WELCOME TO AGROMART NEPAL !

कफी खेती गर्ने तरिका

कफी (Coffee) संसारका सबैभन्दा बढी मूल्यमा बिक्री हुने वस्तुहरूमध्ये एक मानिन्छ भने कतिपयले कफीलाई तेल पछिको मूल्यवान् वस्तु मान्दछन्। रोपिएको ३ देखि ४ वर्ष  भित्रमा कफी फल्न थाल्दछ भने एउटै बोटले लगभग ४० वर्षसम्म उब्जनी दिइरहन्छ। कफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो। कफीको बोट दस मिटर सम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ। कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ। धेरै देशको अर्थतन्त्रमा यसको ठुलो भुमिका रहेको छ।

वि.सं. १९९५ मा नेपालमा हिरा गिरीद्वारा कफी भित्र्याइएको थियो । वि.सं. २०३२ सालमा नगदे बालीको स्तरमा कफी खेतीका लागि प्रोत्साहन गरिए पछि वि.सं. २०४७ सालमा कृषकहरुको संगठन स्थापित भयो । वि.सं. २०४९ को एेन अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।

मध्य पहाडका ४० जिल्लाहरुमा कफी खेती गरिएको छ । केही जिल्लाहरुमा भने व्यवसायिक रुपमा खेती गरेको पाइन्छ – पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लामा कफी खेतीको विस्तार हुँदै गयो । भौगोलिक, हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि इलाम, संखुवासभा, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर खोटाङ, उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, नुवाकोट, प्यूठान, रोल्पा, दाङ, रुकुम, सल्यान, सुर्खेत, दैलेख डोटी, डडेलधुरा, रसुवा, खोटाङ र बैतडी जिल्लामा पनि व्यवसायिक कफी खेतीको सुरुवात भएको छ । यी बाहेक नेपालका अन्य मध्य पहाडमा पर्ने सबै जिल्लामा फाटफुट रूपमा कफी खेती भइरहेको छ ।

रुपन्देहीको मणिग्राममा पहिलो कफी प्रशोधन केन्द्र “नेपाल कफी कम्पनी प्रा.लिं” को २०४० मा स्थापना भएसँगैँ अन्तराष्ट्रिय बजारमा नेपाली कफीको बिक्री वितरण सुरु भयो । आर्थिक वर्ष २०५२/५३ मा १६ टन कफी हल्यान्ड पठाइएको थियो ।

नेपालमा अरेबिका जातको कफीको उत्पादन गरिन्छ । करिब ८०० मिटर उचाइमा विषादीको प्रयोग बिना नै कफी खेती हुने भएकाले विश्व बजारमा अर्गानिक, र चिसो हावापानीमा उत्पादित कफीको रुपमा चिनिन्छ ।

नेपाल सरकारले कफी निती २०६६ पास गराएको व र कफी नीति कार्यान्वयन निर्देशिका २०६६ स्वीकृत गराएको छ ।

नेपालको विषेशतः मध्य पहाडी जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ । हाल देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८०० मिटरभन्दा माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादन भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने सङ्केत देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नुको उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ ।

नेपालमा अहिले करिब तीन हजार कृषक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कफी खेतीमा लागेका छन् । २०७२ को उत्पादन रेकर्डअनुसार कुल एक हजार सात सय ६० हेक्टर क्षेत्रफलमा करिब ४५० मेट्रिक टन ग्रीन बीन उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित प्राङ्गारिक कफीको माग दिन प्रतिदिन बढी रहेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मागलाई हिसाब नै गर्ने हो भने वार्षिक १० हजार मेट्रिक टनभन्दा बढी छ तर उत्पादन नै कम भएको कारण उक्त मागको पाँच प्रतिशत पनि निर्यात हुन सकेको अवस्था छैन । नेपाली कफी निर्यातबाट वार्षिक करिब साढे सात करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकबाट नौ करोड बराबरको विभिन्न ब्रान्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग बढिरहेको छ ।

