Tag: cow farming nepal

Q 1. आफ्नै गाईपालन गर्ने गोठबाट उन्नत गाई विकास गर्न सकिन्छ ?

हो, आफ्नो गोठमा पालेका माउ गाईलाई कृत्रिम गर्भाधान वा उन्नत जातको साँढे लगाएर उच्च नश्लको बाच्छी उत्पादन गरी उन्नत जातको गाई फार्मको विकास गर्न सकिन्छ ।
 

Q 2. उन्नत गाई खरिद गरेर व्यवसाय गर्न चाहने कृषकले कहांबाट गाई खरीद गर्न पाउछन् ?

नेपालमा गाई एकै ठाउं वा एकै फर्मबाट खरीद गर्ने सम्भावना छैन।जुन जिल्लामा गाईपालन गर्ने योजना बन्छ सोही जिल्लाको जिल्ला पशु सेवा कार्यालय एवं सरकारी पशु विकास फार्म तथा डेरी फार्म गर्ने कृषकहरुसंग सम्पर्क गरी चाहिएको जस्तो गाई खरीद गर्न सकिन्छ ।
Q 3. दूधबाट अन्य परिकारहरु बनाउने तालीम कहांबाट पाउने ?

जिल्लाको पशु सेवा कार्यालय एवं पशु सेवा विभाग पशु विकास फार्म तथा अन्य आयोजनाहरुले यस्ता तालीम संचालन गर्दछन् । तालीम वारे जानकारी चाहने कृषक उद्यमीले सम्बन्धीत जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्नु पर्छ ।
Q 4. दूधबाट अन्य परिकार बनाएर पनि नाफा बढाउन सकिन्छ भन्छन् नि ?

हो,  मिठाईहरु, खुवा, पनिर, चिज, छुर्पी जस्ता दूग्धजन्य पदार्थबाट सिधै दूध बेचेर भन्दा बढी नाफा लिन सकिन्छ ।
Q 5. गाईको दूध उत्पादन भएको छ बेच्न कहां लैजाने ?

गाईको दूध निम्न तरीकाले सजिलै बेच्न सकिन्छः –
डेरी कर्पोरेशनको संकलन केन्द्र,
स्थानीय डेरी को-अपरेटिभहरु,
स्थानीय साना डेरी पसल,
मिठाई पसल

Q 6. आधुनिक गाई गोठ बनाउंदा कस्तो ठाउँको छनौट गर्दा राम्रो हुन्छ ?

राम्रो संग घाम लाग्ने, पारिलो पश्चिम दिशा तर्फ फर्केको जमिन राम्रो हुन्छ ।गोठमा हावा खेल्ने राम्रो ठाउ हुनुपर्छ ।अतः गोवर, सोत्तरबाट निस्कने वाफ सजिलै वाहिरिन्छ ।
आधुनिक गोठको नमुना जिल्ला पशु सेवा कार्यालयबाट पाउन सकिन्छ ।

Q 7. एउटा गाईलाई आरामसंग वस्न कति ठाउँ आवश्यक हुन्छ ?

एउटा गाईलाई ६.५ फिट लम्वाई र ३.५ फिट चौडाई भएको ठाउँ उपयुक्त हुन्छ ।
धेरै गाई राख्ने व्यावसायिक गोठमा यस्तै हिसावले गाई वस्ने ठाउँ वनाइन्छ ।

Q 8. दूध दूहुने मेसिन नेपालमा उपलब्ध छ त ?

हाल नेपालमा पनि व्यावसायिक फार्महरुले दूध मेसिनबाट दुहुने गरेका छन् ।
दूध दूहुने मेशिन डेरीको सामानको व्यवसाय गर्ने कम्पनीले कृषकको माग आएमा उपलब्ध गराउँछन् ।

Q 9. मेसिनवाट पनि दूध दुहुन सकिन्छ ?

धेरै दूध दिने गाईको दूध मेसिनबाट पनि दुहुने गरिन्छ ।एक पल्टमा एउटा मात्र गाईको दूध दुहुने मेसिन पनि प्रयोगमा छ ।एकै पटक धेरै गाईको दूध दुहुने गरी मेसिन को प्रयोग पनि ठुला व्यावसायिक फर्महरुमा प्रयोगमा छ ।
Q 10. गाईको दूध दूहुने राम्रो तरिका कस्तो हुन्छ ?

