WELCOME TO AGROMART NEPAL !

जैविक विषादी बनाउँदै किसान (रासायनिक विषादीको प्रयोग घटाउने उद्देश्य)

इलाम — माईजोगमाई ६ प्याङका सुरज थेवेलाई टिमुर र सयपत्रीजस्ता वनस्पति खोज्न भ्याई नभ्याई छ । यही गाउँका गुरुराज खतिवडा पनि हात्तीबार र सिमलीको खोजीमा खोला र भीरपाखा चाहार्न निस्कने गरेका छन् ।

आफ्नै गाउँघरमा पाइने वनस्पतिबाट खेतीमा लाग्ने रोग किरा मार्न सकिने भएकाले जिल्लाका धेरै गाउँमा जैविक विषादी बनाउने लहर चलेको छ ।

यस्तो विषादी बनाउन कम खर्च लाग्ने र प्रयोगबाट कुनै पनि हानि नहुने चेतना विस्तार गर्न विज्ञहरू गाउँगाउँ पुग्ने गरेका छन् । पछिल्लो समय नसर्ने रोगको मुख्य कारणका रूपमा पनि घातक विषादीको प्रयोग भएको भन्ने तथ्य बाहिर आएपछि कृषकस्तरबाट पनि वैकल्पिक विषादीको खोजी भइरहेको हो ।
मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने पुष्टि भए पनि घातक विषादीको प्रयोग अझै घटेको छैन । जिल्लाका चिया कृषकदेखि सागसब्जी कृषकसम्मले यस्ता विषादीको प्रयोग जानी नजानी गर्दै आएका छन् ।

रासायनिक मल र विषादीको प्रयोगले यहाँको उर्वर माटो मात्र नभएर प्रयोग र उपभोग गर्ने दुवैलाई गम्भीर समस्या देखिएको जिल्लास्तरमा गरिएका विभिन्न अध्ययनले पनि देखाएको छ । यसको विकल्पमा जिल्लाका कतिपय कृषक जैविक विषादीको प्रयोगमा लाग्न थालेका छन् ।

‘स्थानीयस्तरमा नै विषादीलाई आवश्यक पर्ने सबै वनस्पति भेटिने भएकाले कृषकको मोह बढदो छ,’ माईजोगमाई ६ का सुरजले भने, ‘यतिन्जेल यस्तो विषादी बनाउने तरिकै थाहा नभएकाले महत्त्वपूर्ण वनस्पतिको पनि विनाश गरिरहेका रहेछौं ।’

नामसालिङ सामुदायिक केन्द्रले अनुसन्धानपछि प्रयोगमा ल्याएको यस्तो विषादीले अलैंचीलगायत चिया, अन्नबाली र सागसब्जीका समस्याहरू हटाउन सफल देखिएको छ । नासाविके नामकरण गरिएको यो विषादीको उचित प्रचार र प्रयोग गराउन नसक्दा कृषकले अन्य विषादी प्रयोग गर्दै आएका थिए ।

सयपत्री, टिमुर, अँसुरो, हात्तीबार, सिमली, लसुन, अकबरे खुर्सानी, पाती, सुर्ती, बकाइनो, गोदावरी फूल, बोझो, सिस्नुलगायतका वनस्पतिको मिश्रणवाट यो विषादी बनाइन्छ । ‘यी सबै वनस्पतिलाई टुक्राएर एउटा ड्रममा खाँद्नुपर्छ,’ नासाविके विषादी अनुसन्धानमा सक्रिय महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहायक प्रमुख योगेन्द्रमान श्रेष्ठले भने, ‘एक महिनासम्म हावा नछिर्ने गरी राखेपछि तयार भएको विषादी जति नै पुन: गहुँत फिट्नुपर्छ ।

एक महिना लगाएर तयार भएको विषादीलाई एक भागमा २० भाग पानी हालेर प्रयोग गर्नुपर्छ ।’ यसले ढुसीलगायत विभिन्न रोग किराबाट सहज बच्न सकिने उनको भनाइ छ । यसरी तयार भएको विषादीलाई छ महिनासम्म प्रयोग गर्न सकिने विज्ञहरूको भनाइ छ ।

यस्तो विषादीले शत्रुजीवलाई नोक्सान पुर्‍याउने र मित्रजीवलाई फाइदा पुग्ने भएकाले उत्पादनमा राम्रो सुधार ल्याउने देउमाई नगरपालिकाका कृषि प्रसार अधिकृत रविकिरण अधिकारीले बताए ।

उन्नति समावेशी वृद्धि कार्यक्रमले कृषकस्तरमा अलैंची र अदुवा खेती सुधार्न पाठशाला सञ्चालन गरेपछि यस्तो विषादी निर्माणमा कृषक लागेका हुन् । अलैंचीमा देखिने छिर्केफुर्के, जुरजुरेजस्ता रोगले बगान नै सखाप हुन थालेकाले कृषक निराश बन्दै गएको अवस्थामा यस्तो विषादीले फाइदा पुग्ने अधिकांशको विश्वास छ ।

जिल्लाभर सञ्चालित यो कार्यक्रमअन्तर्गत अधिकांश कृषकले विषादी निर्माणालाई जोड दिएका हुन् । यस्तो विषादी सबै प्रकारको बालीमा प्रयोग गर्न सकिन्छ ।

Source : kantipur

Share:

Related Post