काउली खेती गर्ने तरिका

Q 1. काउलीको फूल (Cauliflower)को सतहमा पानीले भिजे जस्तो खैरो हुने (Browning) के कारणले हो? यस्तो समस्याबाट कसरी वच्न सकिन्छ ?

यस्ता विकृति/लक्षणहरु वोरन सुक्ष्म तत्वको कमीले गर्दा हुन्छ । शुरुमा कोपीको सतहमा पानीले भिजे जस्तो दाग देखिन्छ।पछि खैरो भई विक्री/खानयोग्य हुँदैन।यसको निराकरणको लागि जमीनको तयारीको समयमा ५००–७०० ग्राम वोरयाक्स वा सोडियम वोरेट प्रति रोपनी अथाव ०.२५–०.५०% वोरेक्सको झोल काउली वालीमा छर्कनु पर्दछ ।
Q 2. ईट बुट्टे पुतली (Diamond Back Moth) कीरा कसरी चिन्ने ? यसले काउलीवालीलाई कसरी नोक्सानी पुर्याउँछ र यसको रोकथाम कसरी गरिन्छ ?

यी पुतलीहरुका अघिल्ला पखेटामा त्रिकोणात्मक पहेला दाग हुन्छन् । पुतलीले पखेटा जोडी वस्दा ढाडमा ३ वटा ईटाबुट्टे आकार हुन्छ । लाभ्रेले खाएर पातमा धेरै प्वाल पार्दछन् । सकेसम्म भौतिक एवं जैविक तरीकाले कीराको व्यवस्थापन गर्नु पर्दछ अन्यथा फेनिड्रोथापन वा इन्डोसल्फान ३ मि.लि. प्रति लिटर पानीका दरले स्प्रे गर्नु पर्दछ ।
Q 3. ब्लेन्चिङ्ग (Blenching) भन्नाले के बुझिन्छ र ब्लेन्चिङ्ग हुने खालका जातहरु कहिलेकाहीँ पातले छोपिदैँनन किन होला ?

ब्लेन्चिङ्ग भन्नाले काउलीको फूल (Curd) को वाहिर/वरीवरी वा माथिल्लो तहका पातहरुलाई समेटी कर्ड छोपीने हिसावले वाँधि दिने तरीका हो जसले गर्दा ढुवानी गर्दा काउलीको फूल वाहिरी वातावरणमा सोझै पर्दैन र रंग परिवर्तन नभई सेतो आकर्षण नै रहन्छ।कतिपय यस्ता जातहरु पनि विकास गरिएका छन् तर पनि काउली वालीलाई आवश्यक मात्राको चिसोपन र खाद्यतत्वको मात्रा पुगेन भने पात राम्ररी वढ्दैनन र फूल (Curd) लाई छोप्दैनन्। आफै ब्लेन्च जातको उदाहरणमा फ्रेमेन्टलाई लिन सकिन्छ ।
Q 4. पातभित्र सुरुङ्ग वनाउने कीराले विरुवालाई नोक्सानी पुर्याउँदछ र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

पातमा सुरुङ्ग वनाउने कीरा एउटा सानो झिँगाको औँसा हो र पातहरुमा खनेर मसिनो वाङ्गाटिङ्गा सेता धर्साहरु वनाउँदछन् । यिनीहरुको व्यवस्थापन गर्न सके सम्म जैविक विषादीले नै नियन्त्रण गर्नु पर्दछ तर नियन्त्रणमा कठिनाई देखिएमा डेल्टामेथिन वा साईपरमोथिन १–२ मि.लि. प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ ।
Q 5. काउली कति तापक्रममा र आद्र्रतामा कति दिन सम्म भण्डारण गर्न सकिन्छ ?

साधारणत काउलीको फूल (Curd) ०–२ डि.से. तापक्रम र ९५% सापेक्षित आद्र्रतामा २०–३० दिन सम्म भण्डारण गर्न सकिन्छ ।
Q 6. काउली वाली काट्न तयार भयो भनी कसरी पहिचान गर्न सकिन्छ ?

