WELCOME TO AGROMART NEPAL !

धान काट्ने नयाँ प्रविधि

पछिल्लो समय झापामा धान काट्ने नयाँ प्रविधि भित्रिएको छ । चीनबाट आयात गरिएको आधुनिक हार्वेस्टर कम्बाइन मेसिनबाट धान काट्न थालिएको हो । यस बर्ष जिल्लाका बिभिन्न क्षेत्रहरुमा यसको प्रयोग भइरहेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । धान काट्नका लागि कामदारसमेत पाउन छाडेपछि नयाँ प्रबिधितर्फ कृषकहरुको आकर्षण बढ्दै गएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो प्रबिधिबाट यसपाली कृषकहरुले हिउँदका धान धमाधम काटिरहेका छन् । कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईले यो प्रविधि झापामा पहिलोपटक भित्रिएको बताउँदै कृषकहरुको सहजताका लागि यो प्रबिधी उपयुक्त हुने बताए । उनले भने, ‘यो मेसिनले एक घण्टामा दुई बिगाहा सम्मको धान खेतीलाई सुरक्षित तरिकाबाट काट्नसक्ने हुँदा यसको प्रयोग बढ्नेछ ।’ यसले धानको उत्पादन लागत मूल्यसमेत घटाउने प्राविधिक भट्टराई बताउँछन् ।
यो मेसिलले ठाडो धानको बोटलाई काटेर धान झार्दै मेसिनमै रहेको टयाङ्कीमा भर्ने र पराललाई थुपार्दै जाने गर्दछ । यसले धान थन्क्याउन सहयोग पुर्‍याएकाले कृषकहरु यो मेसिनतर्फ आकर्षित हुन थालेका छन् । कम लागत लाग्ने भएपछि उनीहरु आधुनिक मेशिन कम्बाईनबाट धान थन्क्याउन थालेका हुन् । सुरुङ्गाका हरि सिलवालले अघिल्ला बर्षसम्म कामदारहरूबाट धान काट्ने र ट्याक्टर वा राँगा, गोरुबाट दाईं गर्दैआएका किसानहरुले अहिले यही मेसिनबाट धान कटाएर थन्क्याउने गरिरहेका बताए । खेताला खोज्ने झन्झटबाट यसले मुक्त गराएको उनको भनाई थियो । मेसिनमा रहेको उपकरणले दाईं गरेपछि धान सोझै टयाक्टर ट्रली र गोरु गाडामा राख्न मिल्ने भउकाले थप सुबिधा पुर्‍याएको छ ।
कम्बाईन हारबेस्टरबाट यो बर्ष ४ विगाहा खेतीको धान कटाएका मुसुरुद्धिन मियाले खेताला लगाएर भन्दा यस किसिमको मेसिनबाट धान काटदा आर्थिक हिसाबले समेत सहुलियत भएको बताए । प्रतिघण्टा ६ हजार ५ सय रुपैयाँ तिरेर किसानहरुले यो मेसिनको सुविधा लिइरहेका उनी बताउँछन् । यो मेसिनले धान कटाउनका लागि खेत भने एकै नासको उचाई भएको हुनु पर्दछ । ठूलाठुला गह्रा भएको खेतमा मेसिनले सहज तरिकाबाट थोरै समयमा पनि धेरै काम गर्न सक्ने बताइएको छ ।
हरेक वर्ष हिउँद लागेसँगै किसानलाई एकैपटक धेरैखाले कृषि कर्मको चटारो हुन्छ । पाकेको धान काट्ने थन्क्याउनेदेखि हिउँदे तरकारी र अन्य गहुँ, तोरी, मकै, फापरजस्ता फसल लगाउनु पर्ने बाध्यता भएपनि नयाँ प्रविधिका कारण सहज हुँदै गएको कृषकहरु बताँउछन् ।

(स्रोत : पुर्वेली टाइम्स)

Share:

Related Post