हावापानी:
चिसो, आर्द्र र तुसारोरहित हावापानी कफीका लागि उपयुक्त मानिन्छ। उष्ण तथा उपोष्ण उच्च क्षेत्रमा कफी राम्ररी फस्टाउँछ।वार्षिक ५० इन्च (१२७ से.मि.) वर्षा र छोटो सुख्खा याम कफीका लागि उपयुक्त हुन्छ। उर्वर, गहिरो र पानी हुनु राम्रो हुन्छ। ठूलो हावा हुरीले कफीको उत्पादन घटाउन सक्ने हुँदा अग्लाअग्ला रूखका छहारीमा कफी लगाउने गरिन्छ।नेपालमा विविध किसिमको भौगोलिक बनावट तथा हावापानी भएको हुँदा संसारका जुनसुकै देशमा लगाउन सकिने जुनसुकै जातका कफी लगाउन सकिने अवस्था छ । साथै भौगोलिक हिसाबले हेर्ने हो भने नेपालको मध्य पहाडी जिल्लाको ८ देखी १७ सय मिटरसम्मको उचाइसम्म अराविका जातको कफी खेती गर्न सकिन्छ । अराविका जातको कफी खेतीको लागि आवाश्यक पर्ने ७० देखी ८० प्रतिशत सापेक्षिक आद्रता, १६०० देखि २५०० मिलिमिटरसम्म वर्षा र कम्तीमा १० देखि १२ घण्टा घाम लाग्ने र १५ देखि २५ डिग्री सेन्टीग्रेड तापक्रम, अधिकांश उत्तर–पूर्वी र दक्षिण–पूर्वी मोहडा यही भौगोलिक क्षेत्रभित्र पाइन्छ । नेपालका सबै पहाडी जिल्लामा कृषि लगायत ग्रामीण सडकका साथै यातायात सञ्जालको विकास हुने क्रम बढ्नुको साथै पछिल्लो समयमा सरकारका विभिन्न कार्यक्रमअन्तर्गत सिँचाइ, बिजुली सबै ठाउँमा पुगिसकेको कारण नेपालमा कफी खेतीको राम्रो सम्भावना देखिन्छ ।

रोपाइ र बिरुवा घर :
कफीका बोटमा फल्ने दानाहरूलाई नै बिउका रूपमा प्रयोग गरिन्छ। प्रशोधन नगरिएका कफीका दानालाई रोपेर बिरुवा उमार्न सकिन्छ। ठुलठुला ड्याङ बनाएर छहारीयुक्त बिरुवा घरमा कफीका दाना रोप्न सकिन्छ। टुसा हालिसकेपछि बिरुवालाई ड्याङ्बाट उखेलिन्छ र मलिलो माटो भरिएका बेग्लाबेग्लै भाँडामा रोपिन्छ। स्थायी रूपमा रोप्न लायक नहुन्जेलसम्म ती बिरुवालाई चर्को घामबाट जोगाएर राखिन्छ भने नियमित रूपमा पानी पनि हाल्ने गरिन्छ। खास गरी चिसो याममा बिरुवा रोपिन्छ । यसो गर्दा बिरुवाका वरिपरिको माटो चिसो रहन्छ र बिरुवाका जराले चाँडै माटो समाउँछन्।

कफी बाली उठाउने:

कफीका नयाँ बोटमा फल लाग्नका लागि ३ देखि ४ वर्ष लाग्दछ। कफीका फललाई कफी चेरी भनिन्छ । जब कफीका दाना पाक्दछन् ती चम्किला गाढा रङका हुन्छन्। यसपछि टिप्ने बेला हुन्छ। हातले वा औजारको प्रयोग गरेर कफी टिप्न सकिन्छ। हातले टिप्नु पर्दा बढी श्रमको आवश्यकता हुनाका साथै प्रशोधन गर्न पनि गार्होज हुन्छ। निम्नलिखित दुई तरिकाबाट कफी टिप्ने गरिन्छ:

क) एकै पटकको टिपाइ
एकै पटक सबै दानाहरू टिपिन्छ । हातैले वा औजारहरूको प्रयोग गरेर यो काम गर्न सकिन्छ। हाँगामा रहेका सबै चेरीहरूलाई एकैपटक टिपिन्छ।

ख) छानेर टिपिने
पाकेका चेरीहरूलाई छानीछानी हातले टिपिन्छ। कफी टिप्ने व्यक्तिले ८/१० दिनको अन्तर पारेर रूख रूख चहार्ने गर्नुपर्ने हुन्छ।
उटा कुशल व्यक्तिले एक दिनमा १०० देखि २०० पाउन्डसम्म कफीका दाना टिप्न सक्छ जसबाट २० देखि ४० पाउन्डसम्म कफीका दाना निकाल्न सकिन्छ। दिनभरि टिपिएको कफीलाई भेला गरिन्छ र प्रशोधन गर्ने ठाउँमा लगिन्छ।

कफीका दानाको प्रशोधन:

नोक्सान हुन नपाओस् भनेर कफीलाई जति सक्दो चाँडो प्रशोधन गर्नुपर्छ। निम्नलिखित दुईवटा प्रक्रियाबाट कफीको प्रशोधन गरिन्छ:

क) सुख्खा विधि :पानीको स्रोत कम भएका ठाउँमा यो विधि अपनाइन्छ। भर्खरै टिपिएका दानालाई राम्ररी फिँजाएर घाममा सुकाइन्छ। बिग्रन नदिनका लागि दिनभरि नै दाँतीका सहायताले ओल्टाइपल्टाइ गरिन्छ भने राती छोपेर राखिन्छ। पानी पर्योम भने ओतमा राख्ने व्यवस्था गरिन्छ। कफीका दानामा रहेको चिसोपना ११% मा नझरुन्जेल कैयौं हप्तासम्म यसरी नै सुकाइन्छ। त्यसपछि कफीका सुख्खा दानालाई छनौटका लागि गोदाम घरमा लगिन्छ।

ख) चिस्यान विधि : यस विधिमा कफीका दाना टिपिसकेपछि दानाभित्रको गुदी निकालिन्छ र बाँकीरहेका बोक्रालाई मात्र सुकाइन्छ।
सबैभन्दा पहिले भर्खरै टिपिएका कफीका दानालाई गुदी निकाल्ने मसिनमा हालेर गुदी र बोक्रालाई अलग अलग पारिन्छ। गुदीलाई पानीले धोइन्छ र सुकाएर ऊर्ध्वच्छदका रूपमा प्रयोग गरिन्छ। कफीका दानालाई पानीमा डुबाउँदा हलुका दाना माथिमाथि तैरिन्छन् भने गर्हौंु तथा पाकेका दाना पानीमा डुब्छन्। त्यस्तै ती दानालाई पटक पटक पानीमा डुबाएर साना ठुला दानालाई अलग अलग पारिन्छ।
त्यसपछि ती दानाहरूलाई किण्वीकरणका लागि पानी भरिएका ठुलाठुला भाँडामा हालेर दानाको अवस्था, मौसम र उचाइका आधारमा १२ देखि ४९ घन्टासम्म डुबाएर राखिन्छ । यसो गरिसकेपछि कफीका दानाका बोक्रामा टाँसिएको बाहिरी पत्र उक्किन्छ। किण्वीकरण गरिसकेपछि ती दाना खस्राखस्रा हुने हुँदा तिनलाई थप सफा पानीमा हालिन्छ। अन्तत: ती दाना सुकाउनका लागि तयार हुन्छन्।

दानालाई सुकाउने : चिस्यान विधिबाट कफीको प्रशोधन गरिँदा गुदी निकालेर किण्वीकरण गरिएका दानाहरूलाई लगभग ११% चिसोपना होउन्जेल सुकाउनु पर्दछ र भण्डारणका लागि तयार गर्नुपर्दछ। यी दानाहरू अझै खपटाभित्रै हुने हुँदा घाममा सुकाए पनि हुन्छ। मेसिनका सहायताले पनि सुकाउन सकिन्छ। सुकिसकेपछि दानाहरूलाई सिसल वा जुटका बोरामा राखिन्छ।

दानाको पिसानी

बोक्रे कफीलाई निम्न ढङ्गले प्रशोधन गरी निर्यात गरिन्छ

अ)बोक्रा ताछ्ने
चिस्यान विधिबाट प्रशोधन गरिने कफीबाट बोक्रा छुटाउन मेसिनको प्रयोग गरिन्छ । यस मेसिनले सुकेका दानाबाट सबै भुस हटाइदिन्छ।

आ)रङ्ग्याउने
बोक्रा ताछिसकेपछि बाँकी रहेको चाँदी रङको तहलाई रङ्ग्याउने मेसिनले हटाइदिन्छ।

