Tag: potato

मकै, चामल र गहुँ पछि आलु विश्वमै सबैभन्दा बढी खाईने परिकार हो । तरकारी र अचारमा अत्याधिक प्रयोग हुने आलुलाई उसिनेर वा पोलेर खान सकिन्छ । चप, पकौडा, समोसादेखि अन्य खाजाका परिकारमा पनि आलुको प्रयोग हुन्छ । तर आलुको जति महत्व छ, त्यसको बोक्रालाई महत्व दिएको पाइदैन । त्यसैले हामी आलुको बोक्रा फालेर परिकार बनाउने गछौं । आलु जति लाभदायक छ त्यति नै यसको बोक्रा पनि हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि फाइदाजनक मानिन्छ ।

पोषण तत्वको स्रोतः आलुको वोक्रामा पोटास, आईरन र भिटामिन बी ३ जस्ता महत्वपूर्ण तत्व पाईन्छ । आलुमा पाईने पोटासले मेटाबोलिजमलाई सशक्त बनाउँछ । त्यस्तै आईरनले शरिरमा राता रक्त कोष उत्पादन गर्न पनि सहयोग गर्छ ।

फाईबरयुक्तः आलुको वोक्रामा प्रशस्त फाईबर हुन्छ । फाईबरले तौल घटाउन सहयोग गर्छ । बोक्रासहितको आलु खाँदा कोलेस्ट्रोल घटाउँछ । तर मधुमेह र मुटुरोगका बिरामीले भने चिकित्सक वा डाइटिशिएनको सुझाव बिना आलु सेवन नगर्नुहोला ।

कपाल फुल्नबाट जोगाउछ : आलुको बोक्राले कपाल फुल्नबाट जोगाउने विभिन्न अध्ययन र परीक्षणले देखाएका छन् । कपाललाई कालो बनाउनका लागि आलुको बोक्रा प्रयोग हुन्छ । उसिनेको आलुको बोक्रालाई पुनः पाँच मिनेट उमालेर त्यसको रसले नुहाउने बेलामा कपालमा लगाउँद कपाल फुल्नबाट रोक्छ ।

छाला चम्किलो बनाउँछः आलुको वोक्राले अनुहारको छालालाई पनि चम्किलो बनाउँछ । काँचो आलुको बोक्रा ताछेर त्यसको रस अनुहारमा दल्ने र आधा घन्टापछि चिसो पानीले अनुहार सफा गर्दा अनुहारमा छुट्टै चमक आउँछ । । लगातार दुई साता यही प्रक्रिया दोहोर्याउँदा अनुहारमा भएका दाग हराउँछ ।
स्रोत : फक्स न्यूज

वालिङ । गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् ।जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् ।

“स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आउनुभएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै ब्यवसायिकरुपमा अघि बढाउन संस्था दर्ता गरी समूहमार्फत खेती सुरु गरेका हौँ” – जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका अध्यक्ष रुमलाल कँडेलले भन्नुभयो ।

व्यक्तिगत रुपमाभन्दा सामूहिकरुपमा व्यवसाय गर्दा सजिलो र उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा समेत महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो । आलुका लागि बलौटे दोमट माटो बढी उपयुक्त हुने भएपनि यहाँको माटो चिम्टयाइलो रातो रहेकाले माटोको सुधारका लागि जिल्ला कृषि विकास कार्यालयमा परीक्षणका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो ।

“दश रोपनी जग्गा भाडामा लिएर हामीले आलु लगाएका थियौँ,” अध्यक्ष कँडेलले भन्नुभयो, “आलु खनिसकिएकाले अब खाली रहेको जग्गामध्ये छ रोपनीमा गोलभेँडा र चार रोपनीमा मकैको बीउ उत्पादन गर्ने तयारीमा छौँ ।”

यही ठाउँमा आँधीखोला पानी उपभोक्ता समूह अन्तर्गत नमूना नगदे बाली उत्पादन कार्यक्रम र जिमूहा कृषि उपज कृषक सहकारी संस्थाले आलुको बीउ उत्पादन गर्दै आएको छ । नमूना नगदे बाली उत्पादन कार्यक्रम अन्तर्गत यहाँका २७४ जना कृषक आवद्ध छन् भने व्यक्ति÷व्यक्तिको कृयाशिलतामा करिब १०० हेक्टर क्षेत्रफलमा आलु खेती गरेको नमूना नगदे बाली उत्पादन कार्यक्रमका उपाध्यक्ष विष्णु गैह्रेले बताउनुभयो ।

उहाँका अनुसार नमूना नगदे बाली उत्पादन कार्यक्रममार्फत राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट मूल बीउ ल्याई त्यस बीउलाई यहाँको हावापानी र माटो अनुसारको गुणस्तरीय उन्नत बीउ बनाइ लगाउने तथा बीउका रुपमा वितरण गर्ने गरिएको छ ।

जिमूहामा विशेष गरी जनकदेव, खुमल, उज्जल, डेजिरलगायत आलुका बीउ उत्पादन गर्ने गरिएको कृषक चतुर्भुज पन्थी बताउनुहुन्छ । यहाँ उत्पादित आलु स्वादका दृष्टिले समेत उत्कृष्ट रहेकाले खरिद गर्न व्यापारी घरमै आउने गरेकाले बिक्रीका लागि समस्या नरहेको स्थानीयवासी बताउँछन् ।

अध्यक्ष कँडेल स्वयंले तीन महिनाको अवधिमा खाने आलु र बीउ आलुको बिक्रीबाटै व्यक्तिगतरुपमा रु सात लाख आम्दानी गरेको बताउनुहुन्छ । आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने उक्त ठाउँमा उत्पादन भएको आलु तथा बीउ स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा बिक्री हुने गरेको संस्थाले जनाएको छ ।

“बीउका लागि उत्पादन भएको आलु पछिसम्म जोगाइराख्नका लागि हामीले भैरहवामा रहेको शति भण्डारमा भण्डारण गर्छौँ” जिमूहा कृषि उपज कृषक सहकारी संस्थाका उपाध्यक्ष चक्रपाणी कँडेलले भन्नुभयो, “शीत भण्डारमा भण्डारणका लागि मात्रै प्रतिकिलो रु पाँच र ढुवानी भाडा, लोड अनलोडसहित प्रतिकिलो रु १० खर्च लाग्छ ।”

गएको याममा संस्थाले भैरहवामा रहेको शीत भण्डारमा २०० मेट्रिक टन आलुको बीउ भण्डारण गरेको थियो । आलु लगाउने बेलामा ल्याइने बीउलाई संस्थाले मुल्य निर्धारण गरेर बिक्री गर्ने गरेको छ ।

जिमूहामा ब्यवसायिकरुपमा उत्पादित आलुको बीउको बजारीकरणमा सहयोग र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गल्याङ नगरपालिकाले नगरका १० वटै वडामा ३० मेट्रिक टन आलु सहुलियत दरमा वितरण गरेको थियो ।

Source : Krishi patrika

दमक — प्रदेश १ लाई आलु उत्पादनमा आत्मनिर्भर बनाउन झापाको ग्रामीण क्षेत्रबाट उन्नत प्रकारको मूलबीउ तथा बेर्ना उत्पादन थालिएको छ । जैविक प्राविधिकहरूले टिस्युकल्चर प्रविधिबाट आलुको पूर्व–मुलबीउ (प्रि–बेसिक सिड) उत्पादन गर्न लागेका हुन् ।

आलुको उत्पादकत्व वृद्धि गराउन गुणस्तरीय बीउ, बेर्ना आवश्यक रहेकोले गौरादहबाट पूर्व मूलबीउ उत्पादन सुरु गरिएको हो । मूलबीउ उत्पादन फाइकस बायोटेक कम्पनीले सुरु गरेको हो । राष्ट्रिय आलुबाली विकास कार्यक्रम खुमलटारको ५० प्रतिशत अनुदानमा मूलबीउ उत्पादन सुरु गरेको कम्पनी सञ्चालक दुर्लभ कार्कीले बताए ।

‘उन्नत प्रकारको बीउ, बेर्नाको अभावमा कृषकले अपेक्षाकृत उत्पादन गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘हामी त्यही कुरालाई मध्यनजर गर्दै गुणस्तरीय बीउ, बेर्ना उत्पादनका लागि आलुको पूर्व मूलबीउ बनाउनेतिर लागिपरेका छौं ।’

गौरादह २ सिक्टियामा ३ का जमिनमा कम्पनीले काम सुरु गरेको हो । आलुको पूर्व–मूलबीउ उत्पादन गर्न टिस्युकल्चर प्रयोगशाला स्थापना तथा सञ्चालनमा ल्याइएको छ ।

यसका लागि कम्पनीले दुई करोड रुपैयाँ लगानी गरेको छ । जसमा ४०/४० लाख रुपैयाँको लागतमा प्रयोगशाला भवन र स्क्रिन हाउस निर्माण गरेको छ । एक करोड २० लाख रुपैयाँ खर्चिएर विभिन्न उपकरण तथा मेसिनरीका सामग्री खरिद गरेको सञ्चालक कार्कीले बताए । कम्पनीको कुल लागत दुई करोडमा राष्ट्रिय आलुबाली विकास कार्यक्रमबाट एक करोड रुपैयाँ अनुदानबापत प्राप्त भएको हो ।

आलुको पूर्व मूलबीउ कृत्रिम वातावरणमा टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिन्छ । उक्त बीउ एकदेखि ५ ग्राम वजनसम्मका मात्रै हुन्छन् । उक्त बीउबाट चार पुस्तासम्म बीउ आलु मात्रै उत्पादन गरिने कार्कीले बताए ।