काउलीको वाली टिप्न यसको फूल (Curd) छाम्दा कडा अनुभव भएपछि टिप्नको लागि उपयुक्त भयो भनी बुझ्नु पर्दछ । यसको समय वित्न साथ धेरै नरम÷खुकुलो र फुस्रो हुँदै जान्छ । जात अनुसार दिन गन्तीको हिसावले पनि टिप्ने समय निर्धारण गर्न सकिन्छ ।
Q 7. कहिले काही फूलकोपीको वीच भागवाट साना हरिया पात वाहिर देखिन्छ के कारणले होला ?

काउलीको वनस्पति वृद्धि भइरहेको वेलामा उच्च तापक्रम भएमा फूल (Curd) को वीच भागवाट साना हरिया पात वाहिर देखिन्छ जस्तै वजार भाउ राम्रो नपाउन सक्तछ । यस्तो समस्यावाट पार पाउन जात अनुसार उपयुक्त लगाउने समयमा रोप्नु पर्दछ ।
Q 8. काउलीको फूल (Curd) मा भुस (Riceyness) निस्कने कारण के हो र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

काउलीको फूल (Curd) को वाहिरी सतहमा भुस निस्कनेलाई झुसिले भन्ने चलन छ । यो मल दिँदा नाइट्रोजनको मात्रा वढी हुँदा, जात अनुसारको तापक्रममा घटवढ हुँदा यस्ता लक्षणहरु/विकृतीहरु देखा पर्दछन् । अतः मलखाद हाल्दा सन्तुलित मात्रा मिलाई दिने र जातीय आवश्यकताहरु पुग्ने स्थानमा खेती गर्दा यस्ता समस्या आउँदैनन् ।
Q 9. काउली कुन वेला काट्न उपयुक्त हुन्छ ?

साधारणतया काउली टिप्न/काट्न समयको ध्यान दिइन्न तर विहान शीत ओभाए पछि र साँझ पख ठण्डा भएपछि टिप्नु पर्दछ । टिपी सकेपछि घाममा नराखी छायाँदर ठाउँमा राख्नु पर्दछ।
Q 10. काउली वाली ढुवानी गर्दा कुन–कुन कुराहरुमा ध्यान पुर्याउनु पर्दछ ?

प्रथमतः काउली वाली काट्ने वेलामा नै तीन चारवटा माथिल्ला पातहरु सहित काट्नु पर्दछ । ती माथिल्ला पातहरुले काउलीको फूल (Curd) लाई ढाकिने गरी डोरी सुतलीले बाँधि टुप्पो तर्फ जुधाई डोको, डालो, क्रेट आदिमा प्याकिङ्ग गरेर मात्र ढुवानी गर्नु पर्दछ ।
Q 11. काउलीको ग्रेडिङ्ग गर्ने तरिकाहरु के के हुन् ?

काउली ग्रेडिङ्ग गर्दा यसको फूलको कसिलो पन, (धेरै कसिलो, कसिला, अलिअलि फुकेको र धेरै फुकेको) साइज (धेरै ठूलो, ठूलो, मध्यम, सानो), रंग (उज्यालो क्रिमी सेतो, क्रिमी सेतो, अलिअलि पहेँलो, खैरो धब्बा लागेको) आधारमा छुट्याउन सकिन्छ ।
Q 12. काउलीको फूल (Curd) लाई ढुवानी गर्दा कसरी वचावट गर्न सकिन्छ ?

काउलीको फूल (Curd) काट्दा माथिल्ला ३–४ वटा पात सहित काट्ने तथा ती पातहरुलाई फूल (Curd) लाई छोपी एक आपसमा जुधाएर प्याकिङ्ग गर्दा ढुवानीको अवस्थामा काउली नोक्सानी हुँदैन ।


Q 13. कहिले काँही काउलीको फूल (Curd) ज्यादै सानो लाग्दछ र खान योग्य समेत हुँदैन यसको कारण के होला र कसरी ?

अगौटे जात ढिलो लगाएमा लामो समय व्याडमा रहेका वुढा वेर्ना रोपेमा, जमीनमा नाइट्रोजनयुक्त मल कम भएमा, विरुवा बढ्ने वेलामा सुख्खा र तातो मौसम भएमा सानो गुच्छा जस्तो फूल (Curd) लाग्दछ । यसको व्यवस्थापन गर्न जातीय गुण अनुसार समयमा विरुवा सार्ने तथा चिस्यान तथा मलजलको उचित व्यवस्था गर्नु पर्दछ ।
Q 14. काउलीको पात साँगुरो भई पुच्छर जस्तो देखिने कारण के हो कसरी व्यवस्थापन गर्न सकिन्छ ?

