विरूवाले चर्को घाम र सुख्खा मौसम मन पराउछन् कुनैले झरी। हामीले खेती गर्ने विरूवा मध्य केहि विरूवाहरू ले फागुन-चैतको जस्तो मौसम मन पराउछन जुन बेला शीत पनि पर्दैन, धेरै पानी पनि पर्दैन र मध्यम खालको तापक्रम हुन्छ। त्यस्तो मौसममा खेतीहुने विरूवाले शीत खप्न सक्दैन र त्यहि मौसममा मात्र उत्पादन दिन्छ। उदाहरणको लागि त्यस मौसममा हुने बालीमा गोलभेंडा, भेंडे खुर्सानी, अन्य जातका खुर्सानीहरू पर्दछन्। अन्य सिजनमा पनि ति विरूवा हरू हुर्काउनको लागि शीत र सिधै पानी नपर्ने अवस्थाको सृजना गर्नु पर्ने हुन्छ जुन प्लास्टिक घर बाट सम्भव छ। यसरी छानो हालेर कम्तिमा घाम छिर्ने र पानी नछिर्ने अवस्था बनाउदा ति विरूवाहरू अन्य मौसममा पनि खेती गर्न सम्भव छ।

प्लास्टिक घरको अर्को फाईदा भनेको जाडो मौसममा तापक्रम बढि हुनु हो। प्लास्टिकले ढाकेको ठाँउमा बाहिरको भन्दा औषत तापक्रम बढि हुने हुँदा जाडो महिनामा चिसोको कारणले फूल नफूल्ने समस्या बाट पनि मुक्ति पाउन सकिन्छ। प्राय जसो बसन्त ऋतुमा हुने तरकारीहरूको फूल फुल्न १९ देखि २७ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ तर जाडो महिनामा तापक्रम त्यो “रेन्ज” भन्दा न्यून हुने भएकोले फूल कम फूल्ने र फल ढिलो पाक्ने हुन जान्छ। यस समस्या बाट प्लास्टिक घरले मुक्ति दिलाउन सक्छ।

झार तथा किराहरूको नियन्त्रण गर्न पनि प्लास्टिक घरले केहि मात्रामा सहयोग गर्दछ। विरूवामा मात्र सिंचाई गरिने, ड्याङ मिलाएर रोपिने कारणले गर्दा झार उम्रने क्रममा नियन्त्रण गर्न सकिन्छ। त्यस बाहेक प्लास्टिक घरमा सिंचाई गर्न पानीको व्यवस्थापन गर्न थोपा सिंचाईको सजिलै जडान गर्न सकिन्छ जस्ले गर्दा मेहनत र समयको साथै लामो समयको खेतीमा लाग्ने लागतमा पनि कमि ल्याउन सकिन्छ।

प्लास्टिक घरमा कुन कुन तरकारी लगाउन सकिन्छ त ?
प्राय सबै तरकारीहरू प्लास्टिक घर भित्र लगाउन सकिन्छ तर जुन खेती खुल्ला ठाँउमै गर्न सकिन्छ, त्यसको लागि किन प्लास्टिक घर चाहियो ?  कुनै तरकारी प्राकृतिक रूपमा हुने मौसम भन्दा अलावा बेमौसमी निकाल्न खोजियो भने प्लास्टिक घरमा गर्न सकिन्छ।

प्लास्टिक घर कस्तो बनाउने ?
प्लास्टिक घर वनाउदा यस्तै बनाउनु पर्छ भन्ने कुनै निश्चत मापदण्ड छैन तर चलन चल्तीमा रहेका र केहि शोध कार्यहरूले वताएका तथ्यहरूलाई यहाँ केलाउने प्रयास गर्ने छु।

१. छानो मात्र भएको प्लास्टिक घर : यस्तो प्लास्टिक घर मध्य पहाडी क्षेत्रको ८०० देखि १५०० मिटर सम्मको उचाईमा बनाउन सकिन्छ। यि भेगहरूमा जाडोमा हुस्सु नलाग्ने, गर्मी महिनामा तापक्रम ३० डिग्री भन्दा माथि नजाने भएकोले मध्य पहाडी भूभागलाई यो निकै उपयुक्त हुन्छ। यस भेगमा प्लास्टिक घर बनाउदा धुरी खामो ३.५ मिटर भन्दा अग्लो बनाउनु हुदैन र छेउको खामो २.५ मिटर सम्मको राख्न सकिन्छ। यस प्रकारको प्लास्टिक घरले विरूवालाई वर्षा, तुसारो र असिना बाट बचाउन मद्दत गर्छ।

२. भेन्टिलेसन भएको प्लास्टिक घर : यस प्रकारको प्लास्टिक घर ८०० मिटर भन्दा कम उचाईको क्षेत्रमा बनाउन सकिन्छ। भेन्टिलेसन राख्नुको उद्देश्य चाहि गर्मी महिनामा प्लास्टिक घर भित्रको तापक्रम अत्याधिक बढ्न नदिनु हो। हुस्सु लाग्ने ठाँउमा यस्ता प्लास्टिक घर बनाउदा सबै हुस्सु लाग्ने मौसममा चारै तिर बाट ढाक्न जरूरी छ जस्ले गर्दा हुस्सु तथा ओशले फैलिने ढुसिजन्य रोगमा नियन्त्रण गर्न सजिलो हुन्छ। घर बनाउदा गर्मी महिनामा वरीपरिको प्लास्टिक निकाल्न मिल्ने गरि बनाउनु पर्दछ। गर्मी ठाँउमा प्लास्टिक घर बनाउदा सके सम्म अग्लो बनाउनाले तापक्रम अत्याधिक बढ्न बाट रोक्न सकिन्छ। यस्तो प्लास्टिक घरमा सामान्यतया धुरी खामो ४.४० मिटर र छेउ खामो ३.३० मिटर राख्नु राम्रो हुन्छ।