गाउँमा उन्नत जातको आलुको मूलबीउ उत्पादन सुरु भएपछि स्थानीय कृषक उत्साही बनेका छन् । गौरादहको छिमेकी गाउँपालिका कमलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुको पकेट क्षेत्र सञ्चालित छ । गौरादहकै महारानीझोडा साना किसान कृषि सहकारीले नमुना तरकारी खेती गर्दै आएको छ ।

‘आलुको पूर्व मूलबीउ उत्पादनबाट हामी प्रत्यक्ष लाभान्वित हुने भएका छौं,’ आलु उत्पादक किसान टंक कट्टेलले भने, ‘यसअघि आलुको बीउ खरिदमा हामीले धेरै नोक्सानी बेहोर्दै आएका छौं । नजिकै बीउ नपाउँदा धेरै किसानले यसको खेतीसमेत नगरेको अवस्था छ ।’ तरकारी खेती गर्ने कृषकलाई प्रत्यक्ष फाइदा पुग्नेगरी आलुको पूर्व मूलबीउ उत्पादन थालेकोमा गौरादहका मेयर रोहितकुमार शाहले खुसी व्यक्त गरे ।

उनले भने, ‘९० प्रतिशत नगरवासी कृषक छन् । उनीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने तथा प्राविधिक ज्ञान हासिल हुने आलुको पूर्व मूलबीउ उत्पादन कार्यमा हामी जस्तोसुकै सहयोग गर्न तयार छौं ।’ गौरादहमा नयाँ शैक्षिक सत्रदेखि कृषि क्याम्पस सञ्चालनमा आउँदै छ । पूर्वसांसद दीपक कार्कीले जैविक प्रविधिबाट थालिएको आलुको बीउ उत्पादन कार्यले कृषि क्याम्पसका विद्यार्थी पनि लाभान्वित हुनेमा खुसी व्यक्त गरे ।

Source : Kantipur

नुवाकोट : कृषिमा आत्मनिर्भर मात्र होइन, उत्पादित कृषिजन्य वस्तुको बिक्रीसमेत गर्दै आएको नुवाकोट आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ । पहाडी संरचना रहेको उर्वरभूमि नुवाकोटमा पछिल्लो १० वर्षदेखि किसानमा आलुखेतीप्रति आकर्षण बढिरहेको छ । यस वर्ष नुवाकोटमा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । एउटै गाउँबाट २५ करोड रुपैयाँ बराबरको आलु बिक्री भएको छ । चालू आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । ९९ प्रतिशत आलु राजधानी काठमाडौंमा बिक्री भएकाले नुवाकोटले आलु बिक्रीबाट जिल्लामा राम्रो रकम भित्र्याउन सफल भएको हो ।

यो वर्ष जिल्लामा विभिन्न स्थानमा गरी चार हजार तीन सय ६५ हेक्टर जमिनमा लगाइएकामा ७५ हजार नौ सय २० मेट्रिक टन आलु उत्पादन भएको छ । त्यसबाट एक अर्ब पाँच करोड रुपैयाँको आलु उत्पादन भई गत वर्षको तुलनामा ३.२ प्रतिशत बढी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले बताउनुभयो । उहाँका अनुसार बर्खे र हिउँदे कृषिमा आत्मनिर्भर मात्र होइन, उत्पादित कृषिजन्य वस्तुको निर्यातसमेत गर्दै आएको नुवाकोट आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

डा. गैरेले गत वर्ष ८७ करोड रुपैयाँ बराबरको र अघिल्लो वर्ष ८५ करोड बराबरको आलु उत्पादन भएको जानकारी दिनुभयो । विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा सिँचाइ सुविधा रहेका सबै स्थानमा आलुखेती हुने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएसँगै आलुबाट आम्दानीसमेत बढेको छ । किसानले व्यावसायिक रूपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रूपमा अवलम्बन गर्दा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा आलुको मूल्य प्रतिकिलोग्राम १५ देखि २० रुपैयाँसम्म छ । नुवाकोट जिल्लामा दुई याममा गरी चार हजार तीन सय हेक्टर क्षेत्रफल जमिनमा आलु लगाइएको थियो । प्रतिहेक्टर १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा.गैरेले बताउनुभयो । नुवाकोट जिल्लाका प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी छ । जिल्लाको माथिल्लो भेगका आठ सय हेक्टरमा लगाइएको बर्खे आलु नौ हजार चार सय उत्पादन भएको थियो ।

फागुन र चैतमा उत्पादन हुने गरी तीन हजार ६ सय हेक्टरमा लगाइएको आलु ६३ हजार नौ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जनाएको छ । यस वर्ष आलुको उत्पादन पनि बढेको र मूल्य पनि राम्रो भएका कारण आलुबाट ४५ करोड रुपैयाँ खुद नाफा हुने किसानले दाबी गरेका छन् । यस वर्ष प्रतिहेक्टर ४४ मेट्रिक टन आलु उत्पादन भएको कृषि कार्यालयको दाबी छ ।

श्राेत ः अन्नपुर्ण पाेष्ट