Tag: mango farming nepal

Q 1. आँप कस्तो हावापानीमा हुने फलफूल बाली हो ?

आँप उष्ण प्रदेशीय फलफूल बाली हो तर यसलाई समशितोष्ण हावापानीमा पनि खेती गरेको पाइन्छ। यो गरम र सुख्खा आबहवा र बढी प्रकाश मन पराउने बाली हो।
Q 2. आँपको वृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ?

आँपको वृद्धि र विकासका लागि २४ देखि २७ डिग्री सेल्सियस अनुकूल मानिएतापनि ४८ डिग्री सेल्सियसको तापक्रममा आँप खेती सफल भएको पाईन्छ।
Q 3. आँपको खेती गर्न वार्षिक वर्षा कतिसम्म हुनु आवश्यक छ ?

आँपको खेती २५ देखि २५० से.मि. वार्षिक वर्षा हुने ठाउँ उपयुक्त हुन्छ तर कूल वर्षा भन्दा पनि त्यसको वितरणलाई बढी ध्यान दिनु पर्दछ।
Q 4. आँप खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?

आँप बलौटे देखि चिम्ट्याइलो माटोमा पनि खेती गर्न सकिन्छ तर दोमट माटो सबै भन्दा उपयुक्त हो। जबकि कालो कपासे माटो भने आँप खेतीको लागि उपयुक्त हुँदैन।
Q 5. माटोको अम्लियपना र क्षारियपना कस्तो हुनु पर्दछ ?

साधारणतया माटोको पि.एच. मान ५.५ देखि ७.५ हुनु पर्दछ। क्षारिय र लवणयुक्त माटोमा आँप राम्ररी फस्टाउन सक्दैन। यसका जरा गहिरोसम्म जाने हुँदा जमिनको तल्लो भागमा पानी नजम्ने अवस्था हुनु पर्दछ।
Q 6. आँपको बिरुवा कुन तरिकाले लगाउन उपयुक्त हुन्छ?

आँपको खेती तराई र समथर जमिनमा गरिने भएको हुँदा वर्गाकार वा आयताकार वा त्रिभुजाकार तरिकाबाट बगैंचाको रेखाङ्कन गरी बिरुवा लगाउन उपयुक्त हुन्छ।
Q 7. आँपका बिरुवा कति दूरिमालगाउँदा उचित हुन्छ ?

आँपका बोटहरु अग्ला र फैलिने किसिमका भएको हुँदा साधारणतः १० देखि २० मिटरको दूरिमा लगाइन्छ तर वर्णसंकर जातहरु होचा र कम फैलिने हुँदा २.५ देखि ५ मिटरसम्मको दूरिमा लगाउन सकिन्छ।
Q 8. आँपको बगैंचा स्थापना गर्दा रेखाङ्कन गर्न किन जरुरी छ ?

आँपका बोटहरु धेरै वर्षसम्म बाँच्ने र फल दिई रहने हुँदा उचित दूरि कायम गर्न जरुरी हुन्छ अन्यथा बगैंचा भित्र यान्त्रिकीकरणको माध्यमबाट गोडमेल, मलजल र स्याहार सम्भार गर्न अप्ठयारो हुन्छ।
Q 9. आँपको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्दछ ?

साधारणतया १ X १ X १घनमिटरको खाड्ल खन्नु पर्दछ जसले गर्दा जमिनमा भएका सानातिना ढुङ्गा गेग्रान हटाउन र बिरुवालाई बुरबुराउँदो माटो त्यस ठाउँमा राखिदिँदा कलिलो बिरुवाका जराहरु फैलिन मद्दत पुग्दछ।
Q 10. आँपको बिरुवा रोप्दा बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्डको किन आवश्यक पर्दछ ?

बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्ड भएन भने बिरुवालाई उचित स्थान कायम गरी रोप्न सकिन्न। यसको प्रयोग खाड्ल खन्न तथा बिरुवा रोप्ने बेलामा आवश्यक पर्दछ।


Q 11. आँपलाई बढी घनत्वमा (High Density Planting) लगाउन सकिन्छ ?

आँपमा पनि धेरै अग्लो नहुने र धेरै नफैलिने नयाँ जातहरु विकसित भएकोले २.५ X २.५ मिटर दूरिमा लगाउन सकिन्छ। विशेषतः वर्णसंकर जातहरु आम्रपाली, मल्लिका जातहरुलाई यस पद्धति अनुसार लगाउन सकिन्छ तर वर्षमा एक पटक काटछाँट गर्नु पर्दछ।
Q 12. आँपको बगैंचामा सिंचाई गर्न जरुरी छ?

