Tag: tomato farming nepal

Q 1. गोलभेडा खेतीमा सेतो झिँगा कस्तो खालको कीरा हो ? यसको प्रकोपले अन्य समस्या पनि आउने सुनिन्छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?

सेतो झिँगा सुक्ष्म कीरा हो । यस कीराका वयस्क र वच्चाहरु दुवैले पात र फूलको रस चुसेर पात पहेँलो र विरुवालाई कमजोर तुल्याउँदछन् । यिनै कीराको माध्यमवाट गोलभेडामा भाइरस रोग सर्दछ । यिनीहरुको व्यवस्थापन गर्न सके सम्म नीममा आधारित विषादी अथवा रोगर वा साइपरमेथिन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
Q 2. गोलभेडामा तालिम र काँटछाँट भन्नाले के बुझिन्छ र कस्ता जातहरुमा तालिम र काँटछाँटको आवश्यकता हुन्छ ?

गोलभेडाको वोटलाई वढी झ्याङ्गिन नदिन एक वा दुई वटा मात्र हाँगाहरु राखी अन्यलाई सानैमा हटाइन्छ । होचा जातहरुमा यो तरीका उपयुक्त हुदैन तर अग्ला जातहरुमा अनिवार्य रुपमा गर्नु पर्दछ । काँटछाँटले वोटलाई खुल्ला वनाई दिन्छ जस्ले गर्दा वोट स्वस्थ रही गुणस्तरीय फल लाग्दछ ।
Q 3. वीमा गरिएको वालीको क्षतिपूर्ति अधिकतम कति प्रतिशत सम्म वीमा कम्पनीले ब्यहोर्दछ ?

बीमित वालीको क्षतिको एकिन गरी अधिकतम ९० प्रतिशत सम्म क्षति ब्यहोर्ने प्रावधान छ ।
Q 4. तरकारी वालीमा वीमा कसरी गरिन्छ ?

खाद्यन्न वाली, तेलहन, दलहन वाली तथा पशुपँक्षिहरुमा जस्तै तरकारी वालीमा पनि वीमा गर्न सकिन्छ । यसको लागि नजिककै वाली वीमा गर्ने कम्पनि तथा जिल्ला कृषि विकास कार्यालय र कृषि सेवा केन्द्रमा सम्पर्क गरी यस सम्वन्धि जानकारी लिई वीमा गर्न सकिन्छ ।
Q 5. पर्यावरणिय क्षेत्र (Ecological Belt) अनुसार बेमौसमी गोलभेडा खेती गर्ने उपयुक्त समयहरु कुन कुन हुन् ?

मध्य पहाड (१०००–१५०० मीटर) मा जेठ–असार, बेसि (३००–१००० मीटर) मा असार–साउन र तराई (३०० मीटर कम) मा भदौ महिनामा खेती लगाउने उपयुक्त मानिन्छ ।
Q 6. वजार भाऊ राम्रो भएको वेला गोलभेडा फललाई चाँडै पकाउने कुनै तरिका अपनाउन सकिन्छ कि ?

परिपक्व हरियो गोलभेडा फललाई भेट्नो सहित टिपी पाकेको गोलभेडा, पाकेको केरा सँग मिसाएर भण्डारण गर्दा छिटो पकाउन सकिन्छ ।
Q 7. गोलभेडाको वीउ निकाल्न कस्तो अवस्थाको फल टिप्नु उपयुक्त हुन्छ ?

गोलभेडाको वीउ निकाल्नको लागि रातो धेरै पाकेको अवस्थामा टिप्नु पर्दछ । यस्तो अवस्थामा फलहरु पुरै रातो र छाम्दा गिलो हुन्छन् ।
Q 8. प्रशोधनको लागि गोलभेडा कस्तो अवस्थामा टिप्नु उपयुक्त हुन्छ ?

