Month: December 2017

Q 1. आरुबखडा(PLUM)लाई कस्तो हावापानी उपयुक्त हुन्छ?

आरुबखडाको लागि हिउँदमा आर्द्र चिसो तथा वर्षातमा ठीक्क खालको गरम हावापानीको जरुरत हुन्छ। धेरै चिसो रुचाउने यूरोपियन जातहरुलाई १००० घण्टा भन्दा बढी चिसोको आवश्यकता पर्दछ भने कम चिसो रुचाउनेजापनीज जातहरुलाई ४०० घण्टा भन्दा कम ठण्डा/चिसो भएपनि पुग्दछ।
Q 2. यसको खेती समुद्र सतहबाट कति उचाईसम्म राम्रो हुन्छ ?

यसको खेती समुद्र सतहबाट ९५०-१८०० मिटर सम्मको उचाईमा राम्रो मानिन्छ तर यस भन्दा बढी वा घटी उचाईमा पनि यसको खेती घरायसी प्रयोजनको लागि गरेको पाईन्छ।
Q 3. वार्षिक वर्षा कतिसम्म भएमा राम्रो हुन्छ?

यसको लागि वार्षिक वर्षा ६०० मि.मि.उपयुक्त मानिन्छ तर यसभन्दा बढी वा घटी वार्षिक वर्षा हुने ठाउँमा पनि सिंचाईको प्रबन्ध गरी खेती गरेन सकिन्छ।
Q 4. यसको लागि कस्तो खालको माटो उपयुक्त हुन्छ ?

यसको खेती सबै किसिमको माटो खासगरी बलौटे दोमट देखि चिम्ट्याइलो सम्म पनि राम्रो हुन्छ तर पानीको निकास भने राम्रो हुनु पर्दछ।
Q 5. माटोको अम्लियपना र क्षारियपना कस्तो भएको राम्रो हुन्छ?

आरुबखडा खेतीको लागि ५.५ देखि ६.५सम्मको पि.एच. मान भएको माटोराम्रो मानिन्छ। क्षारीय भन्दा अम्लियपन बढी भएको माटोमा खेती फस्टाउँछ।
Q 6. आरुबखडाको बिरुवा कसरी लगाउन उपयुक्त हुन्छ ?

पहाडी भिरालो जमिनमा बिरुवा लगाइने हुँदा गह्रा-कान्ला/कन्टुर तरिकाले रेखाङ्कन गरी बगैंचालगाउन उपयुक्त हुन्छ।
Q 7. आरुबखडाका बिरुवा कति दुरीमा लगाउन उचित होला?

यसका बिरुवाहरु५X५ मिटरको दुरी कायम गरी बिरुवा लगाउँदा बगैंचा व्यवस्थापन गर्न सजिलो हुन्छ।
Q 8. यसको बगैंचा स्थापना गर्दा रेखाङ्कन गर्न जरुरी हुन्छ ?

आरुबखडा विस्तारै हुर्किने र लामो अवधिसम्म बिरुवाले फल दिईरहने हुँदा बगैंचा लगाउनु अगाडी राम्ररी रेखाङ्कन गरी लगाउनु उपयुक्त हुन्छ।
Q 9. बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्ला?

अन्य शीतोष्ण फलफूल जस्तै आरुबखडाको बिरुवा सार्नका लागि पनि १ घनमिटरको खाड्ल तयार गर्नु पर्दछ।


Q 10. बिरुवा रोप्दा बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्डको किन आवश्यक पर्दछ ?

बिरुवा लगाउने ठाउँ रेखाङ्कन गरी सकेपछि खाड्ल खन्ने समयमा र बिरुवा रोप्ने समयमा बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्डको नितान्त जरुरी हुन्छ किनकी यसैको माध्यमबाट बिरुवाहरु समदूरीमा रोप्न सकिन्छ।
Q 11. आरुबखडाका बिरुवाहरु कुन मौसममा रोपिन्छ ?

आरुका बिरुवाहरु पतझड किसिमका भएको हुनाले हिउँद मौसम विशेषतः पुष-माघ महिनामा रोपिन्छ।
Q 12. आरुबखडाको बगैंचामा सिंचाई गर्न जरुरी छ ?

आरुबखडाका बिरुवा रोपेको ६-७ महिना सम्म बिरुवामा चिस्यान कायम राख्नु पर्दछ।बिरुवा ठूला भैसकेपछि पालुवा आउने बेलामा, फल लाग्ने बेलामा र वृद्धि हुने बेलfमा विशेषतः सुख्खा परेको समयमा सिंचाईमा विशेष ध्यान दिनु पर्दछ।
Q 13. आरुबखडामा मलखादको व्यवस्था कसरी गर्नु पर्दछ ?

आरुबखडाको बोटलाई मलखाद दिँदा उमेर अनुसार सिफारिश गरिएको छ तर यहाँ नफलेको दुई वर्षको बिरुवालाई २५ के.जी. कम्पोष्ट मल, १०० ग्राम नाईट्रोजन, ५० ग्राम फोस्फोरस र ३० ग्राम पोटास सिफारिश गरिएको छ भने फलेको ६ वर्षदेखिका बोटलाई ५० के.जी. कम्पोष्ट मल, ३०० ग्राम नाईट्रोजन,१५० ग्राम फोस्फोरस र ९० ग्राम पोटास प्रत्येक वर्ष दिनु पर्दछ।
Q 14. नेपालमा आरुबखडाका प्रचलित जातहरु कुन कुन हुन् ?

नेपालमा आरुबखडाकाप्रचलित जातहरुग्रीनगेज,अर्ली ट्रान्सपारेन्ट गेज, स्टान्ले,मिथेली, मेरी पोसा,केल्सी, सान्तारोजा,सत्सुमा, फरमोसा आदि हुन्।
Q 15. आरुबखडाका सबैभन्दा छिटो पाक्ने जातहरु कुन कुन हुन् ?

सबैभन्दा छिटो पाक्ने जातहरुमा ग्रीनगेज,मिथेली र फरमोसा हुन्।
Q 16. आरुबखडाका मध्य मौसममा पाक्ने जातहरु कुन कुन हुन्?

आरुबखडाका मध्य मौसममा पाक्ने जातहरुमा सत्सुमा,मेरी पोसा र केल्सीपर्दछन्।
Q 17. आरुबखडाका सबैभन्दा ढिलो पाक्ने खालका जात पनि कुनै छन् कि?

यसको सबैभन्दा ढिलो पाक्ने जात एकमात्र सान्तारोजा हो।
Q 18. आरुबखडाको बगैंचामा झारपात हटाउन र मल्चिङ्ग गर्न कतिको जरुरी छ?

आरुबखडाको बगैंचालाई सफा सुग्घर राख्न र बेसिन वरिपरि छापो/मल्चिङ्ग गरी चिस्यान कायम राख्न र झारपात पलाउन नदिन गोडमेल र मल्चिङ्ग आवश्यक हुन्छ किनकी सबै ठाउँमा सिंचाई सुविधा पुर्‍याउन गाह्रो हुन्छ।
Q 19. आरुबखडाको बोटलाई तालिम र काँटछाँटको आवश्यकता पर्दछ?

आरुबखडाको बोटलाई पनि आरुको बोट जस्तै गरी बिरुवा रोपेको पहिलो वर्ष देखि लगातार ४ वर्षसम्म बिरुवाको आकार प्रकार मिलाउन तालिम गरिन्छ भने त्यसपछि आवश्यकता अनुसार बोटको काँटछाँट गर्नु पर्दछ।यसमा पनि यूरोपियन जातका आरुबखडालाई जापनीज जातहरुको तुलनामा हल्का काँटछाँटको जरुरत पर्दछ।
Q 20. आरुबखडामा बिरुवा प्रसारणको विधि कुन हो?

आरुबखडाका बिरुवाहरु पनि आरुजस्तै टङ्ग ग्राफ्टिङ्ग विधिबाट प्रसारण गरिन्छ। यसको बिरुवा कलमी गर्न रुटस्टकको रुपमा जङ्गली आरुबखडा प्रयोग गरिन्छ तर क्लोनल रुटस्टकहरु माइरोबलान र मारियाना २६२४ पनि रुटस्टकको रुपमा प्रयोग गरिँदै आएको छ। कुनै कुनै अवस्थामा जङ्गली आरुलाई पनि आरुबखडाका बिरुवा कलमी गर्नका लागि रुटस्टकको रुपमा प्रयोग गरेको पाईन्छ।


Q 21. आरुबखडाको बगैंचामा अन्तरबाली लगाउन सकिन्छ ?