•गाईको थुन छोटो भएमा राम्रो सँग सफा गरेर बुढी र चोर औला थुनको फेदमा समाती दूधको सिर्को भाडोमा तानिन्छ ।
•ठुलो र लामो थुन भएमा थुनलाई पुरै हातले समाती हत्केलाले दवाएर दूधको सिर्को भाडोमा पारिन्छ ।
• बुढी औलालाई दोवारेर थुनमा टाँसी अरु औलाहरुले दवाएर दूध दूहुने पनि गरिन्छ ।

Q 11. इम्व्रियो ट्रान्सफर (Embryo Transfer) प्रविधि भनेको के हो ?

गाई/भैंसी वा पोथी जनावरले भाले खोजेको वेलामा वीर्य/सिमेन राखेर (A.I.) गरे जस्तै डिम्व र शुक्रकिट जोडिएर वनेको इम्व्रियो नै पोथी जनावरको गर्भाशयमा राखेर उन्नत नश्लको वाछी जन्माउने प्रविधिलाई इम्व्रियो ट्रान्सफर भनिन्छ ।यो प्रविधि नेपालमा परिक्षणको रुपमा मात्र भएको छ ।विकसित मुलुकमा यो प्रविधि को उपयोग हुदै आएको छ ।
Q 12. कृत्रिम गर्भाधान नेपालको अवस्थामा कति प्रतिशत सफल छ ?

हालको तथ्याङ्क अनुसार ५५ प्रतिशत भन्दा वढी सफल भएको पाइएको छ । समान्यतया ५० प्रतिशत सफल हुने गरेको अनुमान छ ।
Q 13. के एकै पटकमा कृत्रिम गर्भाधान गराउदा गाई व्याउने हुन्छ र ?

गाईले वहर खोजेको र राम्रो वीर्य (सिमेन) ठीक समयमा गर्भाशयमा पुगेको अवस्थामा गाई व्याउने हुन्छ ।तर ठीक समयमा कृत्रिम गर्भाधान नहुनु, सिमेन गुणस्तरीय नभएमा र ठीक ठाउँमा सिमेन नपुगेमा फेरि गाई उल्टने पनि हुन्छ ।


Q 14. कृत्रिम गर्भाधान (AI) गराउंदा वहर खोजेको कति समयभित्र गराई सक्नु पर्छ ?

कृत्रिम गर्भाधान गाईले वहर खोजेको लक्ष्ण देखाएको ८–१६ घण्टाभित्र गराई सक्नु पर्छ।वहर खोजेको लक्षण देखाएको २–४ घण्टाभित्र भन्दा ८ घण्टापछि गराउदा राम्रो हुन्छ ।
Q 15. गाईको वंश सुधार गरी राम्रो उत्पादन दिने बाच्छी आफ्नै गोठमा कसरी उत्पादन गर्न सकिन्छ?

• राम्रो जातको साँढेसँग प्रजनन गराई उच्च नश्लको बाच्छी उत्पादन गर्न सकिन्छ।
• राम्रो जातको (जर्सी, होलस्टेन) साँढेको वीर्य प्रयोग गरी कृत्रिम गर्भाधान गराउन सकिन्छ।
• स्थानीय राम्रो साँढे तर नजिकको नाता नपर्ने साँढे लगाई वंश सुधार गराउन सकिन्छ।

Q 16. गाईको लागि सन्तुलित दाना भन्नाले के बुझिन्छ ?

गाईको लागि आवश्यक पर्ने तत्वहरु भिटामिन, खनिज तत्व, नुन, चिनी, गहुँको चोकर, धानको  ढुटो मिलाएको दाना नै सन्तुलित दाना हो ।विभिन्न पशु दाना उत्पादन गर्ने कम्पनीहरुले गाई/भैंसीको दाना उत्पादन गर्दछन् ।सवै आवश्यक पदार्थ मिलाएर आफ्नै गोठ/घरमा पनि पशु दाना तयार गर्न सकिन्छ ।
Q 17. बहुवर्षे घाँसहरुमा कस्ता घाँस बाली पर्छन ?

बहुवर्षे घाँसवालीहरुमा नेपालमा प्रचलित घाँस वालीहरु हुन – नेपिएर, राईघाँस, कक्सफुट, अम्रिसो, पाराग्रास, मोलासेस, ग्वाटेमाला आदि ।
Q 18. उन्नत जातको कोसे घाँस बालीहरु के के हुन ?

नेपालमा प्रचलित उन्नत जातको कोसे घाँसहरुमा वर्सिम, लुसर्न,  ल्कोभर, भेच,  ल्यावल्याव, वोडी, सिमी, केराउ, पिनट, भटमास आदि हुन् ।
Q 19. एउटा दुहुनो गाईलाई कति घाँस/पराल आवश्यक पर्छ ?

गाईको वजन र उत्पादन क्षमता अनुसार घाँस/पराल/दाना मिलाएर दिनु पर्छ ।
एउटा वयस्क दूधालु गाईलाई करिब १५ के.जी. पराल, ८–१० के.जी. हरियो घाँस तथा २.५ के.जी. दाना आवश्यक पर्छ ।

Q 20. विगौती दूध वाछा/वाछीलाई कति दिनु पर्छ ?

विगौती दूधमा रोगसंग लडने क्षमता वढाउने तत्व हुन्छ,अतः भर्खर जन्मेको बाछा/बाछीलाई विगौती दूध खाएसम्म दिनु पर्छ ।
Q 21. गाईलाई व्याउने व्यथा लागेर पनि व्याउन नसक्दा के गर्ने ?

व्याउने गाईलाई सफा र सजिलो ठाउँमा राख्ने र ५-६ घण्टा को व्यथा पछि पनि व्याउन नसकेमा तुरुन्त पशु स्वास्थ्य कर्मी को सहयोग लिने ।
Q 22. गाईहरुमा साल समयमा नझर्ने हुन्छ त्यस्तो वेला के गर्नु पर्छ ?

व्याएको ८-१२ घण्टासम्म साल झरेन भने त्यो अवस्थामा पशु स्वास्थ्यकर्मीको सहयोगमा औषधि खुवाउने र पनि नभएमा हात राखेर साल झिकी आवश्यक एण्टिवायोटिक औषधि दिनु पर्छ ।
Q 23. थुनेलोको रोकथाम कसरी गर्न सकिन्छ ?

गोठ एवं दुहुनो गाई सफा राख्ने/दूध पुरा दुहुने र दूध दुहि सकेपछि १-२ प्रतिशत आयोडिन झोलमा थुन डुवाउने ।
Q 24. थुनेलोको उपचार कसरी आफैंले गर्न सकिन्छ ?

विग्रेको दूध/तरल पदार्थ/पिप राम्रोसंग पूरा दुहुने/फाचो सफा पानीले धोएर (प्राविधिकको सल्लाहमा थुन भित्र प्रयोग गरिने मलम थुनमा राख्ने, बाहिरी फांचोमा लगाउने मलम लगाउने/एण्टीवायोटिक सुई लगाउने ।
Q 25. गाईमा थुनेलो (Mastitis) रोग लाग्दा कस्तो लक्ष्ण देखिन्छ ?

थुन/कल्चौडा सुनिने, रातो र तातो हुने, थुनबाट बाक्लो पिप/रगत मिसिएको तरल पदार्थ आउने, गाईलाई दुखेको हुदा छुन नदिने गर्छ ।
Q 26. चरचरे रोग लाग्दा के कसरी उपचार गराउने / गर्ने ?

पशु स्वास्थ्य प्राविधिकको सल्लाह लिने र पेनिसिलिन/स्ट्रेप्टोमाइसिन सुई मात्रा पुर्यााएर लगाउने।रोकथामको लागि ६/६ महिनामा खोप लगाउने ।
Q 27. चरचरे रोग (BQ) लाग्दा गाई/गोरुमा कस्तो लक्षण देखिन्छ ?

धेरै ज्वरो आउने, मासु बाक्लो भएको भाग सुनिने, छाम्दा चरचर आवाज आउने र लँगडाउने गर्दछ ।
Q 28. भ्यागुते रोग लाग्न नदिन के गर्नु पर्छ ?

प्रत्येक ६/६ महिनामा भ्यागुते रोग विरुद्घ खोप लगाउने ।
Q 29. भ्यागुतेको उपचार कसरी गर्ने ?

तुरुन्त पशु सेवा प्राविधिकसँग सल्लाह लिई उपचार गराउने। सल्फा समूहको सुई वा टेट्रासाइल्किन सुई लगाउने । विरामी पशुलाई अन्यबाट छुट्टै राख्ने ।
Q 30. भ्यागुते (H.S.) रोग लागेको लक्षण कस्तो हुन्छ ?

एक्कासी ज्वरो आउने, साँस फेर्न गाह्रो हुने, र्यानल बगाउने, घ्यार घ्यार गर्ने, घाँटी सुनिने, छटपट गर्ने ।
Q 31. टि.वी.रोग लागेको गाईको उपचार हुन्छ ?

टि.वी. को उपचार गर्न सकिन्छ तर लामो समय लाग्ने र मानिसमा पनि सर्ने खतरा हुने हुँदा त्यस्तो गाईलाई गोठबाट हटाउनु राम्रो हुन्छ।
Q 32. टि.वी. लागेको गाईको दूध मानिसले खानु हुन्छ ?

टि.वी. लागेको गाईको दूध राम्रोसंग उमालेर खादा नोक्सानी हुँदैन ।
Q 33. गाईहरुमा लाग्ने जीवाणुबाट हुने प्रमुख रोगहरु के के हुन ?

जीवाणुबाट धेरै रोग लाग्दछ । प्रमुख रोगहरुमा भ्यागुते, पट्के, टि.वी., चरचरे, धनुषटंकार आदि हुन ।
Q 34. विषाणु (Virus) वा जीवाणु (Bacteria) बाट गाई गोठलाई सुरक्षित राख्न के गर्नु पर्ला ?

गाई गोठ प्रवेश गर्ने मुल ढोका साथै गोठमा फिनेल वा चुना नियमित छर्ने गर्दा वायो सेकुरिटीको हिसाबले सुरक्षित हुन्छ ।
Q 35. आन्तरिक परजीवी बाट नोक्सान घटाउन के गर्नु पर्ला ?

प्रत्येक ६/६ महिनामा आन्तरिक परजीवी विरुद्घ ठुला साना सवै जनावरलाई (व्रोड स्पेकट्रम एन्थलभेटिकन्च) जुकाको विरुद्घ औषधि खुवाउनु पर्छ ।
Q 36. गाईपालन गर्दा आन्तरिक परजीवीबाट लाग्न सक्ने प्रमुख रोगहरु के के हुन ?

आन्तरिक परजीवी भन्नाले पाचन प्रणालीमा लाग्ने गोलो जुका, फित्ते जुका, नाम्ले जुका भन्ने बुझिन्छ ।


Q 37. गाईलाई गोलो जुका परेमा कस्तो औषधी दिने ?

एल्वोन्डाजोल बोलस २-४ खान दिने ।
Q 38. एउटा दूधालु गाईको लागी नाम्ले रोग निको पार्न कुन र कति ट्यावलेट दिनु पर्छ ?

भल्भाजेन वा फ्यासिनेम्स ट्यावलेट शारिरीक वजन अनुसार २ देखि ४ टयावलेट दिनु पर्छ ।
Q 39. नाम्ले/माटे रोगमा गाईलाई दिने ट्यावलेट दवाई पनि छ त ?

छन्, जस्तै भल्भाजेन, फयासिनेम्स, डिस्टोडिन आदि ।

Q 40. नाम्लेको उपचार गर्न सुई पनि लागाउनु हुन्छ ?

सुई लागाउन पाइन्छ जस्तै आइभर मेक्टिन, ट्रोडेम्स आदि ।
Q 41. नाम्लेको कुनै झोल औषधीको नाम दिनु मिल्छ ?

बजारमा धेरै थरीको औषधी पाईन्छ । जेनिल निलजान भन्ने औषधी लाभदायक हुन्छ ।
Q 42. नाम्ले जुका परेकोमा के औषधि दिनु पर्छ ?

नाम्लेको उपचार गर्न झोल/ट्यावलेट औषधी प्राविधिकको सल्लाहमा दिनु पर्छ ।
Q 43. खोरेतको खोप (Vaccine) हुन्छ वा हुन्न ?

खोरेतको खोप पाईन्छ । सल्लाह गरेर वर्षमा दुई पल्ट लगाउनु पर्छ ।
Q 44. खोरेत लाग्दा सुई पनि लगाउनु पर्छ ?

मुखको र खुट्टाको घाउ बढ्न/पाक्न नदिन एण्टिबायोटिक सुई प्राविधिकको सल्लाह अनुसार मात्रा मिलाएर लगाउनु पर्छ ।
Q 45. खोरेतको उपचार कसरी गर्ने ?

खोरेत लागेको गाईलाई एलम/वोरेम्स मिसाएको पानीले मुख सफा गराउने, नरम प्रकृतिको दाना/घाँस दिने । भेली सख्खर मिसाएर दाना दिनु पर्छ ।
Q 46. खोरेत रोगको प्रमुख लक्ष्ण कस्तो हुन्छ ?

खोरेत रोग लाग्दा मुख, जिब्रो र गिजामा पानीको फोका जस्तो घाउ आउने ।र्यावल बगाउने, दुई खुरको बीचमा घाउ हुने, पाक्ने हुन्छ ।

Q 47. विषाणु (Virus) बाट गाईमा लाग्ने प्रमुख रोग के के हुन ?

(क) खोरेत (FMD) एक प्रमुख रोग हो।बौलाहा कुकुरले टोकेमा रेविज रोग पनि लाग्न सकिन्छ।
Q 48. गोबर जाँच किन गराउनु पर्छ ?

गोवर परिक्षणबाट पाचन प्रणालीमा हुने जुकाहरु गोलो जुका, नाम्ले जुका,  फित्ते जुकाके लागेको छ थाहा हुन्छ । वर्षमा २ पल्ट नियमित गोबर जांच गराउनु पर्छ ।
Q 49. नाम्ले जुका लाग्दा कस्तो लक्ष्ण देखिन्छ ?

पातलो छेर्ने, च्यापुमुनि पानी जम्ने, दुब्लाउदै जाने र दानापानी कम रुचाउने ।
Q 50. गाईमा परजीवीबाट लाग्ने प्रमुख रोगहरु के के हुन ?

नाम्ले जुका, गोलो जुका, किर्ना, फित्ते जुका आदि ।

Q 51. गोठ सुधारको कार्यक्र पाउन / लिन के गर्नु पर्छ ?

नजिकको पशु सेवा केन्द्र वा जिल्ला पशु सेवा कार्यालयबाट सो बारे जानकारी पाईन्छ ।
Q 52. गाई गोठ सुुधारको लागि कुनै सरकारी योजना / अनुदान पाइन्छ ?

सेवा केन्द्रमा बुझन सकिन्छ ।
सरकारले गोठ तथा भकारो सुधार कार्यक्रम राखेको छ ।

Q 53. कति वर्षको भएपछि बाच्छीले बहर खोज्दछ ?

राम्रो स्वस्थ्य भएको उन्नत जातको बाच्छीले दुई वर्ष भित्र बहर खोज्दछ ।
Q 54. पहाडी क्षेत्रमा कुन जातका गाई पाल्नु राम्रो हुन्छ ?

(क) जर्सी  (ख) जर्सीक्रस (ग) होलस्टेन क्रस गाई राम्रो हुन्छ ।
Q 55. नेपालमा पाईने गाईका उन्नत जातहरु के के हुन ?

क) जर्सी  (ख) होलस्टेन  (ग) ब्राउन सुईस  (घ) रेड सिन्धी  (ङ) साहीवाल  (च) क्रसब्रिडजातहरु
जर्सी गाईले सरदर ४००० – ५००० लिटर दूध एक वेतमा दिन्छ ।
होलस्टेन गाईले एक वेतमा ६००० -१२००० लिटर दूध दिन्छ ।