Author: agromart

हेटौंडा/सिन्धुपाल्चोक — मकवानपुर र सिन्धुपाल्चोकमा किबी खेतीतर्फ कृषकहरूको आकर्षण बढ्दै गएको छ । कृषकहरूले किबी खेतीबाट राम्रै आम्दानी गर्न थालेका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नपा वज्रबाराही लिलाखेलका मनोरथ बलामीले किबी खेती गरेर यो वर्ष ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

उनले ७ वर्षअघि किबी खेती सुरु गरेका थिए । पहिलो वर्षमा १५ वटा बिरुवा रोपेर सुरु गरेको मनोरथसँग अहिले १ सय ५० वटा किबीका बोट छन् । ती सबैले उत्पादन दिन थालिसकेका छन् । ‘सुरुसुरुमा बजारको पनि समस्या थियो,’ बलामीले भने, ‘अहिले समस्या छैन, काठमाडाैं लगेपछि बिक्री भइहाल्छ ।’ काठमाडाैंमा प्रतिकेजी ४ सय रुपैयाँमा किबी बिक्री हुने गरेको छ । उनले काभ्रेबाट बिरुवा ल्याएर रोपेका हुन् । एउटा बिरुवाको मूल्य ३ सय रुपैयाँ पर्छ । बलामीको करिब ५ रोपनी जमिन किबीको बोटले ढाकेको छ । किबी खेती वज्रबाराहीमा बलामीले मात्र गरेका छैनन् । १५ कृषकले किबी खेती गरेका छन् ।
विगत ६ वर्षदेखि वज्रबाराहीका फणिन्द्र सुवेदीले पनि गरेका छन् । उनको पनि उत्पादन सुरु भइसकेको छ । यो वर्ष सुवेदीले ७ लाख रुपैयाँभन्दा बढी किबी बिक्री गरेका छन् । सुवेदीको १५ रोपनीमा करिब साढे ४ सय किबीका बोट छन् । अधिकांशले फल दिन थालिसकेका छन् ।
गत वर्ष उनले ५ सय केजी किबी बिक्री गरेका थिए भने यो वर्ष २ हजार ५ सयभन्दा बढी केजी किबी बिक्री गरे । उनले किबीको नर्सरी पनि राखेका छन् । उनको नर्सरीमा किबीका करिब एक हजारबिरुवा छन् ।
प्रतिबिरुवा ३ सय रुपैयाँमा बिक्री हुने गर्छ । वज्रबाराहीका १५ जना कृषकले २० देखि साढे ४ सयवटा किबीको बिरुवा लगाएर उत्पादन गर्न थालेका छन् । यहाँका कृषकले पाकेको किबी प्रतिकेजी ३ सयदेखि ५ सय रुपैयाँमा काठमाडाैं लगेर बिक्री गरेका थिए । यहाँ उत्पादन गरिएका किबीको मकवानपुर उद्योग वाणिज्य संघले बजारीकरण गर्न सहयोग गर्दै आएको छ ।
किबी फल स्वास्थ्यका लागि उपयुक्त भएकाले यसका पारखी स्वदेशी र विदेशी दुवै छन् । ८ सय मिटरदेखि २० हजार मिटरसम्मको उचाइमा किबी खेती उपयुक्त हुने भएकाले मकवानपुरलाई किबी खेतीका लागि छनोट गरिएको कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले बताए । ‘किबी खेतीका लागि मकवानपुरको उत्तरी क्षेत्र हावापानी उपयुक्त छ,’ उनले भने । चैतमा फल्ने किबी कात्तिकमा पाक्ने गर्छ । एउटा बोटमा सय केजीभन्दा बढी किबी फल्छ । एउटा बिरुवाको आयु ३० वर्षसम्म हुन्छ । कृषि मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रको साझेदारीमा ‘एक गाउँ एक उत्पादन’ (ओभीओपी) कार्यक्रम ५ वर्षदेखि मकवानपुरमा पनि लागू गरिएको थियो ।
यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको हैबुङ र भोटेचौर, हेलम्बुदेखि चौतारा साँगाचोकगढी नगरसम्मका कृषक किबी खेतीतर्फ आकर्षित भएका छन् । राम्रो उत्पादन र आम्दानी हुने भएपछि यहाँका कृषकले किबी खेती व्यावसायिक रूपमा गर्न थालेका हुन् ।
किबी उत्पादनले गाउँदेखि बजारमा राम्रो स्थान पाउन थालेपछि कृषकले किबी खेती बढाउँदै लान थालेका छन् । जिल्लामा ०७० मा भोटेचौरका स्थानीयबासीले सामूहिक रूपमा ऋण नै लिएर बीस रोपनी खेतमा किबी खेती थालेका थिए । हाल हेलम्बु, हैबुङजस्ता जिल्लाभरका ४० किसानले नजिकैका सय रोपनीभन्दा बढी खेतबारीमा व्यावसायिक रूपमा किबी खेती थालेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको खाले र कार्कीटारका कृषकले ३ सय ५० बिरुवा लगाएर यसैवर्षबाट किबी खेतीको थालनी गरेका छन् । कृषि विकास कार्यालयका अनुसार यसपटक जिल्लाभर १ दशमलव ५ मेट्रीक टन किबी उत्पादन हुने जनाएको छ ।
सुरु गरेको केही समय उत्पादन कम भएकाले निरुत्साहित भएको हैबुङ बन्जाराटोलका महलाल दुलाल सुनाउँछन् । ‘लगानीमा लाखौं ऋण बोकेर सुरु गर्न साँच्चै असहज बन्यो,’ दुलाल भन्छन्,‘ अहिले पहिलेको जस्तो बजार नपाउने र बिक्री नहोला भन्ने समस्या छैन ।’ किबीको फल लाग्न पाँच वर्षको लामो अवधि कुर्नुपर्ने भएपछि प्रारम्भिक चरणमा आफू आत्तिएको उनले सम्झिए । हाल हेलम्बु र हैबुङका २१ जना कृषकले समूह नै बनाएर किबी खेती गर्न थालेका छन् । ‘भविष्यमा आम्दानी देखेर अधिकाशं कृषक किबी खेतीका लागि एकजुट भएर कस्सिएका हुन्,’ उनले भने ।
भोटेचौरमा किबी खेतीकै लागि ‘हिमालयन किबी प्राइभेट लिमिटेड’ बाट सयौं बिरुवा उत्पादन भइरहेकाले खेती विस्तार गर्न सजिलो भएको कृषकहरू बताउँछन् । यसका लागि ३२ जनाको कृषक समूह नैबनेको छ ।
‘फर्मले राम्रो किबी उत्पादन दिन थालेपछि सबैले लगानी गर्न थाले,’ स्थानीय सुवास दुलालले भने । टाढाटाढाका कृषकसमेत आएर किबी खेतीबारे चासो लिन थालेको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीले बताए । ‘बर्सेनि किबीको उत्पादनप्रति कृषकको चासो बढ्दो छ,’ उनले भने,‘जिल्लाभरका कृषक किबी खेतीबारे जिज्ञासु देखिएका छन् ।’ हेलम्बु, भोटेचौर र हैबुङमा अघिल्लो वर्ष एक हजार टन फलेको उनले सुनाए ।
गाउँमा वाइन, जुसलगायतका पेय पदार्थ बनाएर बजारमा लैजाने योजना भएकाले किबी खेतीमा थप परिश्रम लाग्ने उनको भनाइ छ । उनका अनुसार गाउँमै जुस, वाइनजस्ता पेय पदार्थ निर्माण गर्न मेसिन प्रयोगमा ल्याइएको छ । बजारमा लैजान एक सवारी साधन लिएर किबी खेती अझै फैलाउने फर्मको उद्देश्य रहेको छ ।
source : Kantipur

जैतुन (ओलिभ/Olive) को खेती गर्ने तरिका
जैतुन एक सदबहार रुख हो । यसको पात प्रत्यक २-३ बर्षमा फेरिन्छ । यसको हाँगा फकृने खालको हुन्छ तर राम्रो काँटछाँट गरेमा राम्रो रुख बन्छ यसको जरा बलियो हुन्छ र सतहको माटोमा मज्जाले फैलिन्छ ।जैतुनको रुखको उचाई ३० फिटदेखी ५० फिटसम्म हुन्छ । यो धेरै समयसम्म बाँच्ने रुख हो । यसको आयु सरदरमा ५००-१००० बर्षसम्म हुन्छ । यसको फलको तेल स्वास्थ्यको लागी निकै फाईदा जनक मानिन्छ ।

खेती प्रविधि:
नेपाल मा जैतुनको खेती समुन्द्र सतहबाट १०५० मिटरदेखी २३०० मिटरसम्म गर्न सकिन्छ । हिँउ धेरै पर्ने ठाउँमा यसको खेती राम्रो हुँदैन । घाम लाग्ने, मलिलो माटो, चिस्यान बढी भएको र सिंचाई प्रसस्त भएको ठाउँमा जैतुनको खेती राम्रो हुन्छ ।
जैतुन लगाउँदा   मिटरको दुरिमा विरुवा रोप्नुपर्छ । १ रोपनी मा १०-१५ बिरुवा लगाउन सकिन्छ , जैतुन खेतिको लागी माटोको PH लेभल 5 – 8.5 राम्रो हुन्छ । जैतुनले रोपेको ३ देखी १२ बर्षमा जात हेरी फल दिन्छ । Arbequina, Koroneliki जात ले ३ बर्षमा फल दिन थाल्छ । बिभिन्न जातका जैतुन लगाएमा परागसेचन (Pollination) मा मद्दत पुगी धेरै फल्छ ।एउटा बयस्क जैतुनको रुखमा २०० देखी ५०० किलो जैतुन फल्छ ।३ देखी ५ केजी जैतुनबाट १ लिटर ओलिभको तेल निकाल्न सकिन्छ । ( राम्रो ब्रान्ड हरुले १५ केजिबाट १ लिटर तेल पनि निकाल्छ्न )

नेपालमा जंगली जैतुनहरु पाइन्छ । (Olea Cuspridate डोल्पा, रुकुम, हुम्ला, बाजुरा Olea Glandulifera बजाङं) जर्मनिका ब्यबसायी हार्ट मुर्ड बौडरले मकवनपुरको चित्लाङमा जैतुन खेती ब्यबसायिक रुपमा गरेर उत्पादन लिईसकेका छन । अन्य ठाउमा पनि यसको खेती हुँदै छ (कालिकोट , भोजपुर , बाजुरा)

बजार :
बिश्व बजारमा जैतुनको माग अत्याधिक छ । नेपाली बजारमा जैतुनको तेल २५०० देखी ३०० सम्ममा बिक्री हुन्छ । साथै यसको हरियोमै अचार बनाएर पनि बेच्न सकिन्छ । एउटा बोट ५०० देखी १००० बर्ष बाच्ने हुँदा पुस्तौं पुस्तासम्म जैतुनको खेती राम्रो आम्दानिको श्रोत बन्छ ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Q 1. स्याउ खेतीको लागी कस्तो हावापानी चाहिन्छ?

स्याउ खेतीको लागी साधारणतया १५०० देखि २००० मिटर सम्मको उचाई भएको स्थानको लागी उत्तर पूर्वी मोहडा र सो भन्दा माथीको उचाई भएको स्थानमा दक्षिण पश्चिमी मोहडा स्याउ खेतीको लागी उपयुक्त हुन्छ ।


Q 2. स्याउको लागी आवश्यक तापक्रम के हुनु पर्छ?

स्याउको राम्रो उत्पादन लिनको लागी १००० देखि १५०० चिलिङ घण्टा ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम आवश्यक पर्दछ । नेपालमा यो अवस्था आजकलको हिसाबले समुन्द्र सतह देखि २००० देखि ३००० मिटर उचाईमा मात्र उपलब्ध छ ।
Q 3. स्याउको वृद्धि विकासको लागी के कती तापक्रम हुनु पर्छ?

स्याउको सक्रिय बृद्धि विकास भईरहेको समयमा औसत तापक्रम २१ डिग्री देखि २४ डिग्री सेल्सियसको आवश्यकता पर्दछ ।
Q 4. स्याउको फुलफुलेको अवस्थामा कस्तो हावापानीले नकारत्मक असर पार्दछ?

स्याउको फूलफुलेको अवस्थामा कम तापक्रममा बर्षा, हिमपात र बदली भईरहेमा परसेंचन प्रक्रियालाई निकै बाधा पुर्याउने हुदाँ अर्को बर्षको लागी फल उत्पादन फूल फुलेको तुलनामा एकदमै घटाउछ ।
Q 5. स्याउ फलको बृद्धि विकास भई रहेको समयमा कस्तो बातावरण चाहिन्छ?

स्याउको फलको बृद्धि विकास भई रहेको समयमा (जेष्ठ देखि भर्दौ) प्रशस्त घमाईलो दिनहरुको आवश्यकता पर्दछ । फलमा जात अनुसार रङ्ग आउनको लागी चर्को घामको आवश्कता पर्दछ । यो समयमा घाम नलाग्ने स्थानहरुमा गुणस्तरीय स्याउ उत्पादनको अपेक्षा नगरे हुन्छ ।
Q 6. स्याउ उत्पादनको लागी बर्षाको (पानी पर्ने) अवस्था कस्तो हुनु पर्छ?

स्याउको फूल फुल्ने समयमा असिना र तुसारो पर्नु हुदैन। स्याउको राम्रो गुणस्तरीय फल उत्पादनको लागी बार्षिक २०० देखि २५० मिलि मिटर बर्षा उपयुक्त हुन्छ तर बर्षा बुद्धि विकास हुने समय चैत देखि भदौ सम्म बराबर हिसाहबले पर्नु पर्दछ । स्याउको वोटहरुलाई बृद्धि विकासको समयमा सुख्खा पटक्कै हुनु हुदैन ।


Q 7. स्याउ खेतीको लागी कस्तो माटो चाहिन्छ?

स्याउ खेतीको लागी दोमट माटो प्राङगारिक पर्दाथले प्रचुर भएको र पि.एच ५.५ देखि ६.५ प्राकृतिक जल निकास भएको, माटोमा हावाको संचार भएकोलाई उपयूक्त मानिन्छ ।
Q 8. स्याउका कम चिसो चाहिने जातहरु कुन-२ हुन्?

स्याउका कम चिसो चाहिने जातहरु अन्ना र भेरड हुन् ।
Q 9. स्याउका मध्य चिसो चाहिने जातहरु कुन-२ हुन् ?

स्याउका मध्य चिसो चाहिने जातहरु कडजा र क्रिस्पीन हुन ।
Q 10. स्याउका धेरै चिसो चाहिने जातहरु कुन हुन् ?

स्याउका धेरै चिसो चाहिने जातहरुः- सबै डिलिसियस जातहरु, विनौनी, मेकान्तोस, फुजी, ग्रेनीस्मीथ र जुना गोल्ड आदी छन् ।
Q 11. स्याउ खेती गरिएको बगैचामा कति स्याउ वोटको लागी कति मौरीको घार राख्नु पर्छ?

स्याउ खेती गरिएको बगैचामा प्रती १०० स्याउका बोट भएका बगैचाहरुका लागी १ घार मौरीको व्यवस्थापन प्राविधीक हिसाबले सिफारिस गरिएको छ ।
Q 12. स्याउ बगैचा लगाउदा के कस्ता निर्णय गर्नु पर्छ?

स्याउ बगैचा स्थापना गर्नु भन्दा अगाडी लगाउने स्याउको जातको छनौट, कुन जातको विजु विरुवामा कलमी गरिएको हो, जात अनुसार आवश्यक पर्ने हावापानी, विरुवा रोप्ने प्रक्रिया, लगाउने जात, लगाउने दुरी, परसेचित (Polinizer variety) जातको छनौट र लगाउने अनुपात आदी सम्बन्धमा उचित निर्णय लिनु पर्दछ ।


Q 13. स्याउको बोटले कहिले सम्म उत्पादन दिन्छ ?

एउटा स्वस्थ्य स्याउको वोटले व्यावसायिक उत्पादन ५० बर्ष सम्म दिन सक्ने अनुमान गरिएको छ ।
Q 14. स्याउ बगैचा स्थापनाको लागी रेखाकण कसरी गर्ने?

स्याउ बगैचा स्थापनाको लागी समथर भुभागमा षटकोणाकार र बर्गाकार तरिकावाट र पहाडी भिरालोमा गह्रा (Contour) तरिकावाट रेखाकंन गर्नु पर्दछ।
Q 15. स्याउ विरुवा रोप्नलाई खाडलको अकार कस्तो हुनु पर्दछ?

स्याउ विरुवा रोप्ने खाडलको लम्वाई, चौडाई र गहीराई क्रमशः १x१x१ मिटरको हुनु पर्दछ ।
Q 16. स्याउको छिटो र बढि उत्पादन लिन कुन प्रविधीले स्याउ खेती गर्नु पर्छ?

स्याउको छिटो र बढि उत्पादन लिनलाई सघन स्याउ खेती अपनाउनु पर्छ ।
Q 17. स्याउमा राम्रो फल लाग्नको लागी के कती तापक्रम राम्रो हुन्छ?

स्याउको फूल फुल्ने समय चैत-बैशाख महिनाको औसत न्युनतम र अधिकम तापक्रम क्रमशः १० डिग्री र २० डिग्री सेलसीयस भएको अवस्थामा राम्रोसँग फल लागेको (Fruit Set) पाईएको छ ।
Q 18. स्याउको फूलफूल्ने समयमा बर्षा र आद्रता कती हुन पर्छ?

स्याउको फूलफूल्ने समयमा हल्का बर्षा र १०० प्रतिशत भन्दा कम आद्रता रहेमा राम्रो फल लागी स्याउ उत्पादनमा समेत वृद्धि भएको पाइन्छ ।
Q 19. स्याउ बगैचाको उपयुक्त सिंचाई प्रणाली कुन हो?

स्याउ बगैचामा आधुनिक सिंचाईको प्रविधी थोपा सिंचाई (Drip Irrigation) उपयुक्त भएको कुरा संसार भर प्रमाणीत भई सकेको छ ।
Q 20. स्याउ बगैचामा कस्तो अन्तरवालीको छनौट गर्नु पर्छ?

स्याउ बगैचामा अन्तरवालीको रुपमा खेती गर्न योजनाबद्ध तरिकाले बगैचा धनिलाई आर्थिक हिसावले फाईदा हुने र बगैचामा भएको स्याउका वोटहरुलाई रोग किराको प्रकोप नहुने वातावरण बन्ने हिसाबले लगाउने बालीको छनौट गरिनु पर्दछ ।


Q 21. स्याउ बगैचामा कस्ता वालीहरु लगाउनु पर्छ?

स्याउ बगैचामा भुईकाफल (Strawberry), रायो, झाड, सिमि (Bush Bean), होचा जातका केराउ, अर्केल, काउली, बन्दा, जुकिनी फर्सी, सलगम, मुला, गाजर, रायो, प्याज, लसुन, धनिया, पालुङ्गो, मेथी जस्ता वालीहरु लगाउनु पर्छ ।
Q 22. कस्तो जग्गाको लागी सफासुग्घर खेती राम्रो हुन्छ?

सफासुग्घर खेती (Clean Cultivation) पहाडी भिरालो १०% भन्दा कम भएको स्थानहरु उपयुक्त हुन्छ ।
Q 23. स्याउ बगैचामा मलखाद कहिले प्रयोग गर्ने?

स्याउ बगैचामा गोबर वा कम्पोष्ट मल, डि.ए.पी र पोटास वोटको उमेर अनुसार मंसिर र पौष महिनामा समथर जमिनमा वोटको हांगा फैलिएको भागको मुनीतिर चारै तर्फ वरावर पुग्ने गरेर छर्ने र माटोसगँ खनेर मिसाउने र भिरालो स्थानहरुमा वोटको वरीपरी औठी आकारमा कुलेसो बनाई सबै मल मिसाएर चारै तर्फ बराबर हुने गरी मल दिनु पर्छ ।
Q 24. स्याउ वोटको तालिम (Training) किन र कहिले गर्नु पर्छ?

स्याउको वोटको आकार प्रकार मिलाउन र सोही अनुसार स्याउको वोटलाई व्यवस्थीत गर्न हरेक बर्ष कांटछांट गर्नु पर्छ ।
Q 25. स्याउको विरुवा कती दुरीमा रोप्ने?

स्याउको विरुवा रोप्ने दुरी मुख्यतया रोपिने जात, कलमी गर्दा प्रयोग भएको विज विरुवा (Root Stock) को किसिम, माटोको उर्बरा शक्ति र उपलब्ध हावापानीमा निर्भर गर्दछ ।
Q 26. स्याउ विरुवा रोप्न कहिले खाडल खन्नु पर्छ?

अर्को बर्ष स्याउका विरुवा रोप्नको लागी अघिल्लो बर्षको चैत र बैशाखमा खाडल खनि आवश्यक तयारी गर्नु पर्दछ ।
Q 27. स्याउ विरुवा रोप्नलाई खाडल कस्तो खन्नु पर्छ?

स्याउ विरुवा रोप्नलाई खाडलको लम्बाई, चौडाई र गहिराई १x१x१ घन मिटरको हुनु पर्दछ ।
Q 28. स्याउ विरुवाको कांटछांट कहिले गर्ने?

उत्पादन दिई रहेको बगैचामा बानस्पतिक बृद्धि (Vegetative Growth) र फल उत्पादनलाई तुलानात्मक हिसाबले बराबर गर्न हरेक बर्ष कांटछांट गर्ने गरिन्छ ।
Q 29. स्याउलाई पत्ल्याउदाँ प्रति झुप्पा कती फल राख्नु राम्रो हुन्छ?

गुणस्तरीय स्याउ फल उत्पादन गर्न एक वा दुई फल प्रति झुप्पा प्राविधिक हिसाबले राम्रो मानिन्छ ।
Q 30. स्याउको राम्रो उत्पादन लिनलाई फल र पातका अनुपात के हुनु पर्छ?

उच्च गुणस्तरीय फल उत्पादन गर्न साधारणतया २० देखि ४० पात प्रति फलको लागी सिफारिस गरिएको छ ।
Q 31. स्याउको फल झर्न रोक्न के गर्नु पर्छ?

स्याउको फल झर्न रोकनका लागी २,४-D (Dichloraprop) ५ एम.एल. प्रति लिटर पानीमा मिलाएर फल झर्ने समय भन्दा २० देखि २५ दिन अगाडी छरेमा पुर्ण रुपले झर्न रोक्न सकिन्छ ।
Q 32. स्याउमा परागसेचनको लागी कति जग्गाको लागी कति मौरीघार राख्नु पर्छ?

राम्रो परागसेचनको लागी किराहरुको क्रियाकलाप धेरै हुनु पर्दछ । यसैले १ हेक्टर बगैचाको लागी ६ देखि ८ वटा मौरीघार राखेको हुनु पर्दछ । मौरी द्वारा परागसेचन हुनको लागी २१ देखि २६ डिग्री सेल्सीयस तापक्रमको आवश्यकता पर्दछ ।
Q 33. स्याउको फल कहिले टिप्नु राम्रो हुन्छ?

स्याउको फल पाकनासाथ टिप्नु पर्दछ ।
Q 34. स्याउको फल के कति दिनमा तयार हुन्छ?

स्याउको फल पुर्ण फूल फुलेको दिन देखि गन्ती गरेर निर्क्योल गर्न सकिन्छ । जस्तै रेड डिलिसियस ११३ दिन देखि १३९ दिनमा पाक्दछ भने गोल्डेन डिलिसियस १४८ दिन देखि १५४ दिनमा पाक्दछ । रोयल डिलिसियस ११५ देखि १२०, ग्रेनी स्मीथ १७६ देखि १८२ दिनमा पाक्दछ ।
Q 35. उत्पादित स्याउको भण्डारण कसरी गर्ने?

स्याउ फललाई काठ वा बांसवाट निर्मित प्याक, प्लास्टीक क्रेट वा काठको (३०x३०x४५ से.मी.) बाक्साहरुमा भण्डारण गर्न सकिन्छ । भण्डारणको तापक्रम ७ देखि ९० से.ग्रे. र आद्रता ८५ देखि ९० प्रतिशत भयो भने भण्डारणमा स्याउफलको आयु बड्दछ ।
Q 36. स्याउमा लाग्ने किराहरु के के छन्?

स्याउमा लाग्ने किराहरु भूवादार लाही, गवारो, कतले किरा, पाल बनाउने लाभे्र र रातो सुलसुले मूखय हुन .
Q 37. स्याउमा लाग्ने किराहरु नियन्त्रण गर्न के गर्ने?

स्याउमा लाग्ने किराहरु नियन्त्रण गर्न जाडो याममा कार्बोफयूरान बोटको उमेर अनुसार १० देखि ३० ग्राम प्रति बोटको हिसाबले फेदको वरिपरी माटो मुनि पर्ने गरि प्रयोग गरि सिचाई गरि दिने, किरा लागेको नर्सरी बोटहरुलाई इमिलाकोलपीट ०.५ मि.लि.प्रति लिटर पानीको मिश्रणले उपचार गर्ने र परजिबी किरा एफिलिनस मालीको चैत्र बैसाख तिर प्रयोग गर्ने.
Q 38. स्याउमा लाग्ने रोगहरु के के हुन?

स्याउमा लाग्ने रोगहरु क्राउन गल, दाद, धुले ढुसीरखराने, गुलाबी रोग र बोक्रा खुईलिने मुख्य रोगहरु हुन .
Q 39. स्याउमा लाग्ने रोगहरुको नियन्त्रण गर्ने उपाय के के हुन?

स्याउमा लाग्ने रोगहरुको नियन्त्रण गर्न रोग थाहा भएको क्षेत्रमा स्याउको बिरुवा नलगाउने, रोग देखा परेका बिरुवाहरुलाई नष्ट गर्ने, बगैंचामा काम गर्दा सकभर बिरुवामा घाउ, चोट नलाग्ने गरि काम गर्ने, रोग नलागेको क्षेत्रमा मात्र नर्सरी तैयार गर्ने, बिरुवा लगाइएको ठांउमा पानी जम्न नदिने, बगैचा सफा राख्ने र मेन्कोजेब ७५ प्रतिशत डब्लु पि २ ग्राम प्रति लिटर पानीमा घोलेर कोपिलाको झुपाहरु हरियो बनेका अवस्थामा, फूल फुल्न अगाडी र फूलको पातहरु झरे पछी फलको चिचिल्लो अवस्थासम्म १० देखि ११ दिनको फरकमा छर्ने।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

परिचय तथा स्याउ खेतिको महत्व :   स्याउ एक महत्वपूर्ण फलफुल हो । स्याउको पौस्टिक महत्व, आर्थीक महत्व, तथा वातावरणिय महत्व रहेको छ ।

मुख्य सिफारिस जातहरु :  बढी चिसो आवश्यक पर्ने जातहरु (२०००-३००० मिटर सम्म उचाईमा उपयुक्त) जस्तै रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेण्टस, जोनाथन, फुजी आदी । मध्यम चिसो आवस्यक पर्ने जातहरु (१५००-२००० मिटर सम्म उचाईमा उपयुक्त) जस्तै कृस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन आदी । कम चिसो आवश्यक पर्ने जातहरु (१२००-१५०० मिटर सम्म उपयुक्त) जस्तै अन्ना भोरिड, ट्रपिकल ब्युटी आदी ।

सुहाँउदो हावापानी :   तापक्रम र चिस्यान: १०००-१५०० घन्टा सम्म ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम । जहाँ असिना र फुल फुल्ने तुसारो नपर्ने र वार्षिक वर्षा: २००-२५० मिलिमिटर उपयुक्त हुन्छ ।

सुहाउँदो माटो :   स्याउ खेतिका लागी मलिलो, पानीको राम्रो निकास भएको र माटोमा हावाको सन्चार राम्रो भएको दोमट वा बलौटे माटो पि एच मान ५.५- ६.५ उपयुक्त हुन्छ ।

स्याउको बिरुवा प्रसारण :   स्याउको बेर्ना उत्पादन गर्नका लागी बेन्च ग्राफ्टिङ, ईन्सितु ग्राफ्टिङ विधी अपनाउने गरिन्छ । स्याउको बेर्ना उत्पादनका लागी अपनाईएको सबैभन्दा प्रचलित र सफल विधी टङ ग्राफ्टिङ हो । तयार भएको विउ विरुवामा टङ ग्राफ्टिङ विधिद्वारा माघ फागुन महिनामा कलमी गर्ने प्रचलन छ ।


स्याउ बगैँचा स्थापना :
जग्गाको छनौट :   स्याउ खेतिका लागि सकेसम्म दक्षिण मोहडा भएको पारिलो जग्गा उपयुक्त मानिन्छ ।
जग्गाको तयारी र बगैचाको रेखांकन :   बगैँचा स्थापना गरिने जमिनमा अनावश्यक बोट बिरुवा, झाडी, बुट्यान आदि भएमा हटाउनु पर्दछ ।
बिरुवा रोप्ने दुरि :   स्याउको बिरुवा सामान्यतया ६ मिटरको दुरिमा रोप्ने गरिन्छ ।
खाडल खन्ने र पुर्ने :   स्याउको बिरुवा रोप्नको लागि बिरुवा रोप्नुभन्दा एक दुई महिना अगाडि अर्थात् अश्विन कार्तिक महिनामा खाडल खन्नु पर्दछ । १ वर्ग मिटरको खाडल खन्नु पर्छ । खाडल खन्ने र पुर्ने कार्य तल चित्रमा देखाए बमोजिम गर्नु पर्दछ ।
बिरुवा रोप्ने समय र तरिका :   बगैचामा विरुवा रोप्न पौष महिनाको सुरुदेखी माघ महिनाको अन्त्यसम्मको समय सबैभन्दा उपयुुक्त मानिन्छ । कलमी बिरुवाको उमेर करिब दुई बर्ष र उचाई २-२.५ फिट सम्मको उपयुक्त हुन्छ ।
एकीकृत बगैंचा ब्यबस्थापन :   बगैँचा ब्यबस्थापनमा देहायका विषयहरुमा ध्यान पुर्याउन जरुरी छ।
एकीकृत सिंचाइ ब्यबस्थापन :   स्याउको बिरुवामा विशेष गरि पालुवा आउने, फुल फुल्ने तथा फल लाग्ने समयमा बोट बिरुवालाई सिंचाइको आवश्यकता पर्दछ ।
बगैचामा एकीकृत माटो ब्यबस्थापन : स्याउ बगैंचामा माटोको ब्यबस्थापनका लागि विभिन्न तरिकाहरु, जस्तै घाँस रहित बगैंचा, घाँससहित बगैंचा, हरियो मल, अन्तरवाली, मल्चिङ आदि प्रयोग गर्ने गरिन्छ ।

एकीकृत मलखाद ब्यब्स्थापन :

– बोटको उमेर १-४ बर्ष हुदा ( गोबर वा कम्पोस्ट मल १०-४० केजि/ बोट ), (नाइट्रोजन १००-२०० ग्राम/बोट ), (फस्फोरस ५०-१०० ग्राम/बोट ) र  (पोटास २०-४० ग्राम/बोट )

– बोटको उमेर ५-९ बर्ष हुदा ( गोबर वा कम्पोस्ट मल ४०-९० केजि/ बोट ), (नाइट्रोजन २००-४०० ग्राम/बोट ), (फस्फोरस १००-२००  ग्राम/बोट ) र (पोटास ४०-८० ग्राम/बोट )
– बोटको उमेर १० र सो भन्दा बढि बर्ष हुदा ( गोबर वा कम्पोस्ट मल १०० केजि/ बोट ), (नाइट्रोजन ४०० ग्राम/बोट ), (फस्फोरस २००  ग्राम/बोट ) र (पोटास ८० ग्राम/बोट )

बोटको तालिम तथा काँटछाँट :   स्याउको बोटलाई केन्द्रीय नेता प्रणाली, सुधारिएको केन्द्रीय नेता प्रणाली र खुल्ला केन्द्र प्रणाली मार्फत्  तालिम दिन सकिन्छ तर ब्यबहारिक रुपमा नेपालमा हाल दुई प्रकारले तालिम गर्ने गर्व्को पाईन्छ ।
फल छाँट्ने :   स्याउ बोटमा फुलबाट चिचिला लागेको ७-१० दिन पछाडि एन.ए.ए. १० देखि १५ पि.पि.एम. छरेमा फल छाँट्ने काममा प्रभावकारी भएको पाईएको छ ।
एकिकृत रोग तथा किराको ब्यबस्थापन:
मुख्य किराहरु र तीनको ब्यबस्थापन
सेतो भुवादार लाही किरा ब्यबस्थापन :
– बेर्ना उत्पादना गर्दा Maling Metrron (MM) series वा Malus prunifolia जातका किरा अवरोधक रुटस्टक हरु प्रयोग गर्नुपर्दछ ।
– यस किराको प्राकृतिक शत्रु Aphinus mali नामक पर जिवी छाडी दिँदा लाही किरालाई खाई दिन्छ ।
– रोगर वा मालाथियन जस्ता विषादी १ देखी १.५ मिली प्रती लिटर पानीमा मिसाइ सबै ठाँउमा पर्ने गरी फल्गुण- चैत्र महिना तिर १५-१५ दिनको फरकमा २-३ पटक छर्कदा यस किराको नियन्त्रण हुन्छ ।


स्याउमा लाग्ने कत्ले किरा :
रोकथाम /ब्यबस्थापन 

– किरा लागेका र सुकेका हाँगाहरु हटाउनु पर्दछ र किराको प्रकोप भएका ठाउँका बिरुवाहरु अन्यत्र नयाँ ठाउँमा नलैजाने ।
– यश किराको ब्यब्स्थापन गर्न बिरुवामा छर्ने खनिज तेल जस्तै ATSO Machine Oil, Mineral Oils वा Servo Oil १५ देखि २० मि.लि. प्रती लिटर पानीमा वा किनावर गोल्ड खनिज तेल २० देखि ३० मि.लि. प्रती लिटर पानीमा मिसाएर बोटको सबै भागमा भिज्ने गरेर पौष-माघ महिना तिर १५-१५ दिनको फरकमा २ पटक छर्नु पर्दछ ।
मुख्य रोगहरु र ब्यब्स्थापन
क. सेतो धुले ढुसी रोग :
ब्यब्स्थापन

– हिउँदमा काटछाँट गरेका हाँगा र झरेका पातहरु संकलन गरि डढाउनु पर्दछ र नर्सरिका बिरुवामा पालुवा आउने समयमा रोगको लक्षण देखा पर्ने भएकोले २ ग्राम केरेथेन प्रतिलिटर पानीमा मिसाएर १० दिनको फरकमा छर्ने गर्नु पर्दछ ।
– फुलफुलेपछी रोगको लक्षण देखापरेमा तत्कालै लाइम सल्फर २-३ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्कनु पर्दछ ।
ख. बोका खुईलिने रोग :
ब्यब्स्थापन

– रोगले बढी असर पारेका हाँगाहरु काटेर हटाई जलाउनु  पर्दछ र रोग लागेको ठाउँमा चक्कुले हल्का सँग खुर्केर बोर्डोपेष्ट लगाउनु पर्दछ ।
– बगैंचामा काटछाँट गरेपछी १ प्रतिशत बोर्डोमिश्रण छर्नुपर्दछ ।

उत्पादन:
 राम्रो व्यवस्थापन गरेमा एक बोटबाट ३० देखि ९० के.जि. सम्म फल उत्पादन लिन सकिन्छ ।

पोष्ट-हार्भेष्ट ब्यब्स्थापन :   बजारमुखी उत्पादनका लागि पोष्ट-हार्भेष्ट ब्यब्स्थापन बढी महत्वपुर्ण हुन्छ । पोष्ट-हार्भेष्ट क्षतिका विभिन्न कारक तत्वहरुलाई मध्यनजर गरेर स्याउ टिपेदेखी बजार पुर्याउन्जेलका क्रियाकलापहरु जस्तै फल टिप्ने, चिसो पार्ने, सफा गर्ने, छाँट्ने, ग्रेडिङ गर्ने, प्याकिङ गर्ने , ओसारपसार गर्ने , ढुवानी गर्ने र भणडारण गर्ने कार्यहरू सावधानिक पुर्वक गर्नु पर्दछ ।
ग्रेडिङ : फलफुललाई साईज, आकार, रङ्ग र तौलका आधारमा छुट्याएर राख्नु वा वर्गिकरण गर्नुलाई नै ग्रेडिङ भन्निछ । फलफूल बिकास निर्देशनालय, किर्तिपुर, काठमान्डौले स्याउको लागि गरेको साईज वर्गीकरण मापदन्ड निम्नानुसार उल्लेख गरिएको छ :-
ग्रेड                   फलको नाप ब्यास (मि.मि.)
‘ए’ ग्रेड               ७५ वा सो भन्दा बढी
‘बि’ ग्रेड              ६५-७४
‘सि’ ग्रेड              ६०-६४
‘डि’ ग्रेड               ५९ भन्दा सानो