यस्तो विकृति मोलिब्डेनम सुक्ष्म तत्वको कमिबाट हुन्छ । पातको किनारा भित्रपट्टि फर्कनु, पात वढ्न नसक्नु पातको डाँठ मात्र देखिनु यसका लक्षण हुन् । यो समस्या अम्लिय माटोमा देखापर्दछ । यसको व्यवस्थापन पि.एच.मान ६.५ मा कायम राख्ने तथा एमोनियम वा सोडियम मोलिब्डेट ५० ग्राम प्रति रोपनीका दरले खेती गरिने जग्गामा प्रयोग गर्नुपर्दछ ।
Q 15. काउलीको मध्य भागमा खोक्रो र कालोपन के कारणले आउँदछ र कसरी व्यवस्थापन गर्न सकिन्छ ?

काउली खेती गरिएको जमीन अत्यधिक मलिलो खासगरी नाइट्रोजन मलको मात्रा वढी हुन, तापक्रम वढी हुन, विरुवाको घनत्व कम हुनु, वोट तीव्र गतिमा वढ्नुले वोटको डाँठ फुट्ने र भित्री भाग खोक्रो हुने गर्दछ । यसको व्यवस्थापन गर्न नाईट्रोजन उचित मात्रामा प्रयोग गर्ने र वोटहरु लगाउँदा उचित दूरी कायम गर्नु पर्दछ ।
Q 16. उफ्रने खपटे कीराहरु कसरी पहिचान गर्न सकिन्छ र कसरी व्यवस्थापन गर्न सकिन्छ ?

यी कीराहरु साना आकारका उपिया जस्तै फड्कने गर्दछन् । कीरा लागेका पात, वोट हल्लायो भने खपटेहरु उफ्रेको देखिन्छ । वच्चा तथा वयस्क दुवैले विरुवा नोक्सान गर्दछन् । यसको व्यवस्थापनमा सकेसम्म जैविक विधि अपनाउनु पर्दछ तर रोकथाम गर्न कठिनाई भएमा इन्डोसल्फान १–२ मि. लि. प्रति लिटर पानीमा मिसाई २–३ पटक स्प्रे गर्नु पर्दछ ।
Q 17. लाही कीरा काउली वालीको लागि कति हानीकारक छ र कसरी व्यवस्थापन गर्न सकिन्छ ?

हेर्दा सानो हरियो रंगको यस कीराले पात र फूलको रस चुसी नोक्सान पुर्यारउनुको साथै भाइरस रोग पनि सार्ने काम गर्दछ । यसको व्यवस्थापन शुरुको अवस्थामा गाई, भैँसीको १ भाग पिसावमा १० भाग पानी मिसाई स्प्रे गर्ने, मारगोस नीम ३ मि.लि. प्रति लिटर पानीमा घोली स्प्रे गर्ने र अन्तमा नुभान वा रोगर २ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नाले नियन्त्रण गर्न सकिन्छ।
Q 18. काउलीको पातमा कीराले जाली कसरी वनाउछ र यसको व्यवस्थापन कसरी गर्नु पर्दछ ?

यी कीराहरुले काउलीको पातको तल्लो पट्टिबाट सुरुङ्ग जस्तो वनाईभित्र पस्दछ र पात खाँदै जालो जस्तो वनाई दिन्छ । कीराका लार्भाहरु हरिया र हल्का गुलावी रंगका हुन्छन् । यसको रोकथाम गर्न सकेसम्म जैविक पद्धति अपनाउनु पर्दछ । तर रोकथाम गर्न कठिनाई भएमा मालाथाएन वा डाईल्करोभस २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
Q 19. काउली खेतीमा सिचाईका विधि के के छन् र कसरी गरिन्छ ?