३. पूर्ण रूपमा ढाकिएको प्लास्टिक घर : यस्तो प्लास्टिक घर १५०० मिटर भन्दा माथी हिँउ नपर्ने ठाँउ सम्म बनाउन सकिन्छ। यस्तो ठाँउहरूमा प्लास्टिक घर बनाउदा सके सम्म होचो बनाउनु पर्दछ जस्ले गर्दा प्लास्टिक घरमा अधिकतम हरित गृह प्रभाव सृजना गरेर तापक्रम बढाउन सकिन्छ। हिउ पर्ने ठाँउमा प्लास्टिक घर बनाउन उपयुक्त हुदैन जस्को लागि सिसा वा प्लस्टिक फाईवर अथवा ग्लास फाईवरको घर बनाउन सकिन्छ।

प्लास्टिक घर बनाउदा जमिन कसरी तयार गर्ने ?
सानो ठाँउमा ठूलो उत्पादन लिने उद्देश्यले प्लास्टिक घर बनाईने भएकोले जमिन तयार पार्दा ध्यान पुर्याएर काम गर्न जरूरी हुन्छ। सामान्यतया बाहिर खेती गर्ने भन्दा प्लास्टिक घर भित्र खेती गर्दा मल हाल्ने कुरामा निकै ध्यान पुर्याउनु पर्ने हुन्छ र मल राख्दा सके सम्म धेरै वर्षलाई पुग्ने गरि एकै पटक वा कम्तिमा एक सिजनलाई पुग्ने गरि हाल्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ।

प्लास्टिक घरमा खेती सुरू गर्नु भन्दा पहिला जमिन राम्रो संग खन-जोत गरेर झार मार्नु पर्दछ। यसरी खनजोत गर्ने क्रममा मल छरेर हाल्न पनि सकिन्छ वा नहाल्न पनि सकिन्छ। तर ड्याङ बनाउने वेलामा प्रसस्त मल हाल्न जरूरी हुन्छ। ड्याङ बनाउदा सकेसम्म ड्याङ देखि ड्याङको दूरी ९० सेन्टीमिटर बनाउनु पर्ने हुन्छ। यसरी ड्याङ बनाउदा ५ मिटर चौडा प्लास्टिक घरमा ५ वटा ड्याङ बनाउन सकिन्छ। ड्याङ बनाउनु भन्दा पहिला बलेसीको पानी चुहिने विन्दू बाट कम्तिमा ३० सेन्टीमिटर भित्र पहिलो ड्याङ बनाउनु पर्ने हुन्छ।

खनजोत पछि निम्न तरिकाले जमिनमा मल हाल्न सकिन्छ :
१. खाल्टा बनाएरस् ड्याङ बनाईसके पछि विरूवा रोप्ने दुरीमा कम्तिमा ९ ईन्च गहिरो र ९ ईन्चनै चौडाईको खाल्टो बनाएर खाल्टोको सबै भन्दा तल फस्फोरस मल ३० ग्राम वा खरानी ३०० ग्राम, पोटास १० ग्राम, कुहिने झारपातहरू, सुकेका पात पतिङ्गरहरू, सम्भव भए सम्म २०० ग्राम हड्डीको धुलो, उपलब्ध छ भने १ किलोग्राम कुहिएको कुखुराको मल राख्नु पर्दछ। यसरी मलहरु राखिसकेपछि त्यो खाल्टोलाई गाईबस्तु वा बाख्राको राम्रो संग कुहिएको मलले जमिनको लेभल सम्म पुर्नु पर्दछ र मल भन्दा माथि कम्तिमा ६ ईन्च माटोले पुर्नु पर्दछ। यसरी तयार मल-माटोलाई पानीले राम्रो संग भिजाएर कम्तिमा एक हप्ता छोड्नु पर्दछ जस्ले गर्दा कुहिन बाँकीरहेको मल राम्रो संग कुहिन्छ र मलको पोषक तत्व जमिनमा राम्रो संग फैलिन्छ। एक हप्ता पछि उक्त जमिनमा विरूवा रोप्न सकिन्छ।

२. कुलो (ट्रेन्च) बनाएरस् कुलो बनाएर ड्याङ तयार गर्दा ड्याङको पुरै लम्बाईमा ९ ईन्च चौडा र कम्तिमा ९ इन्च नै गहिरो कुलो बनाईन्छ। यसरी बनाएको कुलोमा खाल्टोमा हाले बमोजिम नै प्रति विरूवा हिसाब गरेर मल हालिन्छ। र खाल्टो विधि जस्तै प्रकारले पुरिन्छ। खाल्टो भन्दा कुलो विधिको प्रयोग गर्दा प्राङ्गारिक मल धेरै मात्रामा प्रयोग हुन्छ र यो विधि बाट तयार गरेको जमिनमा पटक-पटक मल थपि रहनु पर्दैन। यसरी तयार गरेको जमिनमा कम्तिमा एक सिजन सम्म राम्रो संग उत्पादन लिन सकिन्छ।

Source : Krishipatrika

Share:

Related Post