Tag: vegetable
dhading tarkari

परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् ।

राजधानी काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरू बाह्रमासे तरकारी खेतीमा लागेका छन् ।

केही वर्षअघिसम्म तेल, मसलाका लागि मात्रै तरकारी बेच्ने किसानहरू अहिले छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै लाखौंको तरकारी बेच्ने भइसकेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार ६ हजार २२ हेक्टर (१२ हजार ४ सय ४०) रोपनी) क्षेत्रफलमा तरकारी खेती गरिएको छ ।

नौबिसे धार्केस्थित तरकारी संकलन केन्द्रमा काठमाडौं लगायतका प्रमुख शहरहरुमा पठाउन लागिएको तरकारी । यो संकलन केन्द्रबाट दैनिक ८० मेट्रिक टन ताजा तरकारी निर्यात हुन्छ ।

                                                                              तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

जिल्लाभर ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जिल्लाको छत्रेदेराली, जीवनपुर, नौबिसे, थाक्रे, तर्सपु, केवलपुर, गोगनपानी र भुमेस्थान गाविस व्यावसायिक तरकारी लागि पकेट क्षेत्र हुन् । बैरेनी, कल्लेरी खाल्टे, कुम्पुर, किराञ्चोक, पिडा, गजुरी, महादेवस्थान, बेनीघाट, सलाङ, धुषा र जोगिमारासमेतलाई पकेट क्षेत्रका रूपमा लिइएको छ । यी १९ गाविसका १० हजारभन्दा बढी किसान बाह्रै महिना तरकारी खेती गर्दै व्यावसायिक बनेका छन् ।

पकेट क्षेत्रमा ४ हजार ५ सय १६ हेक्टर (९ हजार ३ सय २० रोपनी) क्षेत्रफलमा ५७ हजार ८ सय ५ मेट्रिक टन (५ लाख ७८ हजार ५० क्विन्टल) सरदर मूल्य ४५ रुपैयाँका दरले बिक्री हुँदा २ अर्ब ६० करोड १२ लाख २५ हजार किसानहरूले प्राप्त गरेको स्थानीय केशव घिमिरेले बताए ।

पहिला एक झोला तरकारी बेच्न कालिमाटी तरकारी बजार जानु पर्ने बाध्यता हटेसँगै किसानहरू धेरै उत्पादन गर्नेतर्फ लागेका छन् । किसानहरूले धेरै परिमाणमा उत्पादन गरे व्यापारीहरू खेतबारीमै गाडी लिएर पुग्ने गरेको पाइन्छ ।

राष्ट्रिय समूह किसान महासंघ धादिङ सदस्य श्यामचन्द्र आचार्यका अनुसार तरकारी उत्पादनमा लाग्ने किसानहरूको आर्थिक हैसियत राम्रो बन्दै गएको छ । किसानले लागतको तुलनामा तरकारीको उचित मूल्य नपाएको उनको गुनासो छ ।

चार महिनासम्म श्रम र लगानी गर्ने किसानले भन्दा एक दिन लगानी गर्ने व्यापारीले धेरै कमाउने व्यवस्थाको अन्त्य भए नेपाल तरकारीमा परनिर्भरता अन्त्य हुने आचार्यको दाबी छ । तरकारी पकेट क्षेत्रमा २ वटा सिमेन्ट उद्योग र ३३ वटा इँट्टाभट्टा सञ्चालन भएकोमा भने किसानहरू आक्रोसित छन् ।

सरकारले किसानलाई कमजोर ठानेर नै होला तरकारी पकेट क्षेत्रमा उद्योग खोल्न दिएको सही व्यवस्थापन नगरे वा किसानलाई प्रतिकूल असर गरे उत्पादन रोकेर आन्दोलन गर्ने राष्ट्रिय समूह किसान महासंघ धादिङका अध्यक्ष कमल गुरुङले बताए ।

विषादी प्रयोगमा न्यूनिकरण
तरकारीबालीमा छर्किने विषादीको प्रयोग धादिङका किसानहरुले घटाउँदै लगेका छन् । विगत ४ वर्षदेखिको अथक् प्रयास र विषादी न्यूनिकरणका विभिन्न क्रियाकलापहरुले हरियो तरकारीमा विषादीको प्रयोग घट्दै गएको छ ।

राजधानीको कालीमाटी तरकारी बजारलाई २७ प्रतिशत हरियो तरकारी निर्यात गर्ने धादिङ जिल्लामा मात्रै देशमा जम्मा खपत विषादीको परिमाणको तुलनामा धादिङ्ग जिल्लामा लगभग १३ प्रतिशत विषादी खपत भएको पाइन्छ । ‘धादिङ जिल्लामा विषादीको वार्षिक खपत परिमाण ५८ मे.टन रहेको छ । विगत वर्षहरुमा ६४ देखि ६९ मेट्रिक टनबाट घटेर यसपाला ५८ मे.टन खपत भएको तथ्याङ्क छ’–जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले भने ।

विषादी प्रयोगले तरकारीका उपभोक्तालाई असर पर्छ भन्ने चेतनाको कमीले विषादीको प्रयोग एउटा तरकारीबालीमा १८ पटकसम्म प्रयोग गरेको पाइएपछि विषादीको प्रयोग न्यूनिकरणका उपायहरु अपनाउन किसानलाई चेतना दिन थालिएको हो । ‘तरकारी संकलन केन्द्रहरुमा पनि विषादी प्रयोग गरिएका तरकारीहरुभन्दा नगरिएका तरकारीहरुको मूल्य बढी हुन थालेपछि घटाउँदै लगेका हौं’ धुषा–१, स्थित चरौंती तरकारी संकलनमा आएका किसान अभिराम सिलवालले बताए ।

तरकारीबालीमा रोग, कीरा नलागे पनि तरकारीमा प्रतिबन्ध गरिएका रातो निलो लेवल लगाएका विषादीको प्रयोग समेत हुने गरेको पाइएको थियो । हाल जिल्लामा १४३ वटा एग्रोभेट सञ्चालनमा रहेका छन् । त्यसका अलावा काठमाडौंस्थित  एग्रोभेटहरुबाट पनि घातक विषादीहरु ल्याई कृषकहरुले प्रयोग गर्ने गरेको पाइएको छ । सबैभन्दा बढी एग्रोभेटहरु पृथ्वीराजमार्गमा छन् ।

जिल्लामा विषादी न्यूनिकरणका लागि जिल्ला कृषि विकास कार्यालयले एकीकृत रोग, कीरा व्यवस्थापन पद्धती (आई.पि.एम.),    कृषक पाठशालामार्फत सञ्चालन भइरहेका पनि छन्  । ‘किसानहरुलाई बाली संरक्षण निर्देशनालयबाट प्रत्यक्षरुपमा राष्ट्रिय आई.पि.एम.कार्यक्रममार्फत कृषकहरुलाई जनचेतना फैलाइएको छ ।’ जिल्लास्थित खाद्य अधिकार सञ्जालका फिल्ड संयोजक राजेन्द्र बस्नेतले बताए ।
साभारः कान्तिपुर दैनिकबाट