Blog

नुवाकोट : कृषिमा आत्मनिर्भर मात्र होइन, उत्पादित कृषिजन्य वस्तुको बिक्रीसमेत गर्दै आएको नुवाकोट आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ । पहाडी संरचना रहेको उर्वरभूमि नुवाकोटमा पछिल्लो १० वर्षदेखि किसानमा आलुखेतीप्रति आकर्षण बढिरहेको छ । यस वर्ष नुवाकोटमा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । एउटै गाउँबाट २५ करोड रुपैयाँ बराबरको आलु बिक्री भएको छ । चालू आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । ९९ प्रतिशत आलु राजधानी काठमाडौंमा बिक्री भएकाले नुवाकोटले आलु बिक्रीबाट जिल्लामा राम्रो रकम भित्र्याउन सफल भएको हो ।

यो वर्ष जिल्लामा विभिन्न स्थानमा गरी चार हजार तीन सय ६५ हेक्टर जमिनमा लगाइएकामा ७५ हजार नौ सय २० मेट्रिक टन आलु उत्पादन भएको छ । त्यसबाट एक अर्ब पाँच करोड रुपैयाँको आलु उत्पादन भई गत वर्षको तुलनामा ३.२ प्रतिशत बढी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले बताउनुभयो । उहाँका अनुसार बर्खे र हिउँदे कृषिमा आत्मनिर्भर मात्र होइन, उत्पादित कृषिजन्य वस्तुको निर्यातसमेत गर्दै आएको नुवाकोट आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

डा. गैरेले गत वर्ष ८७ करोड रुपैयाँ बराबरको र अघिल्लो वर्ष ८५ करोड बराबरको आलु उत्पादन भएको जानकारी दिनुभयो । विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा सिँचाइ सुविधा रहेका सबै स्थानमा आलुखेती हुने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएसँगै आलुबाट आम्दानीसमेत बढेको छ । किसानले व्यावसायिक रूपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रूपमा अवलम्बन गर्दा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा आलुको मूल्य प्रतिकिलोग्राम १५ देखि २० रुपैयाँसम्म छ । नुवाकोट जिल्लामा दुई याममा गरी चार हजार तीन सय हेक्टर क्षेत्रफल जमिनमा आलु लगाइएको थियो । प्रतिहेक्टर १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा.गैरेले बताउनुभयो । नुवाकोट जिल्लाका प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी छ । जिल्लाको माथिल्लो भेगका आठ सय हेक्टरमा लगाइएको बर्खे आलु नौ हजार चार सय उत्पादन भएको थियो ।

फागुन र चैतमा उत्पादन हुने गरी तीन हजार ६ सय हेक्टरमा लगाइएको आलु ६३ हजार नौ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जनाएको छ । यस वर्ष आलुको उत्पादन पनि बढेको र मूल्य पनि राम्रो भएका कारण आलुबाट ४५ करोड रुपैयाँ खुद नाफा हुने किसानले दाबी गरेका छन् । यस वर्ष प्रतिहेक्टर ४४ मेट्रिक टन आलु उत्पादन भएको कृषि कार्यालयको दाबी छ ।

श्राेत ः अन्नपुर्ण पाेष्ट

aalaichi

२६ पुस, ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष साढे पाँच अर्व रुपियाँ बराबरको अलैंची उत्पादन भएको छ । कालो सुनको उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको उत्पादन बढेसँगै आम्दानी पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय १० मेटि्रकटन अलैंची उत्पादन भएको छ । यो उत्पादन गत वर्षकोभन्दा एक हजार मेटि्रकटनले बढी हो । गतवर्ष एक हजार चार सय १० मेटि्रकटन मात्र अलैंची उत्पादन भएको थियो । हालको स्थानीय बजार मूल्य न्युनतम् ९० देखि ९२ हजार रुपियाँ प्रतिमन मूल्य रहेको छ । उक्त मूल्यले यो वर्ष उत्पादन भएको अलैंचीले साढे पाँच अर्व रुपियाँभन्दा बढी रकम साट्ने भएको छ ।