आँपको बोटलाई सिंचाईको महत्व रहन्छ।त्यसमा पनि बगैंचा लगाउने बित्तिकै र १-२ वर्षसम्म प्रत्येक सुख्खा मौसममा २-३ दिनमा सिंचाई गरिरहनु पर्दछ।बिरुवाको उमेरको साथै सिंचाई गर्ने अवधिलाई बढाउन सकिन्छ तर फूल लाग्नु भन्दा अगाडी सिंचाईमा विशेष ध्यान दिनु पर्दछ।
Q 13. आँपमा मलखादको व्यवस्था कसरी गर्नु पर्दछ ?

आँपको बोटलाई उमेर अनुसार खाद्यतत्वको मात्रा फरक पर्दछ। उदाहरणको लागि १ वर्षे बिरुवाको लागि ५ के.जी. कम्पोष्ट मल, १०० ग्राम नाईट्रोजन, ५० ग्राम फोस्फोरस र १०० ग्राम पोटास सिफारिश गरिएको हुन्छ भने त्यही बोटलाई १० वर्ष पछि ५० के.जी. कम्पोष्ट मल, १००० ग्राम नाईट्रोजन, ५०० ग्राम फोस्फोरस र १००० ग्राम पोटास सिफारिश गरिएको हुन्छ।

Q 14. नेपालमा आँपका प्रचलित जातहरु कुन कुन हुन् ?

आँपका थुप्रै जातहरु मध्ये नेपालमा धेरै कृषकहरुले खेती गरिरहेका जातहरु भने माल्दह,दशहरी, बम्बै ग्रीन, बम्बै एल्लो, जर्दालु, सुखतारा, अल्फान्सो, आम्रपाली, मल्लिका, निलम आदि प्रचलित हुन्।
Q 15. आँपका सबैभन्दा छिटो पाक्ने जातहरु कुन कुन हुन् ?

हालसम्म प्राप्त आँपका जातहरुमा जर्दालु,बम्बै ग्रीन, बम्बै एल्लो,कृष्णभोग, अल्फान्सो आदि जातहरु जेष्ठ महिनामा नै पाक्न शुरु गर्दछन्।

Q 16. आँपका मध्य मौसममा पाक्ने जातहरु पनि बताइ दिनु हुन्थ्यो कि ?

हालसम्म प्राप्त आँपका जातहरुमा माल्दह,दशहरी,सुकुल,गुलाबखास,सुखतारा, आम्रपाली, मल्लिका आदि जातहरु हुन्। यी जातहरुआषाढ महिनामा पाक्दछन्।
Q 17. आँपका सबैभन्दा ढिलो पाक्ने जातहरु चाँहि के के हुन् ?

पछौटे अर्थात् ढिलो गरी पाक्ने जातहरुमा चौसा,फजली,कलकत्तिया,निलम,अब्बेहयात आदि जातहरु हुन्। यी जातहरु श्रावण महिनामा पाक्न शुरु भै भाद्र-आश्विन महिनासम्म पनि उपलब्ध भैरहन्छन्।
Q 18. प्रशोधनका लागि आँपका कुनजातहरु उपयुक्त छन् ?

प्रशोधनको लागि प्रचलित जातहरु मध्ये तोतापरी हो तर हालका प्रसिद्ध जातहरु पनि प्रशोधनयोग्य हुन्छन् जस मध्ये अल्फान्सो जातको जुस बजारमा पाईन्छ।
Q 19. अब्बेहयात जात कहाँबाट भित्र्याईएको हो र यसका विशेषता के के छन् ?

यो जात नेपालमा जापनिज विशेषज्ञहरुले पाकिस्तानबाट ल्याएको भनि उल्लेख छ। नेपालमा पाइने जातहरु मध्ये यो सबैभन्दा ढिलो पाक्ने जात हो।यसको व्यावसायिक खेती विस्तार हुने सम्भावना बढी नै छ। हाल धनुषा जिल्लाको गोदार क्षेत्रमा यसको खेती विस्तार भैरहेको छ।


Q 20. आँपमा बिरुवा प्रसारणको लागि कुन विधि अपनाइन्छ ?

विगतका केहि वर्ष अगाडीसम्म ईनार्चिङ्ग विधिबाट आँपका बिरुवाहरु प्रसारण गरी नर्सरीमा राखिन्थ्यो तर हाल आएर भिनियर ग्राफ्टिङ्ग विधिबाट बिरुवा प्रसारण गरिन्छ किनकी यो विधि सरल छ र प्रतिकूल मौसममा पनि बढी सफलता प्राप्त गर्न सकिन्छ।
Q 21. आँपमा स्टोन / इपिकोटायल ग्राफ्टिङ्ग कसरी गरिन्छ ?