प्रशोधनको लागि रातो कडा अवस्थामा अर्थात् फलको रंग पूरै रातो भएको तर फलहरु गिलो नभईसकेको अवस्थामा टिप्नु उपयुक्त हुन्छ ।
Q 9. टाढा ढुवानी/ वजारको लागि गोलभेडा छनौट गर्दा कस्ता–कस्ता उपायहरु अवलम्वन गर्नु पर्दछ?
टाढा ढुवानी अथवा वजारको लागि गोलभेडा टिप्दा सके सम्म परिवक्व हरियो अवस्थामा टिप्नु पर्दछ र यसमा कुनै किसिमको चोट पटक नलगाईकन भेट्नो सहित टिप्नु पर्दछ । यसलाई ढिला पकाउनका लागि टिपी सकेपछि क्याल्सियम क्लोराइड १.७५ ग्राम प्रति लिटर पानीका दरले १५ मिनेट डुवाई उपचार गर्न सकिन्छ ।
Q 10. परिपक्व हरियो तथा पाकेको गोलभेडा कति चिस्यानमा वढीमा कति दिन सम्म भण्डारण गर्न सकिन्छ ?
परिपक्व हरिया फलहरु १२–१४ डि.से. तापक्रम र ९०–९५% सापेक्षित आर्द्रतामा ७–२१ दिन सम्म भण्डारण गर्न सकिन्छ भने पुरै पाकेका फलहरु ८–१० डि.से. र उत्तिकै आर्द्रतामा ४–७ दिन सम्म भण्डारण गर्न सकिन्छ ।
Q 11. फल टिपी सकेपछि कस्तो ठाउँमा राख्नु पर्दछ ?

गोलभेडा फल टिपी सकेपछि छहारी मुनी सफा ठाउँमा फिँजाउनु पर्दछ । आकर्षक रंग, आकार र आकृति नभएका फलहरु हटाउनु पर्दछ ।
Q 12. गोलभेडा फल कस्तो–कस्तो अवस्थामा टिप्न सकिन्छ ?

गोलभेडा फल धेरै अवस्थाहरुमा टिप्न सकिन्छ तर ६ वटा अवस्थालाई अगिंकार गरेको पाइन्छ जस्तैः अपरिपक्व हरियो, परिपक्व हरियो, गुलावी रंग शुरु भएको गुलावी रातो कडा र रातो धेरै पाकेको तर पहिलो र अन्तिम अवस्थाको फल टिप्नु लाभदायक हुँदैन ।
Q 13. राम्रो व्यवस्थापन गरेको गोलभेडा खेतीवाट प्रति रोपनी कति सम्म उत्पादन लिन सकिन्छ ?

गोलभेडाको उत्पादन यसमा प्रयोग गरिने मलखाद वाली व्यवस्थापन लगाएतका धेरै कुराहरु भर पर्दछ तै पनि खुल्ला सेंचित जातले १५००–२५०० के.जी. प्रति रोपनी वर्णसंकर जातले ४००० के.जी. प्रति रोपनी तथा सृजना, विशेष जस्ता जातहरुले १०,००० के.जी.सम्म उत्पादन दिएको रेकर्ड पाइन्छ ।
Q 14. तरकारीमा प्रयोग गरिने विषादि कुन रंगको हुन कम खतराको संकेत गर्दछ ?

तरकारीमा सकेसम्म घरायसी/जैविक विषादीको प्रयोग गर्न स्वास्थ्यको लागि लाभदायक हुन्छ तर कुनै कुनै अवस्थामा रासायनिक विषादीको प्रयोग नगरी नहुने अवस्था आएमा हरियो रंगको संकेत भएको प्रयोग गर्नु पर्दछ र यसमा लेखिएको विषादी प्रयोग पछि वाली टिप्न/प्रयोग गर्नु पर्ने समयलाई पूर्ण रुपमा पालना गर्नु पर्दछ ।
Q 15. कीटनाशक विषादिको संकेतहरु के के छन् ?