aalaichi
black cardamom

कृषि विकास कार्यालय ताप्लेजुङका बागवानी विकास अधिकृत उमेश राउतले दिएको तथ्याङ्कअनुसार यो वर्ष जिल्लामा ६० हजार दुई सय ५० मन अर्थात कुल २४ लाख १० हजार किलोग्राम अलैंची उत्पादन भएको छ । हालको मूल्य ९२ हजार रुपियाँ प्रतिमनका दरले एक किलोग्राम अलैंचीको मूल्य दुई हजार तीन सय रुपियाँ पर्दछ । बागवानी अधिकृत राउतले गतवर्षको जस्तो अलैंचीको मूल्य अहिलेसम्म नभए पनि उत्पादनमा वृद्धि भएकाले आम्दानी बढेको बताए । अलैंची मूल्य यो वर्ष गतवर्ष भन्दा प्रतिमन १३ हजार रुपियाँले कमी रहेको छ । गतवर्ष यसै सिजनमा एक लाख पाँच हजार रुपियाँ प्रतिमनका दरले अलैंची खरिद विक्री भएको थियो । यस जिल्लामा अलैंची उत्पादनको तीन वर्षे तथ्याङ्कलाई हेर्दा गत वर्ष तीन अर्व ७० करोड १२ लाख ५० हजार रुपियाँ नगद भित्रिएको थियो भने अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष ०७०/०७१ मा अलैंचीबाट जिल्लामा तीन अर्व १५ करोड रुपियाँ मात्र भित्रिएको थियो । उक्त वर्ष अलैंची मूल्य पनि प्रतिमन ८० हजार रुपियाँका दरले मात्र किनबेच भएको थियो । जिल्ला कृषि विकास कार्यालयका अनुसार ताप्लेजुङमा अलैंची खेती पनि वर्षेनी विस्तार हुँदै गएको जनाएको छ । एक नगरपालिका र ४८ गाविस रहेको जिल्लामा ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रको कुल चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिन्छ । जिल्लाको सुरुम्खिम, तेल्लोक, इखाबु, लिम्बुदिन, सिकैंचा, हाङ्देवा लगायतका गाविसमा सबैभन्दा बढी अलैंची उत्पादन हुने तथ्याङ्क रहेको बागवानी विकास अधिकृत उमेश राउतले बताए ।

म्याग्दी , चैत । टेलिभिजन र इन्टरनेटको सहायता लिई सुरु गरेको बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्म बनेको छ । बेनी नगरपालिका– २ गौश्वारका विराज मल्लले सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्ममा नयाँशैली, प्रविधि र संरचनाको प्रयोग गरिएको छ । जाडो याममा फाइबर टिन र गर्मी याममा हावा छिर्ने झ््यालको प्रयोग गर्ने गरिएको छ ।
करिब ३० मिटर लम्बाइ र ५.२ मिटर चौडाइ भएको खोरभित्र बाख्रा राख्ने ११ वटा कोठा रहेको छ । सो फार्मको अवलोकनका लागि जिल्लाभित्र र बाहिरबाट दैनिक कृषक आउने गरेका छन् । फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तीन महिना पुगेका पाठापाठी, सोभन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको मल्लले बताए ।
“टेलिभिजन र इन्टरनेटमा विदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रापालन गर्दै आएको छु,” उनले भने । बाख्रामा कुनै स्वास्थ्य समस्या देखिए लक्षणको आधारमा इन्टरनेटमा उपचार विधिको बारेमा खोजी गर्ने र कृषि प्राविधिकसँग टेलिफोनमार्फत परामर्श लिने गरेको मल्लले सुनए ।
प्रविधि र उपकरणको प्रयोगले मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लको अनुभव छ । उनले बाख्रा, खसीबोका सामाजिक सञ्जाल फेसबुक र इन्टरनेटका माध्यबाट बिक्री गर्दै आएका छन् । उनको फार्ममा जमुनापारी, वित्तल र खरी जातका १५० वटा बाख्रा रहेका छन् । चारवर्ष अघि २७ वटा बाख्राबाट फार्म सुरु गरेका मल्लले अहिले बाख्रा र खसीबोका बेचेर मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन् । मल्लले बाख्रा फार्म स्थापना गर्न हालसम्म रु २५ लाख लगानी गरिसकेका छन् । उनको फार्ममा पाँच जनाले रोजगारी समेत पाउनुभएको छ ।

श्राेत ः krishionline.com

चितवन, चैत । पछिल्लो समयमा चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ ।
“राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, प्लटिङले केराखेती घटदै गएको ।” एकसय बिगाहाभन्दा बढी केराखेती भएको जमिन प्लटिङ भएको छ । जिल्लामा हाल ६१५ केरा किसान छन् भने गत वर्ष ४६ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो ।
“गत वर्ष करिब रु एक अर्बको केरा बिक्री भएको छ,” अध्यक्ष पन्तले बताए । आम्दानीमात्रै रु २५ करोड भएको उनको भनाइ छ । सबैभन्दा बढी केराखेती सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले ५५ बिगाहामा गरेका थिए । उनले वार्षिक रु दुई करोडको कारोबार गर्दैआएका छन् ।
रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली, ठिमुरा केराखेतीको पकेट क्षेत्र हुन् । एक गाउँ एक उत्पादन कार्यक्रमका कारण केराखेती ह्वात्तै बढेको अध्यक्ष पन्तको भनाइ छ । कृषि अनुदान कर्जा सहज भए र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा केरासमेत समावेश गरिएमा केराखेती अझै फस्टाउने व्यवसायीहरू बताउँछन् ।

श्राेत ः krishionline.com

Show More Posts