WELCOME TO AGROMART NEPAL !

जडिबुटीको अवैध चोरी निकासी बढ्यो

जाजरकोट।  जाजरकोटको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको अवैध चोरी निकासी बढ्दै गएको छ। सम्बन्धित निकायको उदासीनताका कारण चोरी निकासी बढेको हो। सप्लायर्सले राजस्व छल्न अवैध किसिमले निकासी गर्दै आएका छन्। तर नियामक निकायले बेवास्ता गर्दा लाखौं रुपैयाँको राजस्व घाटा लागेको हो।

जिल्लाकोे उत्तरी क्षेत्र चाखुरे, देउराली, साइकुबारी, सागबारी, बुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च क्षेत्रमा पाइने कुरिलो, काउलो, पाखनबेद, सुगन्धवाल, तीतेपाती, जटामसी, चिराइतो, गुच्छी च्याउ, लौठ सल्ला, पाँचऔंले, सेतकचिनी जरा, बुकी फुल, कटुको, पाँचऔंले, समयो, गुच्चीच्याउ, पदमचाल, लटेचुक, भुत्ले, सतुवा, अतिस, सुनजरीलगायत बहुमूल्य जडिबुटीको अवैध चोरी पैठारी बढेको बारेकोट-१ का खगेन्द्र बोहराले जानकारी दिए। ‘चोरी पैठारी गर्नेले हचुवाको भरमा बीउ नै मासिने गरी उत्खनन गर्दा जडिबुटी लोप हुने अवस्थामा पुगेको छ। रुकुम, डोल्पा र जुम्लाका नाका हुँदै जडिबुटीको तस्करी हुने गरे पनि रोक्नेतर्फ कसैले चासो दिएको पाइँदैन’, उनले भने।

जाजरकोट-जुम्ला, डोल्पाको सिमाना चाखुरेमा सरकारी उपस्थिति नहँुदा चोरी पैठारी हुने बोहराको भनाइ छ। खुला सिमानाका कारण तस्करहरूले लाखौं रुपैयाँको जडिबुटी अवैध रूपमा निकासी गर्दै आएका छन्।

जथाभावी चोरीनिकासी बढ्न थालेपछि बारेकोटवासीले रोकथामका लागि पहल गरिदिन माग गरेका छन्। जथाभावी चोरीनिकासी बढ्न थालेपछि मूल्यवान् जडिबुटी मासिँदै जाने खतरा बढेको छ। कति चोरी निकासी हुन्छ, यकिन तथ्यांक नभए पनि बर्सेनि लाखौं रुपैयाँको जडिबुटी अवैध रूपमा निकासी भइरहेको बारेकोट गाउँपालिका-९ का मानबहादुर सिंहको भनाइ छ।

तस्करले लाखौं रुपैयाँको राजस्व छली गर्दासमेत जिल्ला वन कार्यालयको यसतर्फ ध्यान गएको छैन। जिल्ला वन कार्यालयले गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष जाजरकोटमा १७ लाख ६५ हजार पाँच सय ५३ केजी जडिबुटी संकलन गर्न सकिने उल्लेख छ। तर गत आवमा दुई लाख ६९ हजार सात सय ४३ किलो विभिन्न प्रजातिका जडिबुटी निकासी गरी १९ लाख ६७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको जानकारी दिएको छ। कतिपय जटिबुटी संकलन नभएर जंगलमा खेर जाने गरेका छन्। संकलन भएकामध्ये पनि धेरैजसो चोरी निकासी हुने गरेका हुन्।
सरकारले प्रतिबन्धित जडिबुटीको सूचीमा सूचीकृत जडिबुटीसमेत निकासी भइरहेको स्थानीयको भनाइ छ। चोरीनिकासी रोकथामतर्फ कसैको चासो नदिएको स्थानीयले बताए। जडिबुटीको उचित संरक्षण नहँुदा पाटन नै रित्तिँदै गएका छन्। चाखुरे नाकामा सरकारी उपस्थिति भएपछि मात्र बहुमूल्य जडिबुटीको चारीनिकासी रोकिने र संरक्षण हुने स्थानीयको भनाइ छ।

खुला सिमानाका कारण अवैध चोरीनिकासी रोक्न समस्या भएको हो। तर अब चोरीनिकासी रोक्नेतर्फ स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए। ‘अवैध जडिबुटी निकासी रोक्न रेन्जपोस्टहरूलाई निर्देशन दिएको छु’, वन अधिकृत पटेलले भने।

Source : Krishi patrika

Share:

Related Post