उन्नत जातका बाख्रापालन सुरु

बाबियाचौर — बेनीको आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रापालन व्यवसाय सुरु गरेका छन् ।

एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण शर्माले ‘मनीष बाख्रा फार्म’ सञ्चालन गरी यो व्यवसाय सुरु गरेका हुन् । उनको फार्ममा हाल जमुनापारी, खरी, बारबरी र अजमेरी जातका ६० वटा बाख्रा छन् । सात लाख रुपैयाँको लगानीमा यो व्यवसाय सुरु गरेका शर्माले यसअघि १३ वर्ष कतारमा रोजगारी गरेका थिए । ‘आफ्नै घरपरिवारसँग बसेर गाउँमै स्वरोजगार बन्ने उद्देश्यले फार्म स्थापना गरेर व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ,’ उनले भने । ‘खसी, बोका, पाठापाठी र बाख्रा बेचेर वार्षिक तीन लाखभन्दा बढी कमाइ हुन्छ ।’

एक वर्षको अवधिमा २० वटाभन्दा बढी खसी, बोका र पाठापाठी बिक्री गरिसकेको बताउँदै शर्माले फार्ममा माउ बाख्राको संख्या कम्तीमा एक सयवटा पुर्‍याउने लक्ष्य लिएको बताए । उनको परिवारका अन्य तीन जनाले पनि फार्ममा रोजगारीपाएका छन् ।

शर्माले बाख्राको आहारका लागि १२ रोपनी पाखोबारीमा राईखन्यु, बाँसलगायत हिउँदे घाँसका बिरुवा लगाएको छ भने खेतमा जै घाँस खेती गरेका छन् । उनले जिल्ला पशुसेवा कार्यालयबाट बाख्रापालनसम्बन्धी आधारभूत तालिम लिएका छन् । फार्मबाट उत्पादित बाख्रा पात्लेखेत, घतान, पिप्ले र बेनीमा बिक्री हुने गरेको छ ।

Source : Kantipur