यो विधिमा आँपको रुटस्टक उम्रिएको ८ देखि १५ दिनको उमेरमै कोया देखि ८-१० सेमि माथिबाट काटेर माथिल्लो भाग हटाईन्छअनि बीजबाट ४-५ सेमि जति ठाडो गरी चक्कुले चिरिन्छ र रुटस्टकमा मिल्ने सायन जोडी प्लाष्टिकले राम्री बाँधिन्छ।फलस्वरुप २ देखि ४ हप्ता मै नयाँ पालुवा आउन शुरु हुन्छ र एक वर्ष भित्रै बिरुवा बिक्रीयोग्य हुन्छ।

Q 22. आँपको बगैंचामा अन्तरबाली लगाउन सकिन्छ ?

आँपको बगैंचा लगाएको ४-५ वर्ष पछि मात्र उत्पादन लिन शुरु गरिएतापनि १५-२० वर्षसम्म बोटले पूर्ण आकार नलिने हुँदा यस अवधिमा अतिरिक्त बिरुवा (Filler Plants) को रुपमा मेवा, भूईंकटहर र अन्य बाली बेसार, अदुवा, मुसुरो, काउली, बन्दा, मूला,चना आदि लगाई अतिरिक्त आम्दानी लिन सकिन्छ।
Q 23. आँप प्रायः एक वर्ष बिराएर फलेको(Alternate Bearing) पाईन्छ यसको कारण के हो ?

आँपका प्रायः जातहरु एक वर्ष बिराएर फल्दछन् जसको मुख्य कारण यसको जातिय गुण नै हो तर कुनै कुनै अवस्थामा हावापानीले र यसको व्यवस्थापन पक्षले पनि असर गरेको हुन्छ।हाल विकसित आम्रपाली, मल्लिका जस्ता जातहरु भने वर्षैपिच्छे फल्दछन्।
Q 24. आँपको फल टिप्ने अवस्था भए नभएको कसरी पत्ता लगाउन सकिन्छ?

फलको आकारसँगै त्यसमा परिवर्तन भएको रङ्गबाट पनि फल टिप्ने अवस्था थाहा पाउन सकिन्छ। फल परिपक्व भएपछि यसको रङ्ग गाढा हरियोबाट फिक्का हरियो रङ्गमा परिणत हुन्छ।
Q 25. अग्लो आँपको बोटबाट कसरी सुरक्षित तरिकाले फल टिप्न सकिन्छ ?

आँप टिप्दा घाउ चोट नलागोस् भन्नका लागि बाँको डण्डीको टुप्पोमा जाली वा कपडाको थैली बनाई अंकुश लगाई फल टिप्नु पर्दछ।फल टिप्दा सकेसम्म मध्य बिहान वा बेलुकी पख टिप्नु राम्रो हुन्छ।

Q 26. आँप फल टिपेपछि बजार लैजानु भन्दा अगाडी के कस्ता सावधानीहरु अपनाउनु पर्दछ ?

टिपेका फलहरुलाई छायाँदार ठाउँमा राख्नु पर्दछ। टाढा बजार पठाउन वा भण्डारणका लागि पाक्न शुरु नगरेका, चोटपटक नलागेका, रोगकीराहरुबाट मुक्त, जातिय गुणले सम्पन्न एकै किसिमका फलहरु छुट्टयाउनु पर्दछ।
Q 27. आँपलाई छिटो पकाउन परेमा कस्तो उपाय अवलम्बन गर्नु पर्ला ?

आँप फललाई आवश्यकता अनुसार छिटो पकाउन २५० पिपिएमको ईथरेल छर्केर वा टोकरीको तल सुरक्षित तरिकाले क्याल्सियम कार्बाईड राखेर ५-६ घण्टा उपचार गर्दा आँप छिटो पाक्दछ।
Q 28. आँपको सबैभन्दा हानिकारक कीरा कुन हो ?

आँपको सबैभन्दा हानिकारक कीरा फड्के/म्याङ्गो होपर हो। फूल फुल्ने बेलामा यसको प्रकोप सबभन्दा बढी हुन्छ। यी कीराहरुले नयाँ पालुवा तथा फूलको गुच्छाको डाँठबाट रस चुसेर नोक्सानी गर्दछ।
Q 29. आँपको फड्के/म्याङ्गो होपर कीरा कसरी नियन्त्रण गर्न सकिन्छ ?

