Tag: nuwakot

नुवाकोट । यो बर्ष नुवाकोट जिल्लाले मात्रै १० करोड मूल्यबराबरको मुला बिक्री गरेको छ । पछिल्लो समयमा कृषिमा आर्कषण बढेसँगै मुुलाखेतीतर्फ किसानको पनि आर्कषण बढ्नुका साथै उनीहरुको आयस्तरसमेत बृद्धि भएको छ ।

चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए। सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भित्रिएको उनले बताए।

आव २०७२/७३ मा रु सात करोडको मुला उत्पादन भएको कार्यालयले जनाएको छ । स्थानीय बजारमा मुला अहिले प्रतिकिलो रु १० देखि रु १२ मा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मुला काठमाडौँसम्म पुग्ने गरेको छ ।

अन्य बालीको तुलनामा खेती लगाउन, हुर्काउन सजिलो हुँदा किसान मुलाखेतीतर्फ आकर्षित भएका हुन् । मुला ४० दिनदेखि ६० दिनमा तयार हुन्छ । जिल्लाको माथिल्लो क्षेत्रमा अन्य बाली उत्पादनमा ढिलाइ हुँदा किसान मुलाखेती गर्दैआएका छन् । जिल्लाको ककनी, ओखरपौवा, मदानपुर, बेलकोट, चाउथे कुमरी, किम्ताङलगायत ठाउँलाई जिल्ला कृषि कार्यालयले पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ ।