Tag: buy plum plants nepal

Q 1. आरुबखडा(PLUM)लाई कस्तो हावापानी उपयुक्त हुन्छ?

आरुबखडाको लागि हिउँदमा आर्द्र चिसो तथा वर्षातमा ठीक्क खालको गरम हावापानीको जरुरत हुन्छ। धेरै चिसो रुचाउने यूरोपियन जातहरुलाई १००० घण्टा भन्दा बढी चिसोको आवश्यकता पर्दछ भने कम चिसो रुचाउनेजापनीज जातहरुलाई ४०० घण्टा भन्दा कम ठण्डा/चिसो भएपनि पुग्दछ।
Q 2. यसको खेती समुद्र सतहबाट कति उचाईसम्म राम्रो हुन्छ ?

यसको खेती समुद्र सतहबाट ९५०-१८०० मिटर सम्मको उचाईमा राम्रो मानिन्छ तर यस भन्दा बढी वा घटी उचाईमा पनि यसको खेती घरायसी प्रयोजनको लागि गरेको पाईन्छ।
Q 3. वार्षिक वर्षा कतिसम्म भएमा राम्रो हुन्छ?

यसको लागि वार्षिक वर्षा ६०० मि.मि.उपयुक्त मानिन्छ तर यसभन्दा बढी वा घटी वार्षिक वर्षा हुने ठाउँमा पनि सिंचाईको प्रबन्ध गरी खेती गरेन सकिन्छ।
Q 4. यसको लागि कस्तो खालको माटो उपयुक्त हुन्छ ?

यसको खेती सबै किसिमको माटो खासगरी बलौटे दोमट देखि चिम्ट्याइलो सम्म पनि राम्रो हुन्छ तर पानीको निकास भने राम्रो हुनु पर्दछ।
Q 5. माटोको अम्लियपना र क्षारियपना कस्तो भएको राम्रो हुन्छ?

आरुबखडा खेतीको लागि ५.५ देखि ६.५सम्मको पि.एच. मान भएको माटोराम्रो मानिन्छ। क्षारीय भन्दा अम्लियपन बढी भएको माटोमा खेती फस्टाउँछ।
Q 6. आरुबखडाको बिरुवा कसरी लगाउन उपयुक्त हुन्छ ?

पहाडी भिरालो जमिनमा बिरुवा लगाइने हुँदा गह्रा-कान्ला/कन्टुर तरिकाले रेखाङ्कन गरी बगैंचालगाउन उपयुक्त हुन्छ।
Q 7. आरुबखडाका बिरुवा कति दुरीमा लगाउन उचित होला?

यसका बिरुवाहरु५X५ मिटरको दुरी कायम गरी बिरुवा लगाउँदा बगैंचा व्यवस्थापन गर्न सजिलो हुन्छ।
Q 8. यसको बगैंचा स्थापना गर्दा रेखाङ्कन गर्न जरुरी हुन्छ ?

आरुबखडा विस्तारै हुर्किने र लामो अवधिसम्म बिरुवाले फल दिईरहने हुँदा बगैंचा लगाउनु अगाडी राम्ररी रेखाङ्कन गरी लगाउनु उपयुक्त हुन्छ।
Q 9. बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्ला?

अन्य शीतोष्ण फलफूल जस्तै आरुबखडाको बिरुवा सार्नका लागि पनि १ घनमिटरको खाड्ल तयार गर्नु पर्दछ।


Q 10. बिरुवा रोप्दा बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्डको किन आवश्यक पर्दछ ?

बिरुवा लगाउने ठाउँ रेखाङ्कन गरी सकेपछि खाड्ल खन्ने समयमा र बिरुवा रोप्ने समयमा बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्डको नितान्त जरुरी हुन्छ किनकी यसैको माध्यमबाट बिरुवाहरु समदूरीमा रोप्न सकिन्छ।
Q 11. आरुबखडाका बिरुवाहरु कुन मौसममा रोपिन्छ ?

आरुका बिरुवाहरु पतझड किसिमका भएको हुनाले हिउँद मौसम विशेषतः पुष-माघ महिनामा रोपिन्छ।
Q 12. आरुबखडाको बगैंचामा सिंचाई गर्न जरुरी छ ?

