सलगम खेती गर्ने तरिका

Q 1. सलगम बालीलाई कस्तो हावापानी उपयुक्त हुन्छ ?

सलगम बालीलाई चिसो हावापानी चाहिन्छ।अतः यसले ठण्डा मौसम रुचाउँदछ।तापक्रमको हिसाबले ५ डिग्री सेन्टिग्रेड देखि २० डिग्री सेन्टिग्रेड सम्मको तापमान गुणस्तरीय उत्पादनको लागि राम्रो हुन्छ।
Q 2. नेपालमा कुन कुन रंगको सलगमहरु पाइन्छन् ?

नेपालमा सेता र राता दुवै प्रकारका सलगमहरु पाईन्छन्।
Q 3. यो कस्तो मौसममा फस्टाउने बाली हो ?

सलगम चिसो मौसममा फस्टाउने बाली हो।तापक्रम २० डिग्री सेन्टिग्रेड भन्दा बढी भएमा जराको विकास हुँदैन र उत्पादनमा निकै ह्रास आउँछ।
Q 4. सलगम खेती कस्तो किसिमको माटोमा राम्रो हुन्छ ?

प्राङ्गारिक/जैविक पदार्थ प्रशस्त भएको हल्का दोमट माटो सलगम खेतीको लागि उपयुक्त हुन्छ। जरे बाली भएकोले चिम्टयाइलो माटो भने राम्रो हुँदैन।
Q 5. प्रति रोपनी जमीनमा कति मलखाद प्रयोग गरेमा राम्रो उत्पादन लिन सकिन्छ ?

सलगमको उत्पादन राम्रो लिनको लागि करीव १ मे.टन गोवरमल, ५ के.जी. यूरिया, ४ के.जी. डि.ए.पी. र ४ के.जी. म्यूरेट अफ पोटास आवश्यक पर्दछ ।
Q 6. सलगम खेती गर्दा जमीनको तयरी कसरी गरिन्छ ?

सलगम एक जरे तरकारी बाली भएका कारणले गर्दा माटो तयारीमा विशेष ध्यान पुर्‍याउनु पर्दछ। माटोलाई ३–४ पटक राम्ररी खनजोत गरी डल्ला फुटाई वुरवुरउँदो वनाउनु पर्दछ।जमीन तयारीकै वेला कम्पोष्ट वा गोवरमल, नाइट्रोजनको आधा भाग, फस्फोरस र पोटास मल पुरै हाल्नु पर्दछ।


Q 7. सलगममा अन्य बाली भन्दा छिटो गोडमेल र टपड्रेस गर्न आवश्यक पर्दछ किन ?

सलगम माटो मुनी वढ्ने वाली भएकोले माटो खुकुलो र गहिरो हुन जरुरी छ। सलगम रोपेको २ हप्ता पछि धेरै वेर्ना भएको ठाउँवाट २ वटा मात्र बाँकी राखी अन्य हटाउनु पर्दछ।
Q 8. नेपालमा प्रचलित सलगमका जातहरु के के छन् ?

नेपालमा लगाइएका प्रचलित जातहरुमा पर्पल टप ह्वाईट ग्लोब, भक्तपुर लोकल, काठमाण्डौ रातो आदि छन्।
Q 9. पर्पल टप ह्वाईट ग्लोबजातको विशेषता के हो ?

यसको जराको तल्लो भाग सेतो र माथिल्लो भाग प्याजी रङ्गको हुन्छ। यसको साईज सरदर १२ से.मि. व्यास हुन्छ। बीउ रोपेको ६०-७० दिनमा उखेल्नको लागि तयार हुन्छ।
Q 10. रातो रंग हुने सलगमको जात कुन हो ? यसको उत्पादन कुन भौगोलिक क्षेत्रमा राम्रो हुन्छ ?

रातो रंगको सलगमको जात काठमाण्डौ रातो र भक्तपुर लोकल हो। यसको खेती पहाडी क्षेत्रमा राम्रो हुन्छ।
Q 11. सलगमको गानोफुट्ने पाईएको छ? यसको लक्षण तथा रोकथामको उपाय के होला ?

बोरन तत्व कम भएको माटोमा सलगमको गानोफुट्ने सम्भावना हुन्छ। यसको रोकथामका लागि जग्गा तयारी गर्ने बेलामा नै बोरेक्स आधा के.जी. प्रति रोपनीका दरले माटोमा हाल्नु पर्दछ।
Q 12. सलगममा लाग्ने प्रमुख शत्रु कीराहरुको ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

सलगममा लाग्ने प्रमुख कीराहरुमा लाही तथा तोरीका झिँगाहरु हुन्। यी कीरावाट बच्न जैविक विषादीको प्रयोग गर्न राम्रो हुन्छ तर कुनै अवस्थामा रासायनिक विषादी छर्नुपर्ने भएमा मेटासिष्टक्स ५० इ.सी.१ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।\


Q 13. सलगम उखेल्ने उपयुक्त अवस्था कुन हो ?

बीउ छरेको ६०-७० दिनमा सलगम तयार हुन्छ। सलगमको गानोमा काठजस्तो अथवा फोस्रो हुन अगावै साग सहित उखेल्नु पर्दछ।
Q 14. सलगमको उत्पादन प्रति रोपनी कति हुन्छ ?

सलगमलाई नछिप्पिदै कलिलो अवस्थामा उखेल्दा एक रोपनीमा पर्पल टप ह्वाईट ग्लोब जातको सलगम १ देखि १.५मे.टनसम्म फल्दछ भने काठमाण्डौ रातो ८००-१००० किलो प्रति रोपनी उत्पादन हुन्छ।
Q 15. सलगम उखेलिसकेपछि कुन–कुन प्रकृया पूरा गरी प्याकिङ्गगर्नुपर्छ?

सलगम उखेलेपछि त्यसमा भएका पुराना पात र जराहरु हटाउनु पर्दछ। सलगमलाई बजारमा आकर्षक देखाउन पानीमा राम्ररी धोएर छहारीमा राखी ओभानो भएपछि साइज र रंगको आधारमा ग्रेडिङ्ग गरी वोरा, क्रेटमा प्याकिङ्ग गर्नु पर्दछ।
Q 16. सलगमलाई साधारणतया कति दिनसम्म भण्डारण गर्न सकिन्छ ?

सलगमलाई हिउँदको मौसममा घाम नछिर्ने साधारण कोठामा ७–१० दिनसम्म भण्डारण गर्न सकिन्छ भने शक्ति भण्डारणमा ०–२ डिग्री सेन्टिग्रेड तापक्रम र ९०–९५% सापेक्षिक आर्द्रतामा ३–४ हप्तासम्म भण्डारण गर्न सकिन्छ।
Q 17. सलगम उखेल्दा विशेष कुन–कुन कुराहरुमा ध्यान दिनु पर्दछ ?

सलगम बाली तयार भएपछि गानो नफुट्ने र घाउ नलाग्ने गरी उखेल्नु/खनेर निकाल्नु पर्दछ। सलगमलाई राम्ररी पखाली कलिलो पातमात्र राखी बोरामा प्याक गरेर बजार लैजाँदा राम्रो मूल्य पाउन सकिन्छ।