इ)स्तरीकरण गर्ने र छुट्याउने :
आकार र बजनका आधारमा कफीका दानालाई राम्ररी छुट्याइन्छ। रङ्सम्बन्धी केही तुस बाँकी रहेको छ कि भनेर राम्ररी जाँच गरिन्छ।
१० देखि २० को स्तरले दानाको साइजको प्रतिनिधित्व गर्दछन्। यस सङ्ख्याले गोलो आकारको प्वालको प्रतिनिधित्व गर्दछन्। १० नम्बरको दाना भन्नुको अर्थ एक इन्चको ६४ औं भागको प्वाल भएको दाना भन्ने बुझिन्छ। बिभिन्न चरणमा आकार परीक्षण गरेर दानाको परीक्षण गरिन्छ। गर्हौंो तथा हलुका वजनका आधारमा पनि दानाहरूको वर्ग छुट्याउने गरिन्छ।
त्यसपछि खराब दानाहरूलाई अलग्याइन्छ। जटिल मेसिनहरूको प्रयोग गरेर खराब दानाहरूलाई छुट्याउने गरिन्छ। उपयुक्त आकार, रङ विनाका वा अन्य किसिमबाट अस्वीकृत हुन सक्ने दानाहरूलाई निकालिन्छ। यस्ता दानाहरू बढी कुहिएका वा कीराले आक्रमण गरेका हुन सक्छन्। हातले वा मेसिनको प्रयोग गरेर यो प्रक्रिया सम्पन्न गर्न सकिन्छ । यो सबै गर्नुको अर्थ उच्च गुणस्तरका दानाहरूको मात्र निर्यात होस् भन्ने हो।
ई.कफीको निर्यात :यसरी पिँधिएको कफीलाई “ग्रीन कफी” भनिन्छ। पाटाका / सिसलका बोरामा हालेर यसरी तयार गरिएको कफीलाई निर्यात गरिन्छ।
कफीको चखाइ :उत्पादनका प्रत्येक चरणमा गुण तथा स्वादको परीक्षण गर्नका लागि कफी चाखिन्छ। यस प्रक्रियालाई ‘कपिङ’ भनिन्छ। जाँचकीले सर्वप्रथम हेर्दाखेरि कस्ता देखिन्छन् भनेर दानाहरूलाई जाँच्दछ। त्यसपछि साना भुटाइ गर्ने प्रयोगशालामा ती दानालाई भुटिन्छ र तत्कालै सावधानीपूर्वक तापक्रम नियन्त्रण गरिएको उम्लिएको पानीमा हालिन्छ। जाँचकीले सुगन्धको पनि जाँच गर्दछ। केही समय त्यसै छाडिसकेपछि कपका सिरानमा बसेको पाप्रो उप्काउँछ । चाख्नुभन्दा अगाडि पुन: त्यसलाई सुँघ्छ । त्यसपछि चाख्नका लागि छिटोछिटो सास तान्दै एक चम्ची कफी सुरुप्प पार्छ।
कफीको भुटाइ: भुटेपछि हरिया कफीका दान खैरा रङका हुन्छन्। खैरा दाना बजारमा लगेर बेच्नका लागि तयार हुन्छन्। भुट्ने मेसिनको तापक्रम ५५० डिग्री फरेनहाइट हुन्छ। दानाहरू भुटाइको पूरा प्रक्रियाभरि घुमिरहन्छन् जसले गर्दा ती डढ्न पाउँदैनन् । जब दानाको ४०० डिग्री तापक्रम हुन्छ ती खैरा रङका देखिन थाल्छन् भने दानाभित्र रहेको तेल निस्किन थाल्छ। हामीले पिउने गरेको कफीबाट आउने सुगन्ध र स्वाद यसै तेलबाट उत्पादन भएको हो। भुट्ने मेसिनबाट निकाल्नासाथ कफीका दानाहरूलाई हावा वा पानीका सहायताले तत्काल चिस्याइन्छ।

बजार : 

कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्वपूर्ण कुरा हो । उत्पादित वस्तुको बजार भएन भने सबै कुरा निरर्थक हुन्छ । नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी हो । उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ । पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं स्तरीय होटलमा नेपाली अर्गानीक कफीको प्रयोगको कारण नेपालको कफीले नेपाली बजारलाई पनि धान्न नसकेको अवस्था छ । यसको साथै नेपालमा खुल्दै गएका कफी कम्पनीको कारण पनि उत्पादित कफी विदेशमा नै पठाउनुपर्छ भन्ने छैन । हुन त नेपालमा उत्पादित कफीमध्ये करिब ६० प्रतिशत निर्यात हुन्छ र ४० प्रतिशत मात्र नेपालमा खपत हुने गरेको छ । नेपालमा उत्पादित कफी विदेश निर्यात भएपछि नेपाली बजारको लागि भारतबाट वा इटालियन कफीको आयात भइरहेको अवस्था छ । पछिल्लो रेकर्डअनुसार नेपालमा वार्षिक ४५० मेट्रिक टन कफी उत्पादन हुन्छ भने आन्तरिक तथा बह्य मागलाई हेर्ने हो भने १० हजार मेट्रिक टन भन्दा बढीको वार्षिक माग भइरहेको पाइन्छ । यसबाट के बुझ्न सकिन्छ भने उत्पादित कफीको लागि अहिले मात्र होइन, वर्र्षाैं वर्षसम्म पनि बजारको अभाव देखिँदैन ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Share:

Related Post