आरुबखडाका बिरुवा रोपेको ६-७ महिना सम्म बिरुवामा चिस्यान कायम राख्नु पर्दछ।बिरुवा ठूला भैसकेपछि पालुवा आउने बेलामा, फल लाग्ने बेलामा र वृद्धि हुने बेलfमा विशेषतः सुख्खा परेको समयमा सिंचाईमा विशेष ध्यान दिनु पर्दछ।
Q 13. आरुबखडामा मलखादको व्यवस्था कसरी गर्नु पर्दछ ?

आरुबखडाको बोटलाई मलखाद दिँदा उमेर अनुसार सिफारिश गरिएको छ तर यहाँ नफलेको दुई वर्षको बिरुवालाई २५ के.जी. कम्पोष्ट मल, १०० ग्राम नाईट्रोजन, ५० ग्राम फोस्फोरस र ३० ग्राम पोटास सिफारिश गरिएको छ भने फलेको ६ वर्षदेखिका बोटलाई ५० के.जी. कम्पोष्ट मल, ३०० ग्राम नाईट्रोजन,१५० ग्राम फोस्फोरस र ९० ग्राम पोटास प्रत्येक वर्ष दिनु पर्दछ।
Q 14. नेपालमा आरुबखडाका प्रचलित जातहरु कुन कुन हुन् ?

नेपालमा आरुबखडाकाप्रचलित जातहरुग्रीनगेज,अर्ली ट्रान्सपारेन्ट गेज, स्टान्ले,मिथेली, मेरी पोसा,केल्सी, सान्तारोजा,सत्सुमा, फरमोसा आदि हुन्।
Q 15. आरुबखडाका सबैभन्दा छिटो पाक्ने जातहरु कुन कुन हुन् ?

सबैभन्दा छिटो पाक्ने जातहरुमा ग्रीनगेज,मिथेली र फरमोसा हुन्।
Q 16. आरुबखडाका मध्य मौसममा पाक्ने जातहरु कुन कुन हुन्?

आरुबखडाका मध्य मौसममा पाक्ने जातहरुमा सत्सुमा,मेरी पोसा र केल्सीपर्दछन्।
Q 17. आरुबखडाका सबैभन्दा ढिलो पाक्ने खालका जात पनि कुनै छन् कि?

यसको सबैभन्दा ढिलो पाक्ने जात एकमात्र सान्तारोजा हो।
Q 18. आरुबखडाको बगैंचामा झारपात हटाउन र मल्चिङ्ग गर्न कतिको जरुरी छ?

आरुबखडाको बगैंचालाई सफा सुग्घर राख्न र बेसिन वरिपरि छापो/मल्चिङ्ग गरी चिस्यान कायम राख्न र झारपात पलाउन नदिन गोडमेल र मल्चिङ्ग आवश्यक हुन्छ किनकी सबै ठाउँमा सिंचाई सुविधा पुर्‍याउन गाह्रो हुन्छ।
Q 19. आरुबखडाको बोटलाई तालिम र काँटछाँटको आवश्यकता पर्दछ?

आरुबखडाको बोटलाई पनि आरुको बोट जस्तै गरी बिरुवा रोपेको पहिलो वर्ष देखि लगातार ४ वर्षसम्म बिरुवाको आकार प्रकार मिलाउन तालिम गरिन्छ भने त्यसपछि आवश्यकता अनुसार बोटको काँटछाँट गर्नु पर्दछ।यसमा पनि यूरोपियन जातका आरुबखडालाई जापनीज जातहरुको तुलनामा हल्का काँटछाँटको जरुरत पर्दछ।
Q 20. आरुबखडामा बिरुवा प्रसारणको विधि कुन हो?

आरुबखडाका बिरुवाहरु पनि आरुजस्तै टङ्ग ग्राफ्टिङ्ग विधिबाट प्रसारण गरिन्छ। यसको बिरुवा कलमी गर्न रुटस्टकको रुपमा जङ्गली आरुबखडा प्रयोग गरिन्छ तर क्लोनल रुटस्टकहरु माइरोबलान र मारियाना २६२४ पनि रुटस्टकको रुपमा प्रयोग गरिँदै आएको छ। कुनै कुनै अवस्थामा जङ्गली आरुलाई पनि आरुबखडाका बिरुवा कलमी गर्नका लागि रुटस्टकको रुपमा प्रयोग गरेको पाईन्छ।


Q 21. आरुबखडाको बगैंचामा अन्तरबाली लगाउन सकिन्छ ?