आरुबखडालाई स्याउ, नास्पाती र ओखर बगैंचा भित्र अन्तरबालीको रुपमा प्रयोग गर्न सकिन्छ। र यसलाई मुख्य बालीको रुपमा लगाउँदा बिरुवाले पूर्ण आकार नलिएसम्म दलहन बाली सिमी,केराउ,मास,भटमास जस्ता बालीहरु अन्तरबालीको रुपमा लगाउनु बगैंचाको लागि पनि फाइदाजनक हुन्छ।
Q 22. आरुबखडाको फल छाँट्नु कतिको जरुरी हुन्छ?

बजारमा राम्रो मूल्य पाउनका लागि ठूला साईजका फल बिक्री वितरण गर्ने हो भने आरुबखडाको फल छाट्ने काम अनिवार्य रुपमा गर्नु पर्दछ। फल छाट्दा विशेषतः हातले वा रसायनिक विधिबाट पनि फललाई छाँट्न सकिन्छ।यदि रासायनिक विधि अपनाउने हो भने ईथेफोन २०-२०० पि.पि.एम. को स्प्रे गर्नु पर्दछ। फल छाट्दा आरुमा जस्तै पात र फलको अनुपात ३०:१ हुनु पर्दछ।
Q 23. आरुबखडामा लाग्ने लाही कीराले कसरी आक्रमण गर्दछ र यसको नियन्त्रण कसरी गर्न सकिन्छ?

लाही कीराले बिरुवाको कलिला मूना, पात तथा फलहरुमा समेत आक्रमण गर्दछ र बिरुवा तथा फलको वृद्धि विकासमा अवरोध पुर्‍याई दिन्छ। यसको नियन्त्रणका लागि डायजिनन् ०.०३ प्रतिशत १५ दिनको अन्तरालमा २-३ पटक स्प्रे गर्दा नियन्त्रण गर्न सकिन्छ।
Q 24. आरुबखडामा गुँद निस्कने रोग कसरी फैलिन्छ र यसको नियन्त्रण विधि के अपनाउनु पर्दछ?

यो शाकाणु/ब्याक्टेरियाबाट उत्पन्न हुने रोग हो। यसले आक्रमण गरेको भागबाट गुँद निस्किएको हुन्छ। यसको आक्रमण बसन्त ऋतुको शुरुतिर जब चिसो र आर्द्र मौसम बढी समय रहन्छ त्यस्तो बेलामा बढी हुन्छ। यसको नियन्त्रणका लागि डाईहाइड्रो स्ट्रेप्टोमाईसिन प्रयोग गर्नु पर्दछ।
Q 25. आरुबखडामा जरा कुहिने रोग कसरी लाग्दछ र यसको नियन्त्रणको व्यवस्था कसरी मिलाउनु पर्दछ?

यो ढुसीको कारणले उत्पन्न हुन्छ। विशेषतः पानीको निकास राम्रो नभएको र चिम्ट्याईलो माटोमा पानी जम्ने अवस्था आयो भने रोगको सम्भावना बढद्छ। यसको आक्रमणलेबिरुवाको काण्डमा बोक्रा कुहाई दिन्छ र बिरुवा मर्न सक्दछ। यसबाट बच्नको लागि पानीको निकासलाई नै व्यवस्थित तुल्याउनु पर्दछ।
Q 26. आरुबखडाको फल टिप्नको लागि कहिले तयार हुन्छ?

आरुबखडाका कलमी बिरुवाहरु पनि आरुको जस्तै तीन वर्ष देखिनै फल्न शुरु गर्दछन्। यसका फलहरुहरियोबाट हल्का रातो वा गाढा रातो भएपछि टिप्नलायक हुन्छन्।
Q 27. आरुबखडाको बोटबाट फल कसरी सुरक्षित तरिकाले टिप्न सकिन्छ ?

आरुबखडाको फल टिप्दा फललाई हातले मर्काएर/बटारेर टिपिन्छ।

Q 28. आरुबखडा फलको उत्पादन कतिसम्म हुन्छ ?

यसको उत्पादन प्रति बोट ३५ देखि ५० के.जी. सम्म हुन्छ।
Q 29. आरुबखडाको फललाईकति दिनसम्म भण्डारण गरेर राख्न सकिन्छ?

आरुबखडाको फललाई ०-१ डिग्री सेल्सियस तापक्रम र ८५-९० प्रतिशत आर्द्रतामा दुई तीन हप्तासम्म भण्डारणगरेर राख्न सकिन्छ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Q 1. नास्पाती (Pyrus pyrifolia/ Pear)कस्तो किसिमको हावापानीमा फस्टाउने फलफूल वाली हो ?

यो एक समशितोष्ण पतझड फलफूल हो । यसका खेती चिसो आद्र कम भएको ठाउँहरुमा बढी फस्टाउछ गुणस्तरीय फल उत्पादन हुन्छ ।
Q 2. यसले कस्तो तापक्रम रुचाउछ ?

नास्पाती खेती २२–२६० से. तापक्रम भएको ठाउँमा सबभन्दा राम्रो हुन्छ तर यस भन्दा बढी वा घटि भएका स्थानहरुमा पनि उत्पादन भने हुन्छ । नास्पातीले तुसारो सहन गर्न सक्दैन ।
Q 3. समुद्र सतहबाट कति उचाईसम्मको जमीनमा यसको खेती गर्न सकिन्छ ?

नास्पातीका थुपै्र जातहरु पाइन्छन् । कुनै जातहरु अलिक होचो स्थानमा रुचाउछन् भने कुनै अग्लो ठाउमा फस्टाउदछन् । फरपिङ्ग नास्पाती १०००–१७०० मीटरसम्म ब्यवसायिक खेती गर्न सकिन्छ भने जापानिज जातका नास्पाती १४०० मीटर माथि सफल हुन्छन् ।
Q 4. यसको लागि कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?

नास्पाती खेती गर्न जस्तोसुकै माटो उपयुक्त हुन्छ तर प्राङ्गारिक पदार्थको प्रचुरता र पानीको विकास भने राम्रो हुनु पर्दछ । माटोको पि.एच. मान ५.५ देखि ६.० भएको राम्रो मानिन्छ ।

Q 5. बढी चिसो रुचाउने जातहरु कुन–कुन हुन ?

नास्पातीका बढी चिसो रुचाउने जातहरुमा वार्टलेट, हार्टी र कन्फरेन्स भन्ने जातहरु छन् ।
Q 6. मध्यम चिसोमा पनि लगाउन सकिने जातहरु कुन कुन होलात ?

कोसुई, होसुई, चोजुरो, निईताका, सिन्को, आतागो, किकुसुई आदि जापानीज जातहरु हुन ।
Q 7. कम चिसो मन पराउने खालका जातहरु कुन–कुन होलान ?

मध्यम खालको चिसो मन पराउने एक मात्र फर्पिङ्ग स्थानीय जात हो । ठाउँ अनुसार अन्य स्थानीय जातहरु पनि पाईन्छन् ।
Q 8. नास्पातीका बिरुवाहरु कसरी उत्पादन गरिन्छ ?

नास्पातीको बिरुवाहरु कलमी विधिबाटै तयार गरीन्छ । यसको लागि मयल वा भोटे मयलको बीउबाट बिरुवा उत्पादन गरी त्यसमा फाल्गुण महिनामा सायन जोडी बिरुवा तयार गरिन्छ ।
Q 9. यसको बिरुवा लगाउन कुन तरीकाले रेखाङ्कन गर्न उपयुक्त होला ?

विशेषत नास्पाती खेती गरिने स्थानहरु भिरालो हुने हुँदा गराकान्लाकन्टुर तरीकाले रेखाङ्कन गर्न उपयुक्त हुन्छ । अलिक समथर जमीनमा षडकोणाकार तरीकाले बिरुवा लगाउन सकिन्छ ।
Q 10. नास्पातीका बिरुवाहरु कति दुरी कायम गरी रोप्नु पर्ला ?