कीटनाशक विषादीहरुको वट्टा/पाकेटहरुमा रातो, पहेलो, निलो र हरियो रंगका संकेतहरु दिइएका हुन्छन् । रातो रंगको संकेतले सवै भन्दा खतरा को संकेत दिन्छ भने क्रमशः घट्दै गएर हरियो संकेत कम जोखिमपूर्ण हुन्छ ।


Q 16. फल रित्तो हुने (Puffiness/ Hollowness) समस्या/विकृति कसरी उत्पन्न हुन्छ ?
फल रित्तो हुने समस्या गर्भाधान क्रिया राम्ररी नहुनु र भ्रुणहरुको वृद्धि नभएको कारणले यस्तो विकृति देखा पर्दछ । यसवाट फल गिलो तथा कम तौलका हुने, वीउ रहने थैलीहरु गुदी, जेली पदार्थले भरिएका हुँदैनन्।फलको वाहिरी भाग वृद्धि हुन्छ तर भित्री भाग वृद्धि हुँदैन फलस्वरुप खोक्रो हुन्छ ।
Q 17. फलको टुप्पा कुहिने (Blossom End Root) कस्तो अवस्थामा लाग्दछ र कसरी व्यवस्थापन गर्न सकिन्छ ?
यो रोग माटोमा चिस्यानको कमी तथा धेरै चिस्यान हनु र क्याल्सियम तत्वको कमीको कारणले देखा पर्दछ । शुरुमा फल हरियो छँदै फलको टुप्पामा दाग देखापर्दछ र पछि कालो हुन्छ । यसको व्यवस्थापन गर्न खेती गरिएको माटोमा नियमित चिस्यान कायम राख्ने र क्याल्सियम तत्व विरुवामा उपलब्ध गराएर गर्न सकिन्छ ।
Q 18. गोलभेडाको फल के कारणले फुट्दछ (Fruit Cradking) हुन्छ ? यसलाई कसरी कम गर्न सकिन्छ ?
फल दुई प्रकारले फुटेको देखिन्छ । पहिलो परिपक्व हरियो अवस्थामा फलमा भेट्नाको वरीपरी औँठी आकारमा फुट्छ भने अर्को पूरा पाकेको अवस्थामा फलको फेदवाट टुप्पातिर फुटेर जान्छ । यस्तो अवस्था कम गर्न गोलभेडा वारीमा नियमित सिचाई गरेर, नफुट्ने जातहरु लगाएर, समयमै फल टिपेर तथा वोर्डो मिक्स्चर स्प्रे गरेर व्यवस्थापन गर्न सकिन्छ ।
Q 19. गोलभेडामा देखा पर्ने अन्य भाइरस रोगहरुबाट वचाउन अन्य विधिहरु के–के छन् ?
गोलभेडामा टाटेपाटे भाइरस जस्ता अन्य रोगहरु पनि देखापर्दछन् । यसको रोकथाम गर्न विषाणुमुक्त माटोमा खेती लगाउने, रोग सहने खालका जातको मात्र खेती गर्ने, गाई भैँसीको दूध १० मि.लि. प्रति लिटर पानीमा मिसाई व्याड र वालीमा १५ दिनको अन्तरमा छर्दा रोग वृद्धि हुन पाउँदैन ।
Q 20. पात गुजमुज पर्ने (Leaf curl virus) के ले फैलाउँछ ? यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
यो भाइरसको कारणले उत्पन्न हुने रोग हो । यसको कारणले वोट सानो, छाटो हुने र पात तलतिर दोर्विने गर्दछ र नयाँ आएका पातहरु पहेँलिन्छन् । फल साना–साना हुन्छन् र ज्यादै थोरै फल्दछ । यो रोग सेतो झिँगाले र अन्य चुसेर खाने खालका कीराले फैलाउँछ । यसको व्यवस्थापन रोग ग्रस्त विरुवा उखेलेर फाल्ने, जलाउने, स्क्रिन हाउसमा विरुवा उत्पादन गर्ने र रोग जस्ता दैहिक विषादी १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नुपर्दछ ।
Q 21. जरामा लाग्ने गिर्खा रोग (Rootnot Nematode) कस्तो हुन्छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
यो जरामा लाग्ने नेमाटोडको कारणले लाग्दछ । रोगी वोटहरु होचा हुन्छन् तथा पातहरु साना आकारका र पहेँलिएका हुन्छन् । वोटहरु उखेलेर हेर्दा जराहरुमा गाँठाहरु देखापर्दछन्। यसको व्यवस्थापनको लागि यस परिवारको खेती गरिएको जग्गामा तुरुन्तै खेती नलगाउने, उक्त जग्गामा सूर्यमुखीको खेती लगाउने, वेर्ना सार्ने वेलामा १–२ ग्राम कार्बोफ्यूरान + 25 ग्राम नीमको पिना प्रत्येक खाडलमा हाल्ने ।पिनालाई मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
Q 22. व्याक्टेरियल ओइलाउने रोग (Bacterial WIlt) कसरी चिन्न सकिन्छ ? यसको व्यवस्थापन कसरी गर्नु पर्दछ ?