काउली वालीमा राम्रो उत्पादन लिन सिचाईको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । परम्परागत रुपमा कुलो, पाइप, ट्रेडल पम्पको माध्यमबाट सिचाई गरिएता पनि हाल थोपा सिचाइको माध्यमबाट पनि सिचाई गरिन्छ ।
Q 20. काउली खेतीमा गोडमेल र मलखादको व्यवस्थापन कसरी गरिन्छ ?

काउलीको वेर्ना सारेको करीव ३ हप्ता पछि गोडमेल गरी झारपात हटाउनु पर्दछ । वाली अवधिमा ३ पटक सम्म गोडमेल गर्नु पर्दछ । गोडमेलको वेला २ के.जी. यूरिया प्रति रोपनि टपड्रेस गरी उप्केरा दिनु पर्दछ । अन्य मल भने वेर्ना सारेकै दिन वा सार्नु अगावै दिनु पर्दछ।
Q 21. काउली खेतीको नर्सरीका लागि कस्तो जमिनको अवाश्यकता पर्दछ ?

काउलीको वेर्ना उत्पादन गर्नको लागि प्राङ्गारिक पदार्थ प्रशस्तभएको खुकुलो दोमट माटो, सिचाईको सुविधा पुग्ने, प्रकाश, सापेक्षिक आर्दता र तापक्रमको अनुकूल हुने जमीनको छनौट गर्नु पर्दछ ।
Q 22. किवोजाईन्ट जातको काउलीको विशेषता के छ ?

यो पछौटे जात हो, वेर्ना रोपेपछि १२०–१४० दिनमा वाली लिन सकिन्छ । यसको स्वाद काठमाण्डौँ स्थानीय जस्तै मीठो हुन्छ । यसले वढी तापक्रम सहन सक्ने हुनाले मध्य पहाडी क्षेत्रमा असार सम्म खेती गर्न सकिन्छ ।
Q 23. काउलीको गाँठो रोग (Club Root) कस्तो जमीनमा देखापर्दछ ? यसको व्यवस्थापन कसरी गरिन्छ ?

काउली वालीको गाँठो रोग अम्लिय माटोमा लाग्दछ । यो माटोमा जीवीत रहने ढुसीवाट उत्पन्न हुन्छ र यसको जीवाणु १५ वर्ष सम्म माटो रहिरहन्छ । ढुसीको कारणले जरा असामान्य रुपले डल्लो हुन्छ जराले राम्ररी काम गर्दै र उत्पादन ह्रास हुन्छ । यसको व्यवस्थापन हेतु माटोको पि.एच.मान ७.०–७.३ सम्म हुने गरी कृषि चुना प्रयोग गरी घुम्ती वाली प्रणाली अपनाउनु पर्दछ । माटोमा चुन राखी गर्मी महिनामा २ हप्ता देखि २ महिना सम्म सोलाराईजेसन गर्नु पर्दछ ।
Q 24. वेमौसमी खेती गर्न कुन कुन कुराहरुमा ध्यान दिनु पर्दछ ?

वेमौसमी खेतीको लागि तराई भन्दा मध्य पहाड र उच्च पहाड वढी उपयुक्त मानिन्छ । यसको लागि जातीय विविधता, अनुकूल वातावरणको सृजना भौगोलिक क्षेत्रको उपयोगिता जस्ता कुराहरुमा ध्यान दिनुपर्दछ । 
Q 25. वेमौसमी रुपमा खेती गर्न कुन कुन जातहरु उपयुक्त हुन्छन् ?

वढी ताप, चिसो तथा रोग कीराको प्रतिरोधी जातहरु वेमौसममा लगाउन सकिन्छ । यस्ता गुणहरु विशेषत वर्णशंकर जातहरुमा पाईन्छ । जस्तै स्नो क्राउन स्नो मिष्टिक, स्नो किङ्ग, स्नो क्वीन, स्नो डोभ, सिल्भरकप, हवाईट कलाउड आदि हुन् ।
Q 26. काउलीको वीउ उम्रने वित्तिकै फेद कुहिएर ढल्ने मर्ने गर्दछ किन ? यसको व्यवस्थापन कसरी गरिन्छ ?