जापानजीज जातका बिरुवाहरु ४X४ मीटर दुरीमा लगाईन्छ भने स्थानीय फरपिङ्ग जातलाई भने कम्तीमा पनि ६X६ मीटरको दुरी कायम गर्नु पर्दछ ।
Q 11. बिरुवा रोप्नको लागि कति गहिराईको खाडल खन्न जरुरी हुन्छ ?

बगैंचा लगाउने स्थान मट्याईलो भएमा १ घन मीटर भन्दा कमको खाडल खन्दा पनि हुन्छ तर ढुङ्गयाइलो माटोमा भने कम्तीमा १ घन मीटर वरावरको खाडल खन्नै पर्ने हुन्छ । यसरी खनेको खाडलमा कम्पोष्ट मल र माटो १:३ को अनुपात मिलाई पुर्नु पर्दछ ।
Q 12. नास्पातीका कस्ता खालका बिरुवा कुन महिनामा सार्नु पर्ला ?

करीब ३ फीट उचाईका स्वस्थ्य बिरुवाहरु पौष–माघ महिनामा पहिले खनि राखेको खाडलमा सार्दा भने संख्या नीकै न्यून हुन आउछ ।
Q 13. नास्पातीका बिरुवाहरु रोपि सकेपछि छापो दिन जरुरी हुन्छ ?

निश्चयनै, कलिलो बिरुवालाई सुख्खाबाट बचाउन र झारपातहरु छिटो नपलाओस भन्न सुकेका झारपात पराल आदिले बोटको वरीपरी छापो हाली दिनु पर्दछ ।


Q 14. नास्पातीको बगैंचामा अन्तरवाली लगाउन सकिन्छ ?

नास्पाती अग्लो र फैलिने खालको फलफूल हो तर यसको पूर्ण विकास हुन करीब ८–१० वर्ष लाग्दछ । यस अवधिमा केही आरुवखडा, अदुवा, वेसार, आलु र दाल वालीहरु सिमी, केराउ, मास, भटृमास जस्ता वालीहरु बिरुवाको उमेर ८–१० वर्षको नहुन्जेल लगाउन सकिन्छ ।
Q 15. नास्पातीको बिरुवालाई मलखादको ब्यवस्था कसरी मिलाउनु पर्दछ ?

नास्पातीको बोटलाई उमेर अनुसारको अलग अलग मात्रा सिफारिस गरिएको हुन्छ । २ वर्षको नफलेको बिरुवालाई २० के.जी. कम्पोष्ट, १०० ग्राम नाईट्रोजन, ५० ग्राम फस्फोरस, १०ग्राम पोटासको आवश्यक हुन्छ भने सोही बिरुवालाई १० वर्ष पुगेपछि ६० के.जी. कम्पोष्ट, ४०० ग्राम नाईट्रोजन, २०० ग्राम फस्फोरस र ४० ग्राम पोटासको आवश्यकता पर्दछ ।
Q 16. सिफारीस मात्राका मलहरु वर्षमा कति पटक र कुन अनुपातमा दिनु फायदाजनक हुन्छ ?

रासायनिक मलहरु वर्षको ३ पटक प्रयोग गरेको पनि पाईन्छ तर ब्यवहारिक रुपले सजिलो तथा बिरुवालाई फायदा पुग्ने पहिलो पल्ट पुष, माघमा ७५% र बाँकी २५% जेष्ठ महिनातिर हाल्न उपयुक्त हुन्छ ।
Q 17. नास्पातीमा तालिम तथा काँटछाँटको कतिको महत्व हुन्छ ?

नास्पाती पतझड बिरुवा भएकोले हिउँदको महिनामा बिरुवालाई तालिम तथा काँटछाँट गर्न अनिवार्य आवश्यकता हुन्छ । तालिम तथा काँटछाँट गरीएका बिरुवाहरु ठीक आकारका आकर्षक र गुणस्तरीय र बढी उत्पादन दिने क्षमताका हुन्छन् ।
Q 18. नास्पातीमा कुन तरीकाले तालिम काँटछाँट गर्नु उचित हुन्छ ?

नास्पातीमा केन्द्रीय खुल्ला प्रणाली र मोडिफाईड सेन्ट्रल लिडर सिष्टमबाट तालिम तथा काँटछाँट गरेको पाईन्छ । शुरुका ४ वर्षसम्म बिरुवाको आकार मिलाउने तरीकाले बिरुवाको तालिम र काँटछाँट गरिन्छ भने ४ वर्षपछि ठूला बिरुवालाई फूल उत्पादनको हिसाबले काँटछाँट गर्ने गरिन्छ ।
Q 19. के नास्पातीमा पनि फल छाँट्ने कार्य गर्न जरुरी हुन्छ ?

गुणस्तरीय फल उत्पादन गर्न फल छाँट्न अनिवार्य हुन्छ । पहिलो पटक फल लागेको १ महिना पछि करीब गुच्छा आकारका हुँदा फल छाँट्नु पर्दछ । दोस्रो पटक जेष्ठको पहिलो सातातिर साना र काम नलाग्ने खालका फल छाट्नु पर्दछ । एउटा झुप्पामा १–२ वटा मात्र फल लाग्न दिनु पर्दछ ।
Q 20. नास्पातीमा कस्ता कस्ता कीराहरु लाग्दछन् ?

नास्पातीमा विशेषत कत्ले कीरा, चिप्ले कीरा, लाही, फल कुहाउने औंसा, खपटे, गवारो, थ्रिप्स, सुलसुले जस्ता कीराहरु लाग्दछन् । यिनीहरु मध्ये कत्ले, चिप्ले र फल कुहाउने औंसा कीराले बढी क्षति पुर्‍याएको हुन्छ ।
Q 21. नास्पातीमा लाग्ने कत्ले कीराले कसरी क्षति गर्दछ ?

सुषुप्तावस्थामा रहेका नास्पातिका बोटहरुमा प्रसस्त मात्रामा खरानी रंगका सेता खस्रा थोप्लाहरु कलिला मूना, पात तथा रुखको बोक्रामा बसी रस चुसी रहेका हुन्छन् । कमजोर बिरुवाहरुमा यी कीराहरुको आक्रमण बढी देखिन्छ ।
Q 22. कत्ले कीराको रोकथाम कसरी गर्न सकिन्छ ?

यी कीराहरुलाई रोकथाम गर्नको लागि सर्वप्रथमतः बगैंचालाई सफा सुग्घर राख्ने, सुषुप्तावस्थामा २% खनिज तेलको प्रयोग गर्ने र अझ राम्रो रोकथाम हुन सकेन भने सुमिसिडिन जस्ता विषादी १ एम.एल. प्रति लिटर पानीमा मिसाएर स्पे्र गर्नु पर्दछ ।


Q 23. चिप्ले कीराले नास्पातीलाई कसरी नोक्सानी पुर्या.उँदछ ?

यस कीराका लार्भाहरु चिप्ले कीरा जस्तै थलथल परेका हुन्छन् । लार्भाहरुले नास्पातीको पातमा आक्रमण गरी पातहरु खाई दिन्छन् जस्ले गर्दा बिरुवाहरु नाङ्गै देखिन्छन् । यी लार्भाहरु हरिया, पहेंला र अन्य रङ्गका पनि हुन्छन् ।
Q 24. चिप्ले कीराको रोकथाम कसरी गर्न सकिन्छ ?

बिरुवामा देखिएका लार्भा प्यूपाहरु हातले टिपेर गाडेर वा जलाएर नष्ट गर्न सकिन्छ । बढी आक्रमण भएको छ भने सुमिसिडिन नामक विषादी १ एम.एल. प्रति लिटर पानीमा अषाढको शुरु देखिनै बिरुवामा छर्नु पर्दछ ।
Q 25. फल कुहाउने औंसाले नास्पातीको फललाई कसरी नोक्सानी पुर्यायउँदछ ?

यस कीराको पोथी झिङ्गाले उसको फुल पार्ने तिखो अङ्गले फलको भित्री भागमा फुल पारिदिन्छन् । ती फूलहरुबाट केही दिनमा औंसाहरु निस्कन्छन् र फलको भित्री भाग खान थाल्दछन् फलस्वरुप फल कुहिएर झर्दछन् ।
Q 26. फल कुहाउने औंसाको कसरी रोकथाम गर्न सकिन्छ ?

जेठ महिनाको अन्ततिर प्रत्येक फललाई कागजको  थैलाले वा जालले छोप्नु पर्दछ । अगौटे जातहरुमा भन्दा पछौटे जातहरुमा बढी नोक्सानी पुर्‍याउँदछन् ।
Q 27. नास्पाती वालीमा कस्ता–कस्ता रोगहरु लाग्दछन् ?

नास्पातीमा पातमा लाग्ने थोप्ले रोग, गुलावी/पिंक रोग मुख्य हुन । यिनीहरु मध्ये थोप्ले र गुलाबी रोगले बढी नोक्सानी गर्दछ ।

Q 28. नास्पातीको पातमा लाग्ने थोप्ले रोगले कसरी नोक्सानी गर्दछ ?

पहिले पातमा साना–साना खैरा रङ्गका थोप्लाहरु आषाढ महिनाको शुरुतिर देखा पर्दछन्। यी थोप्ला भएका पातहरु छिटै झर्दछन् जस्ले गर्दा बिरुवाहरु वेमौषममा फुल्न थाल्दछन्। यो रोग फलमा भने लागेको पाईएको छैन।
Q 29. पातमा लाग्ने थोप्ले रोगको रोकथाम कसरी गर्न सकिन्छ ?

हिउदको समयमा बिरुवाको फेदमा झरेका रोगी पातहरु जम्मा गरेर जलाई दिनु पर्दछ र जेष्ठ देखि अषाढको अन्तसम्म इन्डोफिल एम–४५ नामक रोग नाशक विषादी १.५ ग्राम प्रति लिटर पानीमा घोलेर छर्नाले रोग नियन्त्रणमा आउदछ।
Q 30. गुलाबी।पिंक रोगको पहिचान कसरी हुन्छ ?

शुरुमा रोग लागेको ठाउँमा माकुराको जालो जस्तो ढूसीको जालो देखा पर्दछ। यी ढुसीहरु क्रमशः बिरुवाको हाँगामा बढ्दै जान्छन् र गुलाबी दाग देखिन्छन्। रोग फैलिदै जादा पातहरु पहेंलिन्छन् र बिरुवा ओइलाउछ। रोगी बिरुवाको बोक्रा खस्रो र चिरिएको हुन्छ।
Q 31. गुलाबी रोगको रोकथाम गर्ने उपायहरु के–के होलान ?

बोटमा गुलाबी धब्बा देखिएको भागलाई चक्कुले काटेर हटाउने र त्यष्समा बोडोपेष्ट लगाउनु पर्दछ। फूल फूल्नु अगााडी देखि वर्षातको मध्यसम्म इन्डोफिल एम–४५ नामक विषादी १.५ ग्राम/लिटर पानीमा मिसाई पटक–पटक छर्नु पर्दछ।
Q 32. नास्पातीको फल पाकेको कसरी थाहा पाउन सकिन्छ ?

नास्पातीका फलहरु परिपक्व भएपछि हरियो रङ्गबाट पहेंलो–रातो किसिमको छुटै रङ्गमा बदलिन्छ र फलमा रस चडी पोटिला देखिन्छन्। यस्तो अवस्थामा मौरी, चरा आदिले बढी आक्रमण गर्दछन्।
Q 33. नास्पातीको फललाई कसरी टिप्न उपयुक्त होला ?

काँटछाँट गरिएका जापानीज जातका नास्पातीहरु भूईबाटै टिप्न सकिन्छ तर अग्ला बोट छन् भने भ¥याङ्गको सहायता लिनु पर्ने हुन्छ । फल टिप्ने बेलामा फललाई नतानीकन फल माथि उठाएमा सजिलै टिप्न सकिन्छ । फल टिपी सकेपछि भेट्नो कैचीले काट्ने घाउ लागेको आकार नमिलेको फल हटाई राम्रा फलहरु फोम जस्ता नरम वस्तुमा राख्नु पर्दछ ।
Q 34. फलहरु प्याक गर्नु पूर्व चिस्याउन किन जरुरी हुन्छ ?

नेपालमा प्रायः फल टिपी सकेपछि चिस्याउने चलन छैन तर चिस्याउदा बाहिर खेतवारी भएको तापक्रम कम भई गुणस्तर विग्रन र तोल घट्न पाउदैन ।
Q 35. नास्पातीका फलहरु छान्न र ग्रेडिङ्ग गर्न आवश्यक छ ?

फलहरु टिपीसकेपछि फलको भेट्ना र पातहरु हटाउने रोगकीरा, चोटपटक लागेका असमान आकार भएका फलहरु हटाउनु पर्दट र राम्रा फलहरु मध्ये ए र बी समूहमा बाँडी ए समूहकालाई थोक बजारमा र बी समूहकालाई स्थानीय बजारमा विक्री गर्नु पर्दछ ।

Q 36. नास्पातीको फललाई कसरी प्याकिङ्ग गर्नु उचित होला ?

हाल पनि नास्पातीका फलहरु टोकरी, थुन्से, डोको, बोरा आदिमा प्याकिङ्ग गर्दा फललाई सुरक्षित राख्न सकिन्छ ।
Q 37. नास्पातीका फलहरु कसरी भण्डारण गर्नु पर्दछ ?

साधारण कोठाहरुमा नास्पाती राख्यौं भने ३–४ दिन भित्रै बिग्रन शुरु हुन्छ । अतः भण्डारण गर्ने कोठाको तापक्रम ६–८० से. र आर्द्रता ८०–८५% कायम गरी भण्डारण गर्दा ३०–४५ दिनसम्म भण्डारण गर्न सकिन्छ ।
Q 38. नास्पातीको उत्पादन प्रति बोट कतिसम्म लिन सकिन्छ ?

जापानीज जातका ८–१० वर्ष उमेरका प्रति बोटमा सदर २०० दानाको ८०–१०० के.जी. उत्पादन भएको रेकर्ड छ ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Q 1. लिची कस्तो हावापानीमा हुने फलफूल बाली हो ?

उष्ण प्रदेशीय फलफूलहरु मध्ये लिचीलाई विशेष प्रकारको हावापानीको जरुरत पर्दछ । यसको लागि बढी आद्र्रता भएको गरम ओसिला तर हिउदमा चिसो तर तुसारो नपर्ने खालको हावापानी भएको ठाउँहरु ब्यवसायिक खेतीको उपयुक्त हुन्छन् । राम्रोसंग फूल फुल्न फूल्नु अगाडी ठण्डा मौसमको आवश्यकता पर्दछ ।
Q 2. लिचीको बृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ?

लिचीको लागि १०० देखि ३५० से. तापक्रम ठाउँहरु उपयुक्त मानिन्छन् तर हिउदको तापक्रम १० से. भन्दा कम नहुने र गर्मीको याममा ४०० से. भन्दा बढी नहुने ठाउँमा यसको खेती सफलताका साथ गरेको पाईन्छ।
Q 3. लिचीको खेती गर्न वार्षिक वर्षा कतिसम्म हुनु आवश्यक छ ?

यसको खेतीको लागि २० देखि २३० सेन्टिमिटर वार्षिक वर्षा हुने ठाउँहरु उपयुक्त हुन्छन्। यसको सफल खेतीको लागि कुल वर्षा भन्दा पनि हिउँद र गर्मी यामको वर्षाको वितरढाले बढी प्रभाव पार्दछ।
Q 4. लिची खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?

लिची खेतीको लागि बलौट, दोमट माटोनै सवै भन्दा उपयुक्त हो तर निकासको राम्रो प्रबन्ध गर्न सके चिम्ट्याईलो र कालो माटोमा समेत खेती गर्न सकिन्छ। भूमिगत पानीको सतह कमसे कम २ मिटर हुनु पर्दछ।
Q 5. माटोको अम्लियपना र क्षारियपना कस्तो हुनु पर्दछ ?

लिचीको खेती पि.एच.५.५ को हाराहारीमा भएको सबै भन्दा उत्तम हो तर ५.००–६.०० सम्म पि.एच. भएको माटोमा ब्यवसायिक खेती गर्न सकिन्छ।
Q 6. लिचीको बिरुवा कुन तरिकाले लगाउन उपयुक्त हुन्छ ?

यसको खेती प्रायः समथर जमीनमा नै गरिने हुँदा वर्गाकार वा आयताकार वा त्रिभुजाकार तरीकाले बिरुवा लगाउन उपयुक्त हुन्छ। मध्ये पहाडी क्षेत्रको वेशी–खोंचतिर कन्टुर तरीका पनि अपनाउन सकिन्छ।
Q 7. लिचीका बिरुवा कति दूरिमा लगाउँदा उचित हुन्छ ?

लिचीको प्रायः सबै जातहरु नै उचाइ भन्दा पनि बढी फैलने किसिमका भएकोले बिरुवाको दुरी कम्तीमा १०X१० मीटर कायम गर्नु पर्दछ।
Q 8. लिचीको बगैंचा स्थापना गर्दा रेखाङ्कन गर्न किन जरुरी छ ?

लिचीका बोटहरु धेरै वर्षसम्म बाँच्ने र वर्षै पिच्छे फल दिई रहने हुँदा यसको उचित स्याहार संभार गर्न मेशिनरीहरुको पनि प्रयोग गर्न सकियोस भनी रेखाङ्कन गरी उचित तरिका अपनाई बिरुवा लगाउन जरुरी हुन्छ।
Q 9. लिचीको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्दछ ?

हावा छेक्ने रुख लगाईएको दिशातिरबाट कम्तीमा १०–१५ मीटर छोडी रेखाङ्कन गरिएका स्थानमा बिरुवा रोप्ने फल्याकको प्रयोग गरी १ घनमीटरको खाडल बिरुवा रोप्नु भन्दा १५–२० दिन अगावै खन्नु पर्दछ।
Q 10. लिचीका बिरुवा रोप्नु अगावै हावा छेक्ने बिरुवा लगाउन किन आवश्यक हुन्छ ?

लिचीको फूल फुल्ने र फल लागको लागेको समयमा हावाहुरीले फूल तथा फलहरु बढी नै झार्दछ। लिचीका हाँगाबिंगा अन्य फलफूलको भन्दा कमजोर हुने हुँदा बढी नै भाँचिन्छन्। तसर्थ, यस्तो परिस्थितीबाट बाँच्नको लागि बिजु आँप, कटहर, जामुन, युकालिप्टस, सिसौ जस्ता बिरुवाहरु हावा छेक्ने बिरुवाको रुपमा लगाउनु पर्दछ।


Q 11. लिचीको बगैंचामा सिंचाई गर्न जरुरी छ ?

लिचीको बोटले आवश्यकता अनुरुप पानी नपाएमा बिरुवाको बृद्धि रोकिने र पातहरु झर्ने हुन्छ। सुख्खा र गर्मी याममा बढी सिंचाईको जरुरी हुन्छ। सिंचाईको अभाव हुने ठाउँहरुमा फूल र फलहरु झर्ने र अडिएका फलहरु साना र पाक्ने अवस्थामा फुट्ने क्रम बढी हुन्छ।
Q 12. लिचीमा मलखादको ब्यवस्था कसरी गर्न पर्दछ ?

लिची बिरुवाको राम्रो बृद्धि र उच्च गुणस्तरको बढी फल उत्पादन गर्न सन्तुलित मात्रामा खाद्य तत्वहरु दिन आवश्यक हुन्छ । साधारणतः फल नफलेका बिरुवामा ७५–१०० ग्राम नाईट्रोजन, २५–५० ग्राम फास्फोरस र ७५–१०० ग्राम पोटासको आवश्यकता पर्दछ । त्यसरीनै फल दिने बिरुवाको लागि ५००–६०० ग्राम नाईट्रोजन, १५०–२०० ग्राम फास्फोरस तथा ५००–६०० ग्राम पोटास प्रति बोटको दरले दिनु पर्दछ । प्राङ्गारिक मल २५० के.जी. तथा अन्य शुक्ष्म तत्वहरुको पनि आवश्यक हुन्छ ।
Q 13. नेपालमा लिचीका प्रचलित जातहरु कुन कुन हुन ?

नेपालमा विभिन्न स्थानमा भिन्न भिन्न  जातहरुको खेती गरेको पाईन्छ किनकी यी जातहरु प्रायः भारतबाट आयात गरिएका हुन् । बढी क्षेत्रफलमा लगाईएका जातहरुमा मुजफ्फरपुर, अर्लि लार्ज रेड, चाइना, शाही, कलकत्तिया, बम्बे, सिडलेस, मेकिलन आदि मुख्य हुन् ।
Q 14. लिचीको मुजफ्फरपुर जातको बिशेषता के हो ?

यो छिटो पाक्ने जात हो । यसका फलहरु जेष्ठको १५ तिर पाक्दछ । यो जातको लिचीमा घना फल लाग्दछन् । सरदर फलको तौल २० ग्राम फलको गुदी र बीउको अनुपात करीब ५:१ हुन्छ। अन्य जातको तुलनामा फलहरु कम फुटदछन् ।
Q 15. लिचीको चाईना जातको विशेषता के होला ?

यसको बोट मझौला, फलहरु ठूला र आकर्षक, वासनादार, नरम र खाँदा स्वादिला र बढी गुलिया   हुन्छन् । फल फूट्ने र सनस्क्याल्ड रोग कम लाग्दछ ।
Q 16. लिचीको कलकत्तिया जातको विशेषता बताई दिनु हुथ्योकि ?

तुल्नात्मक यसको बोट सानो हुने भएता पनि प्रसस्त फल लाग्दछन् । फल पाक्दा फलको बाहिरी रङ्ग रातो, गुदी सेतो र खाँदा स्वादिष्ट र गुलिया हुन्छन् । यसका फल भने बढी फुट्ने गदैछन् ।
Q 17. लिचीको सिडलेस जातको विशेषता पनि बनाई दिनु हुन्थ्यो कि ?

यस जातलाई सिडलेस भनिएता पनि साना बीउ भने हुन्छन् तर गुदीको मात्रा बढी हुन्छ । फलको तलतिर चुच्चो परेको लाम्चिलो तथा अण्डाकारका हुन्छन् । फलको बाहिरी रङ्ग रातो र गुदी क्रिम जस्तो सेतो हुन्छ ।
Q 18. लिचीको बम्बे जातको पनि विशेषता बताई दिनु हुन्थ्यो कि ?

यसका फलहरु ठूला–ठूला झुप्पामा फल्ने गर्दछ । फल पाक्दा टुप्पो रातो रङ्गमा बदलिन्छन् भने अन्य भाग हरियै रहन्छन् । गुदी सेतो, रसिलो र स्वादिलो हुन्छ । बीउ÷बियाँ ठूलो, लाम्चो र चिल्लो प्रकारको हुन्छ ।
Q 19. लिची बिरुवा प्रसारणको लागि कुन विधि अपनाइन्छ ?

लिचीको बिरुवा प्रसारण गर्ने मूख्य तरीका कलमीगुटी लेयरीङ्ग नै हो ।  बीउबाट पनि लिचीको बिरुवा उत्पादन गनै सकिन्छ र कतिपय जात बीउबाटै छनौट गरिएका पनि छन् तर यसरी उत्पादन गरिएका बोटहरु ८–१० वर्ष पछि मात्र फल्ने र फलहरु मातृगुण सम्पन्न नहुने हुँदा बीउबाट प्रसारण गर्ने चलन कमै पाईन्छ ।
Q 20. लिचीमा लेयरीङ्ग विधिबाट कसरी बिरुवा उत्पादन गरिन्छ ?

लिचीको लेयरीङ्ग गर्ने हाँगाहरु माथितिर फर्केका, रोगकीरा नलागेका ३०–६० से.मिलामा हाँगाहरु छान्नु पर्दछ । यी हाँगाहरुबाट १–२ से.मि. चौडा गरी वरीपरीको बोक्रा हटाउनु पर्दछ । उक्त ठाउँमा रुखमा पाइने झ्याउ वा लेसिलो माटो राखी प्लाष्टिकले दुबै छेउमा बाध्नु पर्दछ । अषाढ–श्रावणतिर लगाएको गुटी बढी सफल हुन्छ ।


Q 21. गुटी लेयरीङ्ग गर्दा कुनै रसायनहरु पनि प्रयोग गर्नु पर्दछ ?

गुटी बाध्ने ठाउँमा ५०% रुटोन (आई.वी.ए.) अथवा १०० पीपीएमको एन.ए.ए. लगाई दिएमा जराहरु धेरै चाँडो विकसीत हुन्छन् र शतप्रतिसत सफल हुने सम्भावना रहन्छ ।
Q 22. लिचीको बिरुवाहरुको हेरचाहमा कतिको ध्यान पुर्याकउनु पर्ने हुन्छ ?

लिचीको बिरुवा ढिलो गरी हुर्कने हुँदा झारपात नियन्त्रणमा विशेष ध्यान पुर्‍याउनु पर्दछ । विरुवाको फेदको वरीपरी खर, परालको छापो दिएमा झारपात नियन्त्रण र चिस्यान कायम राख्न नीकै मद्दत   पुग्दछ । यदि रासायनिक विधि प्रयोग गर्नु परेमा ग्लाईफोसेट वा पाराक्वाट भन्ने विषादी प्रयोग गर्न सकिन्छ ।
Q 23. लिची बगैंचामा अन्तरवाली लगाउन उचित होला कि नहोला बताई दिनु हुन्थ्यो कि ?

बिरुवाहरु नहुर्किउन्जेल बीचको खाली ठाउँमा भईकटहर, मेवा, कफी र मौषम अनुसारका तरकारी वालीहरु अन्तरवालीको रुपमा लगाउन सकिन्छ । बगैंचा लगाएको ७–८ वर्ष पछि अन्तरवालीहरु क्रमशः हटाउदै जानु पर्दछ ।
Q 24. लिचीका फलहरु टिप्न लायक भएको कसरी थाहा हुन्छ ?

प्रायः जातहरुमा फल पाक्दा बोक्राको बाहिरी रङ्ग हरियोबाट रातोमा परिणत हुन्छन् । बोक्रामा रहेका काँडा नरम, मसाईला र फैलिएका हुन्छन् । कुनै–कुनै जातहरु पाक्दा फलको रङ्ग परिवर्तन नहुने हुँदा अन्य आधारमा फल पाके नपाकेको छुट्याउनु पर्दछ । साधारणतया फल लागेको ५५–६० दिनमा फलहरु पाक्दछन् ।
Q 25. लिची फललाई लामो समय भण्डारण गर्न कुनै उपाय छ कि ?

लिची फल बोटमै पाकेपछि टिप्ने खालको फल भएकोले धेरै काँचोमा टिप्न सकिदैन । टिपेका फलहरु साधारण अवस्थामा २–३ दिन मात्र टिक्दछन् । शीत भण्डारणमा १–७ डिग्री सेन्टिग्रेड तापक्रममा २–३ महिनासम्म राख्न सकिने परिक्षणबाट देखिएको छ तर ब्यवहारमा यसरी राखेको पाइन्न । प्लाष्टिकको थैलामा साना–साना प्वालहरु बनाई फललाई १:३ गरी राखेमा ७–८ दिनसम्म ताजै राख्न सकिन्छ ।
Q 26. लिचीको उत्पादन प्रति बोट कतिसम्म लिन सकिन्छ ?

यसको फल उत्पादन जात, उमेर, मलजल तथा हावापानीमा निर्भर गर्दछ । एउटा परिपक्व बोटबाट साधारणतया ४–५ हजार फलहरु अथवा ९०–१५० के.जी. उत्पादन हुने गर्दछ । एउटा बोटबाट बढीमा ५०० के.जी.सम्म उत्पादन भएको रेकर्ड पनि पाईन्छ ।
Q 27. लिचीमा कस्ता–कस्ता कीराहरु लाग्दछन् ?

लिचीमा विशेषतः सुलसुले, बोक्रा खाने झुसिलकीरा, पात बेर्ने कीरा, लिफ माईनर र लाही किरा लाग्दछन् तर सुलसुले नै यसको सबै भन्दा हानिकारक हुन्छ ।
Q 28. लिचीमा लाग्ने सुलसुलेले कसरी नोक्सानी गर्दछ ?

यसको माउ कीराले पातको कोपिलै अवस्थामा फूल पार्दछन् । ती फूलबाट ३–४ दिनमै लार्भाहरु निस्केर पात खान शुरु गरी पूर्ण पातको विकास हुन अगावै पातलाई नोक्सानी पुर्‍याउँदछन् । पातमा भएको रस चुसिसकेपछि पात बटारिन्छ र कीराले खाएको ठाउँमा खैरो भुवा जस्तो पदार्थको विकास हुन्छ ।
Q 29. सुलसुले कीरालाई कसरी नियन्त्रण गर्न सकिन्छ ?

यस कीरालाई नियन्त्रण गर्न साबुन, गन्धक पानी (२०:२:६०० को मिक्सचर) वा डाईमेथोयट (१ लि. प्रति लिटर पानीमा) वा गन्धकले (४५० ग्राम प्रति १०० लि. पानीमा) नयाँ पालुवा निस्कने समयमा र १०–१५ दिनको अन्तरालमा ३–४ पटक उपचार गरेमा सुलसुले नियन्त्रण गर्न सकिन्छ ।
Q 30. लिचीमा रोगको समस्या कत्तिको देखा पर्दछ ?

अन्य वालीहरुमा जस्तो लिचीमा धेरै किसिमका रोग लाग्दैन। कतै–कतै रस्ट भन्ने रोग लाग्दछ। यो रोग कलिला पातहरुमा एक प्रकारको लेऊबाट हुने गर्दछ। यसले लिची वालीलाई आर्थिक रुपमा ठूलो नोक्सानी पुर्‍याएको पाईदैन।
Q 31. लिचीमा फल फुट्ने समस्या के कारणले गर्दा आउँदछ ?

सूर्यको प्रकाशले गर्दा फलहरुको एकपट्टि डढ्ने र फलहरु फुट्ने लिचीको एउटा ठूलो समस्याको रुपमा देखा परेको छ। फलहरु विकसित भईरहेको र पाक्ने अवस्थामा फुट्ने गर्दछन्। फल फुट्ने क्रम कम आद्रता भएका गरम र सुख्खा ठाउँमा बढी हुने गर्दछ।
Q 32. लिचीमा फल फुट्ने समस्यालाई कसरी न्यून गर्न सकिन्छ ?

फल फुट्नबाट लिचीलाई फलको विकास भईरहेको समयमा पानीको अभाव हुन दिन हुदैन। फलको विकासको समयमा जिंकसल्फेट (१.५%), जिब्रेलिक एसिड (४० पि.पि.एम.) अथवा इथेफोन (१० पि.पि.एम.) छर्नाले फल फुट्ने क्रिया कम हुदै जान्छ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Q 1. आँप कस्तो हावापानीमा हुने फलफूल बाली हो ?

आँप उष्ण प्रदेशीय फलफूल बाली हो तर यसलाई समशितोष्ण हावापानीमा पनि खेती गरेको पाइन्छ। यो गरम र सुख्खा आबहवा र बढी प्रकाश मन पराउने बाली हो।
Q 2. आँपको वृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ?

आँपको वृद्धि र विकासका लागि २४ देखि २७ डिग्री सेल्सियस अनुकूल मानिएतापनि ४८ डिग्री सेल्सियसको तापक्रममा आँप खेती सफल भएको पाईन्छ।
Q 3. आँपको खेती गर्न वार्षिक वर्षा कतिसम्म हुनु आवश्यक छ ?

आँपको खेती २५ देखि २५० से.मि. वार्षिक वर्षा हुने ठाउँ उपयुक्त हुन्छ तर कूल वर्षा भन्दा पनि त्यसको वितरणलाई बढी ध्यान दिनु पर्दछ।
Q 4. आँप खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?

आँप बलौटे देखि चिम्ट्याइलो माटोमा पनि खेती गर्न सकिन्छ तर दोमट माटो सबै भन्दा उपयुक्त हो। जबकि कालो कपासे माटो भने आँप खेतीको लागि उपयुक्त हुँदैन।
Q 5. माटोको अम्लियपना र क्षारियपना कस्तो हुनु पर्दछ ?

साधारणतया माटोको पि.एच. मान ५.५ देखि ७.५ हुनु पर्दछ। क्षारिय र लवणयुक्त माटोमा आँप राम्ररी फस्टाउन सक्दैन। यसका जरा गहिरोसम्म जाने हुँदा जमिनको तल्लो भागमा पानी नजम्ने अवस्था हुनु पर्दछ।
Q 6. आँपको बिरुवा कुन तरिकाले लगाउन उपयुक्त हुन्छ?