आँपको फूल फुल्ने र चिचिला लाग्ने अवस्थामा यसको प्रकोप महामारीको रुपमा देखा पर्दछ। अतः यसको नियन्त्रण पनि अभियानकै रुपमा गर्नु पर्ने हुन्छ। साधारणतया मालाथायन (०.१५%) वा मेटासिष्टक्स (०.०२५%) वा अन्य दैहिक विषादि फूल फुल्नु अगाडी र चिचिला लागिसकेपछि छर्नु पर्दछ।


Q 30. आँपमा मिलीबग कीरा लागेको कसरी थाहा पाईन्छ?

आँपको डाँठ, पात,फूल र फलमा साना चेप्टा खालका सेता मैला कीराहरु टास्सिएर रस चुसी रहेका हुन्छन्। झट्ट हेर्दा अचल र गिर्खा जस्ता देखिन्छन्। यसले पात कुरुप हुने, पहेंलिने, नबढ्ने र झर्ने गर्दछ। डाँठ र फललाई सेतो मैलले ढाक्दछ र ध्वाँसे ढुसीको विकास हुन्छ।
Q 31. आँपमा लाग्ने मिलीबग कीराको नियन्त्रण कसरी गर्न सकिन्छ?

कीराले बोटको फेद वरपर जमिनमा फूल पार्ने हुँदा गर्मी महिनामा बोटको वरिपरि खनेर फूलहरु नष्ट गर्न सकिन्छ। हिउँद महिनामा चिल्लो पदार्थ ग्रिज वा रोजिन र काष्टरको तेल बोटको वरिपरि लगाई कीरालाई बोटबाट माथि जानबाट रोक लगाउन सकिन्छ। प्रकोप बढी भएमा कार्बोरायल (०.०२%) अथवा नीमबाट बनेका विषादि प्रयोग गर्न सकिन्छ।
Q 32. आँपमा लाग्ने पाउडरी मिल्ड्यू रोग कुन समयमा बढी लाग्दछ?

आँप फूल्ने बेलामा सापेक्षिक आर्द्रता बढी भयो भने यो रोग लाग्दछ। रातको तापक्रम कम हुनु, दिउँसोको तापक्रम बढी हुनु, बादल लाग्नु र पानी पर्नु यो रोगको लागि अनुकूल वातावरण मानिन्छ।
Q 33. आँपमा लाग्ने यो रोगबाट बच्न कस्तो उपाय अवलम्बन गर्नु पर्ला ?

साधारणतया सल्फर (०.२%) वा क्याराथेन (०.१%) वा बेभिष्टिन (०.१%) फूल फुल्नु अगाडी र पछि पनि साता दस दिनको अन्तरालमा छर्दा खेरी रोग नियन्त्रण हुन्छ।
Q 34. आँपको एन्थ्राक्नोज रोग कसरी चिन्न सकिन्छ?

यस रोगको आक्रमणबाट पातमा काला रङ्गका धब्बाहरु फूल र डाँठमा काला थोप्लाहरु र फलमा काला दागहरु देखिन्छन् र अन्त्यमा पात र फलहरु झर्दछन्।
Q 35. आँपमा लाग्ने यो रोगको कसरी नियन्त्रण गर्न सकिन्छ ?

वर्षमा कम्तिमा तीन पटक माघ, बैशाख र भदौमा बोटहरुलाई बोर्डेक्स मिक्स्चर वा ब्लाईटक्स-५० वा बेनलेट ०.१% ले उपचार गर्नु पर्दछ।रोग लागेका हाँगाहरु काटेर जलाई दिने गर्नु पर्दछ।
Q 36. आँपमा सुटी मोल्ड रोग कसरी उत्पन्न हुन्छ ?

आँपको फड्के कीराले उत्पन्न गरेको चिनीयुक्त पदार्थमा यो ढुसीको विकास भै पुरै पातलाई कालो धुलोले ढाक्दछ जसले गर्दा पातले प्रकाश संश्लेषण क्रिया गर्न पाउँदैन र फल उत्पादनमा ह्रास आउँदछ। फड्के कीरा नियन्त्रण गरिसकेपछि यो रोग स्वतः नियन्त्रणमा आउँछ।
Q 37. आँपमा माल्फोर्मेशन रोगले कसरी असर गर्दछ ?

आँपमा नयाँ पालुवा र फूल आउने ठाउँमा गुजुमुज्ज परेको आकार निस्किनुलाई म्याङ्गो माल्फोर्मेशन भनिन्छ। यो रोग बिरुवाको दुईवटा अवस्थामा लागेको पाईन्छ। पहिलो नर्सरीमा हुँदै पालुवाको सट्टा गुजुमुज्जु परेका पालुवाहरु आउँछन् भने दोश्रोमा फूल फुल्ने बेलामा फूलको सट्टा गुजुमुज्जु परेका बाँझा फूलहरु निस्कने तर फल नलाग्ने हुन्छ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942