वीउ छरेपछि उम्रदै गरेको भु्रणमा त्यसको फेदमा र वढ्दै गरेको जरामा ढुसीले आक्रमण गर्दछ र विरुवा ढल्ने मर्ने समस्या उत्पन्न हुन्छ । यो रोग नलागोस भन्नका लागि वीउ रोप्नु भन्दा १५–२० दिन अगावै १ भाग झर्मलडिहाईट ५० भाग पानीमा मिसाई व्याडको माटो १० से.मि. भिज्ने गरी उपचार गर्नु पर्दछ । वीउ उम्रेपछि वेभिष्टिन वा वोर्डोमिक्स्चरले उपचार गर्नु पर्दछ ।
Q 27. काउली खेतीमा वेर्ना जर्खराउने के हो र अगौटे जातका काउलीका वेर्नाहरुलाई जर्खराउने गरिन्न किन ?

काउलीका वेर्नाहरु पहिलो नर्सरीवाट दोस्रो नर्सरमिा सारी केही ठूला भए पछि मूख्य खेत वारीमा लगाउन तयार गरिने अवस्थालाई जर्खराउने ९ज्बचमभलष्लन० भनिन्छ । अगौटे जातका वेर्नाहरु जर्खराउने गरिनन किनकी छोटो अवधिमा वाली तयार हुने हुँदा जर्खराउने समय खर्च गर्दा उत्पादन राम्रो हुँदैन ।
Q 28. काउलीका मध्यम र पछौटे जातहरु कुन कुन हुन् ?

मध्यम अवधिका जातहरु ६०–९० दिनमा तयार हुन्छन । स्नो किङ्ग, स्नो क्राउन, एन एस.लाइन आदि यस समूहमा पर्दछन् । पछौटे जातहरु १००–१२० दिनमा तयार हुन्छन् । स्नो वल–१६, किवोजाईन्ट जस्ता जातहरु यस समूहमा पर्दछन् ।
Q 29. काउलीका अगौटे जातहरु कुन कुन हुन् ?

काउलीका अगौटे जातहरु ४५–६० दिनमा तयार हुन्छन् । पुसा दिपाली, पुसा कात्तिकी, सिल्भर कप, स्नोमिष्टीक यस समूहमा पर्दछन् । तर लगाउने समय र पर्यावरणीय अवस्था अनुसार  सिल्भर कप, स्नोमिष्टीक जस्ता जातहरुलाई मध्यम जातहरुमा राखेको पनि पाईन्छ ।
Q 30. नेपालमा काउली खेतीका लागि राम्रो र प्रचलित स्थानीय जात कुन हो र किन ?

नेपालमा खेती गरिने जातहरुमध्ये स्थानीय जातहरुमा काठमाण्डौँ लोकल सवैभन्दा राम्रो मानिन्छ।यसवाट छनौट गरी ज्यापू–१ र ज्यापू–२ विकसीत गरिएको छ । यिनीहरु मध्य मौसमी जातहरु हुन् ।
Q 31. काउली खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

काउली खेतीको लागि साधारणत ५.५ देखि ६.६. सम्म पि.एच.मान भएको चिस्यान ग्रहण गर्न सक्ने र पानीको निकास भएको, प्रशस्त प्राँङ्गारिक पदार्थ भएको दोमट माटो उपयुक्त हुन्छ ।
Q 32. काउली कस्तो हावापानीमा हुने तरकारी वाली हो ?
यो वाली चिसो हावापानी, जोडो मौसममा हुने वाली हो । चिसो सहन सक्ने वाली भएकोले मध्य पहाड र तराईमा जाडोको समयमा र उच्च पहाडी क्षेत्रमा गर्मी र वर्षातको समयमा खेती गरिन्छ।आजकाल वेमौसमी खेती प्रविधिबाट १२ महिनै अनुसारको हावापानीमा खेती गरिन्छ ।
Q 33. काउली समूह अन्तर्गत कस्ता र कुन कुन तरकारी वाली पर्दछन् ?
काउली वाली समूह अन्तर्गत पर्ने तरकारी वालीहरुको कलिला पात डाँठ, फूल तथा फल जस्तो देखिने जसलाई तरकारीको रुपमा उपभोग गरिन्छ । यस अन्तर्गत पर्ने वालीहरुमा काउली, बन्दा, ब्रोकाउली, ग्याँठकोवी, ब्रोसेल्स स्प्राउट्र, चाइनिज बन्दा आदि पर्दछन् ।