आँपको खेती तराई र समथर जमिनमा गरिने भएको हुँदा वर्गाकार वा आयताकार वा त्रिभुजाकार तरिकाबाट बगैंचाको रेखाङ्कन गरी बिरुवा लगाउन उपयुक्त हुन्छ।
Q 7. आँपका बिरुवा कति दूरिमालगाउँदा उचित हुन्छ ?

आँपका बोटहरु अग्ला र फैलिने किसिमका भएको हुँदा साधारणतः १० देखि २० मिटरको दूरिमा लगाइन्छ तर वर्णसंकर जातहरु होचा र कम फैलिने हुँदा २.५ देखि ५ मिटरसम्मको दूरिमा लगाउन सकिन्छ।
Q 8. आँपको बगैंचा स्थापना गर्दा रेखाङ्कन गर्न किन जरुरी छ ?

आँपका बोटहरु धेरै वर्षसम्म बाँच्ने र फल दिई रहने हुँदा उचित दूरि कायम गर्न जरुरी हुन्छ अन्यथा बगैंचा भित्र यान्त्रिकीकरणको माध्यमबाट गोडमेल, मलजल र स्याहार सम्भार गर्न अप्ठयारो हुन्छ।
Q 9. आँपको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्दछ ?

साधारणतया १ X १ X १घनमिटरको खाड्ल खन्नु पर्दछ जसले गर्दा जमिनमा भएका सानातिना ढुङ्गा गेग्रान हटाउन र बिरुवालाई बुरबुराउँदो माटो त्यस ठाउँमा राखिदिँदा कलिलो बिरुवाका जराहरु फैलिन मद्दत पुग्दछ।
Q 10. आँपको बिरुवा रोप्दा बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्डको किन आवश्यक पर्दछ ?

बिरुवा रोप्ने फ्ल्याक वा प्लान्टिङ्ग बोर्ड भएन भने बिरुवालाई उचित स्थान कायम गरी रोप्न सकिन्न। यसको प्रयोग खाड्ल खन्न तथा बिरुवा रोप्ने बेलामा आवश्यक पर्दछ।


Q 11. आँपलाई बढी घनत्वमा (High Density Planting) लगाउन सकिन्छ ?

आँपमा पनि धेरै अग्लो नहुने र धेरै नफैलिने नयाँ जातहरु विकसित भएकोले २.५ X २.५ मिटर दूरिमा लगाउन सकिन्छ। विशेषतः वर्णसंकर जातहरु आम्रपाली, मल्लिका जातहरुलाई यस पद्धति अनुसार लगाउन सकिन्छ तर वर्षमा एक पटक काटछाँट गर्नु पर्दछ।
Q 12. आँपको बगैंचामा सिंचाई गर्न जरुरी छ?

आँपको बोटलाई सिंचाईको महत्व रहन्छ।त्यसमा पनि बगैंचा लगाउने बित्तिकै र १-२ वर्षसम्म प्रत्येक सुख्खा मौसममा २-३ दिनमा सिंचाई गरिरहनु पर्दछ।बिरुवाको उमेरको साथै सिंचाई गर्ने अवधिलाई बढाउन सकिन्छ तर फूल लाग्नु भन्दा अगाडी सिंचाईमा विशेष ध्यान दिनु पर्दछ।
Q 13. आँपमा मलखादको व्यवस्था कसरी गर्नु पर्दछ ?

आँपको बोटलाई उमेर अनुसार खाद्यतत्वको मात्रा फरक पर्दछ। उदाहरणको लागि १ वर्षे बिरुवाको लागि ५ के.जी. कम्पोष्ट मल, १०० ग्राम नाईट्रोजन, ५० ग्राम फोस्फोरस र १०० ग्राम पोटास सिफारिश गरिएको हुन्छ भने त्यही बोटलाई १० वर्ष पछि ५० के.जी. कम्पोष्ट मल, १००० ग्राम नाईट्रोजन, ५०० ग्राम फोस्फोरस र १००० ग्राम पोटास सिफारिश गरिएको हुन्छ।

Q 14. नेपालमा आँपका प्रचलित जातहरु कुन कुन हुन् ?

आँपका थुप्रै जातहरु मध्ये नेपालमा धेरै कृषकहरुले खेती गरिरहेका जातहरु भने माल्दह,दशहरी, बम्बै ग्रीन, बम्बै एल्लो, जर्दालु, सुखतारा, अल्फान्सो, आम्रपाली, मल्लिका, निलम आदि प्रचलित हुन्।
Q 15. आँपका सबैभन्दा छिटो पाक्ने जातहरु कुन कुन हुन् ?

हालसम्म प्राप्त आँपका जातहरुमा जर्दालु,बम्बै ग्रीन, बम्बै एल्लो,कृष्णभोग, अल्फान्सो आदि जातहरु जेष्ठ महिनामा नै पाक्न शुरु गर्दछन्।

Q 16. आँपका मध्य मौसममा पाक्ने जातहरु पनि बताइ दिनु हुन्थ्यो कि ?

हालसम्म प्राप्त आँपका जातहरुमा माल्दह,दशहरी,सुकुल,गुलाबखास,सुखतारा, आम्रपाली, मल्लिका आदि जातहरु हुन्। यी जातहरुआषाढ महिनामा पाक्दछन्।
Q 17. आँपका सबैभन्दा ढिलो पाक्ने जातहरु चाँहि के के हुन् ?

पछौटे अर्थात् ढिलो गरी पाक्ने जातहरुमा चौसा,फजली,कलकत्तिया,निलम,अब्बेहयात आदि जातहरु हुन्। यी जातहरु श्रावण महिनामा पाक्न शुरु भै भाद्र-आश्विन महिनासम्म पनि उपलब्ध भैरहन्छन्।
Q 18. प्रशोधनका लागि आँपका कुनजातहरु उपयुक्त छन् ?

प्रशोधनको लागि प्रचलित जातहरु मध्ये तोतापरी हो तर हालका प्रसिद्ध जातहरु पनि प्रशोधनयोग्य हुन्छन् जस मध्ये अल्फान्सो जातको जुस बजारमा पाईन्छ।
Q 19. अब्बेहयात जात कहाँबाट भित्र्याईएको हो र यसका विशेषता के के छन् ?

यो जात नेपालमा जापनिज विशेषज्ञहरुले पाकिस्तानबाट ल्याएको भनि उल्लेख छ। नेपालमा पाइने जातहरु मध्ये यो सबैभन्दा ढिलो पाक्ने जात हो।यसको व्यावसायिक खेती विस्तार हुने सम्भावना बढी नै छ। हाल धनुषा जिल्लाको गोदार क्षेत्रमा यसको खेती विस्तार भैरहेको छ।


Q 20. आँपमा बिरुवा प्रसारणको लागि कुन विधि अपनाइन्छ ?

विगतका केहि वर्ष अगाडीसम्म ईनार्चिङ्ग विधिबाट आँपका बिरुवाहरु प्रसारण गरी नर्सरीमा राखिन्थ्यो तर हाल आएर भिनियर ग्राफ्टिङ्ग विधिबाट बिरुवा प्रसारण गरिन्छ किनकी यो विधि सरल छ र प्रतिकूल मौसममा पनि बढी सफलता प्राप्त गर्न सकिन्छ।
Q 21. आँपमा स्टोन / इपिकोटायल ग्राफ्टिङ्ग कसरी गरिन्छ ?

यो विधिमा आँपको रुटस्टक उम्रिएको ८ देखि १५ दिनको उमेरमै कोया देखि ८-१० सेमि माथिबाट काटेर माथिल्लो भाग हटाईन्छअनि बीजबाट ४-५ सेमि जति ठाडो गरी चक्कुले चिरिन्छ र रुटस्टकमा मिल्ने सायन जोडी प्लाष्टिकले राम्री बाँधिन्छ।फलस्वरुप २ देखि ४ हप्ता मै नयाँ पालुवा आउन शुरु हुन्छ र एक वर्ष भित्रै बिरुवा बिक्रीयोग्य हुन्छ।

Q 22. आँपको बगैंचामा अन्तरबाली लगाउन सकिन्छ ?

