Tag: banana farming

बर्दिवास । महोत्तरी जिल्लाका उत्तरवर्ती क्षेत्रका किसान ‘व्यावसायिक केराखेती’तर्फ आकर्षित भएका छन् ।कम लागतमा बढी उत्पादन दिन थालेपछि जिल्लाका बर्दिवास, भंगाहा, गौशाला र औरही नगरपालिकाका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । उन्नत् जातको केराखेती गरेर उनीहरु राम्रो आम्दानी लिन थालेका छन् ।

परम्परागत रुपमा लगाइँदै आइएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायतका केराको ठाउँमा अब किसान खासगरी रोवेष्ट्रा र उन्नत् मालभोग जातको केराखेतीतर्फ बढी आकर्षित भएका छन् । सानो रुख, धेरै हाता लाग्ने ठूलो घरी र स्वादिष्ट भएकाले रोवेष्ट्रा जातको केरा धेरै किसानको रोजाइँमापर्ने गरेकोछ ।

पछिल्ला पाँच वर्षदेखि व्यावसायिक केराखेती गर्दैआएका भंगाहा–४ का किसान सत्यनारायण यादवले आफ्नो प्लटमा उन्नत् मालभोग र रोवेष्ट्रा जातको केरामात्र रहेको बताउनुभयो । अहिले एक बिघा क्षेत्रफलमा केराखेती गर्नुभएका यादवले पछिल्ला तीन वर्षमा बर्सेनी रु एक लाखभन्दा बढी आर्जन भएको जानकारी दिनुभयो ।

रोवेष्ट्रा जातको केराको सानो रुख भएका कारण हावाहुरु र फल लाग्दा ढल्ने सम्भावना कम हुने तथा स्वादिष्ट हुनेहुनाले यसको बजार माग बढेको किसानको दाबी छ । रोपेको नौ महिनामा नै पहिलो उत्पादन लिन सकिने भएकाले रोवेष्ट्रा केरा व्यवसायिक खेतीका लागि उपयुक्त भएको किसानको भनाइ छ ।

एक कठ्ठामा ८० वटा रुख लगाउन सकिने यो केरा स्वादकै कारण उपभोक्ताको पहिलो छनोटमापर्ने भएकाले बिक्रीमा कुनै समस्या भोग्नु नपरेको भंगाहा—६ हतिसर्वा झपौलका किसान छठु महरा बताउनुहुन्छ ।

कम मेहनत र थोरै लगानीमा गर्न सकिने केराखेतीमा पछिल्लो पुस्ताका युवा किसान बढी सक्रिय भएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका बर्दिवास नपाका पशुपतिनगर, पुूलबारीटोल, भंगाहा नपाको रामनगर, हतिसर्वा, गौशाला नपाको बेलगाछी, लक्ष्मीनियाँ र भरतपुर तथा औरही नपाका भोइल, सोनामाइ र श्रीपुरसहितका बस्ती केराखेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।

अहिले जिल्लामा करिब १०० हेक्टर जग्गामा व्यावसायिक रुपमा केराखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश विराजीले बताउनुभयो । एकपटक लगाएको केराले काँटछाँट र उपचार पाइरहे पाँच वर्षसम्म उत्पादन दिने फलपूmल विज्ञको भनाइ छ ।

जिल्लामा अहिले दैनिकजसो केराखेतीबारे परामर्श लिने किसान बढी रहेका छन् । केरा खेतीमा किसानको अभिरुचि र चासो बढ्न थालेकाले अन्य उन्नत् जातका केराका बिरुवासमेत कार्यालयले खोजी गरेर किसानलाई उपलब्ध गराउने तयारी शुरु गरेको वरिष्ठ कृषि विकास अधिकृत विराजीले जानकारी दिनुभयो ।