लागत लाभ विश्लेषण :   फल्ने अबस्थाका स्याउका बोटहरुको पाँच देखि दस बर्ष सम्मको साधारणतया प्रती रोपनी खर्च, उत्पादन र आम्दानीको गणना गरे अनुसार पाँछ देखि दस बर्षसम्म प्रती रोपनी १५ बोट लगाईएका स्याउ बगैचाबाट खुद नाफा क्रमश: रु.५३५६, रु. ९६६७, रु. १७००४, रु. २७९७८, रु. ३९८७४ र रु. ५४७०२ हुन सक्ने देखिन्छ ।

स्याउ बगैंचा ब्यबस्थापनको मासिक कार्य विवरण

श्रावण :

– स्याउमा लाग्ने गुलावी रोगको ब्यबस्थापन गर्न १% को बोर्डो मिश्रण तयार गरि स्प्रे गर्ने र बोटको फेदमा बोर्डो पेष्ट/चौबटिया पेन्ट दल्ने र बोक्रा खुईलिने रोग बोट /हाँगामा देखियो भने तुरुन्त बोर्डो पेष्ट वा चौबटिया पेन्ट बनाई रोग लागेको भागमा लगाउने ।
– धुले ढुसी/खराने रोग देखा परेमा केराथेन १-२ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।

भाद्र :
– बगैचा सरसफाइ गर्ने, स्याउको गुलाबी रोगको रोकथामको लागि बोटको फेदमा बोर्डो पेन्ट / चौबटिया पेन्ट दल्ने ।
– स्याउमा लाग्ने पाउडरी मिल्ड्यु रोग रोकथाम गर्न १% को बोर्डो मिश्रण वा ब्लाईटक्स – ५० बिषादी २-३ ग्राम प्रती लिटर  पानीमा मिसाएर स्प्रे गर्ने ।

आश्विन :
– स्याउको फेद कुहिने रोगबाट ग्रसित भागलाई सफा चक्कुले हटाई बोर्डो पेष्ट लगाउने तथा जरा कुहिने रोगको लागि १% को बोर्डो मिश्रण तयार गरि फेद नजिक माटो भित्र पस्ने गरि खन्याउने ।

– रोग ग्रस्थ स्याउको हाँगा, पात, बोक्रा आदी बटुलेर जलाई दिने ।

कार्तिक : 
– बगैचा सरसफाई गर्ने र हल्का खानजोत गर्ने ।
– बोट बिरुवालाई मल्चिङ गर्ने र नयाँ बगैंचा स्थापनाको लागी रेखाङ्कन गर्ने, खाडल खन्ने ।

मंसिर:
– झरेका पातहरुलाई बटुली जलाईदिने वा मल बनाउन खाडल मा हाल्ने ।
– माटोमा चिस्यानको कमी भएमा सिंचाई गर्ने र कम्पोष्ट तथा रासायानिक मलको ब्यब्स्था मिलाउने ।
– नयाँ बगैंचा स्थापनको लागी रेखाङ्कन गर्ने, खाडल खन्ने र पुर्ने ।

पौष :
– नयाँ बगैंचा स्थापनाको लागी खाडल पुर्ने र बिरुवा रोप्न शुरु गर्ने ।
– पुरानो बिरुवा मरेको ठाउँमा नयाँ बिरुवा लगाउने र बोट बिरुवको काटछाँट शुरु गर्ने ।
– काटछाँट गर्ने समयमै बोर्डो पेष्ट बनाएर काटेको भागमा र फेदमा लगाउने र बोट बिरुवा गोडमेल गरी कम्पोष्ट मलका साथै सिफारिस गरिएका रासायानिक मलको २/३ भाग प्र योग गरी हल्का सिंचाई गर्ने ।

माघ :
– पौष महिनामा गर्नु पर्ने अन्य कृयाकलापहरु नगरेको भए यस महिनामा पुरा गर्ने ।
– स्याउको कत्ले किरा नियन्त्रण गर्न Servo Oil वा ATSO Oil २० एम एल र मेटासिस्टक्स १ एम एल प्रती लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

फाल्गुण :
– बगैंचामा सिंचाईको प्रबन्ध मिलाउने र सिंचाई गर्ने ।

चैत्र :
– बोट बिरुवामा आएका सकरहरु, चोर हाँगाहरु तथा सुकेका हाँगाहरु हटाउने ।
– बगैंचामा सिंचाईको ब्यब्स्था मिलाउने र सिन्चाईको ब्यब्स्था हुन नसक्ने ठाउँमा मल्चिङ गर्ने ।
– नयाँ पालुवा आउन साथ पाल बनाउने किरा रोकथाम गर्ने थायोडान झोल विषादी १ एम.एल. प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

बैशाख :
– सकरहरु, चोर हाँगाहरु तथा सुकेका हाँगाहरु हटाउने ।
– बगैंचा सरसफाई गर्ने र स्याउको पहिलो बर्षको बिरुवालाई तालिम दिने ।

जेष्ठ :
– रातो सुलसुले किरा नियन्त्रण गर्न मालाथियन १-२ एम.एल. प्रती लिटर पानी हाली छर्ने ।
– बोर्डो मिश्रणको घोल बनाएर प्रत्यक स्याउको बोटको फेदमा प्रती बोटको साईज हेरेर ५ देखी १५ लिटर मिश्रणले भिज्ने गरी हाल्ने ।

अषाढ :
– बगैंचा सरसफाई गर्ने र कम्पोष्ट मलको लागी खाडल ख न्ने ।
– स्याउमा गुलाबी रोग रोकथाम गर्न १०% को बोर्डो पेष्ट/बोर्डो पेन्ट/चौबटिया पेन्ट मध्य एक प्रयोग गर्ने ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Show More Posts