फल नलाग्दै आँपका बोट बिक्री

सिराहा — आँपमा अत्यधिक फूल लागेपछि यो वर्ष सिराहाका कृषकहरु खुशी छन् । गतवर्ष कम उत्पादनले मारमा परेका कृषक यो वर्ष फूल देखेरै हौसिएका छन् ।

यहाँकाे आँप स्वादिलोभन्दै नारायणघाट, काठमाडौं, पोखरा लगायत भारतको विहारसम्म निर्यात हुने गरेको छ ।

२ बिघा १० कठ्ठामा आँप खेती गर्दै आएका मल्हनवाका कृषक मिश्री यादवले गतवर्ष डेढ लाख रुपैयाँमा बिक्री गरेका थिए । उनी यो वर्ष आँपको बोटमा फूल (मरजर) राम्रो भएकाले तेब्बर उत्पादन हुने आशामा छन् । ‘हावाहुरी र असिना नपरे तेब्बर उत्पादन हुन्छ,’ उनले भने ‘गतवर्षको घाटा असुलेर दोब्बर मुनाफा हुने आशा छ ।’ हावाहुरी र असिनाबाट फूलमा हुने असर कम गर्न औषधि छर्कन सुरु गरेको उनले बताए ।

उत्पादन बढ्ने संकेत देखे पछि फूल फुल्दै गरेको बगैंचाका आँप किन्न व्यापारीहरु कृषकको घरदैलोमा पुग्न थालेका छन् । लहान नगरपालिका–२४ का लालबहादुर महतो कोइरीले ४ बिघामा आँप खेती गरेका छन् । गतवर्ष व्यापारी रामा साफीलाई २ लाखमा बगैंचा बिक्रि गरेका उनले यो वर्ष राम्रो उत्पादन हुने लक्षण देखेर भाउ बढाएका छन् । ‘फूल्न सुरु भएयता बोट हेरेर व्यापारीहरु ठेक्का लिन आउन थालेका छन्,’ उनले भने ‘यसवर्ष उत्पादन हेरेर मात्र बेच्ने तयारीमा छु ।’ उनका अनुसार गतवर्ष उत्पादन कम हुँदा भाउ बढेको थियो । यसवर्ष उत्पादन बढ्ने भएपछि मूल्यमा गिरावट आउन सक्ने भन्दै व्यापारीले बढी मूल्य दिन खोजेका छैनन् ।

यहाँकाकृषकहरुले मालदह, बम्बई, दशहरी, कलकतिया लगायत प्रजातिका आँप उत्पादन गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार गतवर्ष जिल्लामा५ हजार हेक्टर खेतीबाट २० हजार मेट्रिक टन मात्र उत्पादन भएको थियो । गतवर्ष प्रतिकिलो ७० देखि १ सय रुपैयाँमा बिक्री भएको थियो ।

यो वर्ष सिराहामा ५ हजार ६ सय ६० हेक्टरमा आँप खेती भएको छ । ‘फूल राम्रो लागेकाले उत्पादन तेब्बर हुने सम्भावना छ,’ जिल्ला कृषि विकास कार्यालय योजना शाखाका प्राविधिक भोगेन्द्र यादवले भने ‘मौसम अनुकूल भएमा ६० हजार मेट्रिक टन बढी उत्पादन हुनसक्छ ।’

आकाशे पानीका भरमा खेती गर्नुपर्ने र सुख्खा जमिनमा अन्य बाली नफस्टाउने भएकाले सिरहाका अधिकांश कृषक व्यावसायिक आँप खेतीतर्फ आकर्षित भएका छन् । झन्झट कम र बिक्री गर्न सहज हुने भएकाले पनि कृषकहरु यसतर्फ आकर्षित भएका हुन ।

लालपुरका असर्फी महतोले १ विघा ५ कठ्ठामा आँप खेती गरेका छन् । उनले आँपको उत्पादन प्रत्येक वर्ष ६० हजार रुपैयाँ लिने गरी व्यापारीलाई चार वर्षका लागि बिक्रि गरिसकेका छन् । ‘बगैचा बिक्री गरेको होइन,’ उनले भने ‘उत्पादन बिक्री गरेको हुँ, फलेपनि नफलेपनि आम्दानी नहोला भन्ने चिन्ता टर्‍यो ।’

असर्फी मात्र होइन अर्का कृषक धर्मनाथ साहले पनि ६ बिघामा लगाएको आँप बगैचाको उत्पादन प्रत्येक वर्ष १ लाख २५ हजार रुपैयाँ लिने गरी व्यापारीलाई ५ वर्षको ठेक्का दिएका छन् । उनका अनुसार व्यापारीले उत्पादन भएपनि नभएपनि बर्षेनी रकम बुझाउँछन् ।

हेरचाह र फल बिक्रीका लागि बजारसम्म पुर्‍याउन झन्झट व्यहोर्नुभन्दा बोट नै बिक्री गर्न सजिलो हुने उनले बताए ।

Source : Kantipur