केरा तरकारी र फलका रुपमा खाइने भएकाले दुबै उद्देश्यका लागि फरक÷फरक जातका केरा लगाइनुपर्ने विज्ञले जनाएको छ । केरा तरकारीका लागि स्वादिष्ट, स्वास्थ्यवर्धक र आम उपभोक्ताको रोजाइँमापर्ने भएकाले यो प्रयोजनका लागि बत्तीसा र झपरी जातका स्थानीय केराको खेती उत्तम हुने लामो समयसम्म कृषि सेवामा संलग्न रही अवकास लिनुभएका भंगाहा—६ हतिसर्वा सग्रामपुरका किसान जासर यादवको अनुभव छ । फलका लागि भने आम उपभोक्ताको जिब्रोमा स्थानीय मालभोग जातको केरा झुण्डिएकाले यसको व्यावसायिक विकासका लागि जिल्ला कृषि विकास कार्यालयले थप पहल गरिदिनुपर्ने आवश्यकता देखिएको किसान जासरको सुझाव छ ।

उन्नत् जातमा भने जिल्लाको हावापानीमा रोवेष्ट्रा खुबै फस्टाएको र यस्को बजार माग पनि राम्रो रहेको कृषि विज्ञ र किसान दुबैले बताएका छन् । फल खाने प्रयोजनमा मालभोगको माग र भाउ दुबै उच्च भए पनि बोटमा अतिनै रोगको संक्रमण हुने भएकाले यस्को खेतीमा निक्कै जोखिम रहेको किसानको गुनासो छ ।

जिल्लामा कृषि कार्यमा समूचित सल्लाह, रेखदेख, अनुगमन र उपचार सेवाका लागि जिल्ला कृषि कार्यालय, कृषि सेवा केन्द्र र उपकेन्द्र भए पनि ती कार्यालयबाट नियमित अनुगमन नभएको, सल्लाह सुझावका लागि खोज्दा विज्ञ फेला नपर्ने गुणासो किसानको छ ।

केराखेतीलाई व्यावसायीकरण गर्न तरकारी र फलका लागि छुट्टै योजना बनाएर किसानलाई अभिपे्ररित गर्न प्रामाणिक बिरुवा उपलब्ध गराइदिन, खेतीको प्रविधि सिकाउन, उत्पादन भण्डारणको समुचित प्रबन्ध मिलाउन र बजार व्यवस्थापनमा सहयोग पु¥याउन जिल्ला कृषि विकास कार्यालयले प्रत्यक्ष नेतृत्व लिइदिनुपर्ने किसानको माग छ ।

किसानले खोजेका बेला कार्यालयबाट प्रवाहित हुने खेती सम्बन्धी सबै सहयोगका लागि जिल्ला कृषि विकास कार्यालय तयार रहेको जनाएको छ ।

Source : krishipatrika

चितवन, चैत । पछिल्लो समयमा चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ ।
“राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, प्लटिङले केराखेती घटदै गएको ।” एकसय बिगाहाभन्दा बढी केराखेती भएको जमिन प्लटिङ भएको छ । जिल्लामा हाल ६१५ केरा किसान छन् भने गत वर्ष ४६ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो ।
“गत वर्ष करिब रु एक अर्बको केरा बिक्री भएको छ,” अध्यक्ष पन्तले बताए । आम्दानीमात्रै रु २५ करोड भएको उनको भनाइ छ । सबैभन्दा बढी केराखेती सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले ५५ बिगाहामा गरेका थिए । उनले वार्षिक रु दुई करोडको कारोबार गर्दैआएका छन् ।
रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली, ठिमुरा केराखेतीको पकेट क्षेत्र हुन् । एक गाउँ एक उत्पादन कार्यक्रमका कारण केराखेती ह्वात्तै बढेको अध्यक्ष पन्तको भनाइ छ । कृषि अनुदान कर्जा सहज भए र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा केरासमेत समावेश गरिएमा केराखेती अझै फस्टाउने व्यवसायीहरू बताउँछन् ।

श्राेत ः krishionline.com