Category: Farmer

म्याग्दी , चैत । टेलिभिजन र इन्टरनेटको सहायता लिई सुरु गरेको बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्म बनेको छ । बेनी नगरपालिका– २ गौश्वारका विराज मल्लले सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्ममा नयाँशैली, प्रविधि र संरचनाको प्रयोग गरिएको छ । जाडो याममा फाइबर टिन र गर्मी याममा हावा छिर्ने झ््यालको प्रयोग गर्ने गरिएको छ ।
करिब ३० मिटर लम्बाइ र ५.२ मिटर चौडाइ भएको खोरभित्र बाख्रा राख्ने ११ वटा कोठा रहेको छ । सो फार्मको अवलोकनका लागि जिल्लाभित्र र बाहिरबाट दैनिक कृषक आउने गरेका छन् । फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तीन महिना पुगेका पाठापाठी, सोभन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको मल्लले बताए ।
“टेलिभिजन र इन्टरनेटमा विदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रापालन गर्दै आएको छु,” उनले भने । बाख्रामा कुनै स्वास्थ्य समस्या देखिए लक्षणको आधारमा इन्टरनेटमा उपचार विधिको बारेमा खोजी गर्ने र कृषि प्राविधिकसँग टेलिफोनमार्फत परामर्श लिने गरेको मल्लले सुनए ।
प्रविधि र उपकरणको प्रयोगले मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लको अनुभव छ । उनले बाख्रा, खसीबोका सामाजिक सञ्जाल फेसबुक र इन्टरनेटका माध्यबाट बिक्री गर्दै आएका छन् । उनको फार्ममा जमुनापारी, वित्तल र खरी जातका १५० वटा बाख्रा रहेका छन् । चारवर्ष अघि २७ वटा बाख्राबाट फार्म सुरु गरेका मल्लले अहिले बाख्रा र खसीबोका बेचेर मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन् । मल्लले बाख्रा फार्म स्थापना गर्न हालसम्म रु २५ लाख लगानी गरिसकेका छन् । उनको फार्ममा पाँच जनाले रोजगारी समेत पाउनुभएको छ ।

श्राेत ः krishionline.com

चितवन, चैत । पछिल्लो समयमा चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ ।
“राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, प्लटिङले केराखेती घटदै गएको ।” एकसय बिगाहाभन्दा बढी केराखेती भएको जमिन प्लटिङ भएको छ । जिल्लामा हाल ६१५ केरा किसान छन् भने गत वर्ष ४६ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो ।
“गत वर्ष करिब रु एक अर्बको केरा बिक्री भएको छ,” अध्यक्ष पन्तले बताए । आम्दानीमात्रै रु २५ करोड भएको उनको भनाइ छ । सबैभन्दा बढी केराखेती सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले ५५ बिगाहामा गरेका थिए । उनले वार्षिक रु दुई करोडको कारोबार गर्दैआएका छन् ।
रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली, ठिमुरा केराखेतीको पकेट क्षेत्र हुन् । एक गाउँ एक उत्पादन कार्यक्रमका कारण केराखेती ह्वात्तै बढेको अध्यक्ष पन्तको भनाइ छ । कृषि अनुदान कर्जा सहज भए र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा केरासमेत समावेश गरिएमा केराखेती अझै फस्टाउने व्यवसायीहरू बताउँछन् ।

श्राेत ः krishionline.com

agromart nepal

जिल्लामा कृषि प्रविधिका विषयमा जानकारी लिन तथा बाली तथा पशुमा देखिएका समस्याबारे घरबाटै जानकारी लिन सकिने भएको छ।

विश्व बैंकको सहयोगमा कृषि विकास मन्त्रालयले यो परियोजना लागू गरेपछि डोटीमा पनि यस्तो प्रविधिको विकास भएको हो ।

सरकारी जलवायु प्रकोप समुत्थान परियोजनामार्फत कृषकले मौसम र जलवायुसम्बन्धी जानकारी पनि पाउने भएपछि उत्पादनमा समेत बृद्धि हुने भएको छ ।

आफूले आधुनिक कृषि व्यवस्थापन सूचना प्रविधिमार्फत किसानलाई सहज सूचना प्रदान गर्ने व्यवस्था मिलाइरहेको परियोजना निर्देशक विष्णुप्रसाद घिमिरेले राससलाई बताउनुभएको छ ।
उहाँले भन्नुभयो – “यसमा किसानले घरमै बसेर मोबाइलमार्फत जल तथा मौसमको पूर्वानुमान गर्न, आधुनिक कृषि प्रविधिका विषयमा जानकारी लिन र बाली तथा पशुमा देखिएका समस्या समाधानका विषयमा जानकारी पाउनेछन् ।

विश्व बैंकको तीन करोड १३ लाख अमेरिकी डलरमा सञ्चालित सो परियोजना देशका २५ जिल्लामा लागू भएको छ ।

साभार ः ताजा खबर

रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर रु चार लाख बराबरको आम्दानी गर्नुहुन्छ ।

विदेशबाट फर्केर उहाँले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती सुरु गर्नुभएको हो ।

सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गर्नुभएका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गर्नुभएको छ । च्याउबाट मनग्य आम्दानी हुँदै गएपछि उहाँले व्यवसाय पनि बढाउनुभएको हो ।
सुरुमा एउटा गोठमा परीक्षणका रुपमा च्याउ खेती गर्नुभएका रानाले उत्पादन बढ्दै गएपछि पछिल्लो समय विस्तार गर्दै लानुभएको हो । अहिले उहाँले छवटा गोठमा एक हजार बल्बमा च्याउ राखेर यसवर्ष झन्डै रु सात लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।

“धन कमाउन विदेश गए, राम्रो कमाउन सकिनँ, घर फर्केर च्याउ खेती सुरु गरेँ”, “जसरी च्याउ उम्रिन्छ त्यसरी नै पैसा दिनहुँ हातमा परिरहेको छ” – रानाले भन्नुभयो ।

च्याउ खेतीबाटै नाम र प्रतिष्ठा कमाउनुभएका राना हिजोआज बलबहादुरको सट्टा च्याउवालाका नामले चिनिन थाल्नुभएको छ । अहिले प्रतिकिलो रु २००मा घरबाटै च्याउ बिक्री भइरहेको छ । अहिलेसम्म यस व्यवसायमा गोठ निर्माण र प्लास्टिक खरिदमा रु एक लाख बराबरको लगानी परेको उहाँको भनाइ छ ।

च्याउ उम्रन नपाउँदै धैरैले पहिलेदेखि नै बैना गर्ने गरेको रानाले बताउनुभयो । दिनमा उहाँले झन्डै २० देखि ३० किलोसम्म च्याउ बिक्री गर्नुहुन्छ । च्याउको माग बढ्दो रहेकाले अब सिताके च्याउ पनि सुरु गर्ने र यस व्यवसायलाई बढाउने सोचमा रहेको बताउनुभयो ।

थोरै लगानीमा कम मेहनतमा घरमै बसी बसी च्याउ बेचेर एक याममा लाखौँ आम्दानी लिन सकिन्छ । एक बल्बबाट तीन चारपटकसम्म च्याउ टिप्न सकिने भएपछि हिजोआज च्याउको उत्पादन जिल्लामा बढ्दै गएको छ ।

साभार ः ताजा खबर

Show More Posts