गोलभेडाको पातहरु शुरुमा तलतिर लत्रने, ओइलाउने र छिट्टै विरुवा मर्ने गर्दछ । रोगी वोटको डाँठ काटेर हेर्दा कोटेको ठाउँवाट खैरो पिप जस्तो र्या ल निस्कन्छ । यसको व्यवस्थापन खास गरी गोलभेडा परिवारको खेती गरिएको जग्गामा एक–दुई वर्ष खेती नगर्ने, वेर्ना उखेल्दा, गोडमेल गर्दा चोट पटक लाग्नबाट बचाउने र अन्त्यमा ल्पान्टोमाइसिन स्ट्रेप्टोमाइसिन क्लिन जस्ता विषादीहरु १ ग्राम प्रतिलिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ ।
Q 23. फ्यूजारियम ओइलाउने रोग (Fusarium WIlt) कसरी उत्पन्न हुन्छ र यसको रोकथाम कसरी गर्न सकिन्छ ?

यो रोग फ्युजारियम नामक ढुसीले गर्दछ । यसको कारणले गर्दा पातहरु पहेलिन्छन्, ओइलाउँदछन् र वोटहरु विषादीबाट व्यवस्थापन गर्न गाह्रो पर्दछ । यस्तो अवस्थामा घुम्ती वाली प्रणाली अपनाउने, फर्मालिनले व्याड उपचार गर्ने, २–३ ग्राम ब्लाईटक्स ५० प्रति लिटर पानीमा मिसाएर बोटको फेदमा भिज्ने गरी हाल्दा रोग कम गर्न सकिन्छ ।
Q 24. अगौट र पछौटे डढुवा रोगमा के फरक छ ? यी रोगहरु लाग्न नदिन कुन कुन उपायहरु अवलम्वन गर्न सकिन्छ ?
डढुवा रोग आलु वालीको सवैभन्दा घातक रोग हो । अगौटे डढुवा रोगमा वुढा पातको माथिल्लो सतहमा काला, थोप्लाहरु देखापर्दछन् पछि गएर पात पहेँलिने र सुकेर झर्ने गर्दछ भने पछौटे डढुवा रोगमा शुरुमा पातको किनारा वा टुप्पोमा स–साना खैरो काला दागहरु देखा पर्दछन् र फैलदै जाँदा पुरै पात डाँठ र फलमा समेत लाग्दछ । रोगी दानामा खैरो किसिमको दाग देखिन्छ तथा पछि पुरै दाना कालो रंगको भई कुहेर झर्दछ । रोग ग्रस्त वोट पुरै कहुएको जस्तो देखिन्छ । यस रोगवाट वच्नको लागि गोलभेडा परिवार वाहेकका घुम्ति वाली लगाउने, रोग सहने जातहरु मनप्रेकस, सृजना जस्ता जातहरुको खेती गर्ने, डाईथेन एम–४५, रिडोमिल वा वेभिष्टीन जस्ता विषादीहरु २–३ ग्राम १०–१५ दिनको अन्तरालमा छर्नु पर्दछ ।
Q 25. बेर्ना कुहिने (Damping off) रोग लाग्न नदिन कुन–कुन उपायहरु अपनाउन सकिन्छ ?
वेर्नाको डाँठ कुहिने, वेर्ना कुहिने रोग नर्सरी अवस्थामा लाग्ने रोग हो । यसले गर्दा वेर्नाको डाँठ कुहिने, ढल्ने र मर्ने गर्दछ । यसको व्यवस्थापन गर्न प्रत्येक वर्ष एउटै व्याड प्रयोग नगर्ने, पानीको निकासको राम्रो प्रवन्ध मिलाउने, सौर्य उर्जावाट प्याड उपचार गर्ने फर्मालिन ५० मि.लि. प्रति १० लिटर पानीमा मिसाई १ वर्गमीटर व्याडको उपचार गर्ने वा वेभिष्टीन वा क्याप्टान १.५–२ ग्राम प्रति लिटर पानीमा मिसाई व्याडको उपचार गर्नु पर्दछ ।
Q 26. लिफ माइनर कीराले गोलभेडामा कतिको नोक्सान पुर्याउँछ र कसरी व्यवस्थापन गरिन्छ ?
यस कीराले गोलभेडाको पातमा अण्डा पार्दछ र विस्तारै अण्डावाट लार्भामा परिणत भएपछि पात भित्र सेतो गुरु्ङ्ग वनाउछ र अन्तमा पात खैरो भै सुकेर मर्दछ । यसको व्यवस्थापनमा गाईको गहुत, नीममा आधारीत कीटनाशक विषादी अथवा रोगर २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
Q 27. गबारोको नियन्त्रणका लागि घरेलु तथा रासायनिक उपाएहरु के के छन् ?