आँपको बगैंचा लगाएको ४-५ वर्ष पछि मात्र उत्पादन लिन शुरु गरिएतापनि १५-२० वर्षसम्म बोटले पूर्ण आकार नलिने हुँदा यस अवधिमा अतिरिक्त बिरुवा (Filler Plants) को रुपमा मेवा, भूईंकटहर र अन्य बाली बेसार, अदुवा, मुसुरो, काउली, बन्दा, मूला,चना आदि लगाई अतिरिक्त आम्दानी लिन सकिन्छ।
Q 23. आँप प्रायः एक वर्ष बिराएर फलेको(Alternate Bearing) पाईन्छ यसको कारण के हो ?

आँपका प्रायः जातहरु एक वर्ष बिराएर फल्दछन् जसको मुख्य कारण यसको जातिय गुण नै हो तर कुनै कुनै अवस्थामा हावापानीले र यसको व्यवस्थापन पक्षले पनि असर गरेको हुन्छ।हाल विकसित आम्रपाली, मल्लिका जस्ता जातहरु भने वर्षैपिच्छे फल्दछन्।
Q 24. आँपको फल टिप्ने अवस्था भए नभएको कसरी पत्ता लगाउन सकिन्छ?

फलको आकारसँगै त्यसमा परिवर्तन भएको रङ्गबाट पनि फल टिप्ने अवस्था थाहा पाउन सकिन्छ। फल परिपक्व भएपछि यसको रङ्ग गाढा हरियोबाट फिक्का हरियो रङ्गमा परिणत हुन्छ।
Q 25. अग्लो आँपको बोटबाट कसरी सुरक्षित तरिकाले फल टिप्न सकिन्छ ?

आँप टिप्दा घाउ चोट नलागोस् भन्नका लागि बाँको डण्डीको टुप्पोमा जाली वा कपडाको थैली बनाई अंकुश लगाई फल टिप्नु पर्दछ।फल टिप्दा सकेसम्म मध्य बिहान वा बेलुकी पख टिप्नु राम्रो हुन्छ।

Q 26. आँप फल टिपेपछि बजार लैजानु भन्दा अगाडी के कस्ता सावधानीहरु अपनाउनु पर्दछ ?

टिपेका फलहरुलाई छायाँदार ठाउँमा राख्नु पर्दछ। टाढा बजार पठाउन वा भण्डारणका लागि पाक्न शुरु नगरेका, चोटपटक नलागेका, रोगकीराहरुबाट मुक्त, जातिय गुणले सम्पन्न एकै किसिमका फलहरु छुट्टयाउनु पर्दछ।
Q 27. आँपलाई छिटो पकाउन परेमा कस्तो उपाय अवलम्बन गर्नु पर्ला ?

आँप फललाई आवश्यकता अनुसार छिटो पकाउन २५० पिपिएमको ईथरेल छर्केर वा टोकरीको तल सुरक्षित तरिकाले क्याल्सियम कार्बाईड राखेर ५-६ घण्टा उपचार गर्दा आँप छिटो पाक्दछ।
Q 28. आँपको सबैभन्दा हानिकारक कीरा कुन हो ?

आँपको सबैभन्दा हानिकारक कीरा फड्के/म्याङ्गो होपर हो। फूल फुल्ने बेलामा यसको प्रकोप सबभन्दा बढी हुन्छ। यी कीराहरुले नयाँ पालुवा तथा फूलको गुच्छाको डाँठबाट रस चुसेर नोक्सानी गर्दछ।
Q 29. आँपको फड्के/म्याङ्गो होपर कीरा कसरी नियन्त्रण गर्न सकिन्छ ?

आँपको फूल फुल्ने र चिचिला लाग्ने अवस्थामा यसको प्रकोप महामारीको रुपमा देखा पर्दछ। अतः यसको नियन्त्रण पनि अभियानकै रुपमा गर्नु पर्ने हुन्छ। साधारणतया मालाथायन (०.१५%) वा मेटासिष्टक्स (०.०२५%) वा अन्य दैहिक विषादि फूल फुल्नु अगाडी र चिचिला लागिसकेपछि छर्नु पर्दछ।


Q 30. आँपमा मिलीबग कीरा लागेको कसरी थाहा पाईन्छ?

आँपको डाँठ, पात,फूल र फलमा साना चेप्टा खालका सेता मैला कीराहरु टास्सिएर रस चुसी रहेका हुन्छन्। झट्ट हेर्दा अचल र गिर्खा जस्ता देखिन्छन्। यसले पात कुरुप हुने, पहेंलिने, नबढ्ने र झर्ने गर्दछ। डाँठ र फललाई सेतो मैलले ढाक्दछ र ध्वाँसे ढुसीको विकास हुन्छ।
Q 31. आँपमा लाग्ने मिलीबग कीराको नियन्त्रण कसरी गर्न सकिन्छ?

कीराले बोटको फेद वरपर जमिनमा फूल पार्ने हुँदा गर्मी महिनामा बोटको वरिपरि खनेर फूलहरु नष्ट गर्न सकिन्छ। हिउँद महिनामा चिल्लो पदार्थ ग्रिज वा रोजिन र काष्टरको तेल बोटको वरिपरि लगाई कीरालाई बोटबाट माथि जानबाट रोक लगाउन सकिन्छ। प्रकोप बढी भएमा कार्बोरायल (०.०२%) अथवा नीमबाट बनेका विषादि प्रयोग गर्न सकिन्छ।
Q 32. आँपमा लाग्ने पाउडरी मिल्ड्यू रोग कुन समयमा बढी लाग्दछ?

आँप फूल्ने बेलामा सापेक्षिक आर्द्रता बढी भयो भने यो रोग लाग्दछ। रातको तापक्रम कम हुनु, दिउँसोको तापक्रम बढी हुनु, बादल लाग्नु र पानी पर्नु यो रोगको लागि अनुकूल वातावरण मानिन्छ।
Q 33. आँपमा लाग्ने यो रोगबाट बच्न कस्तो उपाय अवलम्बन गर्नु पर्ला ?

साधारणतया सल्फर (०.२%) वा क्याराथेन (०.१%) वा बेभिष्टिन (०.१%) फूल फुल्नु अगाडी र पछि पनि साता दस दिनको अन्तरालमा छर्दा खेरी रोग नियन्त्रण हुन्छ।
Q 34. आँपको एन्थ्राक्नोज रोग कसरी चिन्न सकिन्छ?

यस रोगको आक्रमणबाट पातमा काला रङ्गका धब्बाहरु फूल र डाँठमा काला थोप्लाहरु र फलमा काला दागहरु देखिन्छन् र अन्त्यमा पात र फलहरु झर्दछन्।
Q 35. आँपमा लाग्ने यो रोगको कसरी नियन्त्रण गर्न सकिन्छ ?

वर्षमा कम्तिमा तीन पटक माघ, बैशाख र भदौमा बोटहरुलाई बोर्डेक्स मिक्स्चर वा ब्लाईटक्स-५० वा बेनलेट ०.१% ले उपचार गर्नु पर्दछ।रोग लागेका हाँगाहरु काटेर जलाई दिने गर्नु पर्दछ।
Q 36. आँपमा सुटी मोल्ड रोग कसरी उत्पन्न हुन्छ ?

आँपको फड्के कीराले उत्पन्न गरेको चिनीयुक्त पदार्थमा यो ढुसीको विकास भै पुरै पातलाई कालो धुलोले ढाक्दछ जसले गर्दा पातले प्रकाश संश्लेषण क्रिया गर्न पाउँदैन र फल उत्पादनमा ह्रास आउँदछ। फड्के कीरा नियन्त्रण गरिसकेपछि यो रोग स्वतः नियन्त्रणमा आउँछ।
Q 37. आँपमा माल्फोर्मेशन रोगले कसरी असर गर्दछ ?

आँपमा नयाँ पालुवा र फूल आउने ठाउँमा गुजुमुज्ज परेको आकार निस्किनुलाई म्याङ्गो माल्फोर्मेशन भनिन्छ। यो रोग बिरुवाको दुईवटा अवस्थामा लागेको पाईन्छ। पहिलो नर्सरीमा हुँदै पालुवाको सट्टा गुजुमुज्जु परेका पालुवाहरु आउँछन् भने दोश्रोमा फूल फुल्ने बेलामा फूलको सट्टा गुजुमुज्जु परेका बाँझा फूलहरु निस्कने तर फल नलाग्ने हुन्छ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Show More Posts