आरुबखडालाई स्याउ, नास्पाती र ओखर बगैंचा भित्र अन्तरबालीको रुपमा प्रयोग गर्न सकिन्छ। र यसलाई मुख्य बालीको रुपमा लगाउँदा बिरुवाले पूर्ण आकार नलिएसम्म दलहन बाली सिमी,केराउ,मास,भटमास जस्ता बालीहरु अन्तरबालीको रुपमा लगाउनु बगैंचाको लागि पनि फाइदाजनक हुन्छ।
Q 22. आरुबखडाको फल छाँट्नु कतिको जरुरी हुन्छ?

बजारमा राम्रो मूल्य पाउनका लागि ठूला साईजका फल बिक्री वितरण गर्ने हो भने आरुबखडाको फल छाट्ने काम अनिवार्य रुपमा गर्नु पर्दछ। फल छाट्दा विशेषतः हातले वा रसायनिक विधिबाट पनि फललाई छाँट्न सकिन्छ।यदि रासायनिक विधि अपनाउने हो भने ईथेफोन २०-२०० पि.पि.एम. को स्प्रे गर्नु पर्दछ। फल छाट्दा आरुमा जस्तै पात र फलको अनुपात ३०:१ हुनु पर्दछ।
Q 23. आरुबखडामा लाग्ने लाही कीराले कसरी आक्रमण गर्दछ र यसको नियन्त्रण कसरी गर्न सकिन्छ?

लाही कीराले बिरुवाको कलिला मूना, पात तथा फलहरुमा समेत आक्रमण गर्दछ र बिरुवा तथा फलको वृद्धि विकासमा अवरोध पुर्‍याई दिन्छ। यसको नियन्त्रणका लागि डायजिनन् ०.०३ प्रतिशत १५ दिनको अन्तरालमा २-३ पटक स्प्रे गर्दा नियन्त्रण गर्न सकिन्छ।
Q 24. आरुबखडामा गुँद निस्कने रोग कसरी फैलिन्छ र यसको नियन्त्रण विधि के अपनाउनु पर्दछ?

यो शाकाणु/ब्याक्टेरियाबाट उत्पन्न हुने रोग हो। यसले आक्रमण गरेको भागबाट गुँद निस्किएको हुन्छ। यसको आक्रमण बसन्त ऋतुको शुरुतिर जब चिसो र आर्द्र मौसम बढी समय रहन्छ त्यस्तो बेलामा बढी हुन्छ। यसको नियन्त्रणका लागि डाईहाइड्रो स्ट्रेप्टोमाईसिन प्रयोग गर्नु पर्दछ।
Q 25. आरुबखडामा जरा कुहिने रोग कसरी लाग्दछ र यसको नियन्त्रणको व्यवस्था कसरी मिलाउनु पर्दछ?

यो ढुसीको कारणले उत्पन्न हुन्छ। विशेषतः पानीको निकास राम्रो नभएको र चिम्ट्याईलो माटोमा पानी जम्ने अवस्था आयो भने रोगको सम्भावना बढद्छ। यसको आक्रमणलेबिरुवाको काण्डमा बोक्रा कुहाई दिन्छ र बिरुवा मर्न सक्दछ। यसबाट बच्नको लागि पानीको निकासलाई नै व्यवस्थित तुल्याउनु पर्दछ।
Q 26. आरुबखडाको फल टिप्नको लागि कहिले तयार हुन्छ?

आरुबखडाका कलमी बिरुवाहरु पनि आरुको जस्तै तीन वर्ष देखिनै फल्न शुरु गर्दछन्। यसका फलहरुहरियोबाट हल्का रातो वा गाढा रातो भएपछि टिप्नलायक हुन्छन्।
Q 27. आरुबखडाको बोटबाट फल कसरी सुरक्षित तरिकाले टिप्न सकिन्छ ?

आरुबखडाको फल टिप्दा फललाई हातले मर्काएर/बटारेर टिपिन्छ।

Q 28. आरुबखडा फलको उत्पादन कतिसम्म हुन्छ ?

यसको उत्पादन प्रति बोट ३५ देखि ५० के.जी. सम्म हुन्छ।
Q 29. आरुबखडाको फललाईकति दिनसम्म भण्डारण गरेर राख्न सकिन्छ?

आरुबखडाको फललाई ०-१ डिग्री सेल्सियस तापक्रम र ८५-९० प्रतिशत आर्द्रतामा दुई तीन हप्तासम्म भण्डारणगरेर राख्न सकिन्छ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942