गोलभेडा लगाएको ल्पटमा वीच–वीचमा सयपत्री फूल, असर्फी फूल लगायो भने यी फूलहरुको गन्धले कीराहरु त्यतै आकर्षित भई एकत्रित हुन्छन् र यहाँ विषादिको प्रयोग गर्दा सजिलो तरीकाले रोकथाम गर्न सकिन्छ । माथि उल्लेखित उपाएहरुले नभएमा नीममा आधारित विषादी जस्तै वायोलेप ३ ग्राम प्रतिलिटर पानीमा मिसाएर वनाएको झोल प्रयोग गर्ने अथवा इन्डोसल्फान ३५ ई.सि. १.५ मि.लि. प्रति लिटर पानीमा वनाएको झोल पनि छर्न सकिन्छ ।
Q 28. गवारोलाई हातले नष्ट गर्न नसकिएको अवस्थामा कसरी व्यवस्थापन गर्न सकिन्छ ?

फेरोमन पासोको प्रयोगले पनि यस कीराको व्यवस्थापन गर्न सकिन्छ । पासोमा मिथाइल युजिनल र कीटनाशक विषादी राखेपछि मिथाइल युजिनलको वासानाले भाले पुतलीहरु यस पासो पर्दछन् र भाले पोथीको सँसर्ग हुन नपाई, भविष्यमा यिनीहरुको संख्या वृद्धिमा कमी आउँदछ ।
Q 29. गवारो भनेको कस्तो खालको कीरा हो ? गोलभेडा खेतीमा गवारोका व्यवस्थापन कसरी गरिन्छ ?
गवारो एक किसिमको खपटे कीराको लार्भा हो जसले फूल, लार्भा, प्यूपा र वयस्क गरी चार अवस्थामा आफ्नो जीवनी पूरा गर्दछ । लार्भा अवस्थामा यसले गोलभेडालाई प्वाल पारी नोक्सानी पुर्याोउँदछ । गवारोको व्यवस्थापन फुल अवस्था देखिनै गर्नु पर्दछ । यहि फूल अवस्थामा ध्यान पुर्या‍उन सकिएन भने फूलवाट निस्केको लार्भा फलको भेट्नोवाट पसेर र आधा शरीर वाहिर र आधा शरीर भित्र राखेर खाईरहेका हुन्छन् । यस्तो अवस्थामा हातले टिपेर फाल्न सकिन्छ ।
Q 30. छापो दिने/मल्चिङ्ग भनेको के हो ? यसको लागि कुन कुन वस्तुहरु प्रयोग गर्नु उपयुक्त हुन्छ ?
छापो/मल्चिङ्ग भन्नाले सुकेको झारपात, पराल, धानको भुस आदि गोलभेडा रोप्ने वित्तिकै माटो माथि छोप्ने प्रकृयालाई जनाउँदछ । आजकल कालो रंगको २०० गेज वा सो भन्दा वाक्लो प्लाष्टिकको छापो लगाउने चलन छ र यो लाभदायक पनि छ ।


Q 31. गोलभेडामा सिचाईको महत्व कस्तो रहन्छ ? कुन कुन अवस्थामा सिचाई गर्नु पर्दछ ?

साधारणतया माटोको अवस्था र मौसम हेरी ७–१२ दिनको फरकमा सिचाई दिन आवश्यक हुन्छ। गोलभेडाको विरुवा सारेको वेला, फूल फूल्ने अवस्था तथा फलहरु वृद्धि हुने अवस्थामा सिचाई दिनु जरुरी हुन्छ । थोपा सिचाई अत्यन्त प्रभावकारी देखिएको छ ।
Q 32. गोलभेडा खेतीमा कस्तो खालको वाली अन्तरवालीको रुपमा लगाउन सकिन्छ ?

गोलभेडा खेती गरिएका ठाउँ खास गरी प्लाष्टिक घर/टेनलमा हरिया सागसब्जीहरु अन्तरवालीको रुपमा लगाउन सकिन्छ ।
Q 33. गोलभेडामा घुम्ती वाली र अन्तरवाली को के महत्व छ ?

गोलभेडा खेती गर्ने जमीनमा घुम्ती वाली लगाउँदा माटोवाट उत्पन्न हुने रोगहरु लाग्दैन । गोलभेडाका अग्लो जातहरु खेती गरिएको ठाउँमा काउली, बन्दा र हरिया सागसब्जी जस्ता अन्तरवाली लगाईएमा प्रति इकाई जमीनबाट वढी आम्दानी लिन सकिन्छ ।
Q 34. गोलभेडा उत्पादन गर्दा मलखादको मात्रा कति दिन आवश्यक हुन्छ ?

गोलभेडा खेतीका लागि प्रति रोपनी १५०० के.जी. कम्पोष्ट मल १० के.जी. नाइट्रोजन, १० के.जी. फोस्फोरस, ७.५ के.जी. पोटास मल प्रयोग गर्नु पर्दछ । यस वाहेक पिना, वायोजन, जिंक सल्फेट जस्ता सुक्ष्म तत्वहरु पनि प्रयोग गर्न सकिन्छ ।
Q 35. गोलभेडा फूल फूलेको दिनदेखि फल पाक्न कति दिन लाग्दछ ?

गोलभेडा फूल फूलेको दिनदेखि फल पाक्न ४५ देखि ६० दिन लाग्दछ ।
Q 36. गोलभेडा प्याकिङ्ग गर्दा कस्तो कन्टेनरमा राख्नु पर्दछ ?

गोलभेडा विशेषत प्लाष्टिक क्रेट, काठको वाकस, टोकरी वा कार्डवोर्ड वाकसमा प्याकिङ्ग गरिन्छ । ढुवानी गर्दा प्याकिङ्ग गरेका फलहरु भाँडो भित्र हल्लिनु हुँदैन । टाढा ढुवानीको लागि कार्डवोर्ड वाकसमा राख्नु उपयुक्त हुन्छ ।
Q 37. टाढा बजारमा विक्रिको लागि कुन अवस्थामा गोलभेडा टिप्न उचित होला ?

टाढा वजार विक्रिको लागि विशेषत हरियो परिपक्व फलको टुप्पा भागको रंग हल्का हरियोवाट पहेँलो हरियो रंगमा परिणत भएको हुनु पर्दछ । यस्तो अवस्थाको गोलभेडा भण्डारणका लागि पनि टिप्ने गरिन्छ ।
Q 38. गोलभेडा पाके/नपाकेको कसरी पहिचान गर्न सकिन्छ ?

गोलभेडा पाक्न शुरु गरेपछि यसको फल काँडावाट नरम हुँदै जाने तथा रंगमा परिवर्तन हुँदै जान्छ । गोलभेडा ६ वटा विभिन्न अवस्थामा पाकेको संकेत रेखा पर्दछ ती मध्ये परिपक्व हरियो र रातो वा कडा अवस्थामा राम्रो हुन्छ ।
Q 39. गोलभेडालाई ढिलो पाकोस भन्नका लागि के गरिन्छ ?

गोलभेडा ढीला गरी पाकोस अथवा टाढाको वजारमा विक्रि गर्नको लागि भेट्नो सहित परिपक्व हरियो फलको टुप्पा भागको रंग हल्का हरियोवाट पहेँलो हरियो रंगमा परिवर्तन भएको अवस्थामा टिप्नु उपयुक्त हुन्छ ।
Q 40. गोलभेडा पकाउने विधि के के छन् ?

गोलभेडालाई पाक्ने अवधि सम्म वोटमै राखेर वा दाना छिप्पिएपछि टिपेर स्टोरमा पनि पकाउन सकिन्छ । गोलभेडा टिप्ने विधि यसलाई नजिक वा टाढा वजार कहाँ विक्री गर्ने त्यसमा भर परेको हुन्छ ।
Q 41. प्लाष्टिक घर/पोली हाउस निर्माण गर्दा कस्तो प्लाष्टिक प्रयोग गर्नु पर्दछ ?

प्लाष्टिक घर निर्माण गर्दा सेतो प्लाष्टिक सीटको प्रयोग गर्नु पर्दछ जसले गर्दा सूर्यको प्रकाश विरुवा पुग्न सकोस् ।
Q 42. तराई र पहाडमा निर्माण गरिने प्लाष्टिक घरहरुमा के फरक छ ?

पहाडमा तयार गरिने प्लाष्टिक घरहरु पुरै ढाकिने गरी वनाईएको हुन्छ भने तराईमा वनाइने प्लाष्टिक घरहरु वरीपरी खुल्ला राखी पानी, असिना आदिवाट वच्ने गरी छानोमात्र लगाइएको हुन्छ । तराईमा वनाइने यस्ता घरहरु भित्र नगुम्सिने खुल्ला हुन जरुरी हुन्छ ।


Q 43. गोलभेडा खेतीको लागि प्लाष्टिक घर निर्माण कसरी गरिन्छ ?

गोलभेडा खेतीको लागि प्लाष्टिक घर (रोल) निर्माण गर्दा अस्थायी र स्थायी दुई किसिमले निर्माण गर्न सकिन्छ । अस्थायी किसिमका प्लाष्टिक घर निर्माण गर्दा वाँस, सुतली, प्लाष्टिक सिटको प्रयोग गरिन्छ भने स्थायी निर्माण गर्दा फलामको पूर्वाधार तयार गरी प्लाष्टिक ओडाई तयार गरिन्छ ।
Q 44. वेमौसमी गोलभेडा खेती भन्नाले के बुझिन्छ ?

अप्राकृतिक रुपमा गोलभेडालाई चाहिने तापक्रम आद्र्रता आदिको व्यवस्थापन गरी सिजन भन्दा अगाडी अथवा पछाडी खेती गरिने पद्धतिलाई वेमौसमी भनिन्छ ।
Q 45. वर्णशंकर जातका विशेषताहरु के–के हुन् ?

वर्णशंकर जातहरुमा विशेषत वढी उत्पादन दिने, रोगकीरा अवरोध गर्ने ठण्डी, गर्मी, सहन गर्ने, अग्लो होचो हुने अनुवांशिक गुणहरु मौजुद रहेका हुन्छन् ।
Q 46. नेपालमा उत्पादीत गोलभेडाको वर्णशंकर जातको नाम के हो ?

नेपालमा उत्पादित वर्णशंकर गोलभेडाको जात सृजना हो । वर्षौ देखि वर्णशंकरजातको खेती भएता पनि आ.व. २०६७/०६८ मा मात्र यो जात उन्मोचन गरिएको हो ।
Q 47. वर्णशंकर (Hybrid) जात भनेको के हो ?
दुई अलग प्रकृतिका भाले र पोथी जातहरुलाई क्रसिङ्ग गरी विकसित गरिएका जात वर्णशंकर (Hybrid) हो । उन्नत जातको जस्तो वर्षौ सम्म लगाउन सकिन्न यसका वीउ वर्षैपिच्छे फेर्नु पर्ने हुन्छ ।
Q 48. गोलभेडाको डिटरमिनेट र इन्डिटरमिनेट जातमा के फरक छ ?
डिटरमिनेट जातहरु होचा हुन्छन् । एकै चोटी फूल फुल्ने तथा फल लाग्ने र छोटो अवधिमा वाली पाकि सक्ने हुन्छ । इन्डिटरमिनेट जातहरु अग्ला हुन्छन् । एकै पटक फूल नफुल्ने वोट नमरुन्जेल निरन्तररुपमा फूल फुल्ने र फल लाग्ने क्रिया भईरहन्छ ।
Q 49. गोलभेडाका जातहरु के के छन् ?
गोलभेडाका मूख्य रुपमा दुई किसिमका जातहरु छन् । पहिला जातहरु जुन होचा (डिटरमिनेन्ट) हुने, दोस्रो किसिमका जातहरुमा वोट अग्लो (इन्डिटरमिनेट) हुने खालका हुन्छन् ।
Q 50. गोलभेडा खेती गर्नको लागि उपयुक्त विउदर प्रति रोपनि कति आवश्यक पर्ला ?

वीउदर जात अनुसार जात अनुसार यसको वीउ दर ५–१५ ग्राम चाहिन्छ । विरुवाको हिसाव गर्दा अग्लो जातलाई १००० र होचो जातलाई १५०० विरुवा प्रति रोपनी लगाउनु पर्ने हुन्छ ।
Q 51. यसको खेती गर्न कस्तो स्थान छनौट गर्न उपयुक्त होला ?

सकेसम्म पारिलो स्थान जहाँ विहान देखि वेलुका सम्म राम्ररी घाम लाग्ने निकासको राम्रो व्यवस्था भएको, वलौटे दोमट माटो भएको, सिचाईको सुविधा प्रयाप्त स्थान छनौट गर्नु पर्दछ ।
Q 52. गोलभेडामा पाईने उपयोगी मूख्य तत्वहरु कुन कुन हुन् ?

गोलभेडा एक उच्च कोटीको तरकारी वाली हो । यसमा भिटामिन ए., वी., सी, ई., तथा क्याल्सियम र फोस्फोरस जस्ता खनिज तत्वहरु पाईन्छन् । यसलाई तरकारीमा मिसाएर, अचार वनाएर वा काँचै सलादको साथै सस, केचपको रुपमा पनि वनाईन्छ ।
Q 53. गोलभेडा खेतीका लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?

गोलभेडा न्यानो हावापानी भएको उष्ण, उपोष्ण र शितोष्ण सवै क्षेत्रहरुमा खेती गर्न सकिने वाली हो । यसको खेतीको लागि २०–२७ डि.से. तापक्रम उपयुक्त हुन्छ । दिउसोको तापक्रम २५ डि.से. र रातको तापक्रम १५–२० डि.से. भएमा बोटमा प्रशस्त फल लाग्दछ । साधारणतया तराई र भित्री मधेशमा हिउँदे वाली र पहाडमा वर्षे वालीको रुपमा लगाईन्छ । यो वालीले तुसारो खप